Best Online News From Nepal

देवीका उपासक नेपालका हिन्दुराजा पृथ्वीनारायण शाहले अंग्रेजको उपनिवेश मजबुत हुनुअघि नै हिमाल, पहाड, तराईलाई जोडेर बलियो राज्य निर्माण गरे ।

डा. सुधिन्द्र शर्मा—-

 

पृथ्वीनारायण शाह नेपाल एकीकरणका प्रणेता थिए । यद्यपि, उनको पहिचान त्यतिमै सीमित छैन । उनी हिन्दु संस्कृति विस्तार गर्ने व्यक्तित्व पनि थिए । र, जहाँ–जहाँ विजय हासिल गरे, त्यहाँको संस्कृतिलाई पनि आत्मसात गर्दै राजनीतिक मात्र होइन, सांस्कृतिक अन्तरघुलनमा समेत योगदान दिए ।

 

यो पृथ्वीनारायणको मात्रै होइन, अंग्रेजको उपनिवेश सुरु हुनु अगाडि हिन्दु राजाहरुले आत्मसात गरेको सिद्धान्त थियो । उनीहरु जहाँ–जहाँ विजय हासिल गर्थे, आफ्नो संस्कृतिलाई स्थानीय संस्कृतिसँग अन्तरघुलन गराउँथे ।

यही शैली राजस्थान, गुजरात, महाराष्ट्र र दक्षिण भारतका हिन्दु राजाहरुको पनि थियो । हिमालय क्षेत्रमा भने पृथ्वीनारायण शाहले नै यसलाई अपनाए ।

हरेक देशका फरक सोच र चलन त्यहाँका राजाहरुको व्यवहारमा निर्भर रहन्थ्यो । त्यस्तै फरक सोच र शैली पृथ्वीनारायणमा पनि झल्किन्छ ।

काठमाडौं उपत्यका मल्ल राजाहरुको राज्य थियो । उनीहरुले तुलजा भवानीलाई इष्टदेवी मान्थे । स्थानीय भाषामा तलेजु भवानी नाम दिइयो, उनलाई ।

तुलजा भवानीको उद्गमस्थल भने महाराष्ट्र र कर्नाटकको सीमामा भएको मानिन्छ । मुसलमान राजाहरुको आक्रमणपछि त्यस क्षेत्रका हिन्दु राजाहरु नेपाल सीमाको सिम्रौनगढ आइपुगे । उनीहरुले तुलजा भवानीलाई सिम्रौनगढमै स्थापना गरे ।

तिरहुत राज्यमा मुसलमानहरुको आक्रमणपछि राजा हरिसिंहदेवले तुलजा भवानीलाई काठमाडौं उपत्यकामा भित्र्याए । र, उनी यहाँ तलेजु भवानीका नाममा प्रख्यात भइन् । तलेजु भवानी नै मल्ल राजाहरुकी इष्टदेवी मानिइन् । उनकै आशिर्वादबाट आफ्नो राज्य चलेको विश्वास उनीहरुमा थियो ।

१३ असोज १८२५ मा काठमाडौंमाथि विजय हासिल गरे, पृथ्वीनारायण शाहले । तर, यहाँका देवी देवतालाई पराया ठानेनन् । नत्र, उनले मनकामना मातालाई नै इष्टदेवी मान्ने थिए । र, सोहीअनुसार सांस्कृतिक मूल्य, मान्यता अगाडि बढाउँथे ।

मनकामना माताका साथमा उपत्यकाका देवी, देवतालाई पनि उत्तिकै श्रद्धाभाव प्रकट गरेका थिए, उनले । अर्थात्, देश कब्जा गरेपछि यहींको संस्कृतिलाई अपनाएको देखिन्छ, पृथ्वीनारायण शाहले ।

त्यतिबेला ‘मुलुक’ टर्मिनोलोजी प्रयोग भएको देखिन्छ । र, देश शब्द पनि प्रयोग गरिएको पाइन्छ । अहिले यी दुवैको अंग्रेजी अर्थ ‘कन्ट्री’ हुन्छ । त्यसबेला भने फरक अर्थ लाग्थ्यो ।

देशको अर्थ हुन्थ्यो, एकथरि भेषभुषा भएका मान्छे मात्र बस्ने क्षेत्र । र, मुलुक शब्द ‘इन्डो–पर्सियन’ घुसपैठको उपज थियो । पर्सियन शब्द हो यो र अर्थ हुन्छ, भूमि । भूमि स्त्रीलिंगी शब्द हो र त्यसको स्वामित्व राजाको हुन्थ्यो । भूमिपति अर्थात् राजा ।

भूमिमा आधिपत्य जमाएका राजाहरुले यसरी नै आफ्नो साम्राज्य विस्तार गर्दै जाँदा स्थानीय समाज र संस्कृतिलाई पनि ग्रहण गरेका प्रशस्त्र उदाहरण छन् ।

त्यसको उदाहरण झण्डै गोरखाली राज्यको समकालीन मराठा राज्य पनि हो । उक्त साम्राज्य शिवाजीले सुरु गरेका थिए । गुजरात र मध्यप्रदेशका विभिन्न क्षेत्रमा आधिपत्य जमाएपछि उनले पनि पृथ्वीनारायणले जस्तै त्यहाँका भेषभुषा, रहनसहन र चालचलन अपनाए ।

त्यहाँका बासिन्दाले स्तुती गर्ने देवीहरुलाई पनि मान्दै गए । शिवाजी पछिका गाएकवार्ड र ग्यालिओरमा सिन्धियाहरुले पनि त्यसै गरेको पाइन्छ । त्यसो गर्न नसक्दा फरक भेषभुषा, रहनसहन, रीतिस्थिति भएका राज्यहरुलाई एक ठाउँमा राख्न सकिँदैनथ्यो ।

सबैलाई ग्रहण गर्दा र अपनाउँदा मात्र राज्य बलियो हुन्थ्यो । हिमाली भेगमा पृथ्वीनारायण शाहले त्यही पद्धति आत्मसात गरेका थिए ।

दशैंको कुरा गर्दा यो एउटा मौलिक रीतिस्थिती मात्रै होइन, राज्यसँग सम्बन्धित कुरा पनि हो । खासगरी, देवीहरुको उपासना हुने राज्यमा उनीहरुकै उपासक हुने, आशिर्वाद लिने र राज्य विस्तारमा अगाडि बढ्ने लामो शृंखला चलेको पाइन्छ । यस कोणबाट पनि देवीको उपासना र राज्यबीच अन्योन्याश्रित सम्बन्ध झल्किन्छ । एकअर्काको परिपुरकजस्तो ।

दशैंमा नौ देवीको स्तुति गरिन्छ, स्कन्दमाता, कात्यायनी, कालरात्रि इत्यादि ।

भारतको मैसुरमा नेपालजस्तै देवीहरुको उपासना हुन्छ । त्यही भएर हिन्दु राज्यको चालचलन, प्रवृत्ति र देवीको उपासना आपसमा गाँसिएका छन् ।

नेपालमा हिन्दु राजा र राज्य नरहँदा पनि दशैंमा देवीको उपासना रोकिएको छैन । परम्पराका रुपमा यसलाई निरन्तरता दिएको छ, राज्यले । त्यसैले दशैं व्यक्तिगत मात्र होइन, पारिवारिक र राज्यको रीवाज पनि हो ।

मनकामनाबाट काठमाडौंमा फूलपाती भित्र्याइनु देवीको आशिर्वाद र अनुकम्पालाई विश्वास गरिएको पनि हो । त्यसो गर्दा मुलुक पवित्र हुने विश्वास पाइन्छ, जन–जनमा ।

दशैंका नौ दिन कलशमा राखिएको पानीबाट पण्डित बोलाएर अभिषेक लिन्छौं, हामी । देवीको उपासनाका कारण पवित्र भएको पानीबाट आशिर्वाद प्राप्त हुने विश्वास हिन्दु धर्मावलम्बीमा देखिन्छ । उक्त जलको अभिषेक लिँदा मानिस क्षमतावान हुने विश्वास पाइन्छ ।

यसैमा व्यक्ति, परिवार र राज्य गाँसिएका छन् ।

राज्य भन्नासाथ लेनदेन (गिभ एन्ड टेक)को कुरा आउँछ । विजय हासिल गरेका स्थानको चालचलन राजाले ग्रहण गर्ने र राजाका चालचलन त्यहाँका बासिन्दाले स्वीकार्ने ।

पृथ्वीनारायण शाहले गोरखाबाट भित्र्याएको दशैंलाई उनले विजय गरेका स्थानका बासिन्दाले पनि स्वीकार्नुको खास कारण त्यही हो ।

उनले काठमाडौंमाथि विजय हासिल गरेको दिन यहाँ इन्द्रजात्रा चलिरहेको थियो । उनी सरासर गद्दीमा गएर बसे तर इन्द्रजात्रा बन्द गराएनन् । बन्द गराएको भए उनको राज्य चल्दैनथ्यो, शासन टिक्दैनथ्यो ।

स्थानीय बासिन्दामा आफूप्रति विश्वास जगाउन राजाहरुले उनीहरुका चालचलन ग्रहण गर्नै पर्छ । नत्र, राज्य चल्दैन भन्ने सिद्धान्तबाट अभिप्रेरित छ यो ।

जस्तो– भारतको बरोदा शुद्ध गुजरातीहरु बस्ने मुलुक थियो । मराठी मुलका गाएकवार्डहरुले बरोदा कब्जामा लिएपछि त्यहींको भाषा, संस्कृति र चालचलनलाई निरन्तरता दिए ।

इस्ट इन्डिया कम्पनी फैलिँदै जाँदा हिन्दु राजाहरुको उक्त शैलीको अन्त्य हुन थाल्यो ।

भारतमा शासन गर्ने ‘इस्टइन्डिया कम्पनी’ कम्पनी मात्र थिएन । त्यसको सेना पनि थियो । भारतको सिपाही विद्रोहपछि कम्पनीको माध्यमबाट मात्र शासन टिकाउन नसकिने बुझे, बेलायतीहरुले । र, प्रत्यक्ष शासन थाले ।

नेपालको सन्दर्भमा दशैं र देवीको उपासनाले सबै नेपालीलाई जोडेको पाइन्छ । पश्चिमका मगरले आफ्नै नाम दिएर देवीको उपासना गर्छन् । यस्ता पवित्र स्थलहरुमध्ये प्रायजसो पहाडको थुम्कोमा हुन्छन् । पूर्वका राई, लिम्बूले पनि त्यसै गर्छन् । ब्राह्मण, क्षत्री मात्र होइन, सबै जातजातिले यसलाई आफ्नै शैली र तरीकामा ढालेका छन् ।

ताप्लेजुङकी पाथीभरा देवीलाई हिन्दु धर्मावलम्बीले श्रद्धाका साथ पूजाअर्चना गर्छन् । राई, लिम्बूले आफ्नै नाम दिएर स्तुती गर्छन् । मुक्तिनाथ मन्दिरमा हिन्दु र बौद्ध दुवै धर्मावलम्बीले आराधना गर्छन् ।

यसरी नेपालको सीमाभित्र संस्कृतिहरुको अन्तरघुलन भएको पाइन्छ । यस्तो अन्तरघुलनलाई प्रोत्साहन दिएकै आधारमा पृथ्वीनारायण शाहलाई विशिष्टीकृत गरिरहनु पनि आवश्यक छैन । किनभने, उनले त्यसै गरे, जो हिन्दु राजाहरुले उपनिवेशकालभन्दा अघि गर्थे ।

पृथ्वीनारायण शाहले आफ्नो राज्यलाई असली हिन्दुस्तानको रूपमा देखेकै कारणले हिन्दु धर्मले लगाएका केही प्रतिबन्धलाई उनले पनि लगाए । जस्तो– गौहत्यामाथिको प्रतिबन्ध । नेपाल सरहदभित्र गौहत्यामा प्रतिबन्ध लगाए ।

दशैं भारतको बंगालमा छ तथा आसाम र उडिसामा पनि मनाइन्छ । जहाँ–जहाँ देवीलाई प्रमुख रुपमा आराधना गरिन्छ, दशैं ती सबै ठाउँमा मनाइन्छ ।

उत्तर भारतका मानिस विष्णु र शिवका भक्त हुन् । उनीहरुबीच दशैंको खासै महत्व छैन । तर, बंगाल, आसाम र उडिसामा देवीकै उपासना हुन्छ । हिमाचल प्रदेश र उत्तराखण्डमा पनि शाक्त उपासनाको प्रभाव छ ।

देवीका उपासक नेपालका हिन्दुराजा पृथ्वीनारायण शाहले अंग्रेजको उपनिवेश मजबुत हुनुअघि नै हिमाल, पहाड, तराईलाई जोडेर बलियो राज्य निर्माण गरे । र, दशैं राज्यको रीवाज बन्न पुग्यो ।

दशैं गोरखा राज्यबाटै फैलिएको कारणले मात्रै नेपालको रिवाज बन्न पुगेको हो भन्न मिल्दैन । सहयोग भने गरेको हो, गोरखाले । शाहवंशकै कारण मात्र दशैंको महत्व बढेको होइन । किनभने यो शक्तिको उपासना हो । र, शक्ति र देवीको उपासना गोरखामा मात्र होइन, अन्य बाइसे र चौबीसे राज्यहरुमा पनि व्यापक थियो । त्यहीं गोरखाली संस्कृति पनि घुलमिल भयो ।

उपत्यकामा देवीको उपासनाको स्थान उच्च थियो भन्ने उदाहरण खोज्न टाढा जानु पर्दैन । काठमाडौंमा तलेजु भवानी, ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरछेउमा बंगलामुखी मन्दिर । भक्तपुर पनि देवीको उपासनाबाट बाहिर थिएन ।

(लेखक शर्मा समाजशास्त्री हुन् ।)

स्रोत  अन्नलाईन खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *