Best Online News From Nepal

अध्यात्म र संसार साथसाथ

swamiji4

,                              स्वामी विवेकानन्द आफ्ना शिष्यहरूलाई पूर्ण मानवका रूपमा देख्न चाहन्थे । जीवनलाई पूर्णतामा बाँच्ने बनाउन स्वामीले शिष्यहरूलार्ई सोही अनुरूपका कर्म आचरण व्यवहारमा जोड दिन्थे । भौतिक शरीर मात्रले मानिसलाई पूर्ण मानव बनाउन सक्तैन र यो त एउटा प्राणीका रूपमा बाहिरी आवरणमात्र हो । अध्यात्म साधना मार्गले मानिसका तीन शरीरको कुरा गरेको छ- स्थूल, सूक्ष्म र कारण शरीर ।

हाम्रो देखिने शरीर अथवा काया स्थूल शरीर हो र यो आवरण भित्र नै सूक्ष्म र कारण शरीर छिपेका छन् । शरीरभित्रका शरीरहरू तथा शरीर र शरीरबारे गीता, उपनिषद्लगायत बहुतै शास्त्र तथा सन्तहरूले पनि व्याख्या गरेका छन् । मानिसमा हुने पाइने बुद्धि-ज्ञान, विवेक र प्रज्ञा शरीरभित्रका शरीरहरूको अवस्थाले परावर्तन गर्ने विषय हुन भनेर अध्यात्मले भन्छ । तर यी शरीरभित्रका शरीरहरूको बोध गर्ने विषय निकै सूक्ष्म र गहन छ । यसलाई थाहा पाउन अध्ययन र तर्कले पुग्दैन, साधना र अभ्यास नै चाहिन्छ ।

सामान्य मानिस हुनु र मानव हुनुमा फरक छ । मन हुनासाथ मानिस त हुन्छ तर मानव हुनका लागि मानवत्व चाहिन्छ । त्यसैले मानिसको विपरीत शब्दमा पशु र मानवको विपरीत शब्दमा दानवलाई लिइन्छ । मन हुँदा मानिस र नहुँदा पशु भयो । मनमा कोमल र सदाचारको हृदय हुँदा मानव र कठोर अनि दुष्ट मन हुँदा दानव हुन गयो । हामीले एउटै मानिसमा सामान्य मानिस, दुष्ट मानिस र पूर्ण मानव वा महामानव बन्न सक्ने गुण धर्म विद्यमान रहेको पाउँछौं । तर त्यसलाई निर्देशित गर्ने काममा रूपमा शिक्षा र संस्कारको महत्वव छ । शिक्षा आर्जन गर्न सजिलो छ, तर संस्कार आर्जन गर्न कठिन छ । शिक्षाले वृत्तितर्फ जोड दिन्छ र संस्कारले प्रवृत्तितर्फ । अर्थात, शिक्षा मस्तिष्कको क्षेत्रको विषय छ, तर संस्कार हृदयको क्षेत्रको विषय हो ।

घर, स्कुल कलेजले शिक्षा दिएर पनि संस्कार सिकाउन सकेनन् भने सर्वत्र विकृति आउँछ, आज त्यही भइरहेछ । नैतिक पक्ष र चरित्र निर्माणको पाटो आज ओझेलमा छ । मानिसको बाहिरी स्वरूपभन्दा भित्री स्वरूपको महत्वव हुन्छ । उच्चतम आदर्श र सोही अनुरूपको व्यावहारिकता कायम गरी जीवनमा सामञ्जस्यता ल्याउन शिक्षा र दीक्षा अर्थात् शिक्षा र संस्कारको उत्तिकै भूमिका हुन्छ । यो एउटा बहुतै महत्ववपूर्ण विषय पनि छ । यसको लागि कर्मलाई साधना र साधनालाई कर्म बनाउन सक्ने अभ्यास हुनु आवश्यक छ ।

त्यसैले स्वामी विवेकान्दले आफ्ना शिष्यहरूलाई एकै छिनमा मनका सांसारिक खेललाई विसर्जन गर्दै गहनतम ध्यानमा उत्रन सक्ने र तताण नै ध्यान अवस्थाबाट बाहिर निस्की कुटो कोदालो समातेर खेतमा गै काम गर्न सक्ने मनका लागि प्रशिक्षण दिन्थे र यसबाट नै जीवनको पूर्णता प्राप्त हुन्छ भन्ने उनको दृढता मान्यता थियो । सबै मानिस एक समान र एकसाथ ध्यानी ज्ञानी हुन सक्तैनन्, सन्तमहात्मा र महामानव हुन सक्तैनन् । अधिकांश मानिस सरदर वृत्ति प्रवृत्तिमा बाँचेका हुन्छन् र त्यसमा पनि धेरैजसो त तल्लो श्रेणी हुन्छन् । यो प्रकृतिको नियम नै हो ।

किनकि प्रकृतिमा तीन गुण धम छन्, शिक्षा संस्कारको प्रभाव छ र पूर्वजन्मका कर्मसंस्कारको मार्ग निर्देशन पनि छ सूक्ष्म रूपमा । तर यति हुँदाहुँदै पनि मानिसको आफ्ना प्रयास प्रयत्न छोड्नु हुँदैन र समाज र राष्ट्रले सधैं न्यून वृत्ति प्रवृत्तिलाई उच्च अवस्थामा लैजाने प्रयत्न गर्नुपर्छ । मानव सभ्यता र विकासले पनि यही कुराको मात्र गर्छ अनि अध्यात्म साधनाले पनि खराब संस्कार तथा वृत्ति प्रवृत्ति हटाउनलाई नै आफ्नो ध्येय ठान्छ ।

वास्तवमा भौतिक जीवन र अध्यात्म जीवनको एकसाथ र सामाञ्जस्यपूर्ण अभ्यास गर्न सक्नु बहुतै ठूलो उपलब्धि हो मानव जन्मेको । स्वामी विवेकानन्दले समत्वमा रहेर साधना पनि गर्न सक्ने र खेती व्यापार उद्योग पनि दत्तचित्तले गर्न सक्ने मन निर्माणको प्रशिक्षणमा जोड दिनुभएको विषय ज्यादै महत्ववपूर्ण छ र यो काम निकै कठिन चाहिँ छ । जीवनदेखि भागेर अर्थात् भगौडा भएर, पलायन भएर निष्क्रियताका लागि सन्न्यास लिनु र भौतिक गृहस्थ, संसारमा बसेर तृष्णा, भोगविलासमा मात्र बाँच्नु यी दुवै विपरीत ध्रुवका अतिवाद हुन् र यी दुवै प्रवृत्ति दुःखका जड हुन् । अध्यात्म साधनमा पनि समय दिँदै जीवन व्यवहार कुशलता प्रदर्शन गर्न सक्ने मन र हृदयको निर्माण हुनु नै एउटा मानवपूर्ण मानव हुने मार्ग तय गर्नु हो । यो कार्य अलिक कठिन चाहिँ छ ।

हुरीबतास चलेका बेला बलिरहेको दियो जोगाउन यत्न गर्नुपर्छ र परालको थुप्रो भएका ठाउँमा आगो बाल्दा होसियार हुनुपर्दछ । यही अनुरूपको सावधानी अध्यात्म र भौतिक जीवनको सन्तुलन आवश्यक छ । समाज, राष्ट्र र विश्वमा यो सन्तुलनयुक्त मानव पाउन निकै कठिन छ र जुन समाज र राष्ट्रमा यस प्रकारका मन आत्माहरूको बाहुल्य हुन्छ त्यो समाज र राष्ट्रले धेरै हितकारी कल्याणकारी काम गनै सक्ने सामथ्र्य तथा हैसियत प्राप्त गर्छ । यी मानवहरूमा आफूप्रति नै विश्वास जागृत हुन्छ र यिनीहरू इतिहासका रचनाकार हुन्छन् ।

मानिसमा सर्वप्रथम आफूप्रति विश्वास जाग्नासाथ शरीरभित्र छिपेको दैवी प्रवृत्तिले काम गर्न थाल्छ । यस अवस्थामा देवी प्रवृत्तिले आसुरी प्रवृत्ति माथि विस्तारै विजय पनि प्राप्त गर्दै जान्छ । यसबेला मानिस शक्तिशाली बन्दै जान्छ, दूरदृष्टियुक्त पनि हुँदै जान्छ । हामीले देखेका छौं । मुख्य रूपले राजनीतिमा देखेका छौं कि समय र ठाउँ पाएर पनि आफूभित्रको अनन्त शक्तिलाई चिन्न नसक्दा र आफैंप्रति विश्वास र भरोसा नजाग्दा मानिस असफल भएका छन् । त्यो असफलता व्यक्तिगत र गुटगत स्वार्थमा परिवर्तन भई खेर गएको छ । आफैं सत्कर्ममा अभिप्रेरित हुने र अरूलाई पनि अभिप्रेरणा दिने सामथ्र्य गुमाएका अवस्थाहरू हामीले हाम्रो देशमा धेरै समयदेखि देखिरहेका छौं । चोखा र राम्रा काम गर्ने व्यक्तिहरूको पंक्ति कति छिट्ट भ्रष्ट र स्वार्थी तत्ववमा परिणत हुन्छन् भन्ने उदाहरण गाउँ समाज र राष्ट्रमा सर्वत्र देखिएको छ । अहिलेको कालखण्डमा केही अपवाद छोडेर सर्वत्र यही प्रवृत्ति हावी भएको छ ।

आध्यात्मिक आस्तिकताको धेरै कुरा जोगाउँछ । अन्धो धर्मवादले धेरै कुरा बिगार्छ, नष्ट गर्छ । अध्यात्ममा आधारित ईश्वर वा भगवान र धर्म सम्प्रदायमा आधारित ईश्वर वा भगवान्मा फरक छ । अध्यात्मको बाटोले विकार र क्लेस हट्दै जाँदा स्वतः प्रकट हुने सत्यलाई भगवान्को स्वरूप ठान्छ भने धर्म सम्प्रदायले आलम्बनबाट उत्पन्न भ्रान्तिलाई ईश्वर देख्छ । त्यसैले धर्म सार्वजनिक भएन, अध्यात्म मात्र सार्वजनीन विषय छ । ईश्वर कुनै भौतिक वस्तु वा अब्जेक्ट होइन, यो त आफूभित्रको स्वच्छ अवस्थामा महसुस हुने सत्य बोध हो । इन्द्रियले महसुस गर्ने अवस्थाभन्दा परको अवस्थामा मात्र ईश्वर वा सत्यको बोध हुने कुरा बहुतै गहन र रहस्यको विषय छ । होस जाग्नु, बोध जाग्नु र प्रज्ञामा प्रतिस्थापित हुनु महत्ववपूर्ण कुरा हो । यस्ता प्रवृत्तिका व्यक्तिहरूले नै समाज र राष्ट्रलाई उल्लेख्य योगदान पुर्‍याउन सक्छन् । राजनीतिक, कूटनीतिक, प्रशासनिक र सामाजिक क्षेत्रका नेतृत्वमा यस्ता गुण धर्मयुक्त व्यक्ति भई दिएमा नै समाज र राष्ट्रको कल्याण सम्भव छ । बुद्धिको आयतनभन्दा विवेक र प्रज्ञाको आयतन बढ्दै जाँदा सत्कर्म गर्ने प्रवृत्ति बढ्दै जान्छ । आज त्यो पक्ष कमजोर छ र नै समाज र राष्ट्रले दुःख पाइरहेछ ।

असीमित सम्भावना र रहस्ययुक्त शरीर धारणा गरेर पनि मानिसले आफूलाई चिन्न नसक्दा र आफैंलाई विश्वास गर्न नसक्दा जीवनमा सम्भावनाहरू खेर गएका छन् । मानिसको हृदय र मस्तिष्क विवेक र बुद्धिसँग गाँसिएको छ । दुवैको सन्तुलनमा नै आफ्नो र अरूको भलाई पनि निहित छ । सबैले आज महसुस गरिरहेको विषय छ- देश बनाउन अठोट र इमानदारिता चाहिन्छ । त्यो अठोट र इमानदारिता अध्यात्मक र भौतिकताको सन्तुलन, ज्ञान र विवेकको सन्तुलनबाट मात्र सम्भव छ । यो पहिलो सर्त हो ।

यी गुणले युक्त कुशल नेतृत्वको अभावमा नै राष्ट्र छट्पटाइरहेको छ, पीडामा परेको छ । त्यसपछिमात्र पुँजी, प्रविधि र दक्ष जनशक्तिको कुरा आउँछ । एकछिन पछि फर्किएर हेरौं त । यो देशमा ठूलो भूकम्प आयो, जनधनको क्षति भयो र सारा विश्वको ध्यान आकर्षित भई दुःख व्यक्त गर्दै दुःखमा सहायता गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । यही भूकम्पपछि राष्ट्र दृढ अठोट भएको स्थिर नेतृत्व भएको भए र उपयुक्त नीति कानुन र संरचनासहितको सबल नेतृत्वयुक्त आयोग वा प्राधिकरण तुरुन्त बनाई काम भएको भए पुनर्निर्माण र नवनिर्माणको नयाँ युगमा राष्ट्र प्रवेश गर्ने थियो । तर त्यहाँ पनि फोहोरी राजनीतिको आलले देशलाई बेहाल बनायो ।

नवनिर्माणका लागि दृढ, जुझारु र स्वच्छ नेतृत्व चाहिन्थ्यो, तर राजनीतिक खिचातानी, कमिसनको लोभ र अकर्मण्यताले गाँजेको अवस्थामा स्रोतको परिचालन हुन सक्ने कुरै भएन, दूरदृष्टि त दूरकै कुरा भयो आज यही परिस्थितिबीच पनि बुद्धि र विवेकको संगमको धनी धुर्मुस सुन्तली फाउन्डेसनले एकीकृत नमुना मुसहर बस्तीलगायत अन्य ठाउँमा पनि जुन कार्य सम्पन्न गरेर देखायो त्यसले एउटा सन्देश दिएको छ- वृत्ति, प्रवृत्ति, बुद्धि विवेक, ज्ञान, अठोटका धनी आत्माहरूले यो देशलाई ब्युँत्याउने रहेछन् र अझै आस मार्नुपर्ने अवस्था रहनेछ ।

तर सरकारलाई जुन लाज हुनुपर्ने हो त्यो लाज चाहिँ सर्वांङ भइरहने बानी परेकोले नभएको होला भन्ने नै ठानेका छन् नेपालीहरूले । तीन महिनामा उक्त फाउन्डेसनले सम्पन्न गरेको काम सरकारी स्तरबाट सायद तीन वर्षमा पनि हुने थिएन, लागत र गुणस्तरको कुरा अर्को पाटो छँदैछ । इच्छा शक्ति र अठोटको जित भएको यो राम्रो उदाहरण हो । निर्माणका क्षेत्रका साथै राजनीतिमा स्वच्छ भएर बागडोर सम्हाल्न सक्ने नेपालीको प्रतीक्षा राष्ट्रले गरेकी छ । आशा गरौं ती सुदिन पनि नेपालीले चाँडै देख्न पाउन अहिले बर्दियाको मुसहर बस्तीमा छाएको खुसीयाली देशका कुनाकुनामा छाउन सक्नुपर्छ । धुर्मुस सुन्तली फाउन्डेसनले एउटा हाँक र चुनौती दिएको छ सरकारलाई तर हाँक र चुनौती स्वीकार्न पनि संकल्प हिम्मत र दृढता चाहिन्छ ।

अहिले देश स्थानीय चुनावको संघारमा छ । यदि शान्तिपूर्ण वातावरणमा चुनाव सम्पन्न भयो भने यसलाई एउटा उपलब्धि मान्नुपर्छ । आसन्न चुनावमा कुन पार्टीका उम्मेदवार छान्ने भन्दा पनि कस्तो व्यक्ति छान्ने भन्ने कुरा महत्ववपूर्ण छ । राजनीतिक संगठनको समग्र चरित्रभन्दा एउटा व्यक्तिको चरित्र महत्ववपूर्ण देखिने अवस्था किन आयो । राजनीतिमा कुनकुन तत्ववहरू हावी हुँदै गए ? स्थानीय निकायहरू जनता दैनानुदिनका समस्याहरू सुल्झाउने र स्थानीय तहमा विकास, सामाजिक न्याय र शान्ति कायम गर्ने प्रमुख संगठन हुन् । यहाँ नेतृत्व दिने व्यक्तिले सही रूपमा राष्ट्रको विकास र राजनीतिको दिशालाई पनि संकेत गर्छ । विकासप्रेमी, भ्रष्टाचार विरोधी र ज्ञान विवेकको सामञ्जस्यतापूर्ण हृदय र मस्तिष्क भएका प्रतिनिधि छान्न सके राष्ट्रको कल्याण हुने थियो ।

स्रोत-अन्नपर्ण पोष्ट

https://rkmissionashramnepal.org/

Leave a Reply

Your email address will not be published. Required fields are marked *