बैंक तथा वित्तीय संस्थाले कृषिजन्य उद्योगमा ऋण लगानी गर्न थालेपछि सिरहा जिल्लामा कृषिजन्य उद्योग दर्ता गराउने क्रम बढेको छ । बैंक तथा वित्तीय संस्थाले कृषिजन्य उद्योगमा सजिलै ऋण लगानी गर्न थालेको र बढ्दो लोडसेडिङले समेत खासै असर नपर्ने भएपछि सिरहामा कृषिजन्य उद्योग दर्ता गराउने क्रम बढेको हो ।
अघिल्लो आर्थिक वर्षसम्म ५ प्रतिशत मात्र कृषिजन्य उद्योग रहेको सिरहामा चालु आर्थिक वर्ष २०७२/०७३ को ९ महिनाको अवधिमा २ सय १६ वटा कृषिजन्य उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय लहान सिरहाले जनाएको छ । घरेलु तथा साना उद्योग कार्यालय लहानका नासु काजीमान लिम्बूका अनुसार चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कृषिजन्य उद्योग अन्तर्गत कुखुरापालनको ११० वटा, पशुपालनको ५२ वटा, माछापालनको ४२ वटा, डेरीको ४९ वटा, कृषिको तीनवटा, मौरिजन्य उद्योग दुईवटा र नर्सरी ३६ वटा उद्योग दर्ता भएको छ ।
जिल्लास्थित बैंक तथा वित्तीय संस्थाबाट कृषिजन्य उद्योगमा ऋण लगानी हुन थालेको र अन्य उद्योग भन्दा कृषिजन्य उद्योगलाई बढ्दो लोडसेडिङले खासै असर नपार्ने भएकाले कृषिजन्य उद्योगतर्फ स्थानीयवासी आकर्षित भएको घरेलु तथा साना उद्योग कार्यालय लहानका राजेन्द्रकुमार लाल कर्णले बताए ।
कृषिजन्य उद्योग बाहेक चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा राइस मिल एक हजार १३५ वटा, इँटा उद्योग ६०, निर्माण सेवा उद्योग २४० वटा, समिल उद्योग २३१, ग्रिल वर्कसपका ११८ वटा, टायल उद्योग ३९ वटा उद्योग दत्र्ता भएको घरेलु तथा साना उद्योग कार्यालय लहानले जनाएको छ । रासस