Best Online News From Nepal

४ हजार ऋण लिएर एउटा बंगुर किनेकी डल्ली : यसरी बनिन् एकाएक मालामाल

बाँके जिल्लास्थित शिवपुरीकी अनिता थापाले बंगुर पाल्न थालेको धेरै समय भएको छैन । बंगुर पालनबाट उनले परिवारको आर्थिक अवस्था केही सुध्रिएको अनुभूति भने गरेकी छन् । गाउँकै महिला समूहबाट ५० हजार रुपैयाँ ऋण लिएर उनले यो व्यवसाय सुरु गरेकी हुन् । बंगुर स्याहार गरेरै उनको दैनिकी बित्छ । अहिले सम्म ५४ हजार रुपैयाँ बराबरको बंगुर बिक्री गरिसकेकी छन्, उनले । ’समुहबाट ल्याएको ऋण बंगुरकै आम्दानीबाट तिरे,’ उनले भनिन्, ‘अबको आम्दानी बचत गरेर राख्ने सोचमा छ ।’ अनिताको बंगुर फार्ममा अहिले ५ वटा माउ बंगुर छन, भने आधा दर्जन बढी भर्खरै जन्मेका पाठापाठी छन् ।

शिवपुरीकै डल्ली थापाले पनि ४ हजार ऋण लिएर एउटा माउ बंगुर खरिद गरिन् । तीन बेतमा एउटा बंगुरले ३० वटा बच्चा पायो । बंगुरको आम्दानीबाट समूहको ऋण तिरेर पनि उनले घरको जग बनाएकी छन् । डल्लीसँग अहिले ४ वटा माउ बंगुर छन् । ‘बंगुर बेचेरै घरको जग बनाएँ, अब घर ठड्याउने आँट पनि आएको छ,’ उनले भनिन् ’अहिले घरको सम्पूर्ण खर्च बंगुरले नै धानेको छ ।’ अनिता र डल्लीजस्तै शिवपुरीका ३० महिलाले आर्थिक अवस्था सुधार्न अहिले विभिन्न व्यवसाय गरेका छन् ।

जिल्ला विकास समिति बाँकेले स्थापना गरेको नागरिक सचेतना केन्द्रमा आबद्ध महिलाको आर्थिक अवस्था सुधार गर्न लक्षित वर्गको बजेट विभिन्न आयमूलक काममा लगानी गरिएको हो । समूह संयोजक सुनिता कुमारी आलेले जिविसबाट पाएको ४ लाख ७५ हजार रुपैयाँ समूहका प्रत्येक महिलालाई ऋण दिएर विभिन्न व्यवसायमा लगानी गरिएको जानकारी दिइन् ।

समूहमा आबद्ध महिलाले बंगुर, बाख्रा, माछा पालन, तरकारी खेतीमा लगानी गरेको र व्यवसाय गर्ने धेरै महिला छोटो समयमै ‘आत्मनिर्भर’ बनेको उनको जिकिर छ । ‘जिविसले निर्माण गरिदिएको नागरिक सचेतना केन्द्रमा हरेक महिना समूहको बैठक राख्छौं,’ संयोजक आलेले भनिन, ‘त्यही बैठकबाट मासिक बचत उठाउने र नयाँ कामको निर्णय गर्छौं ।’

समूहबाट ऋण लिएका महिलाले व्यवसाय गरेर ब्याज र सावासमेत तिरिसकेको उनले बताइन् । समूहका महिलाले सामूहिक खेती गर्न ५ वर्षका लागि ७५ हजार रुपैयाँमा ८ कठ्ठा जमिन लिजमा लिएका छन् । उक्त जमिनमा महिलाले तरकारीलगायत विभिन्न बाली लगाएका छन् ।

एलजिसिडिपी कार्यक्रमअन्तर्गत जिल्ला विकास समितिले शिवपुरीसहित बाँकेका ३३ गाविसमा ८३ वटा नागरिक सचेतना केन्द्र स्थापना गरेको छ । ती केन्द्रमा विपन्न महिला र पुरुषलाई आबद्ध गराएर आर्थिक अवस्थामा सुधार ल्याउने र नेतृत्व विकास गर्ने उद्देश्य रहेको जिविसका जिल्ला शासनविज्ञ मिनबहादुर मल्लले बताए । उनका अनुसार २०६८ सालदेखि नागरिक सचेतना केन्द्रमार्फत विपन्न समुदायका लागि घुम्ती कोष सञ्चालन गरिएको छ । ‘जीविकोपार्जन सुधारअन्तर्गत आयआर्जन सुधारका लागि भौतिक प्रर्वाधार निर्माणसँगै प्रत्येक समूहलाई व्यवसाय गर्न रकम दिन्छौं,’ मल्लले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *