Best Online News From Nepal

३ महिनामा ८० अर्ब थपियो बैँकिङ लगानी

भूकम्प, तराई आन्दोलन र नाकाबन्दीले आर्थिक गतिविधि नहुँदा सुस्त भएको बैंकहरूको कर्जा बढ्न थालेको छ । नाकाबन्दी खुलेसँगै आर्थिक क्रियाकलाप बढेपछि बैंकमा कर्जाको माग बढ्न थालेको हो । बजारमा अधिक तरलताको अवस्था सहज हुनुले बैंकको लगानी बढेको पुष्टि हुन्छ । नेपाल राष्ट्र बैंकका अनुसार नाकाबन्दी खुलेयताको तीन महिनामा वाणिज्य बैंकको लगानी ८० अर्ब थपिएको छ । ०७२ माघ १ सम्ममा वाणिज्य बैंकहरूले ११ खर्ब ७५ अर्ब लगानी गरेकोमा चैत २६ सम्ममा १२ खर्ब ५५ अर्ब पुगेको छ । त्यसअघिका तीन महिनामा बैंकको लगानी ३४ अर्बमात्र बढेको थियो । नाकाबन्दी खुलेसँगै विकास आयोजनाको काम सुरु भएको तथा उद्योगधन्दा र व्यापार पनि पुरानै अवस्थामा फर्किन थालेकाले कर्जाको माग बढेको हो ।
प्राथमीकतामा घर र गाडी नै
नाकाबन्दीका कारण बैंकले आधार दरभन्दा पनि कम ब्याजदरमा ऋण लगानी गर्दै आएका छन् । बैंकले घरजग्गा र गाडी खरिद कर्जालाई प्राथमिकता दिएका छन् । नाका खुलेपछि आयात–निर्यात व्यापार, जलविद्युत, पर्यटन र सिमेन्ट उद्योगका लागि पनि कर्जाको माग आइरहेको बैंकरहरु बताउँछन् । भूकम्प र नाकाबन्दीमा व्यवसायीलाई दिइएको सहुलियत चैतमा सकिएकाले पनि कर्जा लगानी बढेको हो । त्यस्तै, पुरानो कर्जाको किस्ता तिर्न ओभर ड्राफ्ट दिइएकाले चैत्र महिनामा बैंकको लगानी बढ्ने गर्दछ । केही कर्जा सेयर बजारमा समेत गएको बैंकरहरुको भनाइ छ ।
राष्ट्र बैंकले व्यवसायीलाई कर्जाको किस्ता तिर्न चैत्रसम्मको समय सीमा दिएको थियो भने बैंकले पनि यस्तो कर्जालाई असल कर्जामा गणना गरी सोहीअनुसार जोखिम व्यवस्था गरे पुग्ने सहुलियत दिएको थियो । ब्याजदर घटेका बेला बैंकको कर्जा वास्तविक कारोबारमा नभई सट्टेबाजमा दुरुपयोग हुने खतरा पनि औँल्याइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *