Best Online News From Nepal

२६ करोड बक्यौता तिर्न आनाकानी

काठमाडौं, १३ चैत 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले दोस्रो पटक दिएको चेतावनीपछि पनि एयर एसिया प्रालिले २६ करोड रुपैयाँ बक्यौता तिरेको छैन । एयर एसियाले पहिलो पटक ताकेता गरेको म्याद सकिने दिन मलेसियाको मुख्य कार्यालयबाट पत्र पठाएर पुनः ७ दिनको समय मागेको थियो । एयर एसिया एक्सको मुख्य कार्यालयका सीईओको पत्रपछि पुनः ७ दिनको म्याद दिएको थियो । तर त्यो समयभित्र पनि नतिरी एयर एसियाले टीआइएलाई ढाँटेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय (टीआइए) ले पहिलो पटक एयर एशिया प्रालिलाई सेवा शुल्क लगायतका शुल्क नतिरेपछि २०७४ फागुन २५ सम्मको समयसीमा तोकेको थियो । टीआइएले फागुन २५ भित्र बक्यौता नतिरे एयर एशियाका उडान बन्द गर्ने चेतावनी दिएको थियो । फागुन २५ भित्र बैंक ग्यारेन्टी पेश नगरे फागुन २७ बाट एयर एशियाका उडान नेपालमा बन्द गर्ने तयारी टीआइएले गरेको थियो । तर फागुन २५ मा एयर एशिया एक्सको मुख्य कार्यालय मलेसियाका सीईओले नै ७ दिनसम्म बक्यौता तिर्ने पत्र पठाएपछि टीआइएले उसलाई पुनः ७ दिनको समय दिएको हो ।

एयर एशियाले मागेको समय चैत २ मै सकिएको छ । तर टीआइएलाई २६ करोड तिर्न अटेरी गर्दैआएको छ । एयर एशिया एक्सको मलेसियास्थित मुख्य कार्यालयका सीइओले ७ दिनभित्र तिर्ने लिखित प्रतिबद्धता पनि पूरा नगरेपछि टीआइए बक्यौता असुलीका लागि नयाँ रणनीतिमा लागेको छ ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दोस्रो पटक दिएको ताकेतापछि अब एयर एसियाका उडान क्रमशः बन्द गर्दै जाने नीति अख्तियार गर्न लागेको छ । एकैपटक बन्द नगरी १ घन्टा, २ घन्टा बन्द गर्दै जाने नीति टीआइएले अख्तियार गर्न लागेको छ । एकैपटक बन्द गर्दा पर्यटन क्षेत्रमा असर पर्ने भएकाले क्रमशः बन्द गर्र्दै जाने नीतिमा टीआइए छ ।
एयर एसिया प्रालिले विगतका टीआइएका उच्च अधिकारीलाई घुस दिएर बक्यौता नतिरे पनि निर्वाध उडान गर्दैआएका थिए । तर कृष्णप्रसाद देवकोटा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव भएर आएपछि उनले बक्यौता असुलीका लागि कडा निर्देशन दिए । जसका कारण टीआइएका महाप्रबन्धक राजकुमार क्षेत्रीले एयर एसियालाई बक्यौत तिर्न ताकेता गरेका हुन् ।

मलेसियाबाट काठमाडौं र काठमाडौंबाट मलेसिया सिधा उडान गर्दै आएको उक्त कम्पनीले अवतरण शुल्क, पार्किङ शुल्क, विमानस्थल विकास शुल्क, कोठा भाडालगायतको करिब ३ वर्षयताको बक्यौता २६ करोड रुपैयाँ टीआइएलाई तिर्न बाँकी रहेको छ । एयर एशियाबाहेक अरु केही एयरलाइन्सलाई बक्यौता तिर्न बाँकी छ । टीआइएले एयरलाइन्सहरुसँग २८ करोड बक्यौता असुली गर्न बाँकी रहेको छ । त्यसमा सबैभन्दा धेरै एयर एशियाकै रहेको टीआइएका अधिकारीले बताएका छन् ।

एयर एसिया प्रालिको नेपालस्थित जीएसएका सञ्चालक हरिमान लामा कालोसूचीमा परेका छन् । लामाको समूहद्वारा सञ्चालित इन्सेन्टिभ ट्राभल्स एन्ड टूरले एयर एसियाको जीएसए लिएर नेपालमा वायु सेवा सम्बन्धी काम गर्दै आएको छ । समूहका अध्यक्ष लामासहित गणेशमान लामा, सावित्री श्रेष्ठ र मञ्जु तामाङ लामा समेत कालोसूचीमा परेका छन् । उनीहरुलाई सूचना केन्द्रले गत मंसिर ३ गते कालोसूचीमा राखेको हो । कर्जा सूचना केन्द्रको सि.नं.५६८७ र कालोसूची नम्बर १०१०५ मा उनीहरुलाई कालोसूचीमा राखिएको छ ।

Source Nayapage.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *