Best Online News From Nepal

२० गुणा बढी विद्यार्थी भर्ना ल क्याम्पस टहरा पढाउने तयारी गर्दै

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को आंगिक क्याम्पस नेपाल ल क्याम्पसमा स्नातक तह (एलएलबी) प्रथम वर्षमा क्षमताभन्दा करिब २० गुणा बढी विद्यार्थी भर्ना भएपछि कक्षाकोठा अभाव देखिएको छ।

करिब ५०० क्षमता भएको उक्त क्याम्पसमा अहिले स्नातक प्रथम वर्षमा १० हजार ८६० जना विद्यार्थी भर्ना भएका छन्। गत वर्ष चार हजार २३८ विद्यार्थी भर्ना भएका थिए। त्रिवि कानून सङ्कायका डिन डा ताराप्रसाद सापकोटाले क्षमताभन्दा बढी विद्यार्थी भर्ना भएपछि पढाउनका लागि कक्षाकोठा खोजिरहेको बताए।

ल क्याम्पसमा चार वटा कक्षाकोठा मात्र स्नातक तह प्रथम वर्षमा पढाउनका लागि रहेको छ। उनले कक्षाकोठा उपलब्ध गराइदिन त्रिविका रजिष्ट्रार र रेक्टरसमक्ष पहल गर्न अनुरोध गरिएको बताए।

‘चार वटा कोठामा हामीले अहिले कक्षा सञ्चालन गरिरहेका छौं। ती कोठामा विद्यार्थीको भीड छ,’ उनले भने, ‘प्राध्यापकसँगसँगै उभिएर विद्यार्थी पढिरहेका छन्।’

काठमाडौंस्थित ल क्याम्पस मात्र नभएर उपत्यकाबाहिरका छ वटा त्रिवि आंगिक क्याम्पसमा पनि क्षमताभन्दा बढी नै विद्यार्थी भर्ना छन्। डिन डा सापकोटाका अनुसार सबभन्दा बढी नेपालगञ्जस्थित क्याम्पस एक हजार २०० र कम बुटवलस्थित क्याम्पसमा ७०० विद्यार्थी भर्ना भएका छन्।

क्याम्पस प्रमुख डा दिनानाथ पराजुलीले त्रिवि केन्द्रीय क्याम्पससँग जग्गा मागेर टहरा निर्माण गरी कक्षा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी गराए।

‘हामीले त्रिविसँग ५० रोपनी जग्गा माग गरेका छौं। त्रिविले जग्गा उपलब्ध गराए दशैंपछि उक्त जग्गामा पढाउन टहरा बनाउनेछौं,’ उनले भने, ‘हामीले बिहान पठाउँछौ। दिउँसो र कक्षा सञ्चालन नभएका बेला त्रिविले उक्त टहरामा परीक्षासमेत सञ्चालन गर्न सक्नेछ।’

एउटा कक्षामा २०० जना पढाउने गरी क्याम्पसले टहरा बनाउने तयारी गरेको छ। क्याम्पस प्रमुख पराजुलीले कक्षाकोठा अभावले अयन्त्र पढाई सञ्चालन गर्नुपर्दा बिहान, दिउँसो र साँझ तीनै सिफ्टमा कक्षा सञ्चालन गरिने बताए। एउटै सिफ्टमा सबै विद्यार्थीलाई पढाउन असम्भव भएपछि तीन सिफ्टमा पढाइने उनले जानकारी गराए।

त्रिविसँगै क्याम्पस नजिकका विश्व भाषा क्याम्पस, रत्नराज्य क्याम्पस र सरस्वती क्याम्पसमा कक्षाकोठा मागेर पठाउने छलफल भइरहेको पनि उनले बताए।

यसैगरी करिब १० हजार ८६० जनाले भर्ना गरे पनि करिब एक हजार जना क्याम्पस आउने गरेका छन्। पहिलेको तुलनामा अहिले विद्यार्थी आउन थालेको क्याम्पस प्रमुख पराजुलीले बताए।

उता नेपाल विद्यार्थी सङ्घले एलएलबी प्रथम वर्षमा भर्ना समय थप्नुपर्यो भनेर क्याम्पस प्रमुखको कार्यकक्षमा असोज ९ गतेदेखि तालाबन्दी गरेका छन्।

(रासस)