Best Online News From Nepal

२०२० सम्ममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : आर्थिक कायापलटको संकेत

रुपा कोइराला । नयाँ वर्षको सुरुवातकै दिनमा राष्ट्रिय गौरवको आयोजना मानिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास हुनुलाई आर्थिक गतिविधिको सकारात्मक सुचक मानिएको छ । आर्थिक गतिविधिका हिसाबले २०७२ साल निकै सुस्त रह्यो । नेपालको मुद्रास्फीर्तीमा मुलुकको प्रतिकुल अवस्थाको प्रभाव ज्यादा पर्यो । यी सबै समस्या क्रमशः समाधान हुँदै जान थालेपछि भने उपभोक्ता मुद्रास्फीर्ति दरमा केहि सुधार देखिएको नेपाल राष्ट्र बैँकले जनाएको छ । राष्ट्र बैँकको तथ्यांक अनुसार, २०७२ पुस महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीर्तीत दर १२.१ प्रतिशत पुगेकोमा २०७२ माघमा ११.३ प्रतिशतमा झरेको छ । वार्षिक विन्दुगत आधारमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य सूचकाङ्क वृद्धिदर १२.८ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मूल्य सूचकाङ्क वृद्धिदर १०.१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

वर्षको सुरुवातमा नै गएको विनाशकारी भुकम्पले गरीबी मात्रै बढाएन पूरै वर्षभरि नै नेपालीको जीवनलाई त्रासमय बनायो । बैशाख १२ गतेको भुकम्प र त्यसपछिका पराकम्पहरुले महिनौँसम्म आर्थिक गतिविधिहरुलाई ठप्प पार्यो । मानिसहरु कार्यालय जान मात्र हैन घरभित्र पस्न पनि डराउने स्थिती सिर्जना भयो । भुकम्पको त्रासबाट सामान्य जीवनतिर फर्किनै लाग्दा नेपालीले तराई आन्दोलन, नाकाबन्दी र इन्धन संकटको समस्या झेल्नुपर्यो । जसले संविधान निर्माणको खुशियाली पनि मनाउन दिएन । यी सबै समस्याहरुका कारण ०७२ साललाई एउटा कालो वर्षका रुपमा व्याख्या गरियो । ०७३ सालको आगमनसँगै मानिसहरुमा नयाँ आशाहरु थपिएका छन् । ०७२ साल जस्तो भएपनि ०७३ साल एकदमै सुखद रहने अपेक्षा गरिएको छ । चिनको सहयोगमा बन्न लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शुभारम्भलाई नेपाली अर्थतन्त्रको नयाँ र सकारात्मक मोडको रुपमा लिइएको छ । चीन सरकारको एकजिम बैंकको २२ अर्ब ऋण सहयोगमा विमानस्थल निर्माण कार्य अघि बढाउन लागिएको हो ।

पोखरेली जनताको चार दशकदेखिको सपना
पोखरेली जनताले चार दशकदेखि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सपना देखेका थिए । जुन नयाँ वर्षको आगमनसँगै पूरा हुने छाँट देखियो । २०३४ सालदेखि जग्गा अधिकरण गरे पनि लामो समयदेखि काम अघि बढ्न सकिरहेको थिएन । विमानस्थल निर्माण कार्यलाई अघि बढाउन पोखरा विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिले सयौँ दिन अनसन बस्नुपरेको थियो । विमानस्थल निर्माणका लागि प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको ऋण सम्झौतासँगै निकै उत्साहित बनेका पोखरेली जनतालाई शिलान्यासले थप उत्साहित बनाएको छ । विमानस्थल निर्माणले पोखराका धेरै सम्भावनालाई उजागर गर्ने कतिपयको धारणा छ । विश्वमा नै परिचित पर्यटकीय नगरी पोखरामा विमानस्थल निर्माणको प्रक्रिया अघि बढ्नुले यहाँको विकासका सम्भावनालाई अघि बढाएको सरोकारवालाहरु बताउँछन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पोखराको मात्र नभएर ४ नं प्रदेश र समग्र नेपालकै लागि गौरवको विषय मानिएको छ । विमानस्थल बनेसँगै लाखौँ विदेशी पर्यटक पोखरा हुँदै लुम्बिनी, मुक्तिनाथ, पशुपतिनाथ, कैलाशनाथ आदि धार्मिकस्थलको दर्शन र अवलोकनका लागि आउने अपेक्षाले त्यहाँका पर्यटन व्यवसायीहरुलाई उत्साहित तुल्याएको छ ।

थपियो चुनौति
विमानस्थल निर्माणका लागि ठूलो लगानी पोखरामा भित्रनु यस क्षेत्रका लागि आफँैमा महत्वपूर्ण विषय भएको विज्ञहरुको बुझाई छ । यद्यपि, विमानस्थल निर्माणको कार्यले कत्तिको गति लिन सक्छ र अपेक्षाअनुरुपको बन्न सक्छ या सक्दैन भन्ने एक खाले चुनौति त छँदैछ साथै विमानस्थल निर्माणसँगै सडक यातायात लगायतका पूर्वाधार विकासलाई पनि सँगसँगै लैजानुपर्ने चुनौति पनि थपिएको महशूस गरिएको छ ।

सरकारका प्रतिवद्धता
सन् २०२० जुलाई सम्ममा निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आउने विश्वास प्रधानमन्त्री केपी शर्मा ओलीको छ । विमानस्थल निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी सिएमसी इन्जिनियरिङ कम्पनीले पनि सबैको सहयोगमा तोकिएको समयमा नै निर्माण सम्पन्न गरिने प्रतिवद्धता जाहेर गरेका छन् ।

देशका सबै राजनीतिक पार्टी राष्ट्रिय विकासका लागि एक ठाउँमा भएको र सबै नेपालीको संयुक्त लगानीमा ठूला जलविद्युत् आयोजना सुरु गर्ने तयारीमा सरकार लागि परेको प्रधानमन्त्री ओलीले बताए । नेपाल विद्युत् प्राधिकरणले वैशाख महिनालाई विद्युत् चुहावट नियन्त्रण महिनाको रुपमा काम सुरु गरेको बताउँदै प्रधानमन्त्री ओलीले यसले देशमा भइरहेको २७ प्रतिशत विद्युत् चुहावट नियन्त्रण हुने दाबी समेत गरे । सरकारले आगामी आवको बजेट नयाँ नीति र कार्यक्रमका साथ ल्याउने र यो बजेट विकास अभियान संवाहकका रुपमा हुने प्रम ओलीले बताए । त्यस्तै, आगामी पाँच वर्षभित्रमा २६ लाख पर्यटक ल्याउने लक्ष्य संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको छ ।

यस्तो छ बजेट परिचालनको अवस्था
चालू आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांक हेर्दा, नगद प्रवाहमा आधारित कुल सरकारी खर्च १२.३ प्रतिशतले वृद्धि भई २ खर्ब २ अर्ब ७२ करोड रुपैँया पुगेको छ । यो रकम बजेट अनुमान ८ खर्ब १९ अर्ब ४७ करोड रुपैँयाको २४.७ प्रतिशत हुन आउँछ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी खर्च ६.३ प्रतिशतले वृद्धि भई १ खर्ब ८० अर्ब ५३ करोड रुपैँया पुगेको थियो । समीक्षा अवधिमा चालू खर्च ११.२ प्रतिशतले वृद्धि भई १ खर्ब ५३ अर्ब ४६ करोड रुपैँया पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च २.२ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा पूँजीगत खर्चमा २.७ प्रतिशतले ह्रास आई १७ अर्ब ४५ करोडमा सीमित भएको छ । पूँजीगत खर्च घट्नुमा इन्धन एवम् निर्माण सामग्रीको अभावका कारण कतिपय महत्वपूर्ण आयोजनाहरु अवरुद्ध भएका तथा भूकम्प पछिको पुनर्निर्माणको कार्य समेत प्रभावित हुनुलाई कारक देखाइएको छ । समीक्षा अवधिमा नेपाल सरकारको राजस्व परिचालन १०.२ प्रतिशतले घटी १ खर्ब ९३ अर्ब ४८ करोड रुपैँयामा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व १४.१ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा कुल राजस्व बजेट लक्ष्य ४ खर्ब ७५ अर्ब रुपैँयाको ४०.७ प्रतिशत मात्र परिचालन भएकोले चालू आर्थिक वर्षमा लक्षित राजस्व संकलन हुन कठिन देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *