Best Online News From Nepal

१ घण्टा बढ्यो लोडसेडिङ, अझै बढ्ने सम्भावना

नेपाल विद्युत् प्राधीकरणले लोडसेडिङ बढाएको छ । खडेरीले नदीमा पानीको वहावमा कमी आई विद्युत उत्पादनमा भारी गिरावट आएपछि प्राधिकरणले अघोषित रुपमा १ घण्टा लोडसेडिङ बढाएको हो । दैनिक ११ घण्टा लोडसेडिङको तालिका भएतापनि हाल दैनिक १२ घण्टा लोडसेडिङ हुने गरेको छ । सोमबारसम्म तालिकाअनुरुप नै विद्युत्भार कटौती हुदै आएकोमा मंगलबार एक्कासी बढेको हो । मागको तुलनामा आपूर्ति ८ सय ५४ मेगावाट अपुग भएपछि लोडसेडिङ बढाएको प्राधिकरणले जनाएको छ । प्राधीकरणका अनुसार, हाल बिजुलीको माग १ हजार ३ सय ५० मेगावाट छ भने आपूर्ति भारतबाट आयातित समेत गरी ४ सय ९६ मेगावाट छ ।
अघिल्लो वर्षको तुलनामा यो वर्ष नदीको वहावमा आधारित (रन अफ दी रिभर) प्रकृतिका आयोजनाबाट १ सय ८३ मेगावाट घटेको बताइएको छ । गत वर्ष रन अफ दी रिभर आयोजनाबाट ३ सय ८८ मेगावाट बिजुली उत्पादन भएकोमा यो वर्ष घटेर १ सय ४० मेगावाटमा सिमित भएको छ । विद्युत् प्राधिकरण र निजी उत्पादकबाट १ सय ९६ मेगावाट मात्र बिजुली उत्पादन भएको छ । भारतबाट ३ सय मेगावाट हारहारीमा बिजुली आयात भइरहेको छ । यो कुलेखानी आयोजना बाहेकको हो । कुलेखानीमा पानीको सतह धेरै घटेकाले माग व्यवस्थापन गर्न कठिनाई भएको प्राधीकरणले जनाएको छ । हिउँदमा पर्याप्त हिउँ नपरेपछि नदीमा जलस्तर बढ्न नसक्दा व्यवस्थापन गर्न समस्या भएको प्राधीकरणको तर्क छ । वर्षा नभई लोडसेडिङ घट्ने अवस्था नरहेको बरु अझै बढ्न सक्ने प्राधीकरण स्रोतले बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *