लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको उदयपूरको गाईघाट–बुइपा ३३ केभी विद्युत् प्रसारणलाइन सञ्चालनमा आएको छ । ११ केभी क्षमताको विद्युत् प्रसारण हुँदै आएको जिल्लामा सोही लाइनलाई ‘अपग्रेड’ गरेर ३३ केभी सञ्चालनमा ल्याइएको हो । बुधबार मात्रै अपगे्रडको काम सकिएको ३३ केभी प्रसारण लाइन बुइपामा रहेको सब–स्टेसन चार्ज गरेर बिहीबारबाट सञ्चालनमा ल्याइएको आयोजना प्रमुख चन्द्रवीर खड्काले जानकारी दिनुभयो । “विद्युत् प्रसारण लाइन लामो दूरी भएकाले ढिलो भएको हो”, उहाँले भन्नुभयो, “लामो दूरी भएकाले धेरै ठाउँमा अप्ठ्याराहरु थिए, जोखिम मोलेरै भए पनि सञ्चालनमा ल्याइयो ।”
जिल्लामा ३३ केभी विद्युत् प्रसारण लाइन सञ्चालन भएपछि कम भोल्टेजको समस्या समाधान भएको छ । यसअघि कम भोल्टेजका कारण जिल्लामा सञ्चालित विद्युत्बाट ठूला काम गर्न सकिने अवस्था थिएन । बाह्र वर्षअघिदेखि ३३ केभी प्रसारण गर्ने तयारी गरिएपनि बुइपास्थित सब–स्टेसन चार्ज नहुने, तार चुँडिने, ट्रान्सफर्मर पड्कने जस्ता समस्याले सञ्चालनमा आउन सकेको थिएन । लामो समयदेखि ११ केभी सञ्चालन हुँदै आएको जिल्लामा यसअघि कम भोल्टेज आउने, भनेको समयमा विद्युत् नआउने, बढी समयसम्म विद्युत्भार कटौती हुने, हावाहुरी तथा पानी पर्दा विद्युत् नआउने जस्ता समस्या रहेको थियो ।
विसं २०६१ सालदेखि ११ केभीलाई ३३ केभीमा अपग्रेड गर्ने काम सुरु गरिएको भए पनि हरेक वर्ष आयोजनाले विभिन्न बहाना देखाउँदै सञ्चालनमा ल्याउन सकेको थिएन । केही वर्षदेखि तीव्रगतिमा अपग्रेडको काम थालेको आयोजनाले गतवर्ष सब–स्टेसन चार्ज गर्ने काम भए पनि अधुरै रहेको थियो ।
उदयपुरको जलजलेबाट खोटाङको बुइपासम्म ६९ किलोमिटर लामो विद्युत् लाइन विसं २०५७ सालमा तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाले उद्घाटन गर्नुभएको थियो । सोह्र वर्षदेखि केन्द्रीय विद्युत् प्रसारण भएको खोटाङमा अहिले जिल्लाका ३८ गाविसमा विस्तार गरिएको छ । रासस