Best Online News From Nepal

१५ दिनमा २० हजार चालक सुध्रिए, नियम मिच्नेको संख्या तीन गुणाले घट्यो

सरकारले यहि जेठ १ देखि लागु हुने गरी ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई न्यूनतम ५ सय जरिबाना गर्न थालेको छ । यसअघि ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई २५ रुपैयाँ मात्र जरिबाना हुन्थ्यो । जेठ १ गते मात्र होइन त्यसयता दिनहुँ नै उपत्याकाका सडकमा ट्राफिक नियम उल्लंघन गर्ने चालक संख्यामा ठूलो कमी आएको छ । ट्राफिक प्रहरीका अनुसार बढेको जरिबाना रकमकै चिट काट्न थालेपछि नियम मिच्ने चालक संख्यामा ठूलो कमी आएको छ ।
नियम मिच्ने चालकको संख्या तीन गुणा घट्यो
महानगरिय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकले पनि नियम मिच्ने चालक संख्या तीन गुणा घटेको देखाउँछ । बढेको जरिबाना रकम लागू हुनु अघिको १५ दिनमा उपत्यकाका सडकमा ३० हजार ५ सय ४० जना चालक कारबाहीमा परेका थिए। जरिबानासम्बन्धी नयाँ प्रावधान लागू भएपछि १५ दिनको अवधिमा उपत्यकामा जम्मा १० हजार २ सय ४५ जना चालक मात्र कारबाहीमा परेका छन्। जरिबाना बढेकै कारण उपत्यकाका सडकमा १५ दिनमा २० हजार २ सय ९५ चालकले नियम अनुसार सवारी चलाएको तथ्यांकले नै देखाएको महाशाखा प्रमुख डिआइजी प्रकाश अर्याल बताउँछन् । महाशाखाको तथ्यांक अनुसार जरिबाना रकम बढ्नुअघि उपत्यकाका सडकमा दैनिक १ हजार ६ सयदेखि २ हजार ३ सय जनासम्म चालक कारबाहीमा पर्ने गरेका थिए। तर, जेठ १ गतेदेखि १५ गतेसम्म ८१ जनादेखि ८ सय ९० जनासम्म चालक कारबाहीमा परेको देखिएको छ ।महाशाखाका अनुसार जरिबानाको डरले पनि विगतमा जस्तो अराजक रुपमा जथाभावी चलाउनेको संख्यामा कमी आएको छ । १५ दिनको अवधिमा नै २० हजार चालक सुध्रिनु राम्रो संकेत भएको ट्राफिक महाशाखा बताउँछ । विगतमा जरिबानाको रकम न्यून हुँदा औसतमा दैनिक २ हजार चालक कारबाहीमा पर्ने गरेका थिए। अहिले यो संख्या घटेर औसत ६ सयमा झरेको छ ।सवारीचालकको अराजकता बढ्दै गएसँगै दुर्घटना दर बढेपछि सरकारले चालकलाई नियममा बाँध्न र सडक अनुशासन कायम गर्न कारबाहीमार्फत् उठाइने जरिबाना दर यातायात व्यवस्था ऐन– ०४९ मा संशोधन गर्दै २० गुणासम्म बढाएको छ । गत असोज १४ मा संसदले ऐन संशोधन गरी ट्राफिक नियम उल्लंघन गर्नेलाई जरिबाना शुल्क बढाउने व्यवस्था गरेको थियो। उक्त कानुन जेठ १ गतेबाट लागू भएको हो।

संसोधित व्यवस्था अनुसार विगतको जरिबाना रकममा २० गुणासम्म बढाइएको छ । विगतमा नियम मिच्ने चालकलाई न्यूनतम २५ रुपैयाँदेखि २ सय रुपैयाँसम्म कारबाही हुने गर्थ्यो। सरकारले त्यसलाई बढाएर ५ सय, १ हजार र १५ सय रुपैयाँ पुर्याइएको  छ ।
व्यवसायीहरुको आन्दोलन यथावत
ट्राफिक प्रहरीको तथ्यांकले नै नियम मिच्ने चालक संख्या तीन गुणा घटेको देखाए पनि सडकमा मनपरी सवारी हुँइक्याइरहेका चालक तथा यातायात व्यवसायीहरु भने बढेको जरिबाना रकम खारेजीको माग राख्दै आन्दोलनमा उत्रेका छन्। व्यवसायीले नियम मिच्न पाउनुपर्ने अराजक माग राख्दै केहिदिन अघि देशभर चक्काजाम समेत गरे ।
यस्तो छ, जरिबानाको नयाँ व्यवस्था 
जरिबानाको नयाँ व्यवस्था अनुसार न्यूनतम ५ सय रुपैयाँ जरिबाना तिरेको चालकले पटकपटक एउटै अपराध गरे क्रमशः जरिबाना रकम बढ्दै जाने छ । पहिलो पटक कारबाहीमा पर्नेले ५ सय, दोस्रो पटक परे १ हजार र तेस्रो पटक परे १५ सय जरिबाना हुनेछ। नियम अनुसार ५ पटकसम्म कारबाहीमा परेको चालकको लाइसेन्स ६ महिनाका लागि खारेज हुने छ। संसोधित कानुन अनुसार मादकपदार्थ सेवन गरी सवारी चलाए, सवारी चालक अनुमति पत्र नभएकाले सवारी चलाए, सार्वजनिक स्थानमा बाधा पुग्ने गरी मालसामान वा सवारी राखे, सवारीचालक अनुमतिपत्र प्राप्त नगरेको व्यक्तिलाई सवारी चलाउन दिए १ हजार जरिबाना हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *