Best Online News From Nepal

१० अर्बको हकप्रद सेयर ल्याउँदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैँकले सवा १० अर्ब रुपैँया बराबरको हकप्रद शेयर निष्काशन गर्ने भएको छ । राष्ट्र बैँकले केही महिनाभित्रै सो हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । धितोपत्र बोर्डबाट अनुमति पाएपछि राष्ट्र बैँकको हकप्रद शेयर बजारमा आउने छ । सामान्यतयाः बोर्डबाट अनुमति पाएको २ महिनाभित्र कम्पनीले सेयर निष्काशन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

राष्ट्र बैँकका साथै बोर्डमा विभिन्न समूहका ३४ वटा कम्पनीले १० अर्ब २८ करोड रुपैयाँ (१० करोड २८ लाख कित्ता) बराबरको हकप्रद सेयर निष्काशनका लागि आवेदन दिएका छन् । हकप्रद सेयरका लागि कम्पनीहरूमा ३ वटा वाणिज्य बैंक, १४ वटा विकास बैंक र १३ वटा फाइनान्स कम्पनीको बोर्डमा आवेदन परेको छ । यस्तै २ वटा बिमा, १ जलविद्युत् कम्पनी र नागरिक लगानी कोषले आवेदन दिएका छन् । शेयर निष्काशनको लागि ती कम्पनिहरु बोर्डको अनुमतिको पर्खाइमा छन् ।

हकप्रद निष्काशन रोकिएका वित्तीय संस्थाहरु
केही कम्पनीहरूले ५/६ वर्षअघि नै आवेदन दिएपनि शेयर निष्काशन गर्नुपूर्व अन्य वित्तीय संस्थासँग मर्ज भएर नयाँ वित्तीय संस्था बनेका कम्पनिहरु सिद्धार्थ फाइनान्स, आईएमई फाइनान्सियल इन्स्टिच्युसन, गोर्खा विकास बैंक, पब्लिक डेभलपमेन्ट बैंक लगायतको भने हकप्रद शेयर निष्काशन नहुने जनाइएको छ । त्यस्तै, नागरिक लगानी कोषले १ कित्ता बराबर एक सेयरका दरले हकप्रद सेयर निष्काशनका लागि ०६८ मा आवेदन दिएको भएपनि पछि कम्पनीले बोनस सेयरमार्फत नै पुँजी पुर्याउने योजना बनाएपछि प्रक्रिया अघि बढेको छैन ।

हकप्रद निष्काशनको अनुमति पाइसकेका वित्तीय संस्थाहरु
यस्तै ०७२ मा मात्रै २२ वटा कम्पनीले ३ अर्ब ४९ करोड ४१ लाख (३ करोड ४९ लाख कित्ता) रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन अनुमति पाएका छन् । तीमध्ये अधिकांशले सेयर निष्काशन गरिसकेका छन् । कर्णाली डेभलपमेन्ट बैंक र नेपाल कमिन्युटी डेभलपमेन्ट बैंकले छिट्टै निष्काशन गर्दै छन् । कर्णाली डेभलपमेन्ट बैंकले दुई सेयर बराबर एक कित्ता (२ः१) सेयरका दरले यही वैशाख ३० गतेदेखि निष्काशन गर्दै छ । नेपाल कमिन्युटी डेभलपमेन्ट बैंकले आउँदो जेठ २ गतेदेखि एक सेयर बराबर एक कित्ता (१ः१) का दरले सेयर निष्काशन गर्न लागेको हो ।

साधारण शेयर निष्काशनको अनुमति पाएका वित्तीय संस्थाहरु
यसैगरी ०७२ मा बोर्डले ९ वटा कम्पनीलाई ८ अर्ब ११ करोड ४५ लाख रुपैयाँ बराबरको प्राथमिक (आईपीओ) सेयर निष्काशन अनुमति दिएको छ । तीमध्ये ९ वटा कम्पनीले सेयर निष्काशन गरिसकेका छन् । मेरो माइक्रोफाइनान्सको सेयर बाँडफाँट प्रक्रिया बाँकी छ भने, ङादी ग्रुप पावरले अझै निष्काशन गरेको छैन । यो कम्पनीले अहिले ९ करोड ७३ लाख रुपैयाँ बराबरको प्राथमिक सेयर सर्वसाधारणका लागि निष्काशन गर्दै छ । यसअघि स्थानीयवासीका लागि सेयर निष्काशन गरेको थियो ।

नेपाल राष्ट्र बैँकले बैंक तथा वित्तीय संस्थालाई पुँजी वृद्धिको निर्देशन दिएपछि हकप्रद र बोनस सेयर जारी गर्ने क्रम बढेको छ । हकप्रद सेयर कम्पनीका सेयरधनीले मात्र खरिद गर्न पाउने हो । उक्त कम्पनीको सेयरको बजार मूल्य जति भए पनि सेयरधनीले अंकित मूल्य (प्रतिकित्ता १ सयका दरले) मै खरिद गर्न पाउँछन् । कम्पनीले सेयरधनीबाटै पुँजी उठाउन चाहेको अवस्थामा हकप्रद सेयर जारी गरिन्छ ।

शेयर निष्काशन प्रचारप्रसारका लागि नयाँ व्यवस्था
यसैबिच, नेपाल धितोपत्र बोर्डले हकप्रद सेयर निष्कासन गर्दा एक महिनासम्म सञ्चारमाध्यममार्फत प्रचारप्रसार गर्न निर्देशन दिएको छ । यसअघि हकप्रद सेयर निष्कासन गर्दा एक पटक मात्र राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गरे पुग्ने व्यवस्था थियो । धेरै सेयरधनीले जानकारी नपाएरै छुट्ने गरेकाले बोर्डले सो निर्देशन दिएको जनाएको छ । नयाँ व्यवस्थाअनुसार हकप्रद सेयर निष्कासनको पहिलो साता दुई वटा राष्ट्रिय दैनिक पत्रिकामा सूचना सार्वजनिक गर्नुपर्ने छ । दोस्रो साता कम्तीमा राष्ट्रिय स्तरको आर्थिक दैनिक पत्रिका, तेस्रो साता दुई वटा अनलाइन पत्रिकामार्फत र चौथो साता दुई वटा एफएम रेडियोमार्फत सूचना सार्वजनिक गर्न बोर्डले निर्देशन दिएको छ । यस्तै हकप्रद सेयर बाँकी रही बोलकबोलबाट बिक्री गर्नुपरेको अवस्थामा कम्तीमा १५ दिनअघि राष्ट्रिय स्तरका दुई वटा दैनिक पत्रिकामार्फत सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था गरिएको छ । अहिले कम्तीमा ७ दिनअघि सूचना सार्वजनिक गरे पुग्ने व्यवस्था थियो । यस्तो सेयर बिक्रीको सूचना पनि अनलाइन पत्रिका, एफएम रेडियो र आर्थिक दैनिक पत्रिकामार्फत प्रचारप्रसार गर्नुपर्ने व्यवस्था बोर्डले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *