Best Online News From Nepal

हिन्दू गणतन्त्र (राजसंस्थाबिनाको हिन्दूराष्ट्र) र हिन्दू अधिराज्य (राजसंस्थासहितको हिन्दूराष्ट्र) चाहनेहरुको तुलना

Dr Nirmala Mani Adhikary—-

हिन्दू गणतन्त्र (राजसंस्थाबिनाको हिन्दूराष्ट्र) र हिन्दू अधिराज्य (राजसंस्थासहितको हिन्दूराष्ट्र) चाहनेहरुको तुलना :—
(१) सर्वप्रथम त जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्तिको आधिकारिक नीतिबारे बुझौँ । माथि उल्लेखित दुईथरिको नीति भन्दा पृथक्, हाम्रो आफ्नै मौलिक नीति हामीसँग छ । हामी मान्छौँ :- वैदिक सनातन धर्म (जसलाई “हिन्दू” संज्ञा पनि दिने गरिएको छ) का साथै बौद्ध, किरात, बोन जस्ता धर्म यहाँका मौलिक रैथाने हुन् । नेपालको पहिचान यहाँका मौलिक रैथाने धर्मबाट हुनु पर्छ र राज्यले विशेष संरक्षण गर्नु पर्छ । यो जनमत संग्रह गर्ने विषय होइन, संविधानको प्रस्तावनामा लेखिनु पर्ने विषय हो; तर राजसंस्थाको बारेमाचाहिँ जनमतसंग्रह गर्न बाँकी छ ।
(२) हिन्दू गणतन्त्र (राजसंस्थाबिनाको हिन्दूराष्ट्र) र हिन्दू अधिराज्य (राजसंस्थासहितको हिन्दूराष्ट्र) चाहनेहरुको तुलना गर्दा निम्नानुसारका तथ्यहरु उल्लेख्य छन् :-
(क) हिन्दू अधिराज्य (राजसंस्थासहितको हिन्दूराष्ट्र) चाहनेहरु नेपालका परम्परावादी मानिसहरु हुन्, जसलाई वि.सं. २०६२-६३ को परिवर्तनमा विदेशी विधर्मी तत्त्वहरुको प्रायोजन, निर्देशन, व्यवस्थापन रहेको कारणले नेपालमा गणतन्त्र ल्याइएको हो भन्ने विश्वास परेको छ । उक्त परिवर्तन जसरी आएको भए तापनि इतिहासको चक्र एकचोटि घुमेपछि पछाडि फर्कँदैन र एउटा परिवर्तनपछि अग्रगामी कार्यसूची नलिई सुखै छैन भन्ने कुरा नबुझेको वा बुझ्न नचाहेको हुनाले एस्तो परम्परावादी राजसंस्था समर्थकहरु वर्तमान नेपालको राजनीतिक परिदृश्यमा गतार्थ (आउट् डेटेड्) देखिएका छन् । तर, स्वदेश नेपालको माया गर्ने नै समूह हो यो ।
(ख) हिन्दू गणतन्त्र (राजसंस्थाबिनाको हिन्दूराष्ट्र) को पक्ष लिनेहरुलाई हेर्दा एसभित्र पनि दुईथरि देखिएका छन् ।
एक, अब राजा नफर्काउने, तर हिन्दू धर्म सापेक्षताचाहिँ फर्काउने भन्ठान्नेहरु । यो पहिचानको राजनीति (आइडेन्टिटी पोलिटिक्स) भनिने प्रवृत्तिकै एउटा रुप हो । एस्तो मान्यता राख्नेहरु कोरा भावुकतावश मात्र यो लाइनमा लागेका हुन्छन् ।
दुई, विदेशी विस्तारवादको औजार बनेर हिन्दू गणतन्त्र (राजसंस्थाबिनाको हिन्दूराष्ट्र) को नारा उराल्नेहरु । एसखाले व्यक्तिहरु, समूह, संस्था, संघ, राजनीतिक पार्टीको अभीष्टचाहिँ “हिन्दुत्व” “हिन्दुत्व”, “हिन्दूराष्ट्र” “हिन्दूराष्ट्र” भन्ने नारा लगाउँदै नेपाली जनतालाई मूर्ख बनाउने र अन्ततोगत्वा विदेशी विस्तारवादको सेवा गर्ने हो ।
(३) वर्तमान नेपाललाई उपयुक्त निकास दिने नीति “जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति” (The Root and Locus Movement) सँग छ । हिन्दू गणतन्त्र (राजसंस्थाबिनाको हिन्दूराष्ट्र) र हिन्दू अधिराज्य (राजसंस्थासहितको हिन्दूराष्ट्र) चाहनेहरु दुवैथरि वर्तमान नेपालका परिप्रेक्ष्यमा असान्दर्भिक भइसकेका छन् । हामी मान्छौँ :- वैदिक सनातन धर्म (जसलाई “हिन्दू” संज्ञा पनि दिने गरिएको छ) का साथै बौद्ध, किरात, बोन जस्ता धर्म यहाँका मौलिक रैथाने हुन् । नेपालको पहिचान यहाँका मौलिक रैथाने धर्मबाट हुनु पर्छ र राज्यले विशेष संरक्षण गर्नु पर्छ । यो जनमत संग्रह गर्ने विषय होइन, संविधानको प्रस्तावनामा लेखिनु पर्ने विषय हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *