Best Online News From Nepal

हिन्दुका बिदा किन काटिए ?

डा. विदुर चौलागाईँले एकपटक लेखेका थिए- हिन्दु नारी तीजमा एकदिन निराहार व्रत बस्दा विभिन्न कारणहरु देखाउँदै हिन्दु धर्मको नकारात्मक पक्ष भनी विश्लेषण गरिन्छ तर मुसलमानहरुको महिना दिनसम्म चल्ने रमदान या इद वा अन्य कुनै जातजातीको यस्तै पर्वका बारेमा कहिल्यै कुनै प्रश्न किन उठाइँदैन ।यसको उत्तर सजिलो छ, किनकि अरु धर्ममाथि प्रश्न उठाइयो भने त्यस धर्मका धर्मावलम्बीहरुले प्रतिकार गर्छन् तर हिन्दू माथि जति आक्रमण गरे पनि कुनै प्रतिरोध हुँदैन।

अरु धर्मावलम्बीको विरोध गर्ने उद्देश्यमा यो लेख केन्द्रित छैन, न अरुले प्राप्त गरेको सुविधामा डाह उत्पन्न भएर नै लेखिएको हो। सबैले राज्यबाट समान अवसर प्राप्त गर्नु पर्दछ, जो नेपाल र नेपालीका आधिकारिक हुन् । खाली हिन्दुहरुको पर्वहरु माथिको आक्रमण रोकियोस् भन्ने मात्र आशय हो ।

नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएका बखत क्रिसमसका अवसरमा बिदा दिने प्रचलनको आरम्भ गरियो। काम, सक्रियता र सेवामा अल्छी बन्दै गएका नेपाली सरकारी कर्मचारीहरुले खुशी मनाए। जुनबेला यो बिदा दिइएको थियो, त्यतिबेला नेपालमा क्रिश्चियनहरु नगण्य संख्यामा थिए। न कसैले त्यो चाडका उपलक्ष्यमा बिदा मागेको थियो, न कसैले अपेक्षा नै गरेका थिए । कहाँबाट दवाव आयो, कसरी निर्णय गरियो, किन गरियो आदि कुनै नेपालीलाई थाह छैन तर बिदा, विदेशी सहयोग र आराममा रमाउने नेपालीहरु बिना प्रश्न मौन रहे ।

नेपालीहरुको महान चाड बडा दशैँमा बिदा दिने कुनै मुलुक छ र हामीले दिने भन्ने कसैले भनेन । मलेसिया, कतार अमेरिका, साउदी अरब, दुबई, बेलायत आदि देशमा नेपालमा जति क्रिश्चियन या अरु धर्मावलम्बी छन्, ती भन्दा धेरै कयौँ गुणा बढी हिन्दू छन् तर पनि दशैँ तिहार आदिमा काममा गएकै छन् त, बिदा पाउँदैनन् तर हाम्रोमा किन ? यो प्रश्न अहिले सम्म न कुनै हिन्दुसंगठनले सोधेको छ, न कुनै हिन्दुवादीले ।
नेपालमा पुर्खौँ पुर्खादेखि वसोवास गर्दै आएका हिन्दू, बौद्ध र मुसलमानहरुका धर्म संस्कृतिले प्रश्रय पाई सबैको अस्तित्व जागिनुमा नै सबैको कल्याण छ । हाम्रा धर्म, संस्कृति, परम्पराहरु जोगाउने या मास्ने हामी नै हौँ । जोगाए हामी जोगिन्छौँ, मासे विदेशीको दास बन्न पुग्छौँ ।

नेपाललाई हिन्दु राष्ट्रबाट धर्म निरपेक्ष राष्ट्रमा एकाएक बदलियो । २०६२-६३ को जनआन्दोलनमा कहीँ कतै पनि नेपाललाई धर्म निरपेक्ष घोषणा गर्नु पर्दछ भनी माग गरिएको सुनिएको थिएन । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका नेता माधवकुमार नेपाल, माओवादीका प्रचण्ड, सभामुख सुभास नेम्वाङ्ग लगायतका को को मिले को को, जनतालाई थाह छैन तर घोषणा भयो । यी नेताहरु हेर्दा एकदुई जना बाहेक डलरमा बिकेर खुलेयाम धर्म परिवर्तन गरेको कसैलाई पत्तो छैन । उक्त घोषणालाई टेबल ठटाएर समर्थन गर्ने सांसद्हरु पनि अधिकांश हिन्दू नै थिए । प्रष्टरुपमा बिकेका भन्दा छद्म रुपमा बिकेका खतरनाक हुँदा रहेछन् भन्ने धर्म निरपेक्षता घोषणाले पुष्टि गरेको छ ।भाषा, धर्म, संस्कृति र परम्परालाई तहस नहस पार्न सके कुनै पनि मुलुकको अस्तित्व रहँदैन । नेपाल र नेपालीको अस्तित्वलाई सखाप पार्न धेरै तत्वहरु सक्रिय थिए र छन् । यही क्रममा नयाँ शिक्षाको नाममा विद्यालय शिक्षाबाट संस्कृत हटाइयो, जसका कारण आज नेपाली शुद्ध लेख्न र बोल्न सक्ने व्यक्तिको अभाव खड्किरहेको छ ।

करिब ९० प्रतिशत हिन्दु र त्यससंग निकट धर्मावलम्बी रहेको मुलुकलाई धर्म निरपेक्ष घोषणा गराइयो । कथित राजनीति शास्त्रीहरु डलर खाएका वा नखाएका जे भए पनि सिद्धान्तको व्याख्या गर्दै देशको कुनै धर्म हुँदैन, यो निर्णय ठिक छ भन्ने गर्दछन् । तर बेलायत वा कतिपय पश्चिमी मुलुकका प्रधानमन्त्रीहरुले शपथ लिँदा म क्रिश्चियन प्रधानमन्त्री भनेको वा पाकिस्तान वा मुस्लिमा देशहरुका प्रधानमन्त्रीहरुले धर्मको आडमा राजनीति गरेको कुरामा कुनै हेक्का राखेको पाइँदैन । खाली नेपाललाई तहस नहस बनाउने गरी गरिएका यस्ता निर्णयलाई स्वागत गर्ने गरेको पाइन्छ ।

प्रसङ्ग बिदा किन काटिए भन्ने हो । नेता, विद्वत्वर्ग, सचेत जनता भनिएकाहरु कहाँ बिके वा किन मौन रहे यो प्रश्नलाई थाँती राखौँ । सीमित संख्यामा रहेका मुस्लिमका धर्म गुरुको जन्म दिनमा समेत बिदा दिइन्छ, तर ९० प्रतिशतले मान्ने जनै पूर्णिमाको बिदा किन हटाइयो, यो प्रश्न सोधौँ । मुस्लिमहरु त परापूर्वकालदेखि नै नेपालमा बसोवास गरेका थिए, तिनको सम्मान गर्नु पर्दछ ।

नेपालमा हुँदै नभएका क्रिश्चियनहरु कसरी जन्मिए र आज मुलुकमा तिनैको हाली मुहाली हुँदैछ, यसतर्फ कसले विचार गर्ने ? क्रिश्चियनहरुका सबै पर्वमा बिदा दिइँदैछ, तर हिन्दुका सबै महान पर्वमा दिइँदै आएको बिदा किन काटिँदैछ, यसमा कसले चिन्ता गर्ने ? यसतर्फ गम्भीर नहुने हो भने नेपाल र नेपालीको अस्तित्व मेटिन अब धेरै लामो समय कुर्नु पर्ने देखिँदैन ।

कारण र कारक दुवै हिन्दुधर्मावलम्बीहरु नै हुन् । हाम्रो धर्म लचिलो छ भनेर हिन्दुहरु नै भन्छन् । हिन्दुत्वमाथि जति नै आक्रमण भए पनि चिरनिद्रामा रहने हिन्दूहरु नै हुन् । धर्म संस्कारबाट जति नै च्यूत भए पनि हिन्दु नै रहने र कुनै कारवाही नहुने धर्म पनि हिन्दु नै हो । आफ्नो धर्मको खोइरो खन्न पाइने धर्म पनि हिन्दु नै हो । आफ्ना धर्म, संस्कृति, परम्परा आदिमा जति प्रहार गरे पनि हिन्दू नै भइरहन पाइने र त्यसको नेता पनि हुन पाइने धर्म हिन्दु नै हो । त्यसैले विश्वव्यापी रुपमा हिन्दुत्व समाप्त पार्न प्रत्यक्ष एवं परोक्ष रुपमा अनेकन हत्कण्डाहरु रचिएका छन् तर सबै हिन्दु मौन छन् । यही नै उदेक लाग्दो प्रश्न बनेको छ ।

यो किन भइरहेको छ त ? सारांशमा भन्नु पर्दा यसका जिम्मेवार हिन्दु धर्मावलम्बी र यसका ठेकेदारहरु नै हुन् । असोज महिनामा मात्र होइन, पुसमा समेत बिना लगन विवाहहरु सम्पन्न भइरहेका छन् । कहिले विवाह गर्ने दिन जुर्छ भन्दा यजमानले दिएको समय भित्र जुनसुकै महिनामा लगन निकाली दिने ज्योतिषी वा धर्मशास्त्रीहरु हाम्रा धर्म परम्परा मास्न एक नम्बरका मसिहा हुन् भनेर आरोप लगाउन पाइने कि नपाइने ?

कार्तिक महिनामा विवाह सम्पन्न गराउने पण्डितलाई हिन्दूत्व सखाप पार्न उद्दत व्यक्ति मान्ने कि नमान्ने ? आठ दश कक्षा उत्तीर्ण गरेर जीविकोपार्जनका लागि पुरोहित बनेकाहरु त यस तर्फ लागे लागे तर नेपाल संस्कृत विश्वविद्यालयमा सहप्राध्यापक, प्राध्यापक सम्मको सेवामा रहेकाहरु समेत दुई चार हजार दक्षिणा पाउने लोभमा साउनमा विवाह गराउन जान्छन् भने तिनलाई के भन्ने ? विवाह गराउन कम्तीमा पाँच घण्टा लाग्छ, व्रतबन्धका लागि दश घण्टाको समय चाहिन्छ । त्यति समय दिनु हुन्न भने म यस्ता कार्य गराउन सक्दिन भन्ने पुरोहित आजसम्म भेटिएको छैन ।

व्रतबन्ध संस्कारलाई त विवाह गर्ने लाइसेन्सका रुपमा मात्र लिन थालिएको छ । व्रतबन्ध गर्ने समय ब्राह्मणका लागि ८ वर्ष, क्षेत्रीका लागि ११ वर्ष र वैश्यका लागि १६ वर्ष तोकिएको छ । यो समयलाई परिपालना गर्ने मात्र होइन, जनजातीले तागाधारी भन्नेहरुका काँधमा तागो अर्थात् जनै भेटिनै छाडी सक्यो । व्रतबन्धको भोजमै मदिरा र मासुको प्रयोग गरिन्छ भने अरु कुरा त भन्नै परेन ।

एकोद्दिष्ट श्राद्धको पिण्डदान मध्यह्न मै हुनु पर्छ, पार्वण श्राद्ध अपराह्णमा मात्र आरम्भ हुन्छ, अन्यथा म आउँदिन भन्ने ब्राह्मणहरु नभए सम्म हाम्रा परम्परा कसरी जीवित रहन सक्लान् ? एउटै पण्डितले एकैदिनमा तीन चारवटा पार्वण श्राद्ध गर्न थाले पछि शास्त्र र परम्पराको मर्यादा नै कहाँ रह्यो र ? अनि हिन्दूलाई अरुले टेरेनन् वा धर्म परिवर्तनको लहरले छोप्यो भनेर चिन्तित बनेर मात्रै के गर्ने ?

यस्ता थुप्रै उदाहरणहरु छन् । दशैँमा टीका थाप्न जान र टीका थाप्न आउनेलाई लगाई दिन झण्झट मानेर बूढा बा आमालाई घरमा छाडी श्रीमान् श्रीमती स्वदेश वा विदेशका कुनै ठाउँ घुम्न जाने प्रचलन बढ्दै गएको छ । शास्त्रले ४५ दिन जुठो बारे पुग्छ भनेका नाताका मान्छे मरेको वर्ष जुठो पर्‍यो भन्दै दशैँको टीकालाई पन्छाउने प्रवृत्ति बढ्दै गएको छ ।

तिनै मान्छे मर्दा ३ दिन पनि नबारी नून खाने, मदिरा मासु चल्ने कुनै चाड पर्व नछाड्ने अनि दशैँको टीका मात्रै छाड्नुमा कुनै तूक छ र ? हिन्दू धर्मावलम्बीहरुका यस्तै क्रियाकलाप हेर्दै सरकारले पूर्णिमा सम्म दिँदै आएको बिदा एकादशी सम्ममा सीमित गरी दियो । अरुका बिदा बढ्दै छन्, हिन्दूका घट्दै छन् र पनि कोही बोल्दैन ।
अमेरिका, बेलायत पठाएर छोराछोरीलाई उतैको नागरिक बनाउने सोच राखेकाहरुका लागि त बेग्लै कुरा हो तर आफ्ना सन्तति नेपाली नै भएर जिउन्, शीर ठाडो पारेरै जिउन्, हाम्रा पितापुर्खाहरुले सिर्जना गरेका हाम्रा रीतिरिवाज, संस्कृति, परम्पराहरु जीवितै रहुन् भन्ने चाहना राख्ने कोही छौँ भने हिन्दुमाथिको आक्रमणलाई प्रतिकार गर्नै पर्छ ।

बोल्ने हिम्मत पनि कहाँबाट आओस् । आफुलाई जन्म दिएर हुर्काए बढाएका बाबु आमाको किरिया बेकारको काम भन्दै तीन, पाँच या सात दिनमा झार्ने प्रयास हुँदैछ । मातापिताले आफ्ना लागि कति दुःख गरे त्यसको हेक्का छैन, १३ दिन किरिया बस्न गाह्रो मान्न थाले । समयको बर्बादी भयो रे, आजका आधुनिक भनाउँदाहरुका लागि ।जापान, अमेरिका या चीनका नागरिकले जस्तो देशका लागि व्यस्त रहने समाज निर्माणको उद्देश्य राखे झैँ गरी अप्रत्यक्ष रुपमा हिन्दू संस्कार माथिको आक्रमण नै हो यो । १३ दिन भन्दा कमको किरिया म गराउन सक्दिन भनेर पुरोहितले किन भनेनन् ? पैसाको लोभमा जे पाए त्यही गर्ने धर्मका कथित अधिकारीहरु रहेसम्म हिन्दूत्वमाथि चुनौती रही रहन्छ । यस्तै क्रियाकलापहरुले गर्दा नै हाम्रा पर्व बिदाहरु काटिँदै गई रहेका छन् ।

प्रदेश ३ को सरकारले आन्तरिक पर्यटन हेतु कर्मचारीलाई एक महिनाको तलब दिएर एक साता भ्रमणमा पठाउने निर्णय हालै गरेको छ । कतिपय संस्थाहरुले त यसअघि नै यो परम्पराको शुरुवात गरी सकेका थिए । यसरी बिदा दिँदा, अझ पैसा दिएर कुनै समयको बर्बादी नहुने अरे । अनि स्वतः आन्तरिक पर्यटनमा वृद्धि हुने पर्व बिदाले चाहिँ समयको नास हुने यो कस्तो तर्क हो ।

१२ वर्ष अघि मेरा पिताको स्वर्गवास हुँदा पोखरा, चितवन, बर्दिया, नवलपरासी लगायतका जिल्लाबाट सय हाराहारीमा नातेदारहरु मलाई भेट्न काठमाडौँ आएका थिए । आधुनिकहरुका दृष्टिले यसले आन्तरिक पर्यटनलाई वृद्धि गर्छ कि गर्दैन ? कि होटलमा बसेर दारु पानी गरे मात्रै हुने हो । दशैँमा घर जान यातायातको साधन प्राप्त गरेका छैनन् यात्रुले । दशैँमा दिइएको बिदाले पर्यटन मौलाउँछ कि मौलाउँदैन ?

अरु सबै धर्मका पर्वमा बिदा दिँदा सरकारको खर्चमा असर परेको किन कुनै विश्लेषण गरिँदैन, खाली हिन्दुका बिदामा भएको खर्च मात्रै गणनामा आउँछ । राज्यले सबै धर्मलाई बराबरी रुपमा हेर्नै पर्दछ । धर्म रुपान्तरण गराउन प्रयास गर्नेहरु माथि भने कारवाही हुनै पर्दछ । सबै धर्मलाई समान दृष्टिले हेर्ने नाममा हिन्दुहरुले पाई आएका बिदाहरु मात्रै कटौती हुँदै जाने हो भने भोलि नेपाल र नेपालीको पहिचान समेत स्वतः बिलाएर जान्छ भन्नेमा कोही गम्भीर भएको देखिँदैन । यो ज्यादै सोचनीय छ ।

संविधानमा लेखे पनि नलेखे पनि नेपाल हिन्दुहरुको देशकै रुपमा परिचित छ विश्वमा । नेताहरुको धेरै विश्वास गर्न सकिँदैन तर जनता त सचेत हुनु पर्‍यो नि आफ्नो मौलिकता जोगाउन । अमेरिका, बेलायत पठाएर छोराछोरीलाई उतैको नागरिक बनाउने सोच राखेकाहरुका लागि त बेग्लै कुरा हो तर आफ्ना सन्तति नेपाली नै भएर जिउन्, शीर ठाडो पारेरै जिउन्, हाम्रा पितापुर्खाहरुले सिर्जना गरेका हाम्रा रीतिरिवाज, संस्कृति, परम्पराहरु जीवितै रहुन् भन्ने चाहना राख्ने कोही छौँ भने हिन्दुमाथिको आक्रमणलाई प्रतिकार गर्नै पर्छ । हाम्रा धर्म, संस्कृति, परम्पराहरु जोगाउने या मास्ने हामी नै हौँ । जोगाए हामी जोगिन्छौँ, मासे विदेशीको दास बन्न पुग्छौँ ।

नेपालमा पुर्खौँ पुर्खादेखि वसोवास गर्दै आएका हिन्दू, बौद्ध र मुसलमानहरुका धर्म संस्कृतिले प्रश्रय पाई सबैको अस्तित्व जागिनुमा नै सबैको कल्याण छ ।

source : https://nepalsamaya.com/news/