Best Online News From Nepal

हाम्रो ग्रन्थहरुले कसरी प्रष्ट्याएको छ धर्म ?

प्रवीण अधिकारी===========================

16729222_599992416873931_8088245400047206231_n

सामान्यतः हामीले बुझेको दैविय शक्ति ,आत्मा र परमात्मा विच भावनात्मक रुपमा गासिन पुगेको सम्बन्ध ,हामीले अदृश्य शक्तिमा गरिएको विश्वासले उमार्दिएको नैतिक आचरण, व्यवहार , मूल्य तथा मान्यता धर्म हो | यस बाहेक यो ब्रम्हाण्ड र मानव विचको संबन्ध , जीव जन्तु र मानवको स्वभाविक नातो , विशुद्ध मानव संस्कृतिको विकास , मानव भित्रको अन्तरनिहित गुण , उत्तरदायित्व बहन , सदमार्गमा हिड्न अभिप्रेरित गर्ने प्राकृतिक नियमको पालनापनि धर्म नै हो , तर निधारमा खरानी धस्नु, रुद्राक्षको माला लाउनु , पहेंलो वा सेतो पहिरन लाएर हिडनु , पूजापाठ गर्नु, धर्म होइन | यी कार्यहरु मानव आत्मा शुद्धिकरणकोलागि गरिएको नीजि कृत्य मात्र हो | हाम्रो नेपाली समाज धर्म भन्नाले धारण गर्नु हो भन्ने कुरा बुझ्दछ | गीता अनुशरण गर्नेहरु नैतिक आचार पालन गर्नुनै धर्म हो भन्ने बुझ्दछन | आम जनमत भन्दछन – जे कुरो धारण गर्ने योग्य छ वा आफुमा लागु गर्ने योग्य छ त्यो धर्म हो | यसको संबंध हाम्रो आन्तरिक बाह्य , मन-वचन र कर्मले गरिने व्यवहार संग सम्बन्धित मानिन्छ | यसको माध्यमले कोहीपनि मान्छे मानवीय कर्तव्य पालन गर्दै त्यसबाट आनंद र उपलब्धि प्राप्त गरि आफ्नो भाग्योदय गर्न र परलोककोलागि मोक्ष मार्ग निर्धारित गर्न सक्दछ भन्ने धारणा राखिएको छ | साँचो अर्थमा हामीले धारण गरेको धर्मको प्रारम्भिक उद्द्येश्य यही हो |

हाम्रा ग्रन्थहरुले धर्मलाई कसरी प्रष्ट्याएको छ , एक पटक बुझ्ने प्रयाश गरौँ :-

चाणक्य नीति
=========

चाणक्य भन्छन “सुखस्य मूलं धर्मः । धर्मस्य मूलमर्थः ।।सुखको मूल धर्म हो , धर्मको मूल अर्थ (धन) हो | धर्म र अर्थ अन्योन्याश्रित हुन्छ | धन भए धर्मकार्य गर्न सकिन्छ ,अनि धर्म गरे धन प्राप्त हुन्छ अर्थात “धर्म बाटै अर्थ प्राप्त हुन्छ | धर्म गरे सुख पाइन्छ | धन भए धर्मको रक्षा हुन्छ | सबैकुरो धर्मबाट मात्र सम्भव छ | उनले शास्त्र अघि नसारी कसैले केहि नवोल सम्म भनेका छन् – “दृष्टिपूतं न्यसेत्पादं वस्त्रपूतं जलं पिबेत् ।शास्त्रपूतं वदेत् वाक्यं मन:पूतं समाचरेत् ॥”अर्थात आँखोले हेरेर खुट्टो राख , लुगाले छानेर पानी पिउ , शाश्त्रलाई अघिसारेर कुरो गर अनि जुन काम गर्न तिम्रो मनले आज्ञा दिन्छ त्यहिकाम गर | कारण पूर्वीय विद्वानहरुको भनांईमा मानव शरीर क्षणभंगुर एवं नाशवान हुन्छ , यसकारण मान्छेले निरंतर चिंतन गरी परिवार र समाजको कल्याण हुने उपाय सोची आफ्नो विवेक र बुद्धिद्वारा मानव कल्याणका कार्यमा साधनारत रहनु पर्दछ | त्यसोगरेमा मात्र धर्मको परिपालन हुन् गई गरिने कार्य कल्याण पद र आत्मसंतुष्टि दिने हुन् सक्छ |

भगवद्गीता
=======
” धारणाद्धर्ममित्याहु: धर्मो धारयते प्रजा: | यस्याद्धारणसंयुक्तं स धर्म इति निश्चय: ||” वा ” धारयते इति:धर्म: ” जो धारण गरिएको छ त्यो धर्म हो अर्थात परमसत्ताले बनाएको नियम अनुरूप यस संसारको धारण पोषण हुन्छ र उनले बसालेको अनुशासन अनुरूप जसले आफ्नो जीवनचर्या निर्धारण गर्दछ त्यो नै धर्माचरण हो | धर्म , मानव समुदायले धारण गर्ने त्यस्तो मार्गचित्र हो जसलाई उसको अनुशासित कर्मले डोर्याउँछ | यहाँ मानव जातिको गुण ‘धारणा’ गर्नु ,उत्तरदायित्व बहन गर्नु हो भन्ने बुझ्नु पर्दछ | जड बस्तुहरुमापनि पानीको धर्म शितलता दिनु,प्यास मेटाउनु , आगोको धर्म डढाउनु , उता चेतन बस्तुहरुमा न्यायाधीशको धर्म पीडितलाई न्याय दिनु , प्रहरीको धर्म कानुन पालना गराउनु , राजाको धर्म राष्ट्र चलाउनु ईत्यादि मानिन्छ |

धर्म शब्दको उत्त्पत्ति धारणा शब्दबाट भएको हो | धर्मले नै सम्पूर्ण नागरिक समाजलाई बाँधेर राख्दछ | यसर्थ जे कुरा सघन रुपमा मान्छेले धारण गर्न सक्तछ त्यो नै धर्म हो | धर्म भनेको सार्वभौम चिज हो | आफ्नो समयानुकूल परिस्थिति र सामाजिक अधिकार अनुसार यो स्वरुपात्मक हुन पुगेको हुन्छ | यसको ब्याख्या ३ किसिमले गर्न सकिन्छ – सामान्य धर्म, विशेष धर्म, आपद्धर्म | गीताले भन्छ धर्म मोक्ष प्राप्तिको मूख्य साधन हो | पुरुषार्थ चतुष्टयहरु अर्थात धर्म ,अर्थ ,काम, मोक्ष मध्ये अर्थ र कामको सिद्धि धर्मबाट मात्र सम्भव हुन सक्ने ठानिन्छ | सुखको अभिलाषा सबैले राख्दछन तर त्यो धर्माचरणबाट मात्र सम्भव हुन्छ भन्ने मान्यता नेपाली समाजमा गहिरोगरि गडेर रहेको छ | त्यसैले मान्छेले कुनैपनि किसिमले धर्मको हानिनोक्सानी गर्न हुँदैन , किनभने त्यै धर्म र अधर्मले हामी मानव जातिलाई सुख र दु:खको अनुभूति गराएको हुन्छ भन्ने मान्यता हाम्रो समाजले बोक्दछ |

गीताले भनेको छ – धर्मपालन गरिंदा मानवजातिको समष्टिगत प्रगतिको अभ्युदय हुञ्छ भने अधर्मद्वारा समष्टिगत रुपमा दुर्गति निम्तिन्छ किनभने अधर्मको कारण थुप्रिएको पाप भर्खर रोपेको विरुवा सरह हुन्छ जसले तुरुन्त फल दिंदैन , विरुवा हुर्किएपछि मात्र फल दिन्छ | त्यसैले पापकर्ताको मूलोच्छेदन हुन पुग्दछ | त्यसकारण अधर्म गरेर मान्छेहरुले सुरुमा हरेक वैभव प्राप्त गरेको देखिएपनि त्यो सबै वैभव नै पछि त्यो मान्छेको समूल विनाशको कारण हुन् पुगेको देखिन्छ |मान्छेको अन्तष्करणले जुन काम गर्न अनुमति दिन्छ त्यो काम गरिंदा धार्मिक कहलिन्छ भने जुन काम गर्नु अघि मन झस्किन्छ त्योकाम अधार्मिक मानिन्छ | भगवद्गीताको सुरुवात धर्मबाट गरिएको र अंतिम अध्यायमा दिएको उपदेशलाई धर्म संवाद भनिएको देखिन्छ | गीतामा धर्म धारण गर्ने जो हो त्यसलाई आत्मा भनिएको छ र जे धारण गरिएको हो त्यसलाई प्रकृति मानिएको छ | त्यहाँ धर्मको अर्थ जीवको स्वभाव अर्थात प्रकृति र क्षेत्रको अर्थ शरीर हो | त्यसैले त्यहाँ भनिएको छ ” स्वधर्मे निधनम् श्रेयः परधर्मः भयावहः “, आफ्नो स्वभावमा स्थिर भै रहनु र त्यसैमा मर्नु कल्याणकारी मानिएको छ । धर्म शब्द गीतामा ज्यादै महत्वपूर्ण रुपमा उल्लेख गरिएको छ | भगवान श्री कृष्णले सामान्य मान्छेलाई स्वधर्म पालन अर्थात स्वभावको आधारमा जीवन जिउनु नै ठूलो धर्म भनेर बताएको देखिन्छ |

महर्षि व्यास ब्रह्मज्ञानी थिए | उनको दृष्टिमा धर्मको अर्थ आत्मा (धारण गर्ने ) र क्षेत्रको अर्थ शरीर भनेर बताए | यस दृष्टिकोणले भगवद्गीताको पहिलो श्लोक अनुसार पुत्र मोहले व्याकुल भएका धृतराष्ट्रले संजयलाई सोधे – हे संजय, कुरूक्षेत्रमा जहाँ साक्षात धर्म, शरीर धारी भएर भगवान श्री कृष्णको रूपमा उपस्थित छन त्यहाँ युद्धको इच्छा गर्ने मेरा र पाण्डु पुत्रहरुले के के गर्दैछन ? अर्कोतिर उनले गीता लेखेर समाप्त पारेपछि त्यो उपदेशलाई स्वयं श्री कृष्णले मुखबाट धर्म संवाद भनि अर्थ्याई दिएका छन | त्यस्तै महर्षि व्यासले धर्म जसले धारण गरेका हुन्छन , ती व्यक्ति आत्मतत्व परमात्मा शरीरको रूपमा जहाँ पनि उपस्थित हुन पुग्छन भनेर बताई देकाछन् | त्यतिमात्र होइन , श्री मद् भगवद्गीतामा उनले धर्मक्षेत्र शब्द प्रयोग गरेर जीवसृष्टि धारण गर्ने परमात्मा श्रीकृष्ण तथा धृतराष्टको जीव भाव (जसलाई धारण गरिएको छ – हे संजय, कुरूक्षेत्रमा भिन्न भिन्न जीव स्वभाव धारण गरिएका अर्थात भिन्न भिन्न प्रकृति युक्त शरीरधारी मेरा र पाण्डु पुत्रहरुले के के गरे ?) ‘धर्म संस्थापनार्थाय’, भन्ने शब्द राखेर उनले त्यै कुरो पुष्टि गराउन खोजेका छन |

मनुस्मृति
======
मनुस्मृतिका धर्मको ब्याख्या गरिएको श्लोकहरु हेरौं :-मनुस्मृति हिन्दू धर्मको सबै भन्दा महत्वपूर्ण एवं प्राचीन धर्मशास्त्र (स्मृति) ग्रन्थ हो | यसलाई मानव-धर्म-शास्त्र, मनुसंहिता आदिपनि भनिन्छ | यो ग्रन्थ उपदेशात्मक छ कारण यो उपदेश मनुले तत्कालिन ऋषिहरुलाई दिएका थिए | हिन्दू मान्यता अनुसार मनुस्मृति ब्रह्माको वाणी मानिन्छ | शंकराचार्य, शबरस्वामी जस्ता दार्शनिकहरुले यसका वचनहरु प्रमाणरूपमा उद्धृत गरेका छन | यो स्मृति स्वायंभुव मनुको उपदेश त हो नै ,यसबाहेक मनुले तय गरेको धर्म-व्यवस्था वेदमा आधारित थियो भन्नेकुराको पुष्ट्याइपनि हो | त्यसकारण मनु हाम्रा आदिपुरुष हुन र उनको स्मृति हाम्रो आदिःशास्त्र हुन पुगेको हो | यस ग्रन्थ अनुसार धर्मको १० लक्षणहरु हुन्छन – १.धैर्य २.क्षमा ३.मन नियंत्रण ४,चोरी नगर्नु ५.मन र वचनले कर्म गर्नु ६.ज्ञानेद्रिय एवं कामेद्रिय अर्थात सबै इन्द्रियहरुमा नियंत्रण गर्नु ७.शास्त्रहरुको ज्ञान प्राप्त गर्नु ८.ब्रह्म ज्ञान प्राप्त गर्नु ९.साँचोकुरो गर्नु १०.क्रोध नगर्नु | यस बाहेक –

दुषितोऽपि चरेद्धर्म यत्रतत्राश्रमे रतः।
समः सर्वेषु भूतेशु न लिंगे धर्मकारणम्।।

भावार्थ- चाहे घरमा होस या आश्रममा शास्त्रका ज्ञाताले सामान्य प्राणिहरुको दोषबाट ग्रसित भएपनि सबैलाई समान दृष्टिले हेर्न सक्नुपर्छ । उसले धर्मको अनुसरण गरेर आफ्नो व्यवहार सँधै शुद्ध राख्नु पर्छ नचाहींदो प्रदर्शन गर्नु हुँदैन – यसको अभिप्राय के हो भने धर्मको पालन गर तर त्यसलाई आडम्वर नबनाउ ।

फलं कतकवृक्षस्य यद्यप्यम्बुप्रसादकम्।
न नामग्रहणादेव तस्य वारि प्रसीदति।।

कतक वृक्षको फलले दुषित पानी शुद्ध बनाउँदछ तर , त्यसको नाउँ जपेर पानी शुद्ध हुँदैन | त्यो पानीमा राखियो वा स्वयं उपस्थित हुन पुग्यो भने मात्र त्यसले पानी शुद्ध बनाउने काम गर्दछ | त्यसरी नै धर्मको जानकारी हुनुनै धार्मिक हुनु होइन , आफुले धारण गरेर प्रयोग गरी अन्य जीवको कल्याण गरेर प्रमाणित गरेपछि मात्र त्यो धर्म हुन पुग्दछ | धरम धर्म भन्दैमा , नाना शृंगार गर्दैमा मान्छे कदापि धार्मिक हुन सक्दैन |

मेरो भनाई –
=======
हाम्रो नेपाली समाजमा धर्म शब्दको देखाबटि प्रयोग गर्नेको संख्या थुप्रो छ तर , बास्तविक रुपमा कतिले त्यसको आचरण गरिरहेकाछन त्यो कुरो सामान्य मान्छेले पनि अनुमान गर्न सक्दछ | नेपाली समाजमा पूजा, पाठ, तीर्थयात्रा, सत्संग तथा दान गर्ने मान्छे प्रसस्त देख्न सकिन्छ तर तिनको नैतिक र सामाजिक आचरण हेर्दा सँधै उँधो लागेको मात्र देखिन्छ | त्यस्ता मान्छेहरु धार्मिक पुस्तकहरुको चर्चा खुबै गर्ने गर्दछन | मौका पाए अर्कालाई खुव सिकाउँछन तर आफु सिक्तैनन , आफ्नो आचरणमा प्रयोग गर्दैनन् , व्यवहारमा लागु गरेर देखाउँदैनन | त्यस्ता मान्छेहरु पहेंला /सेता लुगा लाएर धार्मिक बन्न खोज्छन तर तिनीहरुको भित्री उद्द्येश्य समाजमा प्रतिष्ठा अर्जित गर्नु वा प्राप्तकर्ताको आशीर्वादको चाहना राख्नुमै सीमित भएको हुन्छ | त्यसैकारण कुपात्रलाईपनि उनीहरुले दान र दीक्षा दिने गर्दछन | यी सबैकुरा भन्नुको अर्थ देखावटी धर्म , कोई मान्छे धार्मिक व्यक्ति भएको प्रमाण हुनै सक्दैन |

त्यसरीनै धर्मको रक्षा गर्ने उद्द्येश राखी यस विश्वमा थुप्रै मान्छे र संगठनहरु लागि परेको देखिन्छ -तिनको उद्देश्य केवल आफ्नालागि धन सम्पति कमाउनु , प्रतिष्ठा आर्जन गर्नुमा मात्र सीमित छ | वहुजन वा सामाजिक कल्याण संग तिनको कुनै साइनो पाइंदैन | धर्म नितांत एक निजी विषय हो | यो आफुले बोलेर अरुलाई सुनाउने कुरो होइन | जसले धर्मलाई प्रमाणित गर्न चाहान्छ उसले समाज र देश लाभान्वित हुने काम गरेर देखाउँन सक्नु पर्छ | अरुलाई सहायता गरेको प्रमाण पेस गर्नु र ताम झाम देखाउनु धार्मिक हुन सक्दैन | – प्रवीण अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *