रचनाकार: कनकधारा स्वामी स्वदेशानन्द
००००००००००००००००००००००००
देखें सुन्दर सुन्दरी मुलुकका पाखा पखेराभरि,
बेंसी लेक मधेश गाउँ घरमा नेपालकै दौंतरी।
सारा रात बसे बसे विपिनमा सीमा सुरक्षा गरी,
मेरो राष्ट्र बचाउने कवच हुन् थारू तथा मैथिली।
हाम्रै यी सय जातिका सुमनमा कीरो पसेको छ रे!
माला फूल दुबै बिगारिरहने षड्यन्त्र गर्दैछ रे!
बारी मास्न पसे विभिन्नथरिका बन्सो तथा जंगल,
फ्याँक्नैपर्छ उखेल्नुपर्छ अहिल्यै देखिन्न रे मंगल।
सामा धान म हूँ भनेर जति नै फुर्की झुले तापनि,
सामा धान हुँदै हुँदैन कहिल्यै जस्तै फले तापनि।
सामाको अनि धानको विषयमा केही नजान्नेहरू!
बारी खेत छुटाउने तय गरे नेपाल तोड्नेहरू।
केही घाँस छिरे छिमेकतिरका हाम्रै बगैंचातिर,
आफ्नै बीउ,जरा र ब्याडतिर नै मान्नेगरेका घर।
मासी फूल बगान घाँस अहिल्यै मौलन्छ बारीभरि,
घाँसै मात्र फुले गुराँस वनमा फक्रन्छ रे के गरी?
मात्रै घाँस निकुञ्जमा फुलिरहे शोभा कहाँ हुन्छ र!
धेरै फूलहरू फुलून् विपिनमा नेपालकै सुन्दर।
सामा,धान र घाँस फूल घरको पार्थक्य पारीकन,
माला गाँस्न शुरू गरौं मुलुकको हाँसो बढ़ाईकन।
रचनाकारः कनकधारा स्वामी स्वदेशानन्द
मितिः १२ जून २०१७
समयः रात्री ०९ बजेर १५ मिनेट जाँदा
स्थानः कामाख्या धाम गुवाहाटी,असम