डा. गोविन्द शरण उपाध्याय—
नेपाललाई माया गर्ने सन्त : कमलनयन आचार्य (मुक्तिनाथ बाबा)
स्वामी कमलनयन आचार्य (मुक्तिनाथ बाबा) नेपालका वास्तविक अभिभावक हुन् | नेपालका तीर्थस्थल, धर्म, संस्कृति, परम्पराको जगेर्नाका लागि यिनले गरेका कामहरूलाई नेपाल सरकारको कुनै पनि निकायले उच्छिन्न सक्दैन | सरकारले अरवौं रुपैया खर्च गरेर सम्पन्न गर्न नसक्ने कामहरू गरेका छन् र विश्वलाई नेपालतिर आकर्षित गरेका छन् |

सरकारले करोडौं खर्च गरेर विदेशमा स्कलरसीप दिएर पढाएका तथाकथित विद्वानहरू नेपाल र नेपालीको भलोमा भन्दा पनि विदेशी र आफ्नै व्यक्तिगत प्रयोजनका लागि काम गर्छन् भन्ने कुरा सबैले बुझेका छन् तर आफ्नै बलवुतामा सरकार र यहाँसम्म कि एकपैसा पैतृक सम्पत्ति खर्च नगरी विद्यार्जन गरेका सन्त कमल नयनले नेपाल र नेपालीका लागि मात्र काम गरेका छन् |
यी स्वामीले आफ्नै बलवुतामा मुक्तिनाथ, कागवेणी, गलेश्वर, देवघाट, बाराह-गजेन्द्रमोक्ष, काठमाडौँ, ललितपुर, झापाआदिमा यात्रुहरूका लागि नि:शुल्क आवासको ब्यबस्था मात्र गरेका छैनन् अपितु आध्यात्मिक परिवेशमा निशुल्क भोजनको ब्यबस्था पनि गरेका छन् |
देशको धर्म, संस्कृति तथा रितिरिवाजको संरक्षण गर्ने काम सरकारको हुन्छ | यो विश्वब्यापी मान्यता हो | तर नेपाली राजनीति यस्तो विश्वब्यापी मान्यताभित्र पर्दैन | सरकारीस्तरबाट धर्मसंस्कृतिमा आघात पुर्याउने बाहेक कामको जनताले आसा गर्दैनन् | यी सन्तले गुरुकुल, आध्यात्मिक प्रवचन, साधना, मन्दिर निर्माण, आध्यात्मिक स्थलहरूको पहिचान र तिनको संरक्षणका लागि आफ्नो जीवन खर्च गरिरहेका छन् |
सरकारका उच्चपदाधिकारीहरू भारतीय बाबाको पछाडी हात जोडेर उभिएको हामीले धेरै पटक देख्न सक्छौं | आस्था व्यक्तिगत कुरा हो तर सार्वजनिक व्यक्तिले नेपाल बाहिरका व्यक्तिमा आस्था गर्दा उनीहरूकै एडभरटाइजिङ हुन्छ नेपालको होइन | मुक्तिनाथ बाबाले भारतमा गएर नेपाल र नेपाली सम्पदाहरूलाई चिनाउने काम गरेका छन् |
हरिद्वार होस् वा वाराणसी, वृन्दावन होस् वा अयोध्या र अन्य भारतका प्रसिद्ध तीर्थस्थलहरूमा गएर, त्यहाँका राजनैतिक तथा धार्मिक व्यक्तिहरूलाई एकत्रित पारेर गर्वका साथ नेपाली तीर्थस्थलका विषयमा बखान गर्ने र मुक्तिनाथ, पशुपतिनाथ नाथआदिमा दर्शन गर्न आमन्त्रित गर्ने काममा सरकार भन्दा मुक्तिनाथ बाबाको बढी प्रयास छ |
विदेशी संस्कृतिको सिखो गर्नेहरूले कमलनयन स्वामीहरूले गरेको नेपालआमाप्रतिको माया खपिनसक्नु हुँदैन | घरघरमा गएर ढोका ढकढक पार्दै धर्मपरिवर्तन गराउन अरवौं डलर खर्च गर्नेहरूसंग नेपाल सरकार र राजनेताहरूले कुनै गुनासो गर्दैनन् तर आफ्नै बलवुतामा नेपाल र नेपाली रैथाने धर्मसंस्कृतिको वीणो थाम्न उभिएका सन्तहरूको तेजोवध गर्न यी सधैं तम्तयार रहन्छन् |
मुक्तिनाथ बाबाहरूको गल्ति यत्ति हो कि यिनले नेपालको रैथाने बैदिक संस्कृतको रक्षा गर्नुपर्छ भनेर आश्रम खोले, धर्मशाला बनाए, वैदिक गुरुकुल खोलेर बालबालिकाहरूलाई धर्म संस्कृति सिकाए, विदेशमा गएर नेपाल आमाको महत्व चिनाए !! हरेक दिन १४० जनालाई धर्मपरिवर्तन गर्ने र चर्चहरू खडा गरेर नेपाली संस्कृति मास्नेहरू सरकारका मित्र हुन्छन् किनभने यस्तो मित्रतामा डलरको साइनो हुन्छ | यो कुरा समाज कल्याण परिषदलाई भन्दा बढी कस्लाई थाहा होला !
सन्तले परिवार पाल्नका लागि घरजम गर्दैन | नेपालका धेरैजसो पार्टीका मान्छेहरू धार्मिक छन् तर विदेशीहरूलाई रिझाउन तिनको पार्टीले धर्मनिरपेक्षताको खोल ओढेका छन् | युरोप-केन्द्रीत राजनैतिक आस्थामा उनीहरूको आत्मा कैदी बनेको छ | उनीहरू चाहेर पनि त्यो कैदबाट बाहिर निस्कन सक्दैनन् | उनीहरू मानवतावाद र अन्तराष्ट्रिय सन्धिको खोल ओढेर आउने अतिवादी विदेशी धार्मिक शक्तिहरूलाई रोक्न सक्दैनन् | तर सन्तहरूले आफ्नो धार्मिक तथा सांस्कृतिक क्रियाकलापद्वारा आफ्नो मौलिकता जोगाएर राजनैतिक नेताहरूको नाक जोगाएका छन् |
राजनैतिक नेताहरू अन्तराष्ट्रीय कानुनले बाँधिएका होलान् तर सन्तहरूले ठूला-ठूला संस्कृति संरक्षणका आयोजनाहरू गरेर नेतृत्वलाई ढाक्छन् र सबैको सामु आफ्नो धर्म-संस्कृति तथा परम्पराप्रति आस्थाबान रहन आग्रह गर्छन्, यदाकदा त कटू शब्दको प्रयोग गरेर सावधान गर्ने प्रयत्न गर्छन् |
उनी सन्त हुन् | जे-गर्छन् सबैले देख्ने, सुन्ने र बुझ्ने गरी गर्छन् | गजेन्द्र मोक्षको जमिन कब्जा गरे भन्ने र छालिंगको जङ्गल मासे भनेर आरोप लगाउनेहरूले २०६३ साल एता उभिएका ९ हजार चर्चहरू कस्को जमिनमा बने, त्यसको आर्थिक स्रोत के हो र त्यस कार्यमा कस-कसले सहयोग गरिरहेका छन् ? भने प्रश्न सोध्ने आँट पनि राख्नुपर्छ |
गाउँका गाउँ कब्जा गरेर त्यहाँका रैथाने बौद्ध, हिन्दू, बोन, किरातीहरूको रैथाने संस्कृति मेटाउनेहरू प्रति हामी सहानुभूति प्रकट गर्छौं तर आफ्नै देशको संस्कृति जोगाउन मन्दिर, गुरुकुल, धर्मशाला, भोजनशाला निर्माण गर्दा “कमल नयन स्वामीले सार्वजनिक जग्गा कब्जा गरेर महल ठड्यायो भन्ने समाचार दिन्छौं | एउटा सामान्य मान्छेले पनि बुझ्ने कुरा के हो भने मन्दिर, विद्यालय तथा धर्मशालाहरू सधैं सार्वजिक ठाउँमा नै निर्मित हुदैआएका छन् | मुक्तिनाथ बाबाले त्यही प्राचीन परम्परालाई निरन्तरता दिए, त्यो पनि आफ्नै रैथाने धर्म-संस्कृतिको संरक्षण गर्न !! तर राज्यको नियम सबैले पालन गर्नु पर्ने कुरामा द्विविधा छैन |
म मुक्तिनाथ बाबाको प्रवक्ता होइन तर मुक्तिनाथ बाबाले नेपालको रैथाने वैदिक धर्म संस्कृति संरक्षण गर्न जुन् भौतिक पूर्वाधारहरू खडा गरेका छन् र जसरी जनसामान्यलाई आफ्नो धर्म, संस्कृति तथा इतिहासप्रति इमान्दार रहन प्रेरित गरिरहेका छन्, एतिविध्न नेपाल सरकारको ठूलो प्रयासमा पनि सम्पन्न हुनसक्दैन | यतिमात्र होइन, नैतिकताको खडेरी पर्दैजाँदा दया, करुणा, सत्य, अहिंसा, त्याग, समर्पणआदिको उपदेश दिएर समाजलाई असल बनाउने काम पनि गरिरहेका छन् |
सबै दोष सरकारलाई दिनु पनि उचित हुँदैन तर सरकारले मुक्तिनाथ वावा आफ्ना यी अवैतनिक नागरिकहरूको संरक्षण गर्नुपर्छ | यिनले धर्म, संस्कृति तथा धार्मिक सम्पदाहरूको संरक्षणका लागि गरेको त्याग, तपस्याहरू र कर्महरूको प्रशंसा गर्नुपर्छ | यी सन्तहरूलाई देशका अनुहारका रूपमा स्थापित गर्नुपर्छ |
स्वामी नरहरिनाथ. प्रपन्नाचार्य (राईबाबा) फलाहारी वावा. फाल्गुनन्दआदि सबै नेपालका अनुहार हुन् तर उनीहरूको प्रयत्नमा हामीले सहयोग गर्न सकेनौं र चुक्यौं | तर अहिले क्रियाशील रहेका मुक्तिनाथ वावा जस्ता निस्वार्थी र त्यागीहरूको सत्प्रयासमा हामी सबैको सहयोग हुनुपर्छ |
फोटो- साभार