Best Online News From Nepal

स्पोर्टस् अवार्डमा क्रिकेटरको वर्चस्व

काठमाडौं : पल्सर स्पोर्टस् अवार्ड-२०७४ अन्तर्गत चार विधामा क्रिकेट खेलले बाजी मारेको छ। नेपाल खेलकुद पत्रकार मञ्चले बिहीबार आयोजना गरेको अवार्डमा क्रिकेटका तीन खेलाडी र प्रशिक्षकले अवार्ड पाए। वर्षको उत्कृष्ट पुरुष खेलाडी राष्ट्रिय टोलीका कप्तान पासर खड्का भए। वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड सन्दीप लामिछानेले, प्रशिक्षकको अवार्ड जगत टमाटाले र स्पेसल अवार्ड क्रिकेटकै करण केसीले हात पारे।

नेपाली क्रिकेटलाई सफलताको उचाइमा पुर्‍याउन सफल पारसको कप्तानीमा नेपालले पछिल्लोपटक आईसीसीबाट ऐतिहासिक एकदिवसीय टोलीको मान्यता पाएको थियो। पारसले व्यक्तिगत रूपमा सर्वाधिक रनसमेत बनाएका थिए। पारसले विश्वकप छनोट खेलमा दुई सय ३१ रन र डिभिजन दुईमा एक शतक र एक अर्धशतकसहित दुई सय ४१ रन बनाएका थिए। पारसले यस विधामा ब्याडमिन्टनका दीपेश धामी, क्रिकेटकै सन्दीप लामिछाने, जुडोका इन्द्रबहादुर        श्रेष्ठ र गल्फका टंकबहादुर कार्कीलाई पछि पारे।

यसैगरी युवा विधाका विजेता सन्दीपले एकदिवसीय मान्यता पाउँदा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। इन्डियन प्रिमियर लिग (आईपीएल) खेलिरहेका सन्दीपले यस विधामा क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, फुटबलका दिनेश हेम्जन, जुडोकी मनिता       श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावललाई पछि पार्दै उपाधि जितेका हुन्। उत्कृष्ट प्रशिक्षक बनेका जगतलाई २०७४ सालमा नेपाली क्रिकेटलाई प्रशिक्षकका रूपका सफलताको शिखर चुमाएका कारण अवार्ड प्रदान गरिएको हो।

जगतले यस विधामा क्रिकेटकै विनोद दास, फुटबलमा छिरिङ लोप्साङ गुरुङ, बक्सिङका प्रकाश थापामगर र ब्याडमिन्टनका जयन्तकुमार       श्रेष्ठलाई पछि पारे। स्पेसल अवार्ड पाएका क्रिकेटका करण केसी नेपाललाई डिभिजन दुईबाट विश्वकप छनोटमा पुर्‍याउँदा नायक थिए। नामिबियामा भएको डिभिजन दुईमा क्यानडाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै करणले नेपाललाई हारबाट जोगाउनुका साथै अन्तिममा महत्वपूर्ण जित पनि दिलाएका थिए।

यसैगरी उत्कृष्ट महिला खेलाडीको अवार्ड ब्याडमिन्टनकी शोभा गौचनले जितिन्। उनले बक्सिङकी विमला        श्रेष्ठ, आर्चरीकी ज्ञानु अवाले, फुटबलकी सावित्रा भण्डारी र टेबुलटेनिसकी नविता        श्रेष्ठलाई पछि पारिन्। शोभाले २०७४ मा पाकिस्तानमा भएको अन्तर्राष्ट्रिय ब्याडमिन्टन सिरिजमा मिक्स डबल्सको उपाधि जितेकी थिइन्। यसैगरी पारा एथलिटतर्फ नेपाली ह्विलचियर बास्केटबल र क्रिकेट टोलीका कप्तान हिमाल लम्सालले अवार्ड जिते। नेपाली सेनामा कार्यरत रहँदा २०६० सालमा मकवानपुरको भीमफेदीमा तत्कालीन माओवादीले थापेको एम्बुसमा परी मेरुदण्ड गुमाएका सुवेदार हिमाल त्यसपछि पारा खेलमा लागेका थिए।

यसैगरी एसएमएस मत, प्रशिक्षक र पत्रकारले दिएको अंकका आधारमा पिपुल्स च्वाइस अवार्ड टेबुलटेनिसका नेपाल नम्बर एक खेलाडी स्यान्टु        श्रेष्ठले जिते। उनले यस विधामा क्रिकेटका सन्दीप लामिछाने, फुटबलका किरणकुमार लिम्बू र भलिबलका मानबहादुर        श्रेष्ठलाई पछि पारे। कुल तीन लाख ४४ हजार तीन सय ८५ मध्ये स्यान्टुले ४१.५१ प्रतिशत मत प्राप्त गरे। दोस्रो स्थानमा आएका भलिबलका मानबहादुरले २१.६५, तेस्रोमा क्रिकेटका सन्दीपको १५.०१, चौथोमा फुटबलका किरणले १३.३२ र पाँचौं स्थानमा रहेकी गल्फकी प्रतिमा शेर्पाले ८.४५ प्रतिशत मत प्राप्त गरे।

यसैगरी पुराना खेलाडी र खेलकर्मीको सम्मानमा प्रदान गर्दै आएको लाइफटाइम अचिभमेन्ट अवार्ड पूर्वफुटबलर अशोक केसीले पाए। आफ्नो समयका चर्चित खेलाडी अशोकलाई त्यति बेला ‘चाचाजी’ उपनामले चिनिन्थ्यो। उनी अहिले पनि फुटबल प्रशिक्षकका रूपमा सक्रिय छन्। नेपाली फुटबल आधुनिकतातर्फ लम्कनुभन्दा पहिलाका सुपरस्टार अशोकले अवार्डले आफू साँचो रूपमा सम्मानित भएको बताए। अवार्डसँगै वर्षका उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस र प्रशिक्षक विधाका विजेताले पल्सर मोटरसाइकल हात पारे। अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित आकर्षक उपहार प्राप्त गरे।

पल्सर स्पोर्टस् अवार्डलाई हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिले मुख्य प्रायोजन गरेको थियो। अवार्डलाई डिस मिडिया नेटवर्क लगायतले पनि सहयोग गरेका थिए।

 

Source: www.annapurnapost.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *