Best Online News From Nepal

सेवा सुविधा माग गर्दै नेपाल बैंक ‘आन्दोलनको घेराबन्दी’मा

एक हप्तादेखि आन्दोलन गर्दै आएका नेपाल बैङ्क लिमिटेडका कर्मचारीहरुले आफ्ना माग पूरा नभएसम्म धर्ना कार्यक्रम नरोक्ने बताएका छन् । विगतमा व्यवस्थापनसँग भएका सहमतिहरु कार्यान्वयनको माग राख्दै भदौ १४ गतेदेखि बैंकका कर्मचारी बिहान १० बजेदेखि १ बजेसम्म बैङ्कको प्राङ्गणमा धर्ना बस्दै आएका छन् । बैङ्कको आधिकारिक कर्मचारी युनियन र बैङ्क व्यवस्थापनबीच गत २०७० फागुन २ गते भएको सम्झौता कार्यान्वयन नभएसम्म आन्दोलन नरोक्ने नेपाल बैङ्क राष्ट्रिय कर्मचारी सङ्गठनका वरिष्ठ उपाध्यक्ष टेकबहादुर खड्काले बताए । उनका अनुसार बुधबार पनि १० बजेदेखि १ बजेसम्म धर्ना दिने कार्यक्रम रहेको छ ।

व्यवस्थापनसंग विगतमा भएका सम्झौता कार्यान्वयनको माग राख्दै बैङ्कमा क्रियाशील नेपाल बैङ्क राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन,नेपाल बैंक कर्मचारी संघ, वित्तीय संस्था कर्मचारी सङ्घ र नेपाल बैङ्क कर्मचारी युनियनले संयुक्त रूपमा धर्ना दिँदै आएका छन् । बैंकमा हाल यीनै पाँच कर्मचारी युनियन क्रियाशील छन् । खड्काका अनुसार करारमा रहेका कर्मचारीलाई अवकाससहितको सेवासुविधा प्रदान गर्ने, कर्मचारीको उपदान वृद्धि गर्नुपर्ने, कर्मचारीको शिशु स्याहार भत्ता मासिक एक हजार रुपैयाँ प्रदान गर्नुपर्ने, कर्मचारीको पोसाक भत्ता वार्षिक चार हजार रुपियाँले वृद्धि गर्नुपर्ने लगायतका माग राख्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।

हाल नेपाल बैङ्क लिमिटेड केन्द्रीय कार्यालयमा दुई हजार ६ सय कर्मचारी रहेकामा करार सेवामा मात्र ६०० कर्मचारी रहेको बैङ्कले जनाएको छ । खड्काले कर्मचारीहरुको मागबारे व्यवस्थापनले गम्भीरता नदेखाए शाखा कार्यालयका कर्मचारीहरुलाई समेत आन्दोलनमा उतार्ने चेतावनी दिए । सरकारी स्वामित्वमा रहेको नेपाल बैङ्क लिमिटेडको देशभर १ सय २६ वटा शाखा रहेका छन् । नेपाल बैङ्क लिमिटेडका नायब कार्यकारी अधिकृत दुर्गाराज रेग्मीले कर्मचारीहरुको जायज मागलाई सम्बोधन गर्न व्यवस्थापन पक्ष सकारात्मक रहेको र सहमतिको प्रयासमा छलफल भईरहेको बताएका छन् । तर कर्मचारीहरुले भने व्यवस्थापनसंग भएका छलफलमा आफुहरुको माग पूरा गर्ने विषयमा व्यवस्थापन सकारात्मक नदेखिएकाले आन्दोलन जारी राख्नुपरेको बताएका छन् । विगतमा पनि कर्मचारी आन्दोलनको चपेटाबाट निकै धरासायी बनेको नेपाल बैंक पछिल्लो समय भने मजबुत बैंकको रुपमा स्थापित भईसकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *