Best Online News From Nepal

सुर्माभवानी जात्रा दार्चुलामा

 

10102015094254jatra-600x0

ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सुर्माभवानी जात्राको रौनक सुरु भएको छ । श्रावण शुक्ल दशमीका दिनबाट दार्चुलामा सुरु भएको जात्रा सात दिनसम्म चल्छ । सातै दिन फरकफरक पूजा गर्ने चलन छ । जिल्लाको अपि हिमाल गाउँपालिकाको क्षेत्ती, घाँजिर र सुर्मासरोबरमा जात्रा चल्ने स्थानीयवासी क्षेत्रबहादुर ठेकरेले बताए । ‘हिमाली क्षेत्रमा लाग्ने एकमात्र यो जात्रामा दर्शनार्थीको घुइँचो लाग्छ’, उनले भने ।

सुर्माभवानी जात्रा एघारौं शताब्दीबाट सुरु भएको मानिन्छ । सुर्माभवानी देवी दार्चुलाको क्षेत्ती, घाँजिर र सुर्मासरोबरमा बास गर्ने जनविश्वास रहिआएको छ । सुर्मा भवानीको जात्रा क्षेत्तीबाट सुरु हुँदै घाँजिर र सुर्मासरोबरमा पुगी फेरि त्यहाँबाट फर्केर क्षेत्तीमै आएर टुंगिने स्थानीय जानकार प्रकाशचन्द्र मि श्रको भनाइ छ । ‘सुर्मासरोबर हिमालको काखमा छ । सोही सरोबरमा माता सुर्माभवानी विराजमान रहेको जनविश्वास छ’, उनले भने । सुर्मासरोबर दार्चुला र बझाङ जिल्लाको सिमानामा ६ हजार ५२३ मिटर उचाइमा पर्छ ।

सुर्मासरोबरको जात्रामा सहभागी व्रतालु श्रावण शुक्ल पूर्णिमाका दिनसम्म चोखो बस्ने चलन छ । क्षेत्तीबाट सुरु हुने जात्रामा घाँजिरसम्म महिला पनि जान पाउने र सुर्मासरोबरमा भने पुरुषमात्रै जाने चलन रहेको स्थानीयवासी कौशिला ठेकरले बताइन् । उनले भनिन्, ‘सुर्माभवानीको जात्रामा परम्परागत भेषभूषामा सजिएर जान्छौं । विभिन्न गाथा गाउने गर्छौं । सुर्माभवानीको उपासना गरेमा मनोकामना पूरा हुने जनविश्वास छ ।’ सुर्मासरोबर पुगेमा मानसरोवर पुगे बराबरको पुण्य प्राप्ति हुने जनविश्वास रहिआएको छ ।

सुर्माभवानीको जात्रामा सहभागी व्रतालुलाई चार भागमा विभाजन गर्ने गरिएको मि श्रले बताए । ‘जात्रामा सहभागीलाई उवादेशी, उनादेशी, जत्तोर र वाइदेशी अर्थात् तीर्थालु भनेर छुट्याइन्छ’, मि श्रले भने, ‘जात्रामा सहभागी क्षेत्तीगर्खा पुख्र्यौली घर भएका, ठेकरे, बोहरा, धामी, वैरे समुदायका यात्रुलाई उवादेशी, घाजिरगर्खाका यात्रुलाई उनादेशी, रोकाया, कार्की तथा खण्डेश्वरीभित्रका यात्रुलाई वाइदेशी भनिन्छ ।’

जात्रामा पहिलोपटक सहभागी भएकालाई बालोबिरे र दोस्रोपटक सहभागी हुनेलाई बूढोबिरे भन्ने चलन छ । जात्रामा सहभागी हुनेले निगालोको लौरो बोक्ने चलनसमेत छ । सहभागीले श्रुतिमा आधारित भाडिखेल, ढुस्को, जगरम, भलौलो लगायतका गीत गाउने गर्छन् । यी श्रुतिमा आधारित सिर्जनामा भगवतीको पूजाअर्चना गर्ने गरिन्छ ।

स्रोत- अन्पुर्ण अन्नलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *