विहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरूको १२ औं औद्योगिक मेलाको शुभारम्भ भएको छ । सात दिनसम्म चल्ने सो मेलाको भर्खरै उद्योग मन्त्री सोमबहादुर पाण्डेले उद्घाटन गरेका छन् । हरेक वर्ष आयोजना हुने सो मेलामा बढ्दो मात्रामा उपभोक्ताहरूको सहभागिता हुने दाबी गर्दै आएको आयोजक संस्था फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालले मेलामा कति उपभोक्ताहरूको सहभागिता हुन्छ भन्ने नै स्पष्ट नभएको बताएको छ । एक हप्तासम्म सञ्चालन हुने सो मेला ‘आत्मनिर्भरताको आधार, स्वदेशी वस्तुको प्रयोग’ भन्ने मूल नाराका साथ सुरू हुन लागिरहेको सो मेलाको तयारी, उद्देश्य लगायतका विषयमा केन्द्रित रहेर जुत्ता तथा अन्य वस्तुहरूको राष्ट्रिय औद्योगिक मेला–२०१५ का संयोजक मनोज कुमार श्रेष्ठसँग विजनेश संसार डट कमका प्रतिनिधिले गरेको कुराकानी यहाँ प्रस्तुत गरिन्छ ।
मेलाको तयारी कसरी गरीरहनुभएको छ ?
नेपाल फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनले हरेक वर्ष गर्दै आएको जुत्ता चप्पल तथा छालाजन्य बस्तुहरूको औद्योगिक प्रदर्शनी हामीले विभिन्न अन्योलताकाबीच पनि आयोजना गर्ने निर्णय गरेका छौं । ११ वटा मेलाहरू यस भन्दा अगाडि सफल बनिसकेपछि हामीमा यस्तो प्रदर्शनीतर्फ आकर्षण बढ्नु पनि नौलो कुरा भने होईन । हामी एक हिसावले हौसिएका थियौं र यसलाई फेरि पनि निरन्तरता दिने पक्षमा हामी थियौं । तर, विडम्बना नाकाबन्दीले सिर्जना गरेको ‘के खाउँ र के लाउँ’ भन्ने अवस्थामा यसको महत्व कत्ति पो होला र ? भन्ने प्रश्नले पनि हामीलाई दोधारे स्थितीमा पु¥याएको थियो । तर, हाम्रा सदस्यहरूको हौसला र उनीहरूकै सुझावका कारण हामीले यो मेलालाई ९ गते सुरू गरेर सातदिन सम्म सञ्चालन गर्ने तयारी गरेका हौं । हामी अहिले पूर्ण रूपमा तयार रहेका छौं । स्टलहरू सबै बुकिङ भईसकेका छन् । समग्रमा भन्ने हो भने मेलाको लागि हामी पूरा तयार रहेका छौं ।
मेलालाई राष्ट्रियस्तरको भनिएपनि धेरै क्षेत्र र व्यवसायीहरू समेट्न सक्नुभएको छैन नि ।
धेरै संस्था तथा उद्योगलाई समेट्ने कुरा त हामीले गरिपनि रहेका छौं । हामीले पहिले राष्ट्रिय सभागृहको प्राङ्गणमा १७ वटा स्टलहरूबाट सुरू गरेको यो प्रदर्शनीलाई अहिले आएर नेपालकै सबैभन्दा ठूलो प्रदर्शनीस्थलमा सञ्चालन गर्न सकिरहेका छौं । त्यस्तै, हामीले त्यतिबेला १७ वटा स्टलहरूबाट सुरू भएको अहिलेको प्रदर्शनीमा एक सय पाँच वटा स्टल राखेका छौं । त्यसैले पनि, हामीले धेरैलाई समेट्न नसकेको विषयलाई त भन्नै मिल्दैन नि । अहिले त हामीलाई सिलाई कपडा संघले पनि आयोजनामा सहयोग गरिरहेको छ । त्यसैले तपाईले भनेका कुरालाई टिप्पणी गर्ने यथेष्ठ स्थानहरू रहेको छ ।
मेलाबाट उपभोक्ता एवं व्यवसायीलाई कस्तो फाईदा पुग्छ त ?
मेलाबाट उपभोक्ता र उत्पादकहरू सबैले भिन्दा–भिन्दै फाईदाहरू हासिल गर्ने लक्ष्य राखेका छौँ । उमीहरूले उपभोक्ताहरूको माग र उनीहरूको चाहनालाई बुझ्न सक्छन् । अन्य प्रतिस्पर्धीहरूको उत्पादन र उनीहरूको निर्माणको शैलीबाट पनि आफ्ना कमजोरीहरूको पहिचान गरी त्यसलाई सुधार गर्न सक्दछन् । मेलापश्चात् आधुनिकीकरणको अवसर सिर्जना हुनुको साथै उपभोक्ताहरूले एउटै छानो मुनी छानीछानी जुत्ता तथा चप्पल र विभिन्न सिलाइ उत्पादनहरू भेट्टाउन सक्छन् । त्यसैले यो सबै पक्षका लागि यो मेला उपयुक्त र फाइदाजनक रहेको छ ।
यस भन्दा अगाडिका मेलाहरूको तुलनामा यस मेलामा के फरक छ ?
यो हाम्रो मन समेत दोधारमा परेर गरेको निर्णय भएको हुनाले पनि यसमा मानिसहरूको सहभागिता भने केही कम हुन्छ कि भन्ने लगिरहेको छ । अहिलेको अभावको समयमा हामीले अत्यावश्यक सामग्रीभन्दा पनि जुत्ताको ब्राण्डमा धेरै मान्छेको मन जाँदैन कि भन्ने पनि आँकलन गरेका छौं । पहिलेको र अहिलेकोबीच फरक नै हेर्ने हो भने त हामीले ४० वटा कम्पनीका हजारौं उत्पादनलाई एक सय पाँच वटा स्टलमा राखेर प्रदर्शनी गर्न लागेका छौं ।
१२औं औद्योगिक मेला आयोजना गरिरहँदा उपभोक्तामा जुत्ता किन्ने शैली र व्यवहारमा कस्तो किसिमको फरक पाउनुभएको छ ?
धेरै फरक पाएका छौं, हामीले यस भन्दा अगाडिका प्रदर्शनीहरूमा एक हजारको ब्राण्डलाई खोज्ने प्रचलन थियो भने अहिले हामी दुई हजारदेखि २५ सयसम्मका जुत्ताहरूको खोजीमा जान थालीसकेका छौं । ‘हामीलाई एक हजारको त के जुत्ता लगाउनु’ भन्ने मानसिकता सिर्जना भईसकेको छ । त्यसैगरी, जो बढी पैदल हिँड्नुहुन्छ उहाँहरू चाहिँ विशेषगरी सस्तोखालका जुत्ताहरू प्रयोग गर्ने भेटेका छौं । त्यसैगरी, युवा पुस्ताहरूलाई विशेषगरी नयाँ ब्राण्डका र आधुनिक प्रविधिका जुत्ताहरू प्रयोग गर्ने स्वभावको हामीले भेटिरहेका छौं ।
अन्तमा के भन्नुहुन्छ ?
हामीले नेपाली जुत्तालाई प्रोत्साहन गर्ने उद्देश्यले नै यस्तो प्रदर्शनीको तयारी गरिरहेका छौं । हामीले मेलामा प्रवेश गर्नको लागि २० रूपैयाँको शुल्क निर्धारण गरेका छौं । तर, त्यो पनि मेलाबाट सामान खरिद गर्नेहरूको लागि भने फिर्ता दिने निर्णंय गरेका छौं । अन्तमा नेपाली ब्राण्डलाई माया गरौँ, कम्तीमा एकपटक प्रदर्शनीको अवलोकन गरौं भन्न चाहन्छु ।
Source: Businesssansar