Best Online News From Nepal

सुतेकै अवस्थामा किन मारिन्छन् कोरियामा नेपालीहरु ?

नेपालीहरू रोजगारीका लागि दक्षिण कोरिया आउन थालेदेखि हालसम्म ९१ जनाले ज्यान गुमाएका छन् । सन् २०१५ मा सबैभन्दा धेरै २२ जनाको विभिन्न कारण निधन भएको छ । सउलस्थित नेपाली दूतावासका अनुसार सन् २०१४ मा ८ जना र २०१३ मा १८ नेपालीले ज्यान गुमाएका थिए । दूतावासको तथ्यांकमा मृत्युको कारण आत्महत्या, कम्पनी दुर्घटना, हृदयघात र कारण खुल्न नसकेको उल्लेख छ ।

सूतेकै अवस्था मृत भेटिनेको संख्या उच्च
दूतावासको तथ्यांकअनुसार पछिल्ला ९ वर्षमा सुतेकै अवस्थामा मृत्यु हुने र आत्महत्या गर्नेको संख्या सबैभन्दा धेरै छ । दैनिक कामको ओभरलोड धेरै र सुताइ वा आराम गर्ने समय थोरै भए क्रोनिक फटिकको लक्षण देखा पर्छ । त्यसले मानिसको जिउमा तागत नहुने, थकाइमात्र लाग्ने, राम्रोसँग निद्रा नलाग्ने, खाना खान मन नलाग्ने, पेट र जिउ दुख्ने, वाकवाकी लाग्ने र स्मरण शक्तिमा ह्रास आउनेजस्ता लक्षण देखा पर्छन् । दैनिक लामो समय काम गर्दा आराम र खानपानमा ध्यान दिनु आवश्यक रहेको डाक्टरहरुको सुझाव छ । आत्महत्या भने डिप्रेसनका कारण हुने गरेको छ । पारिवारिक झमेला, एक्लोपना, भाषा, हावापानी, रात्रिकालीन काम र भिन्न संस्कृतिका कारण डिप्रेसन हुने गरेको दूतावासको भनाइ छ । कारण पारिवारिक तनाव, लामो समय काम, खानपानमा ध्यान नदिनु, अत्यधिक मदिरा सेवन, नियमित स्वास्थ जाँच नगराउनु आदि पनि मृत्युको कारण हुने गरेका छन् ।
कुन महिनामा कति नेपालीले ज्यान गुमाए ?

गत वर्षको जनवरीको १९ तारिखमा पर्वतका ३२ वर्षीय रेशम थापामगरको हृदयघातका कारण मृत्यु भएको थियो । फेब्रुअरीमा ४ जनाले ज्यान गुमाएकोमा ३ जनाले आत्महत्या गरेका थिए भने एकजनाको मृत्युको कारण आजसम्म पनि खुल्न सकेको छैन । ५ तारिखमा खोटाङका ३५ वर्षीय जयकुमार राई, २० तारिखमा छबिलाल भण्डारी, २३ तारिखमा तेजराज खरेल र २७ तारिखमा अर्जुन अखेलीको मृत्यु भएको थियो । मार्चमा सुरेश नेपालीले आत्महत्या गरेका थिए । मे महिनाको १६ तारिखमा अतिउल्ला खान र हरि सुवेदीको कम्पनी दुर्घटनामा परी निधन भएको थियो, १८ तारिखमा रामहरि बरालले आत्महत्या गरेका थिए भने २९ मा मोतिलाल लिम्बुको हृदयघातका कारण निधन भएको थियो । जुन महिनाको ३ तारिखमा अनिल भट्टराई र २९ मा सचिक श्रेष्ठले आत्महत्या गरेका थिए । जुलाइमा कम्पनी दुर्घटनामा परी गान्धिराज खतिवडाको मृत्यु भएको थियो, एक नेपालीको हत्या भएको थियो भने सोही महिनामा मृत्यु भएका भुमेश्वर गुरुङको मृत्युको कारण खुल्न सकेको छैन । त्यसैगरी, अगस्टमा विरेन्द्र चौधरीको हृदयघातका कारण निधन भएको थियो । सेप्टेम्बरमा प्रदिप भट्टले आत्महत्या गरेका थिए । डिसेम्बरको १८ तारिखमा नुवाकोटका बलराम लामिछानेको हृदयघातका कारण, २६ मा मोरङ उर्लाबारीका बाबुराम पोखरेलको कम्पनी दुर्घटनामा र १५ मा काभ्रे कोशीपारिका मञ्जिल पहरी कारण खुल्न नसकी मृत भेटिएका थिए । वर्षको अप्रिल, अक्टोबर र नोभेम्बर महिनामा भने मृत्युका घटना भएनन् ।

किन रोज्छन् कामदारले आत्महत्याको बाटो ?
कोरियाको कठोर कार्यशैली र जोखिमपूर्ण काम नेपाली कामदारका लागि गाह्रो बन्ने गर्छ । नेपालमा पाउँदै आएको पदीय तथा सामाजिक सम्मान गुमाएको आवेग, नेपालमा चाहना गरे जति कामउन नसकेको पीडा अनि कडा अनुशासनमा कठोर जोखीमपूर्ण काम गर्नुपर्दा कतिपय कामदारले आत्महत्याको बाटो रोज्ने गरेको देखिएको छ । कम्पनीको व्यवहार चित्त नबुझे उविरुद्ध उजुरी गर्ने वा कम्पनी परिर्वतन गर्ने अधिकार नेपाली कामदारलाई छैन । कम्पनी फेर्न काम गरिरहेको कम्पनीले स्वीकृति दिनुपर्ने व्यवस्था गरिएको छ । रोजगारदाताले सहमति नदिएको अवस्थामा पहिलो काम छोडेर अर्को कम्पनीमा काम गर्न नेपाली कामदारले पाउँदैनन् । यसले पनि नेपाली कामदारलाई आत्महत्यासम्म र्पुयाइरहेको हो । कानुनी व्यवस्थामा रोजगारदाताको स्वीकृतिमा ३ वटासम्म रोजगारदाता परिवर्तन गर्न पाउने अधिकार नेपाली कामदारलाई छ तर व्यवहारिक रुपमा यसको अभ्यास सहज नरहेको कोरियामा काम गरिरहेका नेपाली बताउँछन् ।
सन् २००८ देखि रोजगार अनुमति प्रणालीअनुसार नेपाली कामदारलाई कोरिया पठाउन थालिएको थियो । कोरियामा करिब ३४ हजारको हाराहारीमा नेपालीको बसोबास छ । यस मध्ये ८० प्रतिशत नेपाली युवा औद्यागिक क्षेत्रमा र २० प्रतिशत युवा कृषि, पशुपालन तथा मस्यपालन क्षेत्रमा कामदारको रुपमा कार्यरत छन् । सम्झौता हुनुअघि आफ्नै तरिकाले करिब १ हजार कामदार कोरिया गएको तथ्यांक इपिएस कोरिया शाखासँग छ । कोरियामा कामदार पठाउने सातौं मुलुकको रुपमा सन् २००७ मा सम्झौता गरेको नेपाल हाल कोरियाली कम्पनीहरुको कामदार छनोटको दोस्रो उत्कृष्ट मुलुक बनेको छ

 

Source: BusinessSansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *