रोजगारीको नाममा वीरगन्ज नाका हुँदै भारत एवम् खाडी मुलुक जाने नेपाली महिला तथा बालबालिकाको संख्यामा उल्लेख्य वृद्धि देखिएको छ । महिला तथा बालबालिका क्षेत्रमा कार्यरत गैरसरकारी सामाजिक संस्था केआई नेपालको वीरगन्जस्थित कार्यालयका अनुसार, गत आवमा यो नाका हुँदै भारत प्रवेश गर्न लागेका जोखिममा रहेका ७७ जना महिला तथा बालबालिकालाई नाकाबाट फर्काइएको थियो ।
सीमाबाट नेपाल फर्काइएकामध्ये अधिकांश रोजगारीका लागि खाडी मुलुक जान लागेको बताउने महिला तथा बालबालिका रहेको बताइएको छ । फर्काइएकामध्ये अधिकांश महिलालाई सोधपुछ गर्दा आफूहरु दलालमार्फत कुबेत, दुबई र साउदी अरब जान लागेको बताउने गरेका छन् । जसमध्ये अधिकांश महिला १८ देखि ३० वर्ष उमेर समूहका रहेका छन् । त्यस्ता महिलासँग राहदानी वा नेपाली नागरिकताको प्रमाणपत्रमध्ये एउटा हुने गरेको र साथमा रहेको एउटा सानो ब्यागमा एक दुई जोर लगाउने कपडामात्र रहेको हुन्छ । त्यस्ता महिलासँग सोधपुछ गर्दा सुरुमा आफूहरु किनमेल गर्न वा आफन्तलाई भेट्न सीमापारि भारत जान लागेको बताउने गरेका छन् ।
रोजगारीका लागि भारत हुँदै खाडी राष्ट्र लैजाने प्रलोभनमा धेरैलाई दलालले भारतमा बिक्री गर्ने गरेका छन् । यसरी भारतको बाटो हुँदै खाडी मुलुक लैजान खोज्ने दलालमा महिला नै बढी सक्रिय रहेको अध्ययन र अनुसन्धानले देखाएको छ । केआई नेपालले महिला तथा बालबालिकाका लागि सीमा निगरानी गर्दै आएको छ । करिब दुई वर्षदेखि वीरगन्जको बाटो प्रयोग गरी नेपाली महिला तथा बालबालिका रोजगारीका लागि अवैधरुपमा भारत हुँदै खाडी मुलुक जाने क्रम ह्वात्तै बढेपछि के आई नेपालले नाकामा उच्च सतर्कता अपनाउन थालेको छ । वीरगन्जसँगै जोडिएको सीमावर्ती भारतीय सहर रक्सौलबाट भारतको दिल्ली र कोलकोतालगायत प्रमुख सहरसम्मको सिधा रेल्वे सेवा सञ्चालनमा रहेकाले पनि दलालले यो नाका बढी प्रयोग गर्ने गरेको हुन सक्ने केआई नेपालको बुझाई छ ।
रोजगारका लागि भन्दै त्यसरी अधिकांश बालबालिका अभिभावककै सहमतिमा भारत हुँदै खाडी मुलुकतर्फ लैजाने गरिएको छ । गरिबी, अशिक्षा र अज्ञानताका कारण ग्रामीण क्षेत्रका महिला तथा बालबालिका रोजगारीका लागि खाडी मुलुक जान लोभिने गरेका छन् । खाडी मुलुकका लागि हिँडेका कतिपय महिला तथा बालबालिका भारतकै दिल्ली, कोलकोता, पञ्जाव र हरियाणालगायतका सहरमा रहेका विभिन्न रेष्टुराँ, कोठी तथा उद्योगमा बँधुवा मजदुर भई अमानवीय तरिकाले काम गर्दै आएका छन् ।
केआई नेपाल वीरगन्जका अनुसार, गत वर्ष नाकामा २ हजार ७ सय ३ महिला तथा बालबालिकालाई संस्थाका परामर्र्शदाताले परामर्श दिएका थिए । नाकाबाट फर्काएका महिला तथा बालबालिकामध्ये १७ जनालाई संस्थाले आफ्नो सेफ होममा पठाएर सीपमूलक तालिम दिइने व्यवस्था मिलाइएको छ भने पाँचजनालाई अभिभावकको जिम्मा लगाई परिवारमा पुनःस्थापना गराएको छ । उद्धार गरिएका महिला तथा बालबालिकालाई न्याय दिलाउन एउटा जबर्जस्ती करणी र दुईवटा मानव बेचबिखनसम्बन्धी मुद्दा दर्तासमेत केआई नेपालले गराएको छ ।
चेलीबेटी बेचबिखन नियन्त्रण क्षेत्रमा कार्यरत केआई नेपालले २०७१ सालमा पनि जोखिममा रहेका ५६ जना महिला तथा बालबालिकालाई उद्धार नाकाबाट स्वदेश फर्काइएको थियो ।