Best Online News From Nepal

सिद्धान्तको मौलिक रैथाने परिभाषा र चार प्रकारका सिद्धान्त

डा. निर्मलमणि अधिकारी

डा.निर्मलमणि अधिकारी—

चरक संहिता (विमानस्थानम्, अष्टमोध्याय, ३७ औँ श्लोक) ले “सिद्धान्त” लाई निम्नानुसार परिभाषित गरेको छ :-
“सिद्धान्तो नाम स यः परीक्षकैर्बहुविधं परीक्ष्य हेतुभिश्च साधयित्वा स्थाप्यते निर्णयः ।” 
अर्थात्, सिद्धान्त भन्नाले परीक्षकहरूद्वारा अनेक प्रकारले परीक्षण गरी ‘हेतु’हरूद्वारा साधित भएको स्थापित निर्णय बुझिन्छ । यहाँ प्रयुक्त ‘हेतु’ शब्द पारिभाषिक पद हो । ज्ञानका साधनभूत कारणलाई हेतु भनिन्छ । चरक संहितामा प्रत्यक्ष, अनुमान, ऐतिह्य र औपम्य (उपमान) गरी चार हेतुहरू (प्रमाणहरू) मानिएका छन् ।
यी हेतुहरूबाट जो ज्ञात हुन्छ, अर्थात् सिद्ध गरिन्छ, त्यो तत्त्व (सत्य ज्ञान) हुन्छ ।
चरक संहितामा चार प्रकारका सिद्धान्तहरू हुने बताइएको छ ।
सर्वतन्त्र सिद्धान्त : “सर्वतंत्रसिद्धान्तो नाम तस्मिंस्तस्मिन् सर्वमिंस्तन्त्रे तत्तत् प्रसिद्धम् ।” अर्थात्, सबै शास्त्रहरूमा सिद्धान्त रूपले प्रसिद्ध भएकालाई नै सर्वतन्त्र सिद्धान्त भनिन्छ ।
प्रतितन्त्र सिद्धान्त : “प्रतितंत्रसिद्धान्तो नाम तस्मिंस्तस्मिंन्नेकंकस्मिंस्तन्त्रे तत्तत् प्रसिद्धम् ।” अर्थात्, एक–एक शास्त्रमा प्रसिद्ध अर्थात् जो भिन्न–भिन्न शास्त्रहरूमा भिन्न–भिन्न रूपले पाइन्छ, त्यसलाई प्रतितन्त्र सिद्धान्त भनिन्छ ।
अधिकरण सिद्धान्त : “अधिकरणसिद्धान्तो नाम स यस्मिन्नधिकरणे प्रस्तूयमाने सिद्धान्यन्यान्यप्यधिकरणानि भवन्ति ।” अर्थात्, जुन विषयको प्रकरण चलेको छ (लेखिएको छ वा कहिएको छ), त्यसैसँग सम्बन्ध राख्ने अन्य सिद्ध अधिकरण आएमा त्यसलाई अधिकरण सिद्धान्त भनिन्छ ।
अभ्युपगम सिद्धान्त : “अभ्युपगमसिद्धान्तो नाम स यमर्थमसिद्धमपरीक्षितमनुपदिष्टमोलुकं वा वादकालेऽभ्युपगच्छन्ति भिषजः ।” अर्थात्, जुन असिद्ध, अपरीक्षित, अनुपदिष्ट र अहेतुक कुरालाई वादको समयमा मानिएको हुन्छ, त्यसलाई अभ्युपगम सिद्धान्त भनिन्छ ।
सिद्धान्तको परिभाषा मात्र हेर्दा चरक संहितामा आधुनिक प्रायोगिक विज्ञानमाझैँ नै परीक्षण र पर्यवेक्षणद्वारा प्रमाणित नभएसम्म कुनै पनि सिद्धान्तले ‘सिद्धान्त’को मान्यता नपाउने प्रतीत हुने भएतापनि सो ग्रन्थमा वर्णित सिद्धान्तका प्रकारान्तरहरूलाई पनि ख्याल राख्दाचाहिँ आधुनिक मानविकी र समाजविज्ञानका विधाहरूमाझैँ सिद्धान्तका अनेक स्वरूपहरू मानिएको तथ्य उजागर हुन्छ । किनभने यस ग्रन्थमा जबसम्म शास्त्रार्थद्वारा वादी–प्रतिवादीको सिद्धान्त खण्डित हुँदैन, तबसम्म उसका सिद्धान्तहरूलाई मान्ने अभ्युपगम सिद्धान्तसमेतलाई ‘सिद्धान्त’ मानिएको देखिन्छ (चरक संहिता, पृ. ७५३) ।
थप परिचर्चाका लागि सन्दर्भ सामग्री :-
अधिकारी, निर्मलमणि । वि.सं. २०६९ । सञ्चारप्रक्रियाको भाट्ट–मीमांसा–दार्शनिक अध्ययन (विद्यावारिधि शोधप्रबन्ध) । वसन्तपुर, काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्र ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *