Best Online News From Nepal

‘साता दिनमै एक हुँदै माओवादी’

शान्ति सम्झौतापछि विभिन्न ६ टुक्रामा विभाजितमध्ये चार माओवादी घटकको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । एकीकृत नेकपा माओवादी, नेकपा क्रान्तिकारी माओवादी, क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा (माओवादी) बीचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको हो । एमाओवादी महासचिव कृष्णबहादुर महराले एकता प्रक्रिया जेठको पहिलो साताभित्र नै पूरा हुने बताए । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य पक्षधर एकताका लागि तयार नभएपछि रामबहादुर थापाको नेतृत्वमा बहुमत केन्द्रीय सदस्य एमाओवादी फर्किन लागेका हुन् । एकताका लागि निर्णय लिन सो समूह आज (शनिबार) आफू पक्षीय केन्द्रीय सदस्यको बैठक बोलाएको छ । एकता प्रक्रियाका लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा क्रान्तिकारी माओवादीका निवर्तमान महासचिव थापासहित एकता पक्षधर नेताहरूबीच १२ बुँदे सहमति जुटिसकेको छ । एकताको अन्तिम रूप दिन एमाओवादी र क्रान्तिकारी माओवादी दुवैले आज (शनिबार) अलग–अलग केन्द्रीय समिति बैठक आह्वान गरेका छन् । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीबीचको एकता भने बहुमत केन्द्रीय सदस्यको निर्णयअनुसार निवर्तमान महासचिव थापाको नेतृत्वमा हुने भएको छ । अध्यक्ष मोहन वैद्य, उपाध्यक्ष सीपी गजुरेल लगायत नेता एकतामा सामेल नहुने भएका छन् । केन्द्रीय समिति बैठकको अघिल्लो दिन शुक्रबार अध्यक्ष वैद्यले विज्ञप्ति जारी गर्दै पार्टी केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित गरेपछि थापाले केन्द्रीय कार्यालय इन्चार्जका हैसियतमा बैठक आह्वान गरेका छन् । राजधानीमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *