Best Online News From Nepal

साउने सोमबार,पशुपति र इतिहास

दीर्घराज प्रसाई Dirgha Raj Prasai

…………..

पशुपतिनाथ लगायत नेपाल, भारत, इण्डोनेसिया र विश्वका कैयौं शिव मन्दिर, महादेवस्थान, गोसाईकुण्ड, पिण्डेश्वर, डोलेश्वर महादेव लगायत अनेकौं शिवालयहरुमा साउने सोमवारको दिन दर्शनार्थी भक्तजनहरुको ठूलो उपस्थिति हुन्छ । विश्वका देशहरुमा अहिले अमेरिका तथा बेलायत जस्ता इसाई राष्ट्रहरुमा पनि शिवालयहरु स्थापना गरी नेपाल लगायत भारतीय हिन्दुहरुको प्रयासमा महादेवको पूजाआर्चना गरेर हिन्दुहरुले आ–आफ्नो पहिचान देखाउन लागेका छन् । यसरी शिवालय तथा भगवतीका मन्दिरहरु स्थापना गर्नमा नेपालीहरुको विशेष भूमिका रहेको छ ।
यसरी साउने सोमबार शिवरात्री, अक्षय तृतीया, एकादशी, साउनको सोमवार, बालाचतुर्दशी, तीज, गोकर्णे औंसी, स्वस्थानी आदि दिनहरुमा भगवानको आराधनाको लागि विश्वभरमा हिन्दु नर–नारीहरको घुर्इंचो लाग्ने गर्छ । हिन्दु तथा बौद्धहरुले पशुपतिनाथको साथै अमरनाथ, विश्वनाथ, कैलास–मानसरोवरलाई शिवजीको तपोभूमिकारुपमा मान्छन् । पशुपतिनाथलाई शिव, महादेव, किरातेश्वर, शंकर, शम्भु, ज्योर्तिलिङ्ग आदि विभिन्न नामले पुकार्ने गरिन्छ । साउनको सोमबार शिवजीको जन्मदिन स्वरुप भक्तिपूर्वक धुमधामकासाथ मनाइन्छ । साउनको सोमबारमा बोलबमको नाममा राता र पहेंलाबज्र लगाएका महिला पुरुषहरुबाट पवित्र नदीहरुको जल घडामा लिएर पशुपतिनाथ र शिवमूर्तिहरुमा भक्तिपूर्वक चढाउने कार्य हुन्छ । निधारमा टिका लगाएका भक्तजनहरुको मेला र भेलाले पशुपतिनाथ, गोसाईकुण्ड, पाटनको कुम्भेश्वर, धरानको पिण्डेश्वर सिंहारिएको हुन्छ ।
समय समयमा राजनीतिक परिवर्तन हुँदैआएता पनि हाम्रा धाम र मन्दिरहरुको परम्परागत मान्यता र पहिचानहरु बचाउने कार्य हुँदैआएको छ । हिन्दुहरुको नेपाल, क्रिस्चियन र यहुदीहरुको जेरुसेलम, मुसलमानहरुको मक्का मदिना पबित्र स्थलहरु मानिन्छन् । क्रिस्चियनहरुको क्रस र चर्च, यहुदीको षट्कोण, मुसलमानको नमाज तथा मस्जिद र हामी हिन्दु र बौद्धहरुको पशुपतिनाथ र स्वयम्भूनाथ त्यत्तिकै पूजनीय छन् । हिमालयको दक्षिण, गंगाको उत्तर, काठमाण्डौं उपत्यका रुद्रको अतिनै प्रिय क्षेत्र हो । पशुपतिनाथकै प्रतापले गोसाईकुण्ड,पिण्डेश्वरलाई पबित्र क्षेत्रको रुपमा लिइन्छ । त्यस्तै अमरनाथ,विश्वनाथ,कैलास–मानसरोवरलाई शिवजीको तपोभूमिकारुपमा विश्वभरका हिन्दु तथा बौद्धहरु मान्ने गरिन्छ । पशुपतिनाथलाई शिव,महादेव, करातेश्वर,शंकर,शम्भु,ज्योर्तिलिङ्ग आदि विभिन्न नामले पुकारिन्छ । महाभारतकालमा युद्धको समाप्तिपछि हिमाल जाँदा पाण्डवहरुले प्रायश्चितस्वरुप पशुपतिनाथको पूजा गरेका र लिच्छविवंशका पहिला राजा ‘विक्रमादित्य’ को उपाधि धारण गरेर ‘वैशालाधिपति’ को रुपमा पशुपतिनाथ र बज्रयोगिनीको तपस्या गरी शक्ति प्राप्त गरेर बत्तिसपुलतीमा आफ्नो सिंहासन कायम गरेका र उनैबाट कासीमा विश्वनाथको मन्दिर स्थापना गरिएको कुरा देवमाला बंशावली र हिमवत्खण्डमा उल्लेख छ ।
पशुपतिनाथभित्र हिन्दुहरुलाई मात्र प्रवेश भन्ने मूल ढोकामा सूचना टाँसिएको छ । सूचना पढेर कतिले त्यसको बिरोधमा टिक्का टिप्पणी गर्ने गरेका छन् । मस्जिद र चर्चहरुमा अन्य धर्मावलम्वीहरुलाई कस्तो व्यवहार गरिन्छ भन्ने कुरा पनि अध्ययनको विषय भएको छ । भगवानको दर्शन गर्ने कुरामा कसैलाई रोकतोक हुनुहुन्न भन्ने कुरा राम्रो लागेता पनि नेपालका हिन्दु मन्दिरहरुमा कतिपय कुराहरु स्थापित मान्यता भइसकेका छन् । नेपालका हिन्दु देवस्थल पशुपतिनाथ लगायत अन्य धामहरुमा जुनसुकै धर्मावलम्वीहरु दर्शन वा अध्ययनको लागि जान सक्थे । हिन्दुधर्म संसारका धर्महरु मध्ये एक उदार र सहिष्णुवादी धर्म हो । तर इतिहासको कालखण्डमा हिन्दु देवस्थलहरु माथि मुस्लिम र इसाईहरुबाट आक्रमण हुन थालेपछि हिन्दु आराध्यदेव भगवानका मन्दिर र धामहरुमा हिन्दु बाहेक अन्य धर्मावलम्वीहरुलाई रोक लगाउने प्रारम्भ भएको हो । विक्रम सम्वत् १४०० तिर बंगालका नबाव सुल्तान समसुद्दिनले एकतीस हजार मुसलमान पल्टन लिएर नेपालका मन्दिर तथा विहारहरु ध्वस्त गर्दै जनकपुर, पनौती हुँदै पशुपतिनाथको मन्दिर समेत ध्वस्त पार्ने धृष्टता गरेका थिए ।
लिच्छविवंशका अन्तिम राजा जयर्जुनदेव कमजोर राजा भएकाले त्यही मौका छोपेर मुस्लिम आक्रमणले सारा हिन्दु तथा बौद्धहरुमा कोलाहल मच्चियो । त्यस्तो विकराल अवस्थाबाट यसक्षेत्रलाई बचाउन पाल्पा, कास्की,गोरखा, लमजुङ्गका राजाहरुको सहयोग लिएर खसराजा जयस्थिति मल्लले मुसलमान फौजमाथि आक्रमण गरे, तीसहजार चारसय मारिए र ६ सय जति बाँचेर भागे । (भक्तपुर तलेजु स्तम्भको शिलालेख) त्यसपछि जयस्थिति मल्ल काठमाण्डौं उपत्यकाको राजसिंहसानमा बसेर पशुपतिक्षेत्रमा जीर्णोद्घार तथा पुनरुत्थान गरी बाग्मतीपारी राम मन्दिरको निर्माण गरे र नेपाल सम्वत् ४७० मा कुम्भेश्वर महादेवको स्थापना गरी कोटीहोम गर्दै शुद्धशान्ति गरेर पशुपतिनाथको मन्दिरभित्र हिन्दु इतर आक्रमणकारीहरुबाट बाँच्नको लागि हिन्दु तथा बौद्धलाई मात्र प्रवेश र अरुहरुको लागि प्रवेश निषेध गर्ने नियम चलाएकाले अहिलेसम्म त्यही परम्परा चल्दै आएको छ । संविधानहरु समयानुकुल परिवर्तन भइरहन्छन् तर परम्परागत स्थापित मान्यताहरु संविधान भन्दा माथि हुनेभएकाले परम्पराको रुपमा त्यसको समर्थन हुँदैआएको छ । यस्तो परम्परा अन्य धर्महरुमा पनि प्रसस्त छन् ।
विक्रम सम्वत् १७१४ भन्दा अगाडि सन्यासीहरु पशुपतिनाथका पुजारी थिए । त्यसपछि यहीकै राजोपाध्यायहरुबाट पशुपतिनाथको पूजा गरिन्थ्यो । क्रमशः पशपतिनाथका पूजारीको सहायताका लागि बनेपाबाट नेवार जातिका पुजारीहरुलाई पशुपतिको भण्डारे बनाइए । पछि प्रताप मल्लले कर्नाटकको राजासँग सम्पर्कमा जाँदा कर्नाटक राजाले सहयोगीका रुपमा तान्त्रिकहरु ज्ञानानन्द र लुम्मकर्ण भट्ट नेपालमा दाइजोका रुपमा आएका र पछि तिनै तान्त्रिक भट्टहरुको माग अनुसार भट्टहरु पशपतिनाथका पुजारी बनाइए । अहिलेसम्म पशुपतिनाथको मन्दिरमा मलभट्ट सहित दक्षिण भारतका चारजना भट्ट पुजारी र १०६ जना नेवार भण्डारीहरु छन् । पशुपतिक्षेत्र देवपाटनमा जन्मिएका भण्डारीहरुलाई मात्र पशुपतिनाथका पूजामा चलाइन्छ । भट्ट र भण्डारीहरु गृहस्त हुन्छन् । पशुपतिनाथको चार ढोका बिहान चार बजे खुल्छ । बिहान साडे आठ बजे भट्टहरु भित्र प्रवेश गर्छन् । पशुपतिनाथको क्षेत्रफल २६४ हेक्टर भूभाग छ र यस क्षेत्रभित्र ५१८ वटा मन्दिर र धार्मिक स्मारकहरु छन् ।
विक्रम सम्वत् १४६५ मा राजा ज्योतिर्मल्लले पशुपति अभिलेखमा उल्लेख गरेका थिए– ‘पूण्यभूमि नेपालखण्डमा वत्सलेस पाँचमुख भएका परम पशुपति बाग्मतीको तिरमा हुनुहुन्छ र यहींं पूज्य बासुकीनाग पनि हुनुहुन्छ ।’ राजाहरुमा प्रताप मल्लले पशुपतिनाथको धेरै सेवा गरेको पशुपतिनाथमा प्रसस्त शिलालेखहरु पाइन्छन् । पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्दाको समयमा पशुपतिनाथको पूजाअर्चना गरेको कुरा भाषा बंशावलीमा उल्लेख छ । पृथ्वीनारायण शाहको काठमाण्डौं उपत्यका विजयपछि विक्रम सम्वत् १८२६ मा बसन्तपुर दरबारको अभिलेखमा उल्लेखछ– ‘राजा पृथ्वीनारायण शाहको बंश गुह्येकाली र पशुपतिको दुइपाउका धुलाका प्रसादले नेपाल स्थिर भइरहोस् ।’ यसैगरी शाहबंशीय राजाहरुमा रणबहादुर शाह र विक्रम सम्वत् १८६७ मंसिरमा राजा गिर्वाणयुद्ध विक्रम शाहबाट पुजारीहरुको अलग अलग खान्की तोकिदिएका थिए । राजा महेन्द्र तथा राजा वीरेन्द्रबाट पनि साविक बमोजिम चल्दै आएका पशुपतिनाथका पूजाआजा सम्वन्धि अनेकौं लालमाहेहरु लागुहुँदै आएका छन् ।
कैलाश मानसरोवर शिवजीको क्रीडा तथा तपस्थान र हिन्दु तथा बौद्धहरुको पवित्र तीर्थस्थल हो । हो । अहिले तिब्बतमा परेता पनि यो क्षेत्र पनि हिमवतखण्डको भूभाग हो । हरेक हिन्दु तथा बौद्धहरु कैलास मानसरोवरमा बिना रोकतोक यात्रा गर्नमा स्वतन्त्र रहन्छन् । मानवकल्याणको लागि बिषलाई आफ्नो कण्ठमा राखी त्यसको डाहाबाट मुक्त हुन त्रिशुलबाट जल निकाली कुण्ड बनाई त्यही कुण्डमा विराजमान भएकाले गोसाईकुण्डको पनि ठूलो महीमाछ । अठार पुराणहरु सबैमा शिवको महीमा छ र शिव पुराण शिवजीको बयानको वृतान्त हो । हिमवतखण्डको पुस्तकमा– ‘मरिचि,पुलह,ऋतु,भृगु,अत्री आदि ऋषिहरुले पशुपतिनाथको पुूजा गरेर बसेको उल्लेख छ । पशुपतिनाथका अनेकौं जात्राहरु मध्ये शिवरात्री, बालाचतुर्दशी, साउने सोमबारहरु अतिनैं प्रिय मानिन्छन् । नेपाल र भारतका शिव मन्दिरहरुमा सोमवारको दिन राताम्य महिलाहरु र विभिन्न भेषका पुरुष भक्तजनहरुबाट बोलवम भन्दै पबित्र, नदी, तालबाट घडाका घडा जल महादेवमा चढाउने काम गरिन्छ । विशेष गरेर साउने सोमबार महिलाहरुले आफ्ना पति, सन्तानको सम्मृदिको कामना गरेर उपबास(ब्रतमा लिहीन रहन्छन् । विश्वभरीका हिन्दुहरुका आराध्यदेव पशुपतिनाथको पूजाअर्चना गर्नु आस्तिकहरु आत्मागौरव मान्छन् भने नास्तिकहरु यसक्षेत्रलाई परम्परागत अस्तित्व ठान्छन् ।
हिमवतखण्डका स–साना टुक्रामा विभाजित हिन्दु राज्यहरुलाई गोर्खाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा एकीकृत भई हिमवतखण्ड–नेपाल सुरक्षित छ । ‘भारतखण्डे उत्तरायणे हिमवतखण्डे पूण्यभूमि–स्वर्णभूमि’–(वशिष्ट उपनिषद्) । यहाँका हिमाल, पहाड, तराईका हरक्षेत्र, पवित्र नदीहरु, ताल, धाम, जंगल, भूभागले सीचित छ ।
उता भारतखण्डमा एक हजार बर्षसम्म मुसलमान र अंग्रेजी साम्राज्यले हिन्दु र बौद्धका अस्मिताहरु तोडफोड गरेर बिटुलो बनाएर आफ्नो भाषा, धर्म र संस्कृति लाध्ने काम ग¥यो । एकमात्र पवित्रभूमिको रुपमा सुरक्षित हुँदैआएको सार्वभौम–नेपालको विश्वमा ठूलो प्रतिष्ठा छ । भारतमा चार धाम प्रसिद्ध छन् भने नेपालमा नेपालका पशुपतिनाथ, स्वयम्भूनाथ, मुक्तिनाथ, गोसाइकुण्ड, बाराहक्षेत्र, जनकपुरधाम, लुम्बनी, बौद्धनाथ, पाथिभरा जस्ता प्रसिद्ध थामहरु छन् । भारतमा अवस्थित तीरुपति, अमरनाथ, बद्रीनाथ, रामेश्वरम्, गया, कासी, विन्द्यावासिनी, कामाक्ष–कामरुप, आदि पवित्र स्थलहरुमा नेपाल र भारत बीचमा त्यत्तिकै तादात्म्यता छ । समय समयमा पशुपतिनाथ माथि आक्रमण नभएको होइन । विक्रम संवत् १४०० तिर मुसलमान र र विक्रम संवत् २०६५मा माओवादी सरकारमा रहेको बेला पशपुतिनाथ माथि आक्रमण र परचक्रीहरको इशारामा पशुपतिनाथको अस्मिता र महिमा माथि आक्रमण नभएको होइन । तर जति नैं अपमान गनै खोजेता पनि पशुपतिनाथको ज्योतिर्गमय स्वरुप अजर–अमर रआिएको छ । २०७४ सालको साउन महिना सबैको लागि शुभ बनोस् । पशुपतिनाथले सबैको कल्याण गरुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *