काठमाडौ- नेपाली काग्रेसका नेता रामशरण महतले १३ औ महाधिवेशनमा आफु सभापतिमा उठ्ने बताएका छन्। रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले भने,’सहमतिमा सर्वसम्मत रुपमा साझा नेतृत्व चयन नभए म सभापति पदमा उम्मेदवारी दिन्छु ब्याक हट्दिन।’

पार्टीमा भाग बण्डा अन्त्य गरेर मुलुकको नेतृत्व दिन सक्ने नेतृत्व चाहिएको उनले बताए। महतले आफु सहमतिमा नेतृत्व चयन हुनुपर्छ भन्ने पक्षमा रहेको बताए। सहमति हुन नसके आफु पहिला नै घोषणा गरे अनुसार सभापतिमा उठ्ने स्पष्ट पारे। ‘कार्यबाहक सभापति रामचन्द्र पौडेल र बरिष्ठ नेता शेरबहादुर देउवाले नछाड्ने हो भने म पनि उम्मेदवारी दिन्छु,’ उनले भने ‘उहाँहरु भन्दा म के मा कम छु र ? मभन्दा सिनियर मात्रै हो।’
उनले राजनीतिक आन्दोलन समाप्त भएर मुलुक आर्थिक विकासको बाटोमा अघि बढाउनु पर्ने आवश्यकता औल्याउँदै भने,’ मैले मुलुकको आर्थिक विकास र सुधारको काम गरेको छु । मुलुकको विकासवादको नेतृत्व लिन सक्ने मै हुँ । अन्तर्राष्ट्रिय क्षेत्रले मानेको र पुरस्कृत गरेको ब्यक्ति हुँ म । त्यसैले सभापति बन्न म जति योग्य कोही पनि छैन । म सभापतिको डमि उम्मेदवार होईन ।’
महत पार्टीभित्र सहमति भएर एउटा मात्रै उम्मेदवार हुने भए भने आफू जुनसुकै पदमा बसेर काम गर्न समेत तयार रहेको स्पष्ट पार्दै भने,’ सहमति भए मलाई पद चाहिदैन। त्याग गर्न तयार छु । म पहिला पनि पद छाडेको मान्छे हु पदको लालच छैन । मलाई गिरिजाबाबुले राष्ट्रपतिको उम्मेदवार बनाउँदा पनि नबनेको हुँ। दुईपटक अर्थमन्त्रीबाट राजिनामा दिएको मान्छे हुँ।’
Source: Nagarik News