अब एकै व्यक्तिले एकभन्दा बढी सहकारीबाट कारोबार गर्न नपाउने भएको छ । एकै व्यक्तिले धेरैवटा सहकारीबाट कारोबार गर्दा विकृति बढेपछि सरकारले एक व्यक्तिले एउटा मात्र सहकारीमा मात्र सदस्य बनी कारोबार गर्न पाउने व्यवस्था गर्ने भएको हो । एकैजना व्यक्ति धेरैवटा संस्थामा सदस्य बनेर कारोबार गर्दा सहकारीमा अपराध बढेको निष्कर्ष निकाल्दै यसलाई नियन्त्रण गर्न प्रस्तावित कानुनको मस्यौदामा एक व्यक्ति एउटामात्र सहकारीको सदस्य बन्न पाउने व्यवस्था गरिएको सहकारी एवम् गरीबी निवारण मन्त्रालयले जनाएको छ । सहकारी मन्त्रालयले तयार पारेको नयाँ ऐनको मस्यौदामा सदस्यलाई व्यवस्थित गर्नका लागि नगरपालिकाका वडा र गाउँ विकास समितिमा एउटामात्र बचत तथा ऋण सहकारी हुने प्रस्ताव गरेको छ ।
काठमाडौं उपत्यकालगायतका सहरी क्षेत्रहरूमा सहकारीहरू धेरै भएकाले एकै व्यक्तिले धेरैवटा सहकारीमा सदस्य बनेर कारोबार गर्ने गरेका छन् । विशेषतः सहरी क्षेत्रमा व्यापारीहरू ऋण लिनकै लागि धेरै सहकारीमा सदस्य बन्ने गरेको सहकारीका सञ्चालकको भनाइ छ । यो काम नियमविपरीत र जोखिमपूर्ण छ भन्ने थाहा भएर पनि सहकारीमा कर्जा सूचनाको सेवा नहुँदा व्यक्ति कुन–कुन सहकारीमा सदस्य भएको र ऋण लिएको जानकारी नभएकाले समस्या भएको सञ्चालकहरु बताउँछन् ।
यसअघिको ऐनमा सहकारी संस्थाको सदस्य बन्न कानुनी बन्देज नभएका कारण एकै व्यक्ति धेरैवटा सहकारीको सदस्य बन्दै आएका थिए । एकै व्यक्तिले धेरैवटा सहकारी संस्थाबाट ऋण लिएर फरार भएका सयौं उजुरी पनि सहकारी विभागमा परेका छन् ।
सहकारी विभागको तथ्यांकअनुसार ३२ हजार सहकारीमा ५१ लाख सर्वसाधारण आबद्ध छन् । तीमध्ये एक तिहाइ सदस्यले एकभन्दा बढी सहकारीमा कारोबार गर्ने गरेको विभागको अनुमान छ ।