Best Online News From Nepal

सवारीले उकासिएको जीवन

भाद्र २४, २०७३- कुरियर कम्पनीको जागिर । हातमुख जोड्नै समस्या । मोरङका अर्जुन श्रेष्ठले निर्णय गरे, ‘विदेश नगई सुख छैन ।’ वैदेशिक रोजगारीको लडहले उनलाई पुर्‍यायो– कोरियाली भाषा केन्द्रसम्म । भाषा सिक्न किनेको किताबमा श्रेष्ठले एउटा वाक्यांश भेटे ‘इसाचिङ सेन्थ’ । जसको नेपाली अर्थ दिइएको थियो ‘घर सार्ने कार्यालय’ । उनको दिमागमा बारम्बार त्यही शब्द घुम्न थाल्यो । ‘घर सार्ने पनि अफिस हुन्छ र ? जस्तो लाग्यो,’ श्रेष्ठ भन्छन्, ‘मैले यो कस्तो अफिस होला, भनेर खोजबिन गर्न थालें ।’ आफैं कुरियरका कर्मचारी, उनलाई थाहा थियो तिनको अफिसले घर सार्दैन । न त फेडेक्स, डीएचएल जस्ता कार्गो कम्पनीले वा कुनै ट्रान्सपोर्ट एजेन्सीले । पछि उनले थाहा पाए–घर सार्ने अफिस भनेको त घर वा डेरा सर्न लागेकाको सामान सारिदिने कम्पनी पो रै’छ । ‘डेरा सर्नेका सामान सार्ने कम्पनी नै हुन्छ भन्ने थाहा पाएपछि कोरियाको भूत उत्रियो,’ श्रेष्ठ भन्छन्, ‘अनि मैले किन सुरु नगर्ने भनेर त्यही काम थालें ।’ अर्जुन उनको तीन वर्ष अघिको ‘अर्जुन दृष्टि’ सुनाउँदै थिए । जसले कोरियाको लहड छाडेर ऋण गरी एउटा पुरानो ‘टाटा भीआर’ जोडे । अनि छरछिमेक र चिनजानकालाई भन्न थाले ‘डेरा सर्नुपरे मलाई फोन गर्नु ।’ श्रेष्ठले अर्को जुक्ति लगाए– आफू बस्ने क्षेत्रका विद्युत् पोलमा ‘गाडी चाहिए सम्पर्क गर्नुहोला’ भन्ने बेहोरा लेखी मोबाइल नम्बर सहितको कागज टाँसिदिए । केही महिनामै उनलाई भ्याई–नभ्याई भयो । काम बढदै गएपछि उनले ड्राइभर राखे  र आफू बाइकमा हिँड्न थाले । त्यसपछि गाडी थपे अनि कामदार । हाल श्रेष्ठले तीन वटा गाडीमार्फत सेवा दिइरहेका छन् । १५ कामदारले काम गर्छन् । कोरियाको सपनाले डोर्‍याएर भाषा केन्द्र पुगेका अर्जुनको बाटो एउटा शब्दले मोडिदियो अनि जीवन धान्ने पहिलो आधार बन्यो– टाटाको त्यही पुरानो गाडी । ‘मेरो व्यापार गाडीमै अडेको छ,’ श्रेष्ठ भन्छन्, ‘गाडी नहुने हो भने व्यापार चल्छ भन्ने सोच्दै नसोचे हुन्छ ।’ तीन वटा गाडीबाट हुने आम्दानीले अहिले श्रेष्ठको चार जनाको परिवार र १५ कामदारको जीविका चलेको छ । यत्ति मात्र होइन, उनले गाडीकै आम्दानीबाट व्यवसाय विस्तारसमेत गर्दै गइरहेका छन् । अर्जुनको भन्दा फरक छैन, दोलखाका जनम तामाङको कथा पनि । सानैमा घर छाडेर राजधानी छिरेका  तामाङले ‘हाँस्ने खेल्ने’ उमेरदेखि नै सार्वजनिक यातायातमा सहायकको काम गरे । गाडी चलाउन सिकेपछि माइक्रो बस चलाए । करिब ६ महिनाअघि उनले किस्ताबन्दीमा मारुती–सुजुकी कम्पनीको अल्टो कार किनेर ट्याक्सी बनाएका छन् । ‘हिजो पनि मेरा लागि गाडी नै जीवन चलाउने आधार थियो, आज पनि गाडी नै छ,’ दुई छोराछोरी र श्रीमतीसहित कोटेश्वर बस्ने तामाङले भने, ‘गाडीको किस्ता तिर्न र परिवार चलाउन यही ट्याक्सीको भर छ ।’ कसैका लागि गाडी सोख हुन सक्छ अनि कसैका लागि सान । श्रेष्ठ र तामाङजस्ता नेपालीका लागि भने गाडी न सोख हो न सान । हो त केवल जीवन धान्ने आधार अनि आम्दानीको महत्त्वपूर्ण साधन । आफ्नै सवारी लिएर त्यसलाई व्यवसायीक रूपले प्रयोग गर्ने उनीहरू नेपालको सहरी समाजका प्रतिनिधि पात्र हुन् । तर, सवारीकै कारण उद्यमशीलता विकास गर्नेहरू सहरमा मात्र सीमित छैनन् ।   ‘मलाई विकट ग्रामीण क्षेत्रमा पुग्दा बाइकमा तरकारी, दूधजस्ता सामान बोकेर बजारसम्म बेच्न पुग्ने देख्दा सवारीले मान्छेलाई उद्यमशील बनाउँदो रहेछ भन्ने लाग्छ,’ नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका सवारी बिक्रेता शेखर गोल्छा भन्छन्, ‘यसले लाग्छ सवारी साधन विलासिता होइन, अत्यावश्यकता हो ।’ सडक पुगेको अधिकांश क्षेत्रका कामकाजीका लागि बाइक अनिवार्य जस्तै भइसक्यो । सहरी क्षेत्रको मध्यम वर्गीयको आकर्षण कम मूल्यका कारमा बढ्दै छ । ‘नेपाली समाजमा सवारीका दुइटा पाटा छन्,’ समाजशास्त्री मृगेन्द्रकुमार कार्की भन्छन्, ‘एउटा आवश्यकता र अर्को प्रतिष्ठा ।’ कार्कीका अनुसार कतिपय नेपालीले आफ्नो जीविकोपार्जन एवं कामकाजका लागि सवारीको प्रयोग गरिरहेका छन् । ‘निम्न र मध्यम वर्गले सवारीलाई आवश्यकताले उपयोग गरेका छन्,’ उनले भने, ‘व्यवसायी, सेलिब्रेटी वा त्यस्तै उच्च घरानाले आफ्नो प्रतिष्ठाका लागि समेत प्रयोग गरिरहेका छन् ।’ उच्च आम्दानी हुनेहरूले केही महिनामै गाडी फेर्नेसमेत गर्छन् । तर, धेरैका लागि भने सवारी आम्दानी, काममा सहजता ल्याउने र यातायातको भरपर्दो साधन बनेको छ । निम्न वर्गदेखि उच्च वर्ग सम्मले किन्ने भएकाले सवारीको व्यापार पनि बर्सेनि बढ्दो छ । निम्न मध्यम र मध्यम वर्गले किन्ने बाइकको बजार सबैभन्दा धेरै बढेको छ । यसलाई सरकारी तथ्यांकले समेत पुष्टि गर्छ । गत आर्थिक वर्षसम्म नेपालमा करिब २३ लाख ४० हजार सवारी साधन दर्ता भइसकेका छन् । त्यसमध्ये करिब १८ लाख ३५ हजार मोटरसाइकल मात्र छ । ‘सवारी साधनको संख्या बढेको देखिए पनि अझै धेरैले यसको उपभोग गर्न पाएका छैनन्,’ नाडा अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष अञ्जन श्रेष्ठ भन्छन्, ‘कुल नेपाली जनताको करिब ६ प्रतिशत मोटरसाइकलको पहुँचमा छन् भने ० दशमलव ६ प्रतिशत मात्र कारको पहुँचमा छन् ।’ नेपालमा दर्ता भएका सवारीको संख्या सबै नेपालीलाई भाग लगाउने हो भने १२ जना बराबर एक सवारी पर्छ । तर, विश्वको औसत दर भने एक सवारी बराबर ६ जना रहेको छ । विश्वको औसत सवारी र जनसंख्या दरभन्दा कम रहेको भए पनि नेपालमा बर्सेनि सवारी साधनको आयात बढ्दो छ । गत वर्षको भूकम्प र नाकाबन्दीको असर गाडीको आयातमा परेन । त्यसै वर्षसमेत गाडीको आयात ४० प्रतिशतले बढ्यो । नेपालमा हरेक किसिमका सवारी साधन भित्रिरहेका छन् । यहीँ उत्पादन हुने सवारी भने छैनन् भन्दा पनि हुन्छ । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला सवारी हुन् या बाइक, अधिकांश विभिन्न मुलुकबाट भित्रिन्छन् । सबैखाले गरि ७० भन्दा बढी कम्पनीका सवारी नेपाल भित्रन्छन् ।   व्यवसायीले सवारी साधनलाई परम्परागत हिसाबले विलासिताको वस्तु मान्न नहुने बताउँदै आएका छन् । श्रेष्ठ र तामाङ जस्ता सवारीलाई जीवन धान्ने आधार बनाउनेका लागि यो विलासिता नभए पनि कतिपयका लागि भने यो सोखकै वस्तु भएको धेरैको बुझाइ छ । एकातिर बर्सेनि सवारी साधनको आयात बढ्दो छ भने त्यसको अनुपातमा सडक नबन्दा सहरी क्षेत्रमा ट्राफिक जाम लम्बिँदो छ । राजमार्ग र ग्रामीण भेगमा दुर्घटना बढ्दो छ । यी सबै समस्या समाधानका लागि सवारी अनुपातमा सडक हुनुपर्ने आवश्यकता देख्छन् नाडाका पूर्वअध्यक्ष सौरभ ज्योति । ‘सवारीको अनुपातमा सडक बन्न सकेन, भएको पनि गुणस्तरीय हुन सकेन,’ उनी भन्छन्, ‘त्यसलाई व्यवस्थित गर्न जरुरी छ ।’ आफ्नो आयस्रोत र सामाजिक हैसियतअनुसार सवारीलाई हेर्ने दृष्टिकोण फरक हुन सक्छन् । यिनै सूचकले सवारी साधनको उपयोगलाई निर्धारण गर्छन् ।

Source ekantipur

Leave a Reply

Your email address will not be published. Required fields are marked *