Best Online News From Nepal

सरकार सही बाटोमा छः प्रधानमन्त्री ओली

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार अप्ठ्यारा र बाधा एवम् विरोधमा नअल्झिकन देशका लागि सही बाटोमा अघि बढेको बताएका छन् ।
मंगलबार पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाको प्रथम वार्षिक स्मृतिसभामा बोल्दै प्रधानमन्त्री ओलीले सरकार सही बाटोमा भएको दाबी गरेका हुन् ।

ओलीले भने, ‘विभिन्न प्रकारका भ्रम र अन्योल चिर्दै मिलेर संविधानको कार्यान्वयन गरेर राष्ट्रिय एकताका साथ अघि बढ्नु आजको आवश्यकता हो ।’

ओलीले सरकार चुनौतीको सामना गर्दै सही बाटोमा अघि बढेको दाबी गर्दै भने, ‘केहीले ठाउँ नपाएर सरकारको विरोध गरेका छन्, अनेक अभद्र गाली गर्ने संस्कारमा आफूलाई सीमित राखेका छन् तर सरकार सानातिना हल्काफुल्का रुपमा होइन, देशका लागि साँचो र सही बाटोबाट अघि बढ्न चाहन्छ ।’

उनले लोकतन्त्रमा बाधा र अवरोधलाई सामान्य मान्नुपर्ने बताउँदै त्यसलाई पन्छाउँदै सरकार देशलाई सबल बनाउन लागिरहेको स्पष्ट पारे ।

सरकार भारत र चीन दुवै छिमेकीसँगको सुमधुर सम्बन्ध, पारस्परिक लाभ र सम्मानसहित एक्काइसौंँ शताब्दीअनुकूल सम्बन्ध विस्तारमा लागिरहेको पनि उनले बताए ।

प्रधानमन्त्रीले आफू जेल जीवनबाट बाहिर आएदेखि पूर्वप्रधानमन्त्री थापासँग निरन्तर सम्पर्क र सम्बन्धमा रहेकाले सम्झना गरे ।

ओलीले थापा परिचय, पहिचान र स्थान भएको देशको अभिभावकीय व्यक्तित्व भएको बताए । देश र जनताको हितका प्रश्नमा थापाको सधैँ चिन्ता रहेको पनि ओलीले उल्लेख गरे ।

विसं १९८४ चैत ८ मा जन्मनुभएका थापाको २०७२ वैशाख २ मा निधन भएको थियो ।

पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेताहरु डा प्रकाशचन्द्र लोहनी, दीपक बोहरा, बुद्धिमान तामाङ, स्व थापाका छोरा सुनिलबहादुर थापा लगायतले थापाले लामो समय नेपालको राजनीतिमा दिनुभएको योगदानबारे चर्चा गरे । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *