Best Online News From Nepal

सरकारले नदेखेका नेपालका ताराहरु : युवा वैज्ञानिकको रोचक कहानी

संसारका सबै धनी राष्ट्रहरुको मूख्य आर्थिक एजेण्डा भनेको स्वदेशी जनशक्तिको प्रयोगबाट स्वदेशी उत्पादनमा जोड नै हो । स्वदेशी लगानी बाहिरिन नदिने र विदेशी लगानी बढिभन्दा बढी भित्र्याउने नितीले थुप्रै मुलुकहरुलाई धनी बनाएको छ । यद्यपि, नेपाल भने हरेक कुरामा अरु मुलुकमा निर्भर भइरहेको अवस्था छ । खाद्यान्न लगायत हरेक अत्यावश्यकीय वस्तुको माग पूर्तिका लागि आयातलाई नै एकमात्र बाटो बनिरहेको अवस्था नेपालको छ । नेपाली युवाहरु दिनानुदिन विदेश पलायन भइरहेका छन् भने नेपालमा भएका प्राकृतिक स्रोतको उपयोग विदेशीहरुले आफ्नै स्वार्थपूर्तिका लागि गरिरहेका छन् । यो नेपाल सरकारको कमजोरी हो । यद्यपि, यसलाई सुधार गर्नै नसकिने भने कदापि हैन । अझै पनि उचित नीति र स्वदेशी उत्पादनलाई बढावा दिइएको खण्डमा नेपाल एक समृद्ध राष्ट्र बन्न सक्छ । नेपाली भूमीमै जन्मेका कर्मठ हातहरुलाई प्रोत्साहन गर्दै नेपालमै रोजगारीको अवसर सिर्जना गर्न सके नेपालका लागि पनि समृद्धि टाढा छैन । पछिल्लो समयमा केही नेपाली युवाहरुले गरेको आविष्कार उदाहरणीय बनिरहेको छ ।
दमौलीका युवाले बनाए सोलार स्कुटर
solar scooterदमौलीका १७ वर्षीय विकल्प ढुङ्गानाले दुई वर्ष लगाएर सौर्य ऊर्जाबाट चल्ने स्कुटरको निर्माण गरेका छन् । अनुसन्धानकर्ताले आफ्नी आमाको नामबाट स्कुटरको नाम ‘विष्णु सोलार स्कुटर’ राखेको जानकारी दिए । उनले आफूले नयाँ काम गर्न चाहेको तर राज्यले सहज वातावरण नबनाएको भनी गुनासो समेत गरे । विष्णु सोलार स्कुटरमा स्मार्ट डिभाइस जडान गरिएको छ । यसले मौसमको जानकारी दिनाका साथै हराएमा स्थान हेर्न सकिनेछ । स्कुटर लगातार ६० किमी गुड्न सक्नेछ । विज्ञान तथा प्रविधिमन्त्री शिवलाल थापाले स्कुटरको शुभारम्भ गर्दै भविष्यमा विज्ञान प्रविधि क्षेत्रमा लाग्न सके नाकाबन्दीको मुकाबिला समेत गर्न सकिने र ढुङ्गानाजस्ता हजारौँ ऊर्जाशील युवालाई नेपालमै अध्ययन अनुसन्धान गर्ने वातावरण बन्ने भएकाले त्यसतर्फ आफू लागिपरेको बताए । अनुसन्धानकर्ता धनगढीका सुमन पौडेलले विज्ञान प्रविधिसँग सम्बन्धित विषयमा राज्य गैरजिम्मेवार रहेको गुनासो गरे ।

ट्यांकीमा पानी सक्किएपछि एक युवाले बनाए ‘अटो गार्ड’ उपकरण
सुनसरी जिल्ला दुहबी–भलुवा नगरपालिका–४ का एक युवकले ‘अटो गार्ड’ नामक यन्त्र प्रयोगमा ल्याएका छन् । इटहरीस्थित सुष्मा कोइराला मेमेरियल इन्जिनियरिङ कलेजमा भर्खरै डिप्लोमा इन्जिनियरिङ सकेका निमेष खुलालले पानीट्यांकीमा राख्न सकिने सो उपकरणको सफल परीक्षण गर्दै घरायसी प्रयोजनमा ‘अटो गार्ड’ले धेरै सजिलो पार्ने बताए । सो उपकरण प्रयोगमा ल्याइएमा ट्यांकीमा पानी सकियो भनेर हेरिरहनुपर्ने झन्झट व्यहोर्नु नपर्ने जनाइएको छ । “पानी तान्ने मोटरसँग कनेक्सन गरेर यो उपकरण जोडिन्छ”, खुलालले भने, “पानीट्यांकीमा पानी सकिनेबित्तिकै यो उपकरणले आफैँ पानी तान्न थाल्छ ।” दुई महिनाअघि काठमाडौँमा दिदीका घरमा पुग्दा पानी भरिएर खेर गएको समस्या देखेपछि नयाँ प्रविधि हुनसक्छ कि भनेर अध्ययन थाल्नुभएको थियो । दुई महिना लामो अध्ययनपछि यस्तो उपकरण निर्माण गरिएको बताइएको छ । “पानीट्यांकीमा सेन्सर राखिन्छ, जसले पानी सकिनेबित्तिकै मोटरमा राखेको डिभाइसको स्वीच अन गर्न मद्दत गर्छ”– उनले भने– “उक्त उपकरणमा तीन सूचक हुन्छन्, तिनले पानी सकिएको, पानी भर्न सुरु भएको र पानी पूरा भरिएको सङ्केत गर्छन् ।”

उखुबाट पेट्रोल बनाउँदै स्यांजाका युवा
एक नेपाली युवा मोहनसिंह प्रधानले वनस्पतिहरूबाट पेट्रोल बनाउँदै आएका छन् । उखु तथा विभिन्न झारपात मिलाएर विगत १ वर्षदेखि उनले पेट्रोल बनाएका हुन् । स्याङ्जा पुख्र्यौली घर भएका बबरमहल निवासी प्रधानले आफैले उत्पादन गरेको पेट्रोलबाट निजी सवारीसमेत चलाउँदै आएका छन् । उखु र विभिन्न हरिया झारपातको रासायनिक प्रतिक्रिया गराएर उनी पेट्रोल बनाउँछन् । ‘उखुको रस (मोलासेस)लाई जौमा निहित इञ्जाइमले मोनोसेक्राइटमा परिवर्तन गर्छ । फेरि मोनोसेक्राइटमा इष्टको जाइमेसको प्रतिक्रियाले इथानोलरइथाइल अल्कोहल बन्छ,’ पेट्रोल बनाउने विधिबारे प्रधान भन्छन्, ‘इथानोल बाल्दा पेट्रोल बलेझैं ताप, ऊर्जा, पानी र कार्बनडाइअक्साइड निस्कन्छ ।’ यद्यपि, वनस्पतिबाट बनाइने नेपाली पेट्रोलमा ताप र ऊर्जा सक्कली पेट्रोलमा भन्दा कम हुने उनी बताउँछन् । ‘उक्त पेट्रोलमा ८० प्रतिशत खनिज पेट्रोल मिसाएपछि नेपाली पेट्रोल बन्छ,’ उनी भन्छन्न्, ‘यसअनुसार ५ लिटर नेपाली पेट्रोल बनाउन ४ लिटर खनिज पेट्रोल आवश्यक हुन्छ ।’ आफूले बनाउने पेट्रोललाई उनी ‘नेपाली पेट्रोल’ भन्छन् । नेपाली पेट्रोलमा खनिज पेट्रोलको भन्दा उत्तम गुण हुने उनको दाबी छ । आफूले बनाउँदै आएको पेट्रोलबारे सबैबाट राम्रो प्रतिक्रिया पाएको उनले बताए । रसायनशास्त्रमा स्नातकोत्तर ५५ वर्षीय प्रधान धेरैअघि स्नातक पढ्दाताकादेखि नै वैज्ञानिक खोजी शुरू गरेको बताउँछन् । पेट्रोल बनाउने रसायनिक सूत्रलाई भने उनले हालसम्म गोप्य राखेका छन् । हाल आफ्नो निजी आवश्यकताअनुसार मात्र पेट्रोल बनाउँदै आएका प्रधान आफ्नो सूत्रअनुसार पेट्रोल उत्पादन गर्ने सुविधा सरकारले उपलब्ध गराए किफायती ढङ्गले मुलुकलाई पेट्रोलियममा आत्मनिर्भर गराउन सकिने दाबी गर्छन् ।

सल्लाको खोटोबाट पेट्रोल निकाले दाङका युवाले
petrol through paste of sallaगत मंसिर महिनामा दाङस्थित घोराही नगरपालिका ११ निवासी युवा वैज्ञानिक मार्सल रोकाले सल्लाको खोटोबाट इन्धन उत्पादन गरेर सवारी साधन चलाई सफल परीक्षण गरे । प्राकृतिक वैकल्पिक उर्जाका रुपमा सो इन्धनले काम गर्ने रोकाको भनाइ छ । मोटरसाइकलको पेट्रोल पाइपमा खोटोको इन्धनलाई बोतल मार्फत जडान गरी मोटरसाइकल चलाएर मार्सलले देखाए । खोटोको इन्धनबाट मोटरसाइकल चलाउन सकिने विधि उनैले तयार पारेका थिए । दाङका प्रहरी प्रमुख, एसपी कुबेर कडायतले उक्त खोटोको इन्धनबाट मोटरसाइकल चलाएर प्रयोग गरेका थिए । एक लिटर खोटोको इन्धनबाट मोटरसाइकलमा एक सय किलोमिटरसम्म यात्रा गर्न सकिने रोकाको भनाइ छ । खोटोलाई प्रशोधनका लागि बिभिन्न रासायनिक पदार्थहरु मिसाएर तयार पारिने इन्धनको मूल्य प्रतिलिटर ७० रुपैयाँ मात्र पर्ने रोकाले बताए । मार्सलले अब छिट्टै ल्याव परीक्षण गरेर यसको प्रभावकारितालाई व्यापक बनाउने योजना रहेको जानकारी दिए ।
आधा दर्जन नयाँ आविष्कार गरेका सुनिल परियार
केही महिनाअघि मात्रै भरतपुरका १९ वर्षीय सुनिल परियारले पानीबाट चल्ने क्रेन र रकेटको आविष्कार गरे । अहिलेसम्म आधादर्जन बढी नयाँ आविष्कार गरिसकेका सुनिलले पानीबाट चल्ने हाइड्रोलिक क्रेन र रकेट बनाएर देखाए । सुनिलको आविष्कारमा पानीले इन्धनको काम गर्दछ । त्यसमा हावाको प्रेसर दिएर रकेट उडाउन सकिन्छ भने त्यसलाई कम्प्युटरको सहायताले नियन्त्रण गर्न सकिन्छ । यसलाई रिमोटको सहायताले पनि चलाउन सकिन्छ । राजधानीको इन्टेन्सिभ इन्टरनेसनल कलेजबाट विज्ञान संकायमा कक्षा १२ को परीक्षा दिएर बसेका सुनिलले पहिलोपटक ब्याट्रीबाट चल्ने कार बनाएका थिए । यो कारले पद्मकन्या क्याम्पसमा भएको विज्ञान प्रदर्शनीमा द्वितीय पुरस्कार पाएको थियो । कक्षा ८ मा पढ्दै गर्दा उनले रिमोटबाट चल्ने कार बनाए जसले काठमाडौं विश्वविधालयले आयोजना गरेको विज्ञान प्रदर्शनीमा पहिलो पुरस्कार पायो । पछिल्लो पटक सुनिलले बनाएको पानीबाट चल्ने क्रेन र रकेटले नास्टमा भएको विज्ञान प्रदर्शनीमा प्रथम पुरस्कार पायो भने अर्को आविष्कार पानीबाट चल्ने सैनिक टैंकले काठमाडौं विश्वविधालयबाट प्रथम पुरस्कार जित्यो । सानोमा चञ्चले स्वभावका सुनिल आफूले धेरै आइडिया खेल्दै गरेका बच्चाहरूबाट लिएको बताउँछन् । परिवारको विपन्नताको कारण दुईजना दाजुले पढ्न नपाएको बताउने सुनिल भन्छन् ’मलाई इन्जिनियर बन्ने धोको छ तर परिवारमा दुईछाक टार्न धौधौ छ कसरी पढ्ने ?’ सबैतिरबाट आफ्नो आविष्कारलाई सहयोग गर्ने आश्वासन पाए पनि आफूले अहिलेसम्म कतैबाट सहयोग नपाएको उनको गुनासो छ । ’थुप्रै नयाँ आविष्कार गर्ने मेरो सोचाइ छ ।’

नेपालगञ्जका विद्यार्थीले बनाए सोलारबाट चल्ने कार
केही वर्षअघि नेपालको भेरी प्राविधिक शिक्षालय, नेपालगञ्जका विद्यार्थीहरूले सोलार र ब्याट्रीबाट चल्ने कार निर्माण गरेका थिए । शिक्षालयका डिप्लोमा इन इलेक्ट्रिकल, तेस्रो बर्षका विद्यार्थीहरूले रु.दुई लाखको लागत र करिब अढाई महिनाको कठिन परिश्रमपछि सो कार निर्माण गरेका थिए । एकल सिट रहेको सो कार विद्यार्थीहरू भरत केसी, विजय केसी, रमेश गिरि, हिमाल स्वाँर र केशव महतले निर्माण गरेका हुन् ।  हेर्दा स्कुटरजस्तो लाग्ने सो कारमा दुई वटा ब्याट्री र एउटा सोलार राखिएको छ । एउटा ब्याट्रीबाट सय किलोमिटरसम्म यात्रा गर्न सकिने कारको गति प्रतिघण्टा ४५ किलोमिटर रहेको छ । कारलाई विद्यार्थीहरूले नयुल नामकरण गरेका छन् ।

 

Source: BusinessSansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *