Best Online News From Nepal

सबै सबै रमाउने….(पञ्चचामर छन्द)

रचनाकारः कनकधारा स्वामी स्वदेशानन्द
मितिः २९ जून २०१७( असार पन्ध्र गते)
समयः बिहान ०७बजेर १५ मिनेट जाँदा
स्थानः कामाख्या धाम गुवाहाटी,असम———————-

19511615_1818781644803802_3415357562395138443_n 19554032_1818781764803790_5913586669071940397_n 19554874_1818781698137130_8980993206439533809_n

असारले रुवाउने असारले हसाउने,
असारले कमाउने असारले खुवाउने,
असार सृष्टि धानको असारमा लगाउने,
असार पन्ध्र चाड़ होस् सबै सबै रमाउने।

असारले मनुष्यको सदैव गर्छ रक्षण,
असारका बुँदा बुँदा मनुष्यमाथि अर्पण,
असारले क्षुधा तृषा सधैं सधैं मिटाउने,
असार पन्ध्र चाड़ होस् सबै सबै रमाउने।

असार दिन्छ वेदना असारका झरीभरि,
असार हर्क ल्याउने हराभरा गराभरि,
असारले मनुष्यको मनुष्यता बचाउने,
असार पन्ध्र चाड़ होस् सबै सबै रमाउने।

असारमा हराभरा गरा र खेत देखिऊन्,
असारमा युवाहरू हिलो र आलिमा रहून्,
असार होस् निरीहको खुशीहरू बढाउने,
असार पन्ध्र चाड़ होस् सबै सबै रमाउने।

पढी असार हुन्न है बुझी असार हुन्न है,
असार चाहिँ कर्म हो गरेर मात्र हुन्छ है,
असार मार्गशीर्षमा छ चाहना सजाउने,
असार पन्ध्र चाड़ होस् सबै सबै रमाउने।

असार रुन्छ खेतमा असार हाँस्छ खेतमा,
असार खेल्छ खेतमा असार नाच्छ खेतमा,
असारले परिश्रमी भुजाहरू रुचाउने,
असार पन्ध्र चाड़ होस् सबै सबै रमाउने।

असारमा विभिन्नता विभिन्नता छ जीवन,
असार खेत-खेतमा असार खोज्छ जीवन,
असार जाति-जातिको विभिन्नता हटाउने,
असार पन्ध्र चाड़ होस् सबै सबै रमाउने।
………………………………..

Leave a Reply

Your email address will not be published. Required fields are marked *