Best Online News From Nepal

सबैलाई छक्क पार्दै सिमकोटमा  छक्कबहादुर ४७ मतले विजयी भए

सिमकोट : देशकै ठूला वाम पार्टी नेकपा एमाले र नेकपा माओवादी सम्मिलित वाम गठबन्धनका आधिकारिक उम्मेदवारदेखि नेपाली कंग्रेसका उम्मेदवारलाई छक्क पार्दै स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामाले ४७ मतको अन्तरले हुम्लाको प्रतिनिधिसभा सदस्यमा बाजी मारेका छन्। वाम गठबन्दनको बागीका रुपमा स्वतन्त्र उम्मेदवारी दिएका लामाले आफ्रनाे प्रतिद्धन्द्धी मंगलबहादुर शाहीलाई ४७ मतले अन्तर पार्दै ८ हजार ४ सय ९१ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेस उम्मेरदार मंगलबहादुर शाहीले ८ हजार ४ सय ४४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत मेदनीप्रसाद शर्मा पौड्यालले बताए।

तत्कालिन् जनमोर्चाको तर्फबाट उम्मेदवार भएर २०४८ सालमा काका चक्रबहादुर शाहीलाई ८ मतले पराजित गरेका लामाले  २६ वर्ष पछि उनका भतिजा मंगलबहादुर शाहीलाई ४७ मत अन्तरले पराजित गरेका हुन्। संविधानसभाको दोस्रो निर्वाचनमा तत्कालिन नेकपा माओवादीका तर्फबाट उम्मेदवार बनेका लामा पार्टीभित्रकै असहयोगका कारण पूर्वमन्त्री जीवनबहादुर शाहीसँग पराजित भएका थिए। आफू ०७० को निर्वाचनमा पराजित भएकाले यस पटक प्रतिनिधिसभामा टिकट पाउनुपर्ने दौडमा रहेका लामाले वाम गठबन्धनको तर्फबाट टिकट नपाएपछि स्वतन्त्र रुपमा उम्मेरदारी दिएर कलम चिन्हमा चुनाव लडेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *