विश्व बैंकको एक अध्ययनले सन् २०४० मा नेपाललाई १० हजार मेगावाट विद्युत् आवश्यक पर्ने देखाएको छ । दक्षिण एसियामा क्षेत्रीय विद्युत् सहयोग एवम् व्यापार शीर्षकमा विश्व बैंकले झन्डै तीन वर्ष गरेको अध्ययनले २५ वर्षपछि नेपालको आन्तरिक खपतका निम्ति १० हजार मेगावाट बिजुली आवश्यक पर्ने देखाएको हो । मालदिभ्सबाहेक दक्षिण एसियाका सबै मुलुकको जलविद्युत् उत्पादनको क्षमता, अन्तरदेशीय व्यापार र त्यस निम्ति गर्नुपर्ने उत्पादन समेटेर उक्त बैंकका अध्येताद्वय गोविन्दराज तिमिल्सिना र माइकल टोम्यानले गरेको अध्ययनमा नेपालले ५२ हजार मेगावाट विद्युत् उत्पादन गर्न सक्ने जनाइएको छ ।