Best Online News From Nepal

सनातन हिन्दू धर्मका पर्याय महर्षि व्यास

प्रवीण अधिकारी

ब्यास

==========================
नेपाली समाजमा इनलाई नचिन्ने निकै थोरै होलान |यिनी एक प्रख्यात ऋषि हुन जसले वैदिक संहिताहरुलाई छुट्याउने , वैदिक शाखाप्रवर्तकहरुको विभाजन गर्ने , ब्रह्मसूत्र ग्रन्थहरुको प्रमाणिकता किटानी गर्ने , महाभारत पुराणादि ग्रंथहरुका रचयिता र वैदिक संस्कृतिका पुनरुज्जीवक तत्त्वज्ञ मानिन्छन |इनी सर्वज्ञ, सत्यवादी, सांख्य, योग, धर्म आदि शास्त्रहरुका ज्ञाता थिए | इनमा दिव्यदृष्टि थियो [महाभारत स्वर्गारोहण पर्व . ५. ३१-३३] | वैदिक, पौराणिक एवं तत्त्वज्ञान संबंधमा इनले जुन योगदान दिए त्यसैका कारण यिनी आजसम्म लोकप्रिय रहन सकेका छन | प्राचीन ऋषिहरुको व्याख्या गर्दा इनले असामान्य प्रतिभा , क्रांतिदर्शी द्रष्टापन, जीवन विषयको वैरागी दृष्टिकोण, अगाद्य विद्वत्ता, एवं अप्रतीम संगठन कुशलता देखाएकाकारण इनको उपस्थिति ततकालिन समाजमा जो सुकैले आवश्यक ठान्दथ्यो | यसैकारण, पौराणिक साहित्यमा इनी ऋषिको रुपमा मात्र होइन साक्षात् देवस्वरूपमा गनिएका थिए | [वायु. १.४२-४३];[ कूर्म. १.३०.६६];[ गरुड. १.८७.५९]; इनलाई शिव स्वरुपमा देखाउने [कूर्म. २.११.१.३६]; ब्रह्माको स्वरुप बताउने [वायु. ७७.७४-७५];[ ब्रह्मांड. ३.१३.७६]; र ब्रह्माको छोरो बताउने [लिंग. २.४९.१७] रहेको छ |

सनातन हिंदूधर्मका न्वारनकर्ता
=====================
श्रुतिस्मृतिपुराणोक्त सनातन हिंदू धर्ममा व्यास शब्दले प्रधान व्याख्याता भन्ने जनाउँदछ | व्यास महाभारतका रचयिता मात्र थिएनन बरु सनातन हिन्दू संस्कृतिका पुनरज्जीवक पनि थिए जसले वैदिक हिंदूधर्ममा निर्दिष्ट गरिएका समस्त धर्मतत्त्वहरुलाई सरलीकृत गर्दै त्यसलाई देश ,काल र परिस्थिति अनुसार नयाँ स्वरूपमा ढालिदिएका थिए | त्यसैकारण भगवद्गीता जस्तो अनुपम कृति यो संसारले पाउन सकेको हो | उनले भगवान श्रीकृष्णको अमर संदेश यस संसारकोलागि सुलभ तुल्याई दिएका थिए | त्यसैकारण युधिष्ठिरले महाभारतमा इनलाई ‘भगवान्’ उपाधिले विभूषित गरेका थिए –

भगवानेव नो मान्यो भगवानेव नो गुरुः।।
भगवानस्य राज्यस्य कुलस्य च परायणम् ।। [म. आश्र. ८.७] ।

(भगवान् व्यास हाम्रालागि अत्यंत पूज्य, एवं हाम्रा गुरु हुन । हाम्रो राज्य एवं कुलका ती सर्वश्रेष्ठ आचार्य हुन ) |

वैदिक साहित्य
==========
वैदिक संहिता साहित्यमा व्यास उल्लेखित छैनन् | ‘सामविधान ब्राह्मण’ ग्रन्थले इनलाई ‘पाराशर्य’ भनेर पैतृक नाउँले चिह्नाएको छ र उनी विष्वकूसेन नाउँ भएका आचार्यको शिष्य बताएको छ [सा. ब्रा. १.४.३३७] | तैत्तिरीय आरण्यकले महाभारत रचयिता भएको नातोले कुनै बेला व्यास कुनैवेला वैशंपायन ऋषि भनेर औंल्याएको छ [तै. आ. १.९.२] | वेबर भन्ने पश्चिमाले चाहीं इनलाई शुक्ल-यजुर्वेदको आचार्यपरंपरामा पराशर एवं तिनका वंशज जनाई महत्व दिएर वर्णन गरेको छ भने बौद्धसाहित्यमा बुद्धको पूर्वजन्म हुँदा त्यसमध्ये एक जन्मको नाउँ ‘कण्ह दीपायन’ (कृष्ण द्वैपायन) भनेर उल्लेख गरेको छ [वेबर. पृ. १८४] | यसले के कुरा बताएको छ भने बौद्ध साहित्यको रचनाकालमा व्यासको कृष्ण द्वैपायन नाउँ निकै प्रसिद्ध भै सकेको थियो |

पाणिनीको व्याकरण
==============
पाणिनिको अष्टाध्यायीमा व्यास उल्लेखित नभएपनि महाभारत शब्द उल्लेख गरिएको छ भरतवंशमा जन्मिएका युधिष्ठिरका कारण [पा. सू. ६.२.३८] | पतंजलिको व्याकरण महाभाष्यमा महाभारत कथाको उल्लेख धेरै पल्ट गरिएको छ | शुक वैयासिक नाउँ गरेका एक आचार्य भनेर उल्लेख गरिएको छ जो व्यासको छोरा भएको कारण ‘वैयासकि’ पैतृक भनेर चिह्नाइएका थिए [महा. २.२५३] |

महाभारत एवं पुराण साहित्यमा
====================
यी ग्रन्थहरुमा व्यासलाई महर्षि पराशरको छोरो , इंकि आमा सत्यवती (काली) , जो कैवर्तराज (धीवर/माझीकी ) छोरी थिइन् | इनको जन्म यमुनाद्वीपमा भएको थियो त्यसैले इनलाई ‘द्वैपायन’ भनियो ,अनि अलि काला काला थिए त्यस कारण क्रिष्ण भनियो [म. आ. ५४.२] | कसै कसैको मतमा इंकि आमानै काली भएको र उनको विहे अघिको नाउँ कालिनै भएको कारण इनलाई ‘कृष्ण’ अर्थात कृष्ण द्वैपायन भनिएको भन्ने तर्कपनि देखिन्छ |तर भागवत अनुसार, उनी आफ़ैकाला वर्णका भएकाले ‘कृष्ण’ द्वैपायन भन्नु परेको तर्क राखिएको छ |

जन्मतिथि र नामान्तर
==============
वैशाख शुक्ल पूर्णिमा व्यासको जन्मतिथि हो | आषाढ पूर्णिमालाई इनैको नाउँले ‘व्यास पूर्णिमा’ भनिएको हो | इनले सबै वेद मिलाउने काम गरेकाले इनलाई व्यास भनिएको थियो |

विव्यास वेदान् यस्मात्स तस्माद् व्यास इति स्मृतः। [म. आ. ५७.७३] |

महाभारतमा इनलाई पराशरात्मज, पाराशर्य, सत्यवती सुत भनेर उल्लेख गरिएको छ | वायु पुराणमा इनलाई ‘पुराणप्रवक्ता’ भनिएको छ , यो नाउँ उनले आख्यान, उपाख्यान, गाथा कुल, कर्म आदि राखेर पुराणहरु रचना गरेका कारण पाएको भनिएको छ [वायु. ६०.११-२१];[ विष्णुधर्म. १.७४] |

पितामह
======
कठोर तपस्या गरेर इनले थुप्रै सिद्धि प्राप्त गरेका थिए |उनी दूरश्रवण, दूर-दर्शन आदि अनेकौं विद्यामा प्रवीण थिए [म. आश्र. ३७.१६] | आफ्नो तपस्याको विषयमा उनी भन्थे –
पश्यन्तु तपसो वीर्यमद्य में चिरसंभृतम्। तदुच्यर्ता महाबाहो कं कामं प्रदिशामि ते।। प्रवणोऽस्मि वरं दातुं पश्य में तपसो बलम्।। [म. आश्र. ३६.२०-२१] ।

इनी कौरवपाण्डवका बाजे हुन | त्यसै भएर यिनी तिनका हित मात्र चिताउँथे | इनैले वर्णन गरेको महाभारत ग्रंथमा इनले पांडवहरुको हित चिन्तक भएर कामगरेको देखिन्छ | महाभारत अनुसार, उनी जनमेजयको सर्प यज्ञमा उपस्थित थिए |इनी आउंदै गरेको देखेर जनमेजयले इनको निकै ठूलो सत्कार गरेका थिए ,इनलाई सुनको सिंहासनमा बसाई पूजा गरिएको थियो | पछि जनमेजयले युद्धको विषयमा सोद्धा इनले ‘महाभारत’ को वृत्तांत बताउन वैशंपायनलाई अह्राएका थिए [म. आ. ५४] र व्यासलाई ढोग गरी वैशंपायनले ‘कार्प्णवेद’ भनेर महाभारतको कथा सुनाएका थिए | व्यासले नै पाण्डवहरुलाई द्रौपदी स्वयंवरको कुरो , युधिष्ठिरले राजसूय यज्ञ गर्दा अर्जुन, भीम, सहदेव एवं नकुललाई क्रमशः उत्तर, पूर्व, दक्षिण तथा पश्र्चिम दिशातिर जान सुझाएका थिए | युधिष्ठिरको राजसूय यज्ञमा इनीनै ब्रह्मा हुन पुगेका थिए | उनले क्षत्रियसंहार कति हुनेछ भनेर त्यतिखेरै बताएका थिए |

पांडवहरु वनवास जाँदा समय समयमा तिनीहरुलाई धैर्य बाँधिदिने यिनै थिए | वनवासको शुरुमा युधिष्ठिर निराश हुँदा तिनलाई इनले ‘प्रतिस्मृतिविद्या’ दिएका थिए |यसैको कारण, अर्जुन रुद्र एवं इंद्र बाट पाण्डवहरुले अस्त्र पाउन सकेका थिए [म. व. ३७.२७-३०] |महाभारत युद्धका बेला इनले धृतराष्ट्रलाई दृष्टि प्रदान गर्ने ईक्षा गरेपनि धृतराष्ट्रले त्यो युद्धको रौद्र स्वरूप म हेर्न सक्दिन भनेकाले उनले त्यो दृष्टि संजयलाई दिएर त्यो युद्ध वृतान्त धृतराष्ट्र सम्म पुर्याउने बन्दोवस्त मिलाएका थिए [म. भी. २.९] | त्यस युद्धमा सात्यकिले संजयलाई समातेर [म. श. २४.५१], मार्ने प्रयत्न गर्दा [म. श. २८.३५-३८] व्यासले संजयलाई जोगाएका थिए | युद्ध सकिएपछि संजयको दिव्यदृष्टि नष्ट हुन पुगेको थियो [म. सौ. ९.५८] | दूर्योधन मारिएपछि गांधारीले पांडवहरुलाई श्राप दिन खोज्दा महर्षि व्यासले रोकेका थिए [म. स्त्री. १३.३-५] | धृतराष्ट्र र गांधारीलाई दिव्यचक्षु दिएर उनले गंगा नदीको जल प्रवाहमा उनको मृत पुत्रहरुको दर्शन गराएका थिए [म. आश्र. ४०] |

शुकदेवलाई उपदेश
=============
इनले शुकदेवलाई सृष्टिक्रम ,युगधर्मः ,ब्राह्मप्रलय ,महाप्रलय, मोक्षधर्म र क्रियाफलको उपदेश दिएका थिए भने इनले आफुले चाहीं सात्वतधर्मको ज्ञान नारदबाट पाएका थिए |त्यै कुरोपछि उनले युधिष्ठिरलाई बताए |यसबाहेक उनले भीष्म [म. अनु. २४.५-१२]; मैत्रेय [म. अनु. १२०-१२२]; शुक लाईपनि उपदेश दिएका थिए |

अश्र्वमेध यज्ञ
========
इनले युधिष्ठिरलाई मनःशांति गर्न अश्र्वमेध यज्ञ गर्न सुझाएका थिए |त्यस यज्ञमा उनले अर्जुन, भीम, नकुल एवं सहदेवलाई त्यो अश्र्वरक्षा, राज्यरक्षा, कुटुंबव्यवस्था गर्न सुझाए | यज्ञ सकिएपछि युधिष्ठिरले आफ्ना सारा राज्य इनलाई दानमा दिंदा उनले त्यो स्वीकारी पुनः युधिष्ठिरलाइनै फर्काएका थिए र उनीसंग भएको सबै धनलक्ष्मी ब्राह्मणहरुलाई दान देउ भनेर आदेश दिएका थिए |

इनको परिवार
=========
घृताची अप्सरा (अरणी) बाट इनले शुक नाउँ गरेको छोरो पाएका थिए [म. आ. ५७.७४] | स्कंद पुराणले शुकलाई जाबालि ऋषिकी छोरी वटिकाबाट उत्पन्न छोरो भनेको छ [स्कंद. ६८.१४७-१४८] । शुक बाहेक विचित्रवीर्य राजाकी अंबिका एवं अंबालिका नामकि पत्नीहरुबाट क्रमशः धृतराष्ट्र ,पाण्डु , विदुर नियोगज छोराहरु जन्माएका थिए |

व्यास-वंश
=======
इनको छोरा शुकको विहे पिवरी नाउँकि कन्या संग भएको थियो जसबाट भूरिश्रवस्, प्रभु, शंभु, कृष्ण एवं गौर नाउँ गरेका पांच ओटा छोरा र एउटी छोरी कीर्तिमती जन्मेकी थिइन् जसको विहे अणुह राजा संग भएको थियो | कीर्तिमतीको छोरो ब्रह्मदत्त नाउँको थियो [वायु. ७०.८४-८६] |

चिरंजीवित्त्व
=======
उनको आयु कति थियो आफै अनुमान गरौँ | कुरुवंशीय राजाहरु शंतनु, विचित्रवीर्य, धृतराष्ट्र, कौरवपाण्डव, अभिमन्यु, परिक्षित्, जनमेजय, शतानीकको आठ पुस्तासम्म महर्षि व्यास संबंधित हुन पुगेका थिए | यसको अर्थ व्यास दीर्घायुष्य थिए भन्ने नै हो | तसर्थ प्राचीन साहित्यले इन्लाई अष्ट चिरंजिवी मध्ये एक मान्न पुगेको हो |

महर्षि व्यास स्थल
===========

व्यासको जीवन संग संबंधित निम्नलिखित स्थलहरुको उल्लेख महाभारत एवं पुराण ग्रन्थहरुमा गरिएको छ (१) व्यासवन [म. व. ८१.७८];[ नारद. ३.६५.५]; ८२;[ वामन. ३५.५]; ३६.५६ । (२) व्यासस्थली , जहाँ पुत्रशोकका कारणले गर्दा व्यासले देहत्याग गर्न आँटेका थिए [म. व. ८१.८१];[ नारद. उ. ६५.८५];[ वामन. ३६.६०] | (३) व्यासाश्रम – यसै आश्रममा बसेर व्यासले समंतु, वैशंपायन, जैमिनि र पैललाई वेदको शिक्षा दिएका थिए | व्यासको वेद वेदप्रसार गर्ने काम यसै आश्रममा बसेर भएको थियो [म. शां. ३१४] | (४) व्यासकाशी र तनहुँको व्यास गुफा (श्रीमद्देवीभागवत)|

अठ्ठाईस व्यास
=========

महाभारत ग्रंथको रचना गर्ने व्यास एउटै थिए ,तर , पुराण ग्रन्थहरुले अठ्ठाईस जना व्यासहरुको नाउँ उल्लेख गरिदिएको छ ,जसअनुसार यस वैवस्वत मन्वन्तरको हरेक द्वापरमा जन्मिएका व्यास वेग्ला बेग्लै थिए भनिएको छ |यो वर्तमान वैवस्वत मन्वन्तरको अठ्ठाईसौं द्वापर हो त्यसैकारण पुराणहरुले व्यासहरुको संख्या अठ्ठाईस भनेको हो | जहाँ कृष्ण द्वैपायन व्यासलाई अठ्ठाइसौं व्यास भनिएको छ | बिभिन्न पुराणहरुमा व्यासहरुको नाउँ फरक फरक भएपनि विष्णु पुराण अनुसार अठ्ठाईस ओटा व्यासहरुको नाउँ यस्तो छ १. स्वयंभु (प्रभु, ऋभु, ऋतु); २. प्रजापति (सत्य); ३. उशनस् (भार्गव); ४. बृहस्पति (अंगिरस्); ५. सवितृ; ६. मृत्यु; ७. इंद्र; ८. वसिष्ठ; ९. सारस्वत; १०. त्रिधामन्; ११. त्रिवृषन (निवृत्त); १२. भरद्वाज (शततेजस्); १३; अन्तरिक्ष (धर्मनारायण); १४. वप्रिन् (धर्म, रक्ष, स्वरक्षस्, सुरक्षण); १५. त्रय्यारुण (आरुणि); १६. धनंजय (देव, कृतंजय, संजय, ऋतंजय); १७. कृतंजय (मेधातिथि); १८. ऋणज्य (व्रतिन्); १९. भरद्वाज; २०. गौतम; २१. उत्तम (हुर्यात्मन्); २२. वेन (राजःस्रवस्, वाजश्रवस्, वाजश्रवस्, वाचःश्रवस्); २३. शुष्मायण सों (तृणबिंदु, सौम आमुष्यायण); २४. वाल्मीकि (ऋ.क्षभार्गव); २५.शक्‍ति (शक्‍ति वसिष्ठ, भार्गव, यक्ष, कृष्ण); २६. पराशर (शाक्तेय); २७. जातूकर्ण; २८. कृष्ण द्वैपायन (प्रस्तुत) [विष्णु. ३.३.११-२०];[ दे. भा. १.३];[ लिंग. १.२४. शिव. शत. ५];[ शिव. वायु. सं. ८];[ वायु. २३];[ स्कंद. १.२.४०];[ कूर्म. पूर्व. ५१.१-११] |

व्यासको काम
==========
व्यासको काम ३ ओटा मात्र थियो – १. वेदरक्षणार्थ वेदविभाजन; २. पौराणिक साहित्यहरुको रचना ; ३. महाभारत ग्रन्थको लेखन |

वेदसंरक्षणार्थ वेदविभाग
================
द्वापर युगको अन्तमा आइपुग्दा वेद संरक्षण गर्न सक्ने ब्राह्मणहरु कम हुँदै जान थाले र समस्त वैदिक वाङमय नष्ट भएर जान सक्ने सम्भावना बलियो हुँदै जान थाल्यो | वेद नाश हुन जाँदा हिन्दूहरुको समस्त संस्कृति नष्ट भएर जाने भएको हुँदा महर्षि व्यासले समस्त वैदिक वाङमय पुनर्संरचना गरे | अनि वैदिक वाङमयहरु ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद भएर झुल्किए | र, यी चारै वेदका विभिन्न शाखाहरु निर्माण गरियो | त्यसपछि ती वैदिक संहिताहरु संरक्षण र प्रचार गर्न विभिन्न शिष्यपरंपराहरुको व्यवस्था गरियो [वायु. ६०.१-१६] | व्यासको यिनै देनको कारणले गर्दा हजारौं बर्ष पछिपनि आजका दिनमा हामीले वेदको मुख हेर्न पाएका छौं र त्यो वेद आफ्नो मूल स्वरुपमै उपलब्ध हुन सकेको छ |

वेद विभाजन
========
पुराणहरुका अनुसार वेद व्यासले चतुष्पाद वैदिक संहिता ग्रंथ विभाजन गर्दा यसका चार स्वतंत्र संहिताहरु छुट्ट्याए – ततः स ऋच उद्धृत्य ऋग्वेदसमकल्पयत्। [वायु. ६०.१९];[ ब्रह्मांड. ३.३४.१९] | (व्यासले ऋग्वेदको ऋचाहरु अलग्ग्याएर ‘ऋग्वेद संहिता’ को रूपमा ,त्यसैगरी यजु, साम, एवं अथर्व मंत्र पनि छुट्टयाई दिए | व्यासको यो कामलाई तात्कालिक वेद विद्वानहरुले सहर्ष स्वीकारे [पार्गि. ३१८] |

व्यासको वैदिक शिष्यपरंपरा
===================

व्यासको वैदिक शिष्यपरंपरा सम्बन्धी विस्तृत जानकारी पुराणहरुमा व्याख्या गरिएको छ | त्यस मध्ये सबैभन्दा प्रामाणिक एवं विस्तृत जानकारी वायु र ब्रह्मांड पुराणमा लेखिएको छ |यस जानकारी अनुसार, व्यासको वैदिक शिष्यपरंपरामा ऋक्, यजु, साम एवं अथर्व जस्ता चार विभाग रहेका थिए | महर्षि व्यासको ऋषिशिष्यपरंपराको प्रमुख शिष्य पैल थिए | व्यासले दिएको ऋक् संहिताको दुई शाखा बनाएर पैलले त्यसलाई आफ्ना शिष्य इंद्रप्रमति र बाष्कल (बाष्कलि) लाई दिए | (अ) बाष्कल शाखा – त्यै संहिता पछि गएर बाष्कलले आफ्ना निम्नलिखित शिष्यहरुलाई सिखाए – १. बोध्य (बोध, बौध्य); २. अग्निमाठर (अग्निमित्र, अग्निमातर); ३. पराशर; ४. याज्ञवल्क्य; ५. कालायनि (वालायनि); ६. गार्ग्य (भज्य); ७. कथाजव (कासार) | यहाँका चार शिष्यहरुको नाउँ सबै पुराणमा उपलब्ध छ तर अंतिम दुई नाउँ भागवत र विष्णु पुराणमा मात्र भेटिन्छ | (आ) इंद्रप्रमति- शाखा -इंद्रप्रमतिको प्रमुख शिष्य माण्डुकेय (मार्कंडेय) हुन | पछि गएर माण्डुकेयले त्यो संहिता आफ्नो छोरो सत्यश्रवस् लाई सिकाए | सत्यश्रवस् ले त्यसलाई आफ्नो शिष्य सत्यहितलाई र उनले आफ्नो छोरा सत्यश्रीलाई सिकाए | विष्णु पुराणले इंद्रप्रमतिको अर्को शिष्यको नाउँ शाकपूणि (शाकवैण) भनेको छ तर , वायु र ब्रह्मांड पुराणले सत्यश्री शाकपूणिलाई सत्यश्रीको छोरो नै बताएको छ | (इ) सत्यश्री शाखा – सत्यश्रीका तिनोटा शिष्यहरू थिए -१. देवमित्र शाकल्य, जसलाई भागवतमा माण्डुकेयको शिष्य भनिएको छ २. शाकवैण रथीतर (रथेतर, रथान्तर); ३. बाष्कलि भारद्वाज, इनलाई भागवतमा जातूकर्ण्य भनिएको छ | (ई) देवमित्र शाकल्य शाखा – देवमित्रका निम्न शिष्यहरु थिए – १. मुद्गल; २. गोखल (गोखल्य, गोलख); ३. शालीय (खालीय, खलियस्); ४. वत्स (मत्स्य., वास्त्य, वास्य); ५. शैशिरेय (शिशिर); ६. जातूकर्ण, इनको नाउँ चाहीं भागवतमा मात्र प्राप्त छ | (उ) शाकवैण रथीतर शाखा – यिनका चारोटा शिष्य थिए – १. केतव (क्रौंच, पैज, पैल); २. दालकि (वैतालिक, वैताल, इक्षलक); ३. शतबलाक (बलाक, धर्मशर्मन्); ४. नैगम (निरुक्तकृत, विरज गज, देवशर्मन्) | (ऊ) बाष्कलि भारद्वाज शाखा – इनका तिनोटा शिष्य थिए – १. नंदायनीय (अपनाप); २. पन्नगारि; ३. अर्जव (अर्यव) [विष्णु. ३.४.१६-२६];[ भा. १२.६.५४-५९];[ वायु. ६०.२४-६६];[ ब्रह्मांड. २.३४-३५] |

व्यासको वैदिक शिष्यपरंपरा यसरीपनि हेर्नोस
==============================

ऋग्वेद – पैल
यजुर्वेद – वैशंपायन
सामवेद – जैमिनि
अथर्ववेद – सुमन्त

ऋग्वेद – इंद्रप्रमति, वाष्कल
यजुर्वेद – –
सामवेद – सुमन्तु – जैमिनि
अथर्ववेद – कबंध

ऋग्वेद – बोध्य, याज्ञवल्क्य, पराशर, माण्डुकेय
यजुर्वेद – याज्ञवल्क्य – ब्रह्मराति
सामवेद – सुत्वन् – जैमिनि
अथर्ववेद – पथ्य, देवादर्श

ऋग्वेद – सत्यश्रवस्
यजुर्वेद – तित्तिरी
सामवेद – सुकर्मन् – जैमिनि
अथर्ववेद – पिप्पलाद

ऋग्वेद – सत्यहित
यजुर्वेद – –
सामवेद – पौष्पिण्ड्य
अथर्ववेद – जाजलि – शौनक

ऋग्वेद – सत्यश्री
यजुर्वेद – माध्यंदिन, काण्व
सामवेद – लौगाक्षि, कुथुमि, कुशितिन्, लांगलि
अथर्ववेद – सैन्धवायन, बभ्रु

ऋग्वेद – शाकल्य, वाष्कलि, शाकपूर्ण
यजुर्वेद – याज्ञवल्क्य
सामवेद – राणायनीय, तण्डिपुत्र, पराशर, भागवित्ति
अथर्ववेद – –

ऋग्वेद – पन्नगारि, शैशिरेय, वत्स, शतबलाक
यजुर्वेद – श्यामायनि, आसुरि अलम्बि
सामवेद – –
अथर्ववेद- – मुंजकेश

ऋग्वेद – –
यजुर्वेद – –
सामवेद – लोमगायनि, पाराशर्य, प्राचीनयोग
अथर्ववेद – –
१०
ऋग्वेद – –
यजुर्वेद – –
सामवेद – आसुरायण, पतंजलि
अथर्ववेद – –

ऋग्वेदका प्रमुख शाखाहरु
=================

व्यासका प्रमुख शिष्यप्रशिष्यहरुलाई ‘शाखाप्रवर्तक आचार्य’ र तिनले निकालेको संहितापरंपरालाई ‘शाखा’ भनिन्छ | यी शाखाहरु सबै एउटै वैदिक संहिता ऋग्वेदकै थिए तर, त्यसलाई हेर्ने दृष्टिकोण र ‘स्वरवर्ण’ (उच्चारण पद्धति) को कारण प्रत्येक शाखाको संहिताहरु भिन्न भिन्न हुन पुगे | पतंजलि महाभाष्य र महाभारतले ऋग्वेदको एक्काइस ओटा शाखा छन् भनेको छ तर नामावलि दिएको छैन [महा. १];[ म. शां. ३३०.३२];[ कर्म. पूर्व. ५२.५९] | ‘चरणव्यूह’ले चाहीं ऋग्वेद पाँचोटा शाखाको नाउँ दिएको छ जो – १. शाकल (शैशिरीय); २. बाष्कल; ३. आश्र्वलायन; ४. शांखायन; ५. मण्डूकायन नाउँले चिह्निन्छ | त्यसमध्ये शाकल, बाष्कल एवं माण्डूकायन व्यासको वैदिक शिष्यपरंपराबाट आएको हो |तर , आश्र्वलायन एवं शांखायन शाखाहरुको प्रवर्तक को हुन भन्न सकिने अवस्था छैन यी दुईटा शाखाको नाउँ अग्नि पुराणमा उल्लेखित छ [अग्नि. २७१.२] |

पुराण ग्रंथ
=======
वैदिक ग्रंथ मिलाएपछि व्यासले तकालिन समाजमा प्रचलित आख्यायिका ,गाथा एकत्रित गरी ‘पुराणग्रंथ लेखे यो लेखाइनै प्राचीन पौराणिक साहित्यको आद्य जनक हुन पुग्यो |
तत्कालिन राज वंश मन्वन्तरहरुको परंपरागत जानकारी एकत्रित गर्नु त्यसको कारण भएपनि त्यसको मूल उद्द्येश्य नीति निर्माण गर्नु थियो | धर्म एवं नीतिको शिक्षा सामान्य मान्छेको ग्राह्य क्षमता हेरेर उनले गरेका थिए | पंचमहाभौतिक तत्व , प्राणिसृष्टि एवं मनुष्यसृष्टिको आदर्श पुराणग्रंथमा राखेर व्रत, उपासना ,तपस्यालाई महत्व दिए | त्यसैले पुराण ग्रंथहरुले उच्चतम आदर्श सामान्य मान्छेको अघि राख्न सकेको हो | पौराणिक साहित्यमा ‘महापुराण’, ‘उपपुराण’ र ‘उपोपपुराण’ गरेर तीन श्रेणी छ जसले वंश, वंशानुचरित, मन्वन्तर, सर्ग एवं प्रतिसर्ग आदि विषय समेटेको महापुराण [विष्णु. ३.६.१६-१६] ,त्यो महापुराण लाई आधार मानेर लेखिएको ‘उपपुराण’ भन्ने गरिएको छ | ब्रह्मचारी , गृहस्थ, वानप्रस्थ, संन्सासी, रागी, विरागी, स्त्री, शूद्र एवं शंकर जातिको धर्माचरण के हुन सक्छ त्यो कुरो पुराणमा लेखिएको छ |यसबाहेक यज्ञ, व्रत, तप, दान, यम, नियम, योग, सांख्य, भागवत, भक्ति, ज्ञान, उपासनाविधि आदि विभिन्न धार्मिक विषयहरुको जानकारी दिएको छ र ब्राह्म, शैव, वैष्णव, सौर, शाक्त, सिद्ध आदि सांप्रदायहरुको उपाशना पद्धति त्यसमा छ |

व्यासको पुराणशिष्यपरंपरा
==================
पुराणग्रंथ लेखेपछि व्यासले ती सबै ग्रन्थहरु आफ्नो पुराणशिष्यपरंपरान्तर्गत प्रमुख शिष्य रोमहर्षण ‘सूत’ लाई बताए | जो पछि व्यासको पुराणशिष्यपरंपराको प्रमुख आचार्य हुन पुगे | रोमहर्षण शिष्यहरू १. सुमति आत्रेय (त्रैयारुणि); २. अकृतव्रण काश्यप (कश्यप); ३. अग्निवर्चस् भारद्वाज; ४. मित्रयु वसिष्ठ; ५. सोंदत्ति सावर्णि [ब्रह्मांड. २.३५.६३-६६];[ भा. १२.६]; ६. सुशर्मन् शांशपायन (शांतपायन) [वायु. ६१.५५-५७];[ विष्णु. ३.६.१५-१८]; ७. वैशंपायन; ८. हस्ति; ९. सूत रहेका थिए |

महाभारत लेखन
===========

पौराणिक साहित्य संगसंगै संस्कृत साहित्यको सर्वश्रेष्ठ ‘इतिहास पुराण ग्रंथ’ ‘महाभारत’ पनि व्यासले लेखे | शतपथ ब्राह्मण, तैत्तिरीय आरण्यक, एवं छांदोग्य उपनिषदले ‘इतिहास पुराण’ भनेर उल्लेख गरेको छ | तर, त्यो उल्लेख ‘इतिहास पुराण’ भन्दा स्वतंत्र ग्रंथ नभई आख्यान एवं उपाख्यानको रुपमा ब्राह्मणादि ग्रंथमा उल्लेह भएको हो |
महाभारत अठार पर्वमा लेखिएको छ – १. आदि; २. सभा; ३. वन (आरण्यक); ४. विराट; ५. उद्योग; ६. भीष्म; ७. द्रोण; ८. कर्ण; ९. शल्य; १०. सौप्तिक; ११. स्त्री; १२. शांति; १३. अनुशासन; १४. आश्र्वमेधिक; १५. आश्रमवासिक; १६. मौसल; १७. महाप्रस्थानिक; १८. स्वर्गारोहण | त्यसका उपपर्व -१. वनपर्व—२०; २. आदिपर्व—१९; 3. उद्योगपर्व—१०; ४. सभापर्व—८; ५. द्रोणपर्व—८. ६. भीष्मपर्व—३, ९. आश्र्वमेधिकपर्व—३; १०. आश्रमवासिकपर्व ३; ११. सौप्तिकपर्व—२; १२. अनुशासनपर्व – -२ | कर्ण, मौसल, महाप्रस्थानिक एवं स्वर्गारोहण पर्वमा गनिन्नन |

व्यासले दिएको संदेश
==============
उनले उल्लेख गरेको चतुर्विधपुरुषार्थ मध्ये धर्माचरणबाट अर्थकामादि पुरुषार्थ प्राप्त गर्नुपर्छ | मानव जीवनमा धर्म नै शाश्र्वत, एवं नित्य हो | बाँकी सबै अनित्य हुन |- उर्ध्वबाहुर्विरौस्येष नच कच्छिच्छृणोति माम् । धर्मादर्थश्र्च कामश्र्च स किमर्थं न सेव्यते [म. स्व. ५.४९] | उनी आफ्ना दुवै हात मास्तिर उठाएर भन्दछन अर्थ र काम भन्दा धर्म महत्त्वपूर्ण हो |तर कसैले ध्यान दिन्न | अस्तु -प्रवीण अधिकारी |

Leave a Reply

Your email address will not be published. Required fields are marked *