Best Online News From Nepal

सनातन हिंदू धर्मका जग :महर्षि वसिष्ठ

प्रवीण अधिकारी 

बषिष्ठ

=========================
महर्षि व्यासका कुप्रावाजे अर्थात पराशर -शक्ति – ऋषि वसिष्ठ गोत्र प्रवर्तक हुन | उनी त्यस्ता ऋषि हुन जो स्वायंभुव मन्वंतर( पहिलो मन्वन्तर) मा ब्रह्माको दश मानस पुत्रहरू मध्ये एउटा भई जन्मिएका थिए | आजको दिनमा वसिष्ठ वंशको मूलपुरुष यिनीनै मानिन्छन | इक्ष्वाकु राजवंशको पुरोहित्यांई गर्नेपनि इनिनै थिए | ब्रह्माको प्राणबाट जन्मिएको मानिने इनको बिहे [म.भा.३.१२.२३] दक्ष प्रजापतिकि छोरी ऊर्जा संग भएको थियो |यसरी हेर्दा यी दक्षको ज्वाईं र भगवान आशुतोष शिवको साढ़ूभाई थिए | दक्षयज्ञ गरिंदा शिवजीको अपमान हुन पुगेपछि , क्रुद्ध हुन पुगेका शिवले दक्षको हत्यागर्दा इनकोपनि हत्या गरिदिए | वाल्मीकि रामायणले इनको चरित्रचित्रणगर्दा इनलाई एक नीतिविशारद , प्रमुख मंत्री, एवं उच्चस्तरको पुरेत , ब्रह्मज्ञानी, तपस्विहरुमा सर्वश्रेष्ठ [वा. रा. बा. ५२.१, २०] ,आफ्नै तपस्याको वलले ब्रह्मर्षिपद पाउने व्यक्ति , अत्यधिक शांत , क्षमाशील र सहिष्णु ऋषि [वा. रा. बा. ५५-५६] भनेर वर्णन गरेको छ | दशरथ राजाको पुह्रेत हुँदा इनी ऋष्य श्रिङ्ग मिलेर उनको पुत्रकामेष्टि यज्ञको ऋत्विजपनि हुन पुगेका थिए | राम , लक्ष्मणको न्वारन गर्नेपनि इनै थिए | भगवान रामलाई युवराज्याभिषेक र राज्याभिषेकको दीक्षा इनैले दिएका थिए |
विशेषणको रुपमा वसिष्ठ
————————–

आदि प्रजापति वसिष्ठको गुण औ तेजले गर्दा वसिष्ठ शब्दको प्रयोग सबैभन्दा बढि प्रकाशावान ,सबै भन्दा उत्क्रिष्ट , सवैभन्दा उच्च , श्रेष्ठ , महिमापूर्णको रुपमा प्रयोग हुन थाल्यो | त्यै विशेषता कायम राख्न यिनले तत्कालिन काल परिस्थिति अनुसार धेरै चोटि पुनर्जन्म लिनु परेको थियो | शुरुमा यिनी ब्रह्माको मानस पुत्र भएर जन्मिए र प्रजापति मध्ये एक भए ,दोश्रो पल्ट स्वयंभू मन्वंतरमा ब्रह्माको प्राणवायुबाट जन्मिएका थिए | तेश्रो पल्ट ब्रह्माकै यज्ञाग्निबाट जन्मिए | यिनी आर्य संस्कृतिका संस्थापक ऋषि मानिन्छन यिनैको ओजस्वी व्यक्तित्वले सनातन हिंदू संस्कृतिको जग गतिलो गरी राख्न सक्यो | यी सबै भन्दा धेरै चोटि पुनर्जन्म लिने ऋषिपनि हुन | कहिले मैत्रावरुणको छोराको रुपमा महर्षि अगस्तिको दाजु भएर जन्मिए , सूर्य वंशको पुरोहित हुनपुगे | अग्निको मध्ये भागबाट जन्मिए मामुली ऋत्विजको निहुँमा राजा निमी संग खटपट गर्न पुगे र दुबैले एक अर्कोलाई श्राप दिए , परिणामस्वरूप दुबैको आत्मा शरीर त्यागेर ब्रह्मलोकमा गयो | त्यसपछि मित्रावरुण र उर्वशीको कोखबाट जन्मिए | इनकि पत्नी अरुन्धती हुँदा ब्रह्माजीले इनलाई मृत्युलोकमा गएर सृष्टि विस्तार गर्न अह्राएर सूर्यवंशको पुरोहित्याई गर्न लाए | त्यति खेर इनले पुरोहित्य कर्म अत्यन्त निन्दित कर्म हो म गर्दिन भने | अनि ब्रह्मा जीले यै वंशमा पछि मर्यादा पुरुषोत्तम भगवान श्रीराम अवतार लिन्छन तिमी जाउ ,तिमीले गर्ने पौरोहित्य कर्मले तिमीलाई मुक्तिको बाटो देखाउनेछ भनेपछि उनी यो लोकमा मानव शरीरमा आउँन राजी भएका थिए | पहिलेका रिशाहा ऋषि पछिल्लो पल्टमा ऋष हिन भएर जन्मिदा महर्षि विश्वामित्रले इनको १०० भाई छोराहरु मारेर एक चिहान बनाउँदापनि इनले विश्वामित्र संग कुनै प्रतिवाद गर्दै गरेनन | त्यतिखेर परशुरामको क्रोधबाट रघु वंशलाई इनैले जोगाए |

मान्छे एक : रुप अनेक
===============
इनी अयोध्याका प्राचिन राजा मन्धाताका छोरा मुकुचंदकापनि पुह्रेत हुन पुगेका थिए [म. शां. ७५.७] | भरतवंशीय सम्राट रंतिदेव सांकृत्यको पुरोहितपनि इनिनै थिए | यी रंतिदेव राजा हस्तिनापुरका हस्तिन् राजाको समकालीन मानिन्छन | इनलाई ब्रह्मर्षि मानि रंतिदेवले अर्ध्य दिने गरेका थिए [म.शा. २६.१७];[ अनु. २००.६] | भने चारोटा मन्वन्तर स्वायम्भुव , रैवत ,सावर्णि ,ब्रह्मसावर्णिहरुमा रहेका सप्त ऋषिहरुमध्ये एक ऋषि मानिएका थिए | यिनी श्राद्धदेवका पुरोहितपनि हुन पुगेका थिए | श्राद्धदेवका छोराछोरी नहुँदा इनले मित्रवरुणलाई खुशी पार्न एउटा यज्ञ गराए |श्राद्धदेवकी पत्नी श्रद्धा थिइन् | छोराको आकांक्षी श्राद्धदेवले त्यस यज्ञको प्रतापले ईला नाउंकि छोरी पाए | त्यस कन्यालाई सुद्युम्न नाउँ गरेको छोराको रुपमा परिवर्तन गरिदिने वसिष्ठ नै थिए [म. भा. ९.१.१३-२२] | राजा अंबरीषको पुरोहित र उनको अश्र्वमेघ यज्ञ गराउनेपनि इनै थिए [मत्स्य. २४५. ८६] | ग्रन्थहरुले इनलाई आठौँ वेदव्यास मानेको छ किनभने इनले ईन्द्रलाई ब्रह्मांड पुराण सुनाएका थिए | त्यै पुराणपछि इनले सारस्वत ऋषिलाईपनि सुनाए [ब्रह्मांड. २.३५.११८] | इनको आश्रम उर्ज्जन्त पर्वतमा रहेको थियो [ब्रह्मांड. ३.१३.५३] | इनी त्यस्ता ऋषि हुन् जो वारुणि यज्ञको ‘वसुमध्य’ बाट उत्पन्न भएका थिए | त्यसैले इनलाई ‘वसुमत्’ पनि भन्ने गरिएको थियो | सुक्रात नाउँको दैवीय पितृपनि यसैबाट उत्पन्न भएका थिए [ब्रह्मांड. ३.१.२१];[ मत्स्य. १९५.११] | वाण शैय्यामा बसेका भीष्मलाई भेट्नपनि पुगेका थिए [म. भा. १.९.७] | युधिष्ठिरले गरेको राजसूय यज्ञमापनि इनी उपस्थित थिए [म.भा. १०.७४.७] | इनैलाई अगस्त्य ऋषिको भाईपनि भनिएको थियो त्यतिखेर इनी विदेह देश अर्थात जनकपुरका राजा निमिका पुह्रेत हुन पुगेका थिए [ मत्स्य. पु .६१.१९] | भगवान् शिवजीले श्राप दिंदा इनका सबै छोराहरु डढन पुगेका थिए | अहिलेको वैवश्वत मन्वन्तरमा ब्रह्माजीले इनलाईपनि उत्पन्न गरे | यस मन्वन्तरमा वसिष्ठ अग्निको मध्यभागबाट उत्पन्न भए | इनकी पत्नी अक्षमाला मानिन्छिन [म. उ. ११५.११] | राजा निमिसंग झगडा हुँदा यी दुबैले एक अर्कालाई विदेह (देहरहित) हुने श्राप दिए | त्यै श्रापका कारण ती दुबैको मृत्यु हुन पुगेको थियो |

विश्र्वामित्र संग सत्रुता
=================
वसिष्ठवंशको इतिहाँस केलाउँदा यिनीहरुले सँधै विश्र्वामित्र वंश संग शत्रुत्वको अखंड परंपरा निर्वाह गरेको पाइन्छ | देवराज वसिष्ठ देखि मैत्रावरुण वसिष्ठ सम्म यी दुई श्रेष्ठ ब्राह्मण वंश सँधै आपसी वैरभाव र प्रतिशोधमै विताएको देखिन्छ | प्राचीन राजवंशहरु मा भार्गव वंश (परशुराम जामदग्न्य) र हैहयव वंश , तथा द्रुपद एवं द्रोणको शत्रुत्व इतिहाँस प्रसिद्ध भएको मानिन्छ | इनिहरुको जस्तै अनेकौं पुस्तासम्म वसिष्ठ एवं विश्र्वामित्रको वर्भाव अनन्तकाल सम्म रहेको देखिन्छ |

इक्ष्वाकु वंशको मात्र पुरोहित्याई
———————————-

निमि राजाको विहे गराई सकेपछि वसिष्ठ ऋषिले सूर्य वंशको अरु हाङ्गोको पुरोहित्याइं छोडेर इक्ष्वाकु वंशको राजगुरु भई काम गरे | राजा दशरथको लागि ऋष्य श्रिङ्ग ऋषि संग मिलेर पुत्रेष्टि यज्ञ गराए | आपत विपत पर्दा आफ्नो तपोवलले राजा र प्रजाको रक्षा गरे | रामलाई शस्त्र र शास्त्रको शिक्षा दिए | वसिष्ठकै कारण ‘रामराज्य’ स्थापना हुन पुगेको थियो |महर्षि वसिष्ठकै उपदेश पाएको कारण भगीरथले गंगालाई पृथ्वीमा ल्याएका थिए |राजा दिलीपलाई नन्दिनी गाइको सेवा गर्न लाएर रघु जस्ता पराक्रमी राजा जन्माउने अवसर दिएका थिए | महाराज दशरथको निराशामा आशा पह्लाइदिने र भगवान श्री रामलाई आफ्नो शिष्य बनाउँन पाउँदा महर्षि वसिष्ठको पुरोहित जीवन सफल हुन पुगेको थियो |

वशिष्ठ ऋषिले सनातनी समाजलाई दिएको देन
————————————————

ऋषि वसिष्ठ महातेजस्वी, त्रिकालदर्शी, पूर्णज्ञानी, महातपस्वी, शस्त्र शास्त्रका ज्ञाता त थिएनै , त्यसवाहेक उनी ऋग्वेदको सातौँ मंडलको १०४ सूक्त तथा ८४१ ऋचाहरुका मन्त्र द्रष्टार ऋषि पनि हुन | त्यसैले यो मण्डललाई वसिष्ठ मण्डल भनेर चिन्ने गरिएको छ | त्यस मण्डलामा उनले अग्नि, इन्द्र, उषा, वरुण, मरुत, सविता, सरस्वती आदि देवी देउताहरुको स्तुति मधुर तर ओजस्वी वाणीमा गरेका छन | विरक्तिएका रामलाई आत्म हत्याबाट जोगाउन इनले जुन उपदेश दिएका थिए त्यो नै योगवासिष्ठ आध्यात्म महारामायण भनेर चिह्निएको हो | वैराग्य, मुमुक्षुत्व, उत्पत्ति, स्थिति, उपशम र निर्वाण यसका छ प्रकरण हुन् | यसमा ३२ हज़ार श्लोकहरु छन |वसिष्ठ धर्मसूत्र ( वसिष्ठ स्मृति), धनुर्वेद ,वसिष्ठ पुराण, वसिष्ठ श्राद्धकल्प, वसिष्ठ शिक्षा, वसिष्ठ होम विधि( जसलाई सनातनी नेपाली समाजले वासिष्ठि पद्धति भनेर चिन्धछ ), वसिष्ठ तंत्र आदि इनकै देन हो |

परिवार
=====

वसिष्ठ्का तिनोटी पत्नीहरू भएको थाहा पाइन्छ – जेठी ऊर्जा, जो दक्ष प्रजापतिकि छोरी थिईन , अर्की अरुन्धती, जो कर्दम ऋषिकी नौ ओटी छोरीहरु मध्ये आठौँ छोरी थिइन र कान्छी शतरुपा थिइन् | तर , इनलाई कुनै कुनै ग्रन्थहरुले ‘अयोनिसंभवा’ सन्तानपनि मानेको पाइन्छ |

(१) ऊर्जाका सन्तान
———————
ऊर्जाबाट पुंडरिका नामकि छोरी र ‘सप्तर्षि’ भनेर चिह्निने सात छोराहरु जन्मिएका थिए – दक्ष (रत्न), गर्त, ऊर्ध्वबाहु, सवन, पवन, सुतपस्, एवं शंकु | श्रीमद भागवादले तिनै उर्जाको छोराहरु चित्रकेतु आदि बताएको देखिन्छ [म.भा. ४.१.४१] | उर्जाकी छोरी पुंडरिकाको विहे प्राण संग भएको थियो | प्राणबाट द्युतिमत् जन्मिएका थिए | इनको विहे मार्कंडेयी संग भएको थियो जसबाट पश्र्चिम तिरको अधिपति केतुमत् ‘प्रजापति’ नाउँ गरेको छोरो जन्मिएको थियो [ब्रह्मांड. २.१२.३९-४३] | यस बाहेक यिनका हवीद्र आदि सात भाई छोराहरुपनि जन्मिएका थिए | सुकात आदि दैविक पितृहरुपनि इनैका छोरा मानिन्छन |

२) शतरूपाका संतान
———————–
शतरूपाको वीर नाउँ गरेको छोरो जन्मिएको थियो |जसको विहे कर्दम ऋषि प्रजापतिकि छोरी काम्या संग भएको थियो | जसबाट प्रियव्रत एवं उत्तानपाद नाउँ गरेका छोराहरु जन्मिएका थिए | यसमध्ये प्रियव्रतका सम्राट, कुक्षि, विराट एवं प्रभु नाम गरेका छओटा छोराहरु जन्मिएका थिए | उत्तानपादलाई अत्रि ऋषिले पालेका थिए [ह.वं १.२] |

पौराणिक र ब्राह्मण ग्रन्थले प्रष्ट्याएको वसिष्ठकुलका प्रमुख व्यक्तिहरु
=============================================
वसिष्ठको सन्तान वाषिष्ठ भनेर चिह्निन्छन | कुनै कुनै ग्रन्थमा यो प्रवर हो पनि भनिएको छ | पार्गिटर भन्ने पश्चिमा अनुसार वसिष्ठ ऋषिको वंशमा निम्नलिखित व्यक्तिहरु विशेष रुपमा महत्त्वपूर्ण हुन पुगेका थिए भन्नेकुरा उल्लेख गरिएको छ –

(१) वसिष्ठ देवराज, जो अयोध्याको त्रय्यरुण, त्रिशंकु एवं हरिश्र्चंद्र जस्ता राजाहरुका समकालीन थिए ( हेर्नोस वसिष्ठ देवराज ) |
(२) वसिष्ठ आपव, जो हैहय वंशीय राजा कार्तवीर्य अर्जुनका समकालीन थिए (वसिष्ठ अथर्वनिधि १. हेर्नोस ) |
(३) वसिष्ठ अथर्वनिधि (प्रथम), जो अयोध्याको बाहु राजाको समकालीन थिए (वसिष्ठ अथर्वनिधि १. हेर्नोस ) |
(४) वसिष्ठ श्रेष्ठभाज, जो अयोध्याको मित्रसह ,कल्माषपाद ,सौदास राजाका समकालीन थिए (वसिष्ठ श्रेष्ठभाज हेर्नोस ) |
(५) वसिष्ठ अथर्वनिधि (द्वितीय), जो अयोध्याका दिलीप , खट्वांग राजाका समकालीन थिए (वसिष्ठ अथर्वनिधि २. हेर्नोस ) |
(६) वसिष्ठ, जो अयोध्याक राजा दशरथ , दशरथि रामको समयकालमा थिए (वसिष्ठ २. हेर्नोस ) |
(७) वसिष्ठ मैत्रावरुण, जो उत्तर पांचाल देशका पैजवन सुदास राजाका समकालीन थिए , इनको उल्लेख ऋग्वेद आदि सवै वैदिक ग्रन्थ हरुमा गरिएको छ | (वसिष्ठ मैत्रावरुण हेर्नोस ) |
(८) वसिष्ठ शक्ति, यी वसिष्ठ मैत्रावरुणका छोरा थिए (वसिष्ठ शक्ति हेर्नोस ) |
(९) वसिष्ठ सुवर्चस्, जो हस्तिनापुरका राजा संवरणका समकालीन थिए (वसिष्ठ सुवर्चस् हेर्नोस ) |
(१०) वसिष्ठ, जो अयोध्याका राजा मुचकुंदका समकालीन थिए (वसिष्ठ ३. हेर्नोस ) |
(११) वसिष्ठ, जो हस्तिनापुरका राजा हस्तिनका समकालीन थिए (वसिष्ठ ४. हेर्नोस ) |
(१२) वसिष्ठ ‘धर्मशास्त्रकार,’ जो ‘वसिष्ठस्मृति’ नामक धर्मशास्त्र विषयक ग्रंथका लेखक मानिन्छन (वसिष्ठ धर्मशास्त्रकार हेर्नोस ) |

वसिष्ठको वंशावली
============

महाभारत एवं पुराण ग्रन्थहरुमा वसिष्ठ ऋषिको तिनोटा वंशावलिहारू भएको उल्लेख गरेको छ – १, अरुंधती-शाखा; २. घृताचीशाखा; ३. व्याघ्रीशाखा | यसमध्ये अरुंधती एवं घृताची क्रमशः ब्रह्ममानसपुत्र वसिष्ठ एवं वसिष्ठ मैत्रावरुण ऋषिहरुकी पत्नीहरू थिए | व्याघ्री कुन चाहिं वसिष्ठकि पत्नी थिइन निश्र्चित रूपमा भन्न सकिने अवस्था छैन |

(१) अरुंधती शाखा
———————-
वसिष्ठ (अरुंधती)बाट शक्ति (स्वागज अथवा सागर) , पराशर (काली , सत्यवती ) बाट कृष्ण द्वैपायन (अरणी)बाट शुक (पीवरी)बाट भूरिश्रवस्, प्रभु, शंभु, कृष्ण, गौर, एवं कीर्तिमती (ब्रह्मदत्तकि पत्नी) |(हेर्नोस: अघिल्लो पोष्ट महर्षि व्यास )

(२) घृताची शाखा
——————–
वसिष्ठ मैत्रावरुण (घृताची)बाट इंद्रप्रमति अथवा कुणीति अथवा कुशीतिबाट वसु (पृथुसुता)बाट अपमन्यु [ब्रह्मांड. पु. ३.८०.९०-१००];[ वायु. पु.७१.८३-९०];[ लिंग.पु. १.६३.७८-९२];[ कूर्मत्र पु. १.१९];[ मत्स्य. पु. २००] |

(३) व्याघ्री शाखा
——————-
वसिष्ठ ऋषिले व्याघ्रीबाट व्याघ्रपाद मन्ध, बादलोम, जाबालि, मन्यु, उपमन्यु, सेतुकर्ण आदि जम्मा १९ जाना गोत्रकार छोराहरु जन्माएका थिए [म. भा.अनु. ५३.३०-३२ कु.] |

वसिष्ठकुलका गोत्र प्रवर्तक ऋषिहरू
=======================

वसिष्ठ ऋषि कुलोत्पन्न गोत्रकार एक प्रवारात्मक (एक प्रवरवाला ), त्रिप्रवरात्मक (तीन प्रवरात्मक वाला ) दुईटा मुख्य प्रकार रहेको छ |

(१) एक प्रवरात्मक गोत्रकार
——————————–
वसिष्ठकुलको निम्नलिखित गोत्र एकप्रवरात्मक रहेको देखिन्छ | यस्ताहरुको वासिष्ठ मात्र प्रवर हो – अलब्ध, अपास्थूण (ग), उपावृद्धि, औपगव (अपगवन, ग) औपलोम (अपष्टोम, ग), कठ (ग), कपिष्ठल (ग), गौपायन (गोपायन, ग) गौडिनि (जौडिलि), चौलि, दाकव्य (ग), पालिशय (ग), पौडव (खांडव), पौलि, बालिशय (ग), बाहुरि (ग), बोधप (ग), ब्रह्मवल, ब्राह्मपुरेयक (ब्रह्मकृतेजन, ग), याज्ञवल्क्य (याज्ञदत्त), लोमायन (ग), वाग्ग्रंथि, वाडोहलि, वाह्यक (ग), वैक्लव (ग), वौलि, व्याघ्रपाद (ग), शठ (ग) (पटाकुर, शठकठ), शांडिलि, शाद्वलायन (ग), शीतवृत्त (ग), श्रवस् (श्रवण), सुमन, (ग), स्तस्तिकर (ग) |

(२) त्रिप्रवरात्मक गोत्रकार
—————————

वसिष्ठकुलका निम्नलिखित गोत्रकारहरु त्रिप्रवरात्मक रहेका छन् ,जसमा इंद्रप्रमदि (चंद्रसंमति), भगीवसु (भर्गिवसु) एवं वसिष्ठ मूख्य तीन प्रवर हुन्छन – उद्राह (उद्घाट, ग), उपलव (ग), उहाक (ग), औपमन्यव, कपिंजल (ग), काण्व (ग), कालशिख, कोरकृषा (कौरकृष्ण, ग), कौरव्य, कौलायन (कौमानरायण), क्रोडोदरायण, क्रोधिन, गोरथ (ग), तर्पय, डाकायन, पन्नागारि (पर्णागारि), पालंकायन, (पादपायन), प्रलंबायन (ग), बलेक्षु (दलेषु, ग), बालवय, ब्रह्ममालिन् (ग), भागवित्तायन (ग) (भागवित्रासन), महाकर्ण, मातेय (ग), माषशरावय (ग), लंबायन (ग), वाकय (ग), वालखिल्य (ग), वेदशेरक (ग), शाकधिय, शाकायन (ग), शाकाहार्य (ग), शैलालय (रौरालय, शैवलेय), श्यामवय, सांख्यायन, सुरायण |

(३) वसिष्ठकुलका निम्नलिखित गोत्रकारहरु पनि त्रिप्रवरात्मकनै रहेका छन्, तर , यसमा कुंडिन, मित्रावरुण एवं वसिष्ठ यी टिनोटा प्रवरहरु रहेका छन – औपस्थल (जपस्वस्थ, ग), कुंडिब, त्रैशृंगायण (त्रैशृंग, ग), पैप्पलादि, बाल (घव), मक्षति (ग), माध्यंदिन, लोहलय (हाल-हल का पाठभेद), विचक्षुष (विवर्धक), सैबल्क (सर्वसैलाब), स्वस्थलि (ग) |

(४) वसिष्ठकुलका निम्नलिखित गोत्रप्रवर् – अत्रि, जातुकर्ण एवं वसिष्ठ भनेर चिह्निएको छ ,जसमा आलंब (ग), क्रोडोदय, दानकाय (ग), नागेय (ग), परम (ग), पादप, महावीर्य (ग), वय, वायन, शिवकर्ण (शवकर्ण) एअहेका छन |

जातुकर्ण्य नामधारी
=============

वसिष्ठगोत्रीय मान्छेहरुमा ‘जातुकर्ण्य’ पैतृक नाउँ नै राख्नेहरु हुने गर्छन | यै नाम गरेका एउटा ऋषिले वेद व्यासलाई वेद र पुराणहरुको शिक्षा दीक्षा दिएका थिए | यसै कारणले जातुकर्ण्यलाई अठ्ठाईस द्वापारयुगहरु मध्ये एक युगको व्यास भनिएको हो [वायु. २३.११५-२१९] |

वसिष्ठकुलका मंत्रकार ऋषिहरु
====================

ऋषि वसिष्ठका कुलका वैदिक मंत्र द्रष्टार ऋषिहरुको नामावली वायु, मत्स्य एवं ब्रह्मांड पुराणहरुमा विस्तृत रुपमा छ [वायु. पु.५९.१०५-१०६];[ मत्स्य. पु. १४५.१०९-११०];[ ब्रह्मांड. पु. २.३२.११५-११६] | यसमध्ये वायु पुराणमा उल्लेख गरिएको नामावली मत्स्य, एवं ब्रह्मांड पुराणमा अलिकति फरक छ , जसलाई पाठान्तर अनुसार उल्लेख गर्ने प्रयाश गरिएको छ – इंद्रप्रमति (इंद्रप्रतिम,), कुंडिन, पराशर, बृहस्पति, भरद्वसु, भरद्वाज, मैत्रावरुण (मैत्रावरुणि), वसिष्ठ, शक्ति, सुद्युम्न |

नेपाली समाज
—————
नेपाली समाजमा सेंचुरी , सुयल (घर्ती), राउत, सुएल घर्ती , सुएल थापा , दवाडी, थान्सिङे, थान्सिंगे भण्डारी, खरेल, चालिसे, मुडबरी, गैह्रे,भट्टराई , मुडवरी ,पाठक,केशरी ,सुएल राउत , फ़लाकोटी ,सोती आदि वसिष्ठ गोत्र भनेर चिह्निएका छन् |-प्रवीण अधिकारी |

Leave a Reply

Your email address will not be published. Required fields are marked *