Best Online News From Nepal

सत्ताको फोहोरी खेलमा लागेर अन्तर्घात प्रतिघातको चक्रव्यूहमा देशलाई फँसाउने को थिए ?

Dr.Nirmala Mani Adhikary——–

1917706_1152193377489_6054639_n
वो डाल डाल और वो पात पात [एक ही थैली के चट्टे बट्टे] :—
२०४७ सालको संविधान लागू भएपछि विधि पद्धति प्रक्रिया प्रणाली चल्न सक्ने अवस्था थियो, कानुनको सर्वोच्चता हुन सक्ने अवस्था थियो । भयोचाहिँ के ?
आफैँले बनाएको संविधानलाई संविधान लागू भएको दिनमै आलोचनात्मक समर्थन को निहुँमा करौँती चलाउने को थियो ? मदन भण्डारीको नेतृत्वमा रहेको नेकपा एमाले ।
संविधान अनुसार निर्वाचन सम्पन्न भएर बहुमत प्राप्त गरेको पार्टीको वैधानिक सरकार बनेको केही दिनमै त्यो सरकारलाई जुलुस, तोडफोड, हुलदंगा मार्फत् अपदस्थ गर्न आन्दोलन सुरु गर्ने को थियो ? मदन भण्डारीको नेतृत्वमा रहेको नेकपा एमाले ।
मन्त्रीपरिषद्को पहिलो बैठकमै मन्त्रीहरुलाई मिलाएर खान छुट दिइएको बताएर र सरकारी स्वामित्वमा रहेका उद्योगधन्दा कौडीको मूल्यमा बेच्दै क्रमशः भ्रष्टाचारलाई संस्थागत बनाउने को थियो ? नेपाली कांग्रेस संसदीय दलको नेतृत्व गर्दै प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइराला ।
कथित शिशु प्रजातन्त्रलाई कुठाराघात गर्दै सत्ताको फोहोरी खेलमा लागेर अन्तर्घात प्रतिघातको चक्रव्यूहमा देशलाई फँसाउने को थिए ? कांग्रेसका शीर्षस्थ नेताहरु कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला तथा तिनका चण्डमुण्डहरु ।
कांग्रेसको आन्तरिक द्वन्द्वमा सारा देशलाई नै बन्धक बनाएर संसद विघटन गर्ने गिरिजाप्रसाद कोइरालाको अनैतिक (तर राजनीतिक हिसाबले वैधानिक) कदमलाई वैधानिकता दिने क्रममा तत्कालीन मुद्दामा आवश्यकै नरहेको विषयवस्तुमा समेत प्रवेश गरी संसदीय व्यवस्थाको पद्धतिको प्रतिकूल हुने गरी नजीर स्थापना सहित फैसला गर्ने को थिए ? सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्याय ।
सर्वोच्च अदालतको प्राविधिक फैसलालाई न्यायिक वा संसदीय प्रक्रियामार्फत् चुनौती नदिएर जुलुस, तोडफोड, हुलदंगा मार्फत् सर्वोच्च अदालतलाई नै बन्धक बनाउन प्रयत्न गर्ने को थियो ? नेकपा एमाले ।
सत्तासुखको लागि निर्लज्ज भई संसदीय व्यवस्थाको चीरहरण गर्ने को थिए ? कांग्रेस, एमाले र राप्रपा (भू.पू. पञ्चहरुको गठबन्धन) ।
आइ.एन.जी.ओ. एन.जी.ओ.को चक्रव्यूहमा देशलाई फँसाएर राज्य संयन्त्रलाई धमिराले झैँ ध्वस्त पार्ने कुकर्मको ठेक्दार को हो ? नेकपा एमाले ।
कर्मचारीतन्त्र, सुरक्षासंयन्त्र, सामाजिक संस्था सबैमा सिण्डिकेट, लुट, दलाली, दण्डहीनता संस्थागत गराएको कसले ? एमाले र कांग्रेसले ।
जनप्रतिनिधिमूलक संसदीय व्यवस्था भर्खर स्थापना हुँदै गरेको अवस्थामा विदेशी डिजाइनमा विदेशीको सैन्य तालिम, हतियार सहयोग, आर्थिक सहयोग समेत लिएर कथित जनयुद्धको हिंसा मच्चाउने को थियो ? नेकपा माओवादी नाममा चलेको प्रचण्ड र बाबुराम भट्टराई लगायतको गठबन्धन ।
इतिहासको डम्पिंग साइटमा फेँकिइसकेका व्यक्तिहरु तथा गुटहरुको उक्साहटमा परेर एवं विदेशीका षडयन्त्रमा फँसेर असंवैधानिक, अवैधानिक, अमर्यादित तरिकाले सत्ताकब्जा गरी आफ्नै खुट्टामा बन्चरो हान्ने को हुन् ? राजा ज्ञानेन्द्र ।
सत्तासुखको लागि विदेशी डिजाइन अनुसार गठबन्धन गरी देशको सार्वभौमसत्तालाई छिमेकी देशको दूताबासमा बन्धकी राख्ने को हो ? कांग्रेस, एमाले, माओवादी सहितको गठबन्धन ।
वैधानिक, नैतिक, राजनीतिक कुनै पनि आधारबिना दूरगामी असर पर्ने गरी विदेशी तथा विधर्मी समेतको डिक्टेसनमा भएको धर्मनिरपेक्षता लगायतका निर्णयहरुमा सहीछाप गरेको कसले ? पुनस्र्थापित भनिएको प्रतिनिधिसभामार्फत् कांग्रेस, एमाले, माओवादी, भू.पू. पञ्चहरु लगायतले ।
छिमेकी देशको राजदूतको डिक्टेसन अनुसार रातारात अन्तरिम संविधानमा संशोधन गरी (संविधानसभाको वैधानिक प्रक्रियालाई अन्तरिम संविधानबाटै निर्देशित नियन्त्रित गरी) गणतन्त्र घोषणा गर्ने को थियो ? कांग्रेस, एमाले, माओवादी सहितको गठबन्धन ।
न्यायपालिकालाई समेत राजनीतिक पार्टीहरु, आइ.एन.जी.ओ. एन.जी.ओ. तथा विदेशी दूतावासहरुको सिण्डिकेटमा फँसाएको कसले ? एमाले, कांग्रेस, माओवादी लगायतले ।
कर्मचारीतन्त्रका प्रमुख, सुरक्षासंयन्त्रका प्रमुख, न्यायपालिकाका न्यायाधीशले समेत राजनीतिक पार्टीलाई लेबी तिर्ने अवस्थामा देशलाई खँगारेको कसले ? एमाले, कांग्रेस, माओवादी, राप्रपा, मधेशवादी, जनजातिवादी, राजावादी, कथित नागरिक समाज, कथित नयाँ भनाउँदाहरु लगायतले ।
देशलाई दक्षिण र उत्तरका छिमेकी देशहरुका साथसाथै पश्चिमा (क्रिस्चियन) र अरब (मुस्लिम) देशहरुले साँपसिँढी खेल खेल्ने थलो बनाएको कसले ? एमाले, कांग्रेस, माओवादी, राप्रपा, मधेशवादी, जनजातिवादी, राजावादी, कथित नागरिक समाज, कथित नयाँ भनाउँदाहरु लगायतले ।
कर्मचारीतन्त्र, सुरक्षासंयन्त्र र न्यायपालिका समेत गुटबन्दी, सिण्डिकेट, दलाली, भागबण्डामा जकडिएको अवस्थामा पुगिसकेको यो देशमा अब विधि पद्धति प्रक्रिया प्रणाली, कानुनको शासन ल्याउने कसले ? विचार गरौँ ।

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *