Best Online News From Nepal

संस्थानका कर्मचारीलाई केरा र सक्खर

सार्वजनिक संस्थानले आफ्ना कर्मचारीलाई लुगा धुनेदेखि केरा भत्तासम्म दिने गरेको पाइएको छ । वर्षौंदेखि नोक्सानीमा चल्दै आएको नेपाल आयल निगमले कर्मचारीलाई लुगा धुने र हेटौंटा सिमेन्ट उद्योगले केरा र सक्खर भत्ता दिने गरेको पाइएको हो । अर्थ मन्त्रालयले विभिन्न संस्थानले कर्मचारीलाई दिने गरेको भत्ताको विवरण माग गर्दा यस्तो तथ्य फेला परेको छ । मन्त्रालयका अनुसार लामो समयदेखि नोक्सानीमा सञ्चालन भएर झन्डै ३३ अर्ब रूपैयाँ सञ्चित नोक्सानीमा सञ्चालित नेपाल आयल निगममा कार्यरत कर्मचारीले मासिक रूपमा लुगा धुने भत्तासमेत पाउने गरेका छन् । निगमले आफ्ना कर्मचारीलाई लुगा धुने शीर्षकमा प्रतिमहिना ३ सय ७५ रुपैयाँ भत्ता दिँदै आएको छ । आयल निगमका कर्मचारीले घर मर्मत र संरक्षण भत्ता पनि पाउँदै आएका छन् ।

निगमले कर्मचारीलाई प्रतिमहिना १ हजार ६ सय २० रुपैयाँ घर मर्मत संरक्षण भत्ता दिने गरेको छ । यस्तै, कर्मचारीले पेट्रालियम पदार्थ जोखिम भत्ताबापत प्रतिमहिना ४ हजार ५ सय रुपैयाँ पनि पाउँदै आएका छन् । कर्मचारीलाई विभिन्न नाममा भत्ता दिने गरिए पनि संस्थानहरूको प्रगति सन्तोषजनक नहुनु दुःखद् विषय भएको सार्वजनिक संस्थान निर्देशन बोर्डका निवर्तमान अध्यक्ष विमल वाग्लेले बताए । ट्रेड युनियनको आडमा सेवा सुविधा बढाउन कर्मचारीले दबाब दिने र गए सरकारकै जाने त हो नि भन्दै निर्णयकर्ताले सुविधा बढाइदिने परिपाटीका कारण यस्तो समस्या आएको उनको भनाइ छ । राजधानी दैनिकले समाचार छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *