Best Online News From Nepal

संस्कार के हो ? संस्कारिक कृत्य किन गरिनु पर्दछ ?

प्रवीण अधिकारी 
sanskar-696x69612

====================================
संस्कार शब्दको अर्थ हो – शुद्धिकरण अर्थात् मन, वाणी र शरीरको शुद्धिकरण गर्नु हो संस्कार | यसमा संस्कारलाई विच्छेद गर्दा समले सम्यक रुपमा राम्रा भन्ने अर्थ र कारले काम वा कृति भन्ने जनाउँदछ | यसलाई यसरीपनि बुझ्ने प्रयाशगरी हेरौं – प्रत्येक काम संस्कारयुक्त होओस भन्ने कुरा संस्कार शब्दले समेटेको मर्म हो | केरा खाएर बोक्रो फ्याक्नु कृत्य हो | त्यो बोक्रो फोहोर फ्याल्ने ठाउँमा लगेर मिल्काउनु प्रकृति हो र त्यो बोक्रो सडकमा फ्याल्नु विकृति हो भने त्यसलाई टिपेर फोहोर फ्याल्ने ठाउँमा लगेर मिल्काउनु संस्कृति हो | भोक लागेर खानु प्रकृति हो | अर्काको भाग समेत खाई दिनु विकृति हो , सबैले खाए खाएनन भनेर खोजीगरी ख्वाउनु संस्कृति हो | मानवका सदगुणहरु वृद्धि गर्न दोषहरु हटाउनु संस्कार हो |

‘संस्कार’ संस्कृत भाषाको शब्द हो | कोहिपनि मान्छेको जन्मजात गुणहरु उसमा आफै अलंकृत हुन पुग्दा संस्कार भनिन पुग्दछ | यहाँ संस्कारको अर्थ हो – कुनै पनि व्यक्तिलाई संस्कृत गर्नु / शुद्ध गर्नु / उपयुक्त तुल्याउनु | यसकारण साधारण भन्दा साधारण व्यक्तिहरुपनि आफुलाई संस्कारित गर्ने गर्दछन | त्यसैले सनातनी मान्यता अंगाली सविधि संस्कार गरिएको संस्कारित व्यक्तिमा विलक्षण र अवर्णनीय गुणहरु प्रवेश गर्दछ भन्ने मान्यता राखिएको हुन्छ | यहीकुरो औंल्याएर हाम्रा ऋषि-मुनिहरुले मानव जीवनलाई मर्यादित बनाउन जुन संस्कारहरुको स्थापना गरिदिएका थिए त्यो हाम्रो संस्कृति भएर झल्किएको हो र हाम्रो सनातन संस्कृतिलाई संस्कारमा आधारित संस्कृति भन्ने गरिएको हो | यो कुरोलाई अझ यसरी भनम , विशेष प्रकारको धार्मिक कृत्यहरुलाई विधिपूर्वक गराई आफु र आफ्नो सन्तानहरुलाई उत्तम चरित्रको बनाउने सपना देख्नु र त्यसरी संस्कारित भएको सन्तानहरु तिनको जीवनकालमा निकै उचाई प्राप्त गरी सभ्य , सुसंस्कृत र चरित्रवान जीवन जिउन सकुन र तिनीहरुबाट जन्मिने सन्तानहरुपनि सोही अनुरुपको हुनपुगि असल मर्यादा युक्त समाज निर्माण हुन सकोस भन्ने अभिलाषा बोकी मानवीय विशिष्टता प्राप्तिकोलागि गरिने धार्मिक प्रक्रिया र कर्महरु नै हाम्रो समाजको प्रचलित ‘संस्कार’ हो भन्नुपर्ने हुन्छ |

यही मर्म बुझेर आदि शंकराचार्यले –

“संस्कारों हि नाम संस्कार्यस्य गुणाधानेन वा स्याद्दोषापनयनेन वा” भन्न पुगेका थिए अर्थात मानव जातिलाई गुणवान बनाउन तथा उनमा भएका दोषहरु फाल्न गरिने कर्म नै संस्कार हो | हाम्रो प्राचिन ग्रन्थ विशेष गरी ऋग्वेदमा संस्कारहरुको उल्लेख ज्यादै सीमित रुपमा उल्लेख गरिएको छ | त्यस ग्रंथमा रहेका केही सूक्तहरुले विवाह, गर्भाधान र अंत्येष्टि जस्ता केही सीमित कृत्यहरु संक्षेपमा वर्णन गरिदिएको छ भने यजुर्वेदले पनि विशेष गरी केही श्रौत यज्ञहरु विषयमा जानकारी गराएको छ | यी दुवै ग्रंथहरुबाट हाम्रो संस्कारहरुको खासै जानकारीहरु पाउन नसके पनि अथर्ववेदले चाहीं विवाह, अंत्येष्टि र गर्भाधान संस्कारहरुको विस्तृत वर्णन गरिदिएको पाइन्छ | उता ब्राह्मण ग्रन्थहरु मध्ये गोपथ र शतपथ ब्राह्मणले उपनयन गोदान संस्कारहरुको वर्णन गरेको छ भने तैत्तिरीय उपनिषद्ले बटुकले शिक्षा समाप्त गरेपछि आचार्यलाई दीक्षांत गर्नुपर्ने कुरा उल्लेख गरिदिएको छ | यसप्रकार गृह्यसूत्रहरु भन्दा पहिलेका वैदिक ग्रन्थहरुमा हामीले हाम्रा संस्कारहरुको विधिहरु व्यापक रुपमा भेट्न सक्तैनौ | यसको अर्थ के पनि हो भने गृहसूत्रहरु तयार पारिनु अघि हाम्रा संस्कारहरु परंपरा अनुसार मात्र चल्ने गरेका रहेछन र तत्कालिन प्रथाहरुकै आधारमा संस्कारहरु सम्पादन गरिने चलन चलेर गएको रहेछ | वेद पछिका वैदिक ग्रन्थहरु विशेष गरी गृहसूत्रहरुमा चाही संस्कारहरुको पूर्ण पद्धतिको वर्णन गरिएको पाइन्छ र व्यास स्मृतिनै हाम्रो त्यस्तो पहिलो ग्रन्थ हो जसमा हाम्रा सोह्र संस्कारहरुको सविधि विस्तृत वर्णन गरिएको छ |

नेपालमा संस्कार शब्दको प्रयोग दुईटा अर्थमा गर्ने गरिन्छ | पहिलो त्यस्तो योग जसले हाम्रो मनोविज्ञानमा त्यस्तो भावना वा प्रभावलाई जगाउन सकोस र मान्छेलाई त्यस्तो ‘इम्प्रेशन’ देवोस कि उसमा कुनै कुरा गर्ने ईक्षा वा संस्कार कर्म गर्न पट्टि प्रेरणा जागृत हुन सकोस | यसरी मान्छेको मनमा आउने उसका सोचले संस्कार निर्माण गर्न पुगेको हुन्छ | जसले गर्दा ती संस्कारहरुले हामी मानवहरुमा असल सोचहरुको उदयको कारण बन्न पुग्न जान्छ | अर्को अर्थको रुपमा हेर्दा मान्छेको सोचाइको परिमार्जन, परिष्करण, शुद्धिकरण, परिपक्वीकरणनै संस्कार हो भन्नुपर्ने हुन्छ | हाम्रो संस्कृतिको आधारभूत कुराहरुको रुपमा ‘संस्कार’ शब्दले माथिको दुवै अर्थ समेटेपनि हामी मान्छेले आफ्नो कायिक, वाचिक, मानसिक, बौद्धिक एवं आस्थागत प्रवृत्तिलाई परिष्कृत गरेर उदात्त र श्रेष्ठ बनाउन पुगेपछि हाम्रो ‘इम्पेशन्स’ या संस्कार गहराई सम्म पुग्दछ | त्यसैको कारणले मान्छे आफ्नो संस्कारमा अडिग रहन सक्तछ र जसले गर्दा उसका प्रत्येक क्रियाकलापहरुमा उसले पाएको संस्कार अभिव्यक्त हुने गर्दछ | खासमा यसरी स्वस्फुर्त रुपमा प्रष्टिने अभिव्यक्ति नै हाम्रो संस्कृति कहलिन पुगेको हो |

संस्कारको किसिम
============
हाम्रा पूर्वाचार्यहरुले हामी मानवहरुले पाउने संस्कारहरुलाई ३ किसिमले प्रष्ट्याउने प्रयास गरेका छन् | पहिलो हो -वाणी संस्कार जसको अर्थ वाणीको चतुराई मात्र नभई सत्यवत वाणी नै संस्कारित वाणी हो भन्ने देखिन्छ | मधुमती वाणी, कल्याणी वाणी आदि यसैका प्रकार हुन | हाम्रा पूर्वज विचारक ऋषि मुनिहरूको मतमा –

“ शब्दब्रह्माणि निष्णातः परं ब्रह्माधि गच्छति।”
अर्थात्-शब्दब्रह्ममा निष्णात भएको व्यक्तिले मात्र परमब्रह्म प्राप्त गर्न सक्तछ |
परावाक – यो नै वाणीको मूल रूप हो | यसैलाई शब्दब्रह्म भनिन्छ | भतृहरिका अनुसार मान्छेहरुमा हुने प्रतिभाहरुको अभिव्यक्ति वाणीमै अन्तर्निहित भएको हुन्छ | वाणीमा चिन्तन शक्ति रहने हुँदा वाणी संस्कारको अर्थ मीठो सरस पूर्ण उच्चारणमात्र होइन उसको चिन्तन संस्कारपनि हो भन्ने गरिन्छ | परिष्कृत, उदात्त, सत्यनिष्ठ चिन्तननै वाणी संस्कार प्रारुप हो | यहीकुरो औंल्याउँदै वैदिक ऋषिहरुले भनेका थिए –

‘वाचः सत्यमशीय” (यजुर्वेद ३६४ )
अर्थात- म आफ्नो वाणीमा सत्यलाई प्रतिष्ठित गर्नेछु | यसबाहेक उनीहरुले –

सा मा सत्योक्तिः परिपातु विश्वतः (ऋग्वेद १० /३७ /१२ )
अर्थात-सत्यकुरो बोलेर म आफुलाई सबै दूर्गुणहरुबाट जोगाउन सकूँ |

यसकारण मान्छेले विराट् वैभव परमात्माले दिएको आफ्नो वाणीको सदूपयोग गर्ने काम वाणी संस्कार गरेर गर्न सक्दछ | यसकोलागि मान्छेमा ज्ञान-साधना, चिन्तन-परिष्कार, विचार संयम हुनु पर्यो | शब्दको सहयोग नपुगे विचार आउन सक्तैन | अतः विचार साधना र वाणी साधना पर्याय मानिएको हो | छान्दोग्यपनिषद्मा सनत्कुमारले नारदलाई भनेका छन् –
“ वाग्वाब नाम्नों भुयसी, वाग्वा ऋग्वेद विज्ञापयति यजुर्वेद सामवेद माथर्वण चतुर्थमितिहास पुराणं पज्चमं वेदाना वेदं पिव्यं राशि दैव निधिं…………धर्म चाधर्म च सत्यं चानृत च साधु चासाधु च…………………वागेवैर्त्सव विज्ञापति वाचमुपास्स्वेति॥“
(छान्दोग्यपनिषद ७ /२ /१ )
अर्थात्- वाणी नाम भन्दा ठूलो हो | यसले ऋग्वेदलाई समेत टिप्न सक्तछ | यजुर्वेद, सामवेद, अथर्व वेद, पंचम वेद इतिहास, पुराण, वेदहरुको वेद व्याकरण आदि समस्त विधाहरु , धर्म-अधर्म, सत्य-असत्य, साधु-असाधु यी सबै कुराहरु वाणीले टिपेको हो | यसर्थ हाम्रो वाणी मधुर र सत्य हुनु परेको हो | शकंराचार्यले मुख्य परोक्षानुभूति भन्ने ग्रन्थमा भनेका छन –

“नीत्पद्यते बिना ज्ञानं विचारेणाऽन्य साधनैः।”

अर्थात्- ज्ञान विचार बाहेक अरुकुरा बात पाउन सकिन्न | यसैले विचार् साधना, ज्ञान-साधना नै वाणी-साधनाको सही स्वरुप मानिएको हो |
मन – संस्कारको तेश्रो सर्वोपरि संस्कार हो मन | यसको लक्षण ‘चेतयितृत्व’ अर्थात- मन बोधयुक्त हुन्छ र यसले निर्णय गर्न सक्तछ | यसको पर्याय नाउँ चित्त , बुद्धि, अंहकार आदि हो | अन्तःष्करण समुच्चय यसैको नाउँ हो | संस्कार, आस्था, भाव , सम्वेदना मानव मनमै हुर्किन्छ | शरीरको संस्कार एवं वाणी संस्कार गर्ने प्रेरणापनि मान्छेको परिष्कृत, सुसंस्कृत मनमै हुर्किएको हुन्छ | अतः हाम्रो मन भित्र हुर्किने संस्कारले सर्वोपरी संस्कारको स्वरुप निर्धारण गर्ने गरेको हो | मन संस्कारित भएमा मात्र शरीर सक्रिय हुन्छ भन्ने सनातनी मान्यता भित्र छिरेको हो |
हाम्रो मनको दृढ़ता चित्त संस्कारमै निर्भर रहेको हुन्छ | हाम्रो मनमा जुन संस्कारले जति गहिरो छाप छोडेको हुन्छ त्यसद्वारा प्रेरित भएका कुरा पनि त्यतिनै दह्रो हुने गर्दछ | बिना आस्था ,बिना गहिरो विश्वास , संकल्प गरिएको हुँदैन , हाम्रो विश्वास प्रतिरुपनै संकल्प हो | यस अर्थमा हाम्रा आस्थाहरु – बिउ हो भने हाम्रो संकल्प रुख हो | यसैमा हाम्रा विचार एवं क्रियाका फलफूल फाल्ने गर्दछ | वैशेषिक दर्शनमा हाम्रा संस्कारका तीन विशेषताहरु रहेको बताइएको छ – भावना, वेग र स्थिति | यिनैकुराहरु हामी मानवमा भावनात्मक रुपमा रहने हुँदा र तीनै भावनाहरु समय समयमा मान्छेको संकल्प बनि दिन्छन | हाम्रा संस्कारहरुको अघिपछि हाम्रा सबै क्रियाकलापहरु रहन्छन |

मनैदेखि भित्रिने संस्कारबाट प्रज्ञाको जन्म हुने गर्दछ | हाम्रो संस्कारित मनको सबै भन्दा ठूलो शक्ति श्रद्धा हो | श्रद्धाले नै मान्छेलाई मान्छे बन्न सिकाउँछ | यसले विचार एवं क्रियाको स्वरुप निर्धारण गर्ने गर्दछ | सुंसस्कृत मनमै सात्विक श्रद्धा हुर्किन्छ | यस्तो हुँदा मात्र हाम्रा भावना विचार एवं क्रियाकलाफरुले मानवीय श्रेष्ठता बोक्न सक्तछ | असल भावनाहरु सद्भाव बनी प्रकट हुन्छन | त्यसैले हामीले श्रेष्ठ विचार लाई सद्विचार र हाम्रा असल क्रियाकलापलाई सदाचार भन्ने गरेका हौँ | यसैलाई सद्भाव, सद्ज्ञान एवं सर्त्कम पनि भनिएको हो | शरीर असल संस्कारको परिणाम हो भने सदविचार मनदेखि आउने संस्कारको परीणति हो | संस्कृति व्यक्तिको मात्र होइन समाजकोपनि हुने गर्दछ | यसैले संस्कृतिलाई हाम्रो समाजको सम्पति र सामाजिक परम्परालाई संस्कृति भनिएको हो |

प्रसिद्ध विचारक टी.एस. इलियटले आफ्नो पुस्तक “नोट्स टुबर्ड ए डेफिनीशन अफ कल्चर” मा व्यक्तिको संस्कृति समूह या वर्गको संस्कृतिमा निर्भर गर्दछ | त्यो वर्ग या ‘क्लास’ को संस्कृति उ हुर्केको समाजको संस्कृतिमा आश्रित भएको हुन्छ भन्न भ्याएका हुन | ‘जब परिवार रूपी इकाइले मान्छेलाई आफ्नो संस्कृति सिकाउन सक्तैन त्यतिखेर त्यो वर्ग संस्कृति अधोगति तिर जान्छ | यसकारण संस्कृतिलाई जीवन्त राख्न परिवारको भूमिका प्रधान रुपमा रहेको मानिन्छ | शरीर , वाणी र मनरुपी त्रिविध संस्कारहरुको सामूहिक साधना बाटनै संस्कृति विकसित भई जीवन्त रहने गरेको हुन्छ | यसको प्रथम इकाई परिवार हो | परिवारनै शरीर, वाणी र अन्तः ष्करणको सामूहिक संस्कार साधनाको आधारभूत क्षेत्र हो | त्यसैमा विकसित भएको संस्कृति मात्रै सामाजिक-संस्कृतिको रुप निर्धारण गरी स्थायी रहन सक्तछ |-प्रवीण अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *