Best Online News From Nepal

संविधान दिवसको सन्दर्भमा

  • मिति २०७४।०६।०३)—-
(१) नेपालमा वर्तमान संविधानको निर्माण प्रक्रिया र अन्तर्वस्तु दुइटै विवादित रहे । संविधान औपचारिक रुपमा लागू भएको दिनमा पनि मत द्वैविध्य देखिएकै थियो ः संविधानको समर्थनमा दिपावली र विरोधमा नारा, जुलुश, बत्ती निभाउ (ब्ल्याकआउट्) जस्ता क्रियाकलाप भएका थिए ।
(२) यो संविधानमा केही गम्भीर त्रुटी, गल्ती, अनुपयुक्त प्रावधानहरु छन् । जस्तै ः संविधानको दार्शनिक दृष्टिकोण पूर्णतः पराइ स्रोत (पश्चिमा प्रतिमान) मा आधारित हुनु, संविधानको प्रस्तावना निन्दात्मक दृष्टिकोणले ओतप्रोत हुनु र नेपालको गौरवशाली इतिहास, संस्कृति, परम्परा, सभ्यतालाई आत्मसात् गर्न नसक्नु, देशलाई समाजवाद उन्मुख भनेर गतार्थ (आउट्डेटेड्) मताग्रहको भारी बोकाउनु, जातीय प्रजातीय नश्लीय आधारमा घृणावादी द्वन्द्व गर्न चाहनेहरुलाई मद्दत पुग्ने गरी विभिन्न समूह (क्लस्टर) को कित्ताकाट गर्नु, नेपाल वैदिक सनातन (हिन्दू पनि भनिने), बौद्ध, किराती, जैन, बोन लगायतका धर्म संस्कृति परम्पराको मौलिक थलो भएको गौरवलाई आत्मसात् नगरी नेपालका लागि असान्दर्भिक रहेको कथित धर्मनिरपेक्षताको घाँडो भिर्नु, कथित धर्मनिरपेक्षताको समेत प्रतिकूल हुने गरी मुस्लिम (इस्लामका अनुयायी) का लागि विशेष संरक्षणको प्रावधान राखी धर्म सम्प्रदायका आधारमा तुष्टिकरण गर्ने प्रवृत्तिलाई अंगीकार गर्नु, क्रिस्चियन (इसाइ) मिसनरी लगायतका आक्रमणकारी प्रवृत्तिका सम्प्रदायको वैश्विक सञ्जालको घातक गतिविधिलाई रोक्न राज्यको विशेष भूमिका रहनु पर्ने यथार्थ अनुरुपको प्रावधान नहुनु, देशको सरकारी कामकाजको भाषा, राष्ट्रभाषा एवं भाषिक विविधताको यथार्थका परिप्रेक्ष्यमा व्यावहारिक प्रावधान हुनु पर्नेमा भविष्यमा घृणावादी द्वन्द्व गर्न मिल्ने गरी अस्पष्ट शब्दजाल बुन्नु, नागरिकताको प्रावधान पनि नेपालको मौलिक रैथाने संस्कृति अनुसारको नहुनु, देशको प्राकृतिक, सांस्कृतिक, सामाजिक सम्पदाको संरक्षण, संवर्धन, प्रवर्धन गर्ने ठोस प्रावधान नहुनु, लोकतन्त्रको नाममा सीमित दल (पार्टी) हरुको हालीमुहाली (सिण्डिकेट्) चल्ने गरी अनेकौँ प्रावधानहरु राख्नु आदि आदि । माथि उल्लेखित त्रुटी, गल्ती, अनुपयुक्त प्रावधान संविधानमा किन रहे त ? किनभने यो संविधानको निर्माण कपू तन्त्र अन्तर्गत भएको हो ।
(३) कुनै पनि राष्ट्रका लागि भूमि र जनसमुदाय दुवै नै उत्तिकै महत्वपूर्ण अवयव हुन् । तर यो संविधान र अन्तर्गतका ऐन, नियम, विनियमहरुमा जनसंख्यालाई मात्र वा भूमिको तुलनामा जनसंख्यालाई विपत्ता बढी महत्व दिइएको छ । उक्त दृष्टिकोण नेपालको मौलिक रैथाने दर्शन, संस्कृति, परम्परा, व्यावहारिकता सबैको प्रतिकूल छ ।
(४) नेपालको वर्तमान संविधानमा कत्ति पनि सकारात्मक पक्ष छँदै छैनन् भनियो भने अर्को अतिवादी दृष्टिकोण हुन्छ । ती सकारात्मक पक्षको सह्राहना र सदुपयोग गर्नै पर्छ ।
(५) माथि उल्लेखित त्रुटी, कमी, कमजोरी इत्यादिको फेहरिस्तबाटै स्पष्ट हुन्छ कि यो संविधानलाई पुनर्लेखन नगरी हुँदैन । तर, हालसम्म वैधानिक मानिएको चुनावी प्रक्रियामा जनताको औपचारिक मत (भोट) पाएका पार्टी (दल) हरु एवं ती मार्फत् जनप्रतिनिधिको हैसियतमा रहेकाहरुको बहुमतले पारित गरी संविधान बनेर लागू भइसकेको अवस्थामा अहिलेको नेपालको वैधानिक लिखतचाहिँ वर्तमान संविधान नै हो भन्ने तथ्यलाई पनि ख्याल राख्नै पर्छ । कपू तन्त्र अन्तर्गतको चुनावी प्रक्रियामा जनताले जसलाई मत भोट दिए, उनीहरुले नै बनाएको संविधान भएको हुनाले कि कपू तन्त्र नै अस्वीकार गर्न सक्नु पर्यो, नत्र कपू तन्त्रले दिन सक्ने त एस्तै संविधान हो । समयको पांग्रा अगाडि बढिसकेपछि अगाडि बढ्यो बढ्यो । हरेक वर्ष वसन्त ऋतु आउँछ, तर यो वर्ष आएको वसन्त ऋतु पोहोरकै होइन, पोहोरजस्तै मात्र हो भन्ने तथ्य ख्याल राख्नै पर्छ । अर्थात्, यो संविधान आइसकेपछि अबको बाटो भनेको यो संविधान भन्दा पनि अग्रगामी हुने मात्र हो, पश्चगामी हुन मिल्दैन । तसर्थ, वर्तमान संविधानका विरोधीहरुले यो संविधानको किन विरोध गर्न परेको हो भन्ने कुरालाई जनसमक्ष लगी संविधानको खारेजी वा संशोधन वा पुनर्लेखनको लागि जनमतको शक्ति आर्जन गर्ने प्रयत्न गर्ने, तर अन्य संवैधानिक प्रावधानहरुले वर्तमान संवैधानिक प्रावधानहरुलाई विस्थापित वा प्रतिस्थापित नगरेसम्म वर्तमान संवैधानिक प्रावधानहरुले नै देशलाई चलाउने हो भन्ने तथ्य पनि ख्याल राख्नै पर्छ ।
(६) नेपालको संविधानको पुनर्लेखन हुनु पर्छ । संविधानको पुनर्लेखन गरी नेपालको मौलिक रैथाने प्रतिमान अनुसारको, वैज्ञानिक सत्ययुग उन्मुख, आधारशिला चतुष्टय (विज्ञानको बुद्धि, प्रविधिको प्रगति, धर्मको विवेक, सहृदयताको सम्बन्ध) लाई आत्मसात् गरेको, राज्यराष्ट्र सिद्धान्तलाई अवलम्बन गरेको संविधान बनाउने भन्ने नै हाम्रो आधिकारिक धारणा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *