Best Online News From Nepal

श्राद्ध के हो? किन गरिन्छ? कसरी गरिन्छ? कहिले गरिन्छ? पितृपक्ष र सोह्र श्राद्ध

10431504_626927997433007_3709033704417900396_n

परिचयः
श्राद्ध के हो? किन गरिन्छ? कसरी गरिन्छ? कहिले गरिन्छ? यी मूल प्रश्नहरु छन् हाम्रा सामु। आश्विनकृष्णपक्ष पूरै १५ दिन पितृपक्ष हो। यसलाई सोहश्राद्ध  भनिन्छ। पूर्णिमासमेतको गिन्तीले यो १६ दिनको भए पनि वास्तवमा सोह्रै दिन पूरा हुन्न। चतुर्दशीका दिन पनि शस्त्राश्त्रले हताहत भई मरेकाका लागि मात्र गरिन्छ। सामान्यदिनहरुमा यो लगभग १३।१४ दिनको हुन्छ र एकदिन मघायुक्ततिथि पर्नाले छोराहरु हुनेले पितृपक्ष भए पनि त्यो दिन पिण्डदान गर्दैनन्। मघायां पिण्ड दानेन ज्येष्ठ पुत्रो हनिष्यति। मघामा पिण्डदान गर्नाले जेठो छोरोलाई हानी हुन पुग्छ। अन्यतिथि खोजी सोह्र श्राद्ध गर्छन् वा अँौंसी, एकादशीमा गर्छन् वा सिदा तर्पणवाटै बिसर्जन गर्छन् पितृहरुलाई। श्राद्धको परिचय गर्नु पर्दा मूलतः श्राद्ध भनेको श्रद्धा नै हो। आफ्ना दिवंगत पितृहरुको उद्धार, उनीहरु प्रतिको समर्पणभाव र उनीहरुप्रतिको दयाभाव हो। आफ्ना पिता, माता र पुर्खा बिना यस धर्तीमा उदय असंभव भएको र उनीहरुकै प्रेरणा पाएर, उनीहरुकै लालन, पालन, उचित शिक्षाको प्रबन्ध भएरै सन्ततिहरु अघि बढेका हुन्छन्। बिशेषज्ञ सेवा पाएर डाक्टर, वकिल, इन्जिनियर, पत्रकार, लेखक, साहित्यकार, प्रशासक, नेता र उच्च वर्गदेखि सारा मानवजीवन संचालन भैरहेको हुन्छ। इतिहास र पूर्वजको संस्मरण बिना आजको सुरु र भविष्यको समुन्नत सुखको कल्पना निरर्थक हुन्छ। दिवंगत पितृहरुले जीवमा ८४ लाखमध्ये कुनै न कुनै प्राणीमा उनीहरुले देह धारण गरेका हुन्छन् र तत्तत् योनिका खाना स्वरुप आ–आफ्ना दिवंगत पितृहरु तृप्त हुन्छन् र देवत्वमा प्राप्त गरेका पितृहरुले पनि आफ्नो सन्ततिवाट केही आशा गरेका हुन्छन्। त्यसैले समय र स्थान बिशेष परिवर्तन र वातावरण अनुकूल नभएकै कारण देखाई पुत्रहरुले पितृप्रति गरिने कर्म लोप गर्न मिल्दैन। आफ्नो गच्छेअनुसार पितृदेवताको उपासना गर्नै पर्ने हुन्छ।

तर्पण :  

अघिल्लोदिन एकभक्तिमा बसेर, श्राद्धको दिन सर्वप्रथम तर्पणको आरंभ गरिन्छ। पु नामक नरकबाट तार्नेको नाम पुत्र भएकाले भावी र बिगतका पिँढीहरुका लागि छोराको कर्तव्य किंचित् बढी तोकिएको छ। लालना, पालना र कर्मको खातिर वावुले, आमाले गरेको अथक प्रयास र सो ऋणवाट चुक्ता हुने गतिलो साधन भनेको वर्षभरि मरेका पितृहरुका नाममा गरिने तर्पण नै हो। शास्त्रीयप्रमाण खासगरी ब्रह्मपुराण, नारदपुराण, भविष्यपुराण, हेमाद्री, मनुस्मृति याज्ञबल्क्य आदि र अन्यसंहितालाई आधार बनाएर तर्पणको क्रममा हरेकबिहान तर्पण संभव नदेखिंदा आजभोलि श्राद्धकैदिन अघि वा पछाडि गर्ने चलन चरेको छ। जौ तिल कुशले प्रतिज्ञा गरी जलदान गर्ने काम नै तर्पण हो। यसमा सर्वप्रथम ब्रह्मादि ३ देवताहरुलाई जनै सव्यले जलदान गरिन्छ। पूर्व फर्केर प्रजापति, देवताहरु, ऋषिहरु, गन्धर्वहरु, देवी, अप्सरा, नागहरु, यक्षहरु, पिशाच, भूत, पशु, मनुष्य, वनस्पति, औषधि, अत्रि, मरीचि, अत्रि आदि ऋषिहरु, भृगु, बशिष्ठ आदिलाई तिल कुशले जलदान गरिन्छ। त्यसपछि जनैलाई माला लगाएर दुईदुईपटक सातमनुष्यहरुलाइर्, पितृहरुलाई जलदान गरिन्छ। पछि अपसव्य भएर खगौतोवाट मोटक, तिलसहित दिव्य पितृहरुलाई तर्पण गरिन्छ। त्यसपछि आफ्ना पिता पुर्खा, मावली, बन्धुबान्धवलगायत दिवंगत सबै पितृहरुलाई तर्पणदान गरिन्छ।
सन्तति नभएर पिण्ड पानी नपाउनेहरुका लागि पछाडि छुटृै तर्पण गरिन्छ। जनैलाई जलमा चोपेर। पिशाचहरुले खान पाउने जल भनेको स्नान गर्दा लगाएको कपडा निचोरेको जल भन्ने पनि आहान छ। जनै निचरेर दिनु भनेको संकेत त्यही हो। पछि सूर्यलाई अर्ध्य दिई दशै दिशा नमस्कार पश्चात् तर्पणको बिधि पूरा हुन्छ।
श्राद्ध र यसका प्रकार :

(क) श्राद्ध धेरैप्रकारका हुन्छन्। हाम्रो ३६५ दिनको एक वर्ष हुन्छ भने पितृहरुको हाम्रो हुने १ वर्ष उनीहरुको एकदिन हो। त्यसैले दिनदिनै पुत्रसन्ततिवाट उनीहरुको आत्मा तृप्त हुने बिश्वासअनुरुप हरेक वर्ष दिवंगत भएको तिथि पारेर निष्ठापूर्वक एउटा उद्देश्य लिएर गरिने श्राद्ध एकोद्विष्टश्राद्ध हो। पितृपक्षमा एकोद्विष्ट पर्न गए एकापार्वणको रुपमा श्राद्ध गरिन्छ भने देवब्राह्मण र पितृब्राह्मण स्थापना गरी एकोद्विष्ट श्राद्ध एकापार्वणको बिधिले संपन्न गर्नु पर्ने हुन्छ। देवताहरु खुशी हुन्छन्। भक्तिभावले आंसुभाव, समर्पणभावाट देवता खुशी पर्ने माध्यम हो। भजन किर्तन, पुकार आदि शब्दको ख्याल नगर्दा पनि हुन्छ। यतिवेला जसले जसरी जान्दछ, सक्तछ उसैगरी पुकार गर्दा हुन्छ भने पितृभावमा यति सजिलो छैन। वाक्य शुद्धि हुनुपर्छ, वचन, बिभक्ति, कारक, पुरुष, सबै मिल्नु पर्छ। पितृहरुले आफूले दिएको वस्तु प्राप्त गर्न वाक्य शुद्धि हुनु जरुरी हुन्छ, अन्यथा कर्म निस्फल हुन्छ। एउटै पितृको उद्देश्यमा एकोद्विष्ट हुन्छ भने यसको समय पनि निर्धारण गरिएको छ। एकोद्विष्ट श्राद्ध मध्यान्ह कालमा गर्नु पर्ने हुन्छ।

(ख) घरमा शुभकर्म हुंदा पनि श्राद्ध गरिन्छ। सप्ताह, पुराण श्रवण, विवाह, ब्रतवन्ध, न्वारान, पास्नी लगायत सबैकिसिमका शुभ कर्म गर्नु अघि पितृको पूजा गरिनु पर्छ। यसमा खासगरी पिण्डदानको महिमा नभए पनि कुनै कर्म गर्नु अघि यो किन गरिन्छ भने देवता दिनेको प्रतीक हुन् भने पितृ हर्नेको पनि प्रतीक हुन। आफ्नो कुलमा कुनै संयोगको राम्रो कर्म हुंदा उनीहरुले सन्ततिवाट केही चाहेका हुन्छन्। यस्तो श्राद्धलाई बृद्धिश्राद्ध भनिन्छ। बढेर गरिएको शुभ कर्मको श्राद्ध हो यो। यसलाई आभ्युदायिकश्राद्ध पनि भनिन्छ भने योश्राद्धलाई नन्दीमुखीश्राद्ध पनि भनिन्छ। परिवेशअनुसार सबैश्राद्धको कर्म क्रियाहरु फरक हुन सक्छन्। यो बृद्धि श्राद्ध बिहानी मै गरिन्छ। कुनैसमय पर्खी बस्नु पर्दैन। मंगलाचरणको साथ साथै यो श्राद्ध गर्दै जाने प्रचलन छ।

(ग) तीर्थमा गरिने श्राद्धलाई तीर्थश्राद्ध भनिन्छ। गृहस्थीहरुको लागि तीर्थश्राद्ध एकदमै जरुरी छ। आँैंसी वा पावनतिथि पारेर सन्ततिले पितृउद्धारहेतु गंगा, यमुना, सरस्वतीको संगम, त्रिवेणीधाम, अयोध्या, मथुरा, काशी, अवन्तिका, पुरी, द्वारावती, गोदावरी जहां तीर्थस्थलहरु रहेका छन् गंगोत्तरी, यमुनोत्तरी, गया, पुनपुन, हरिद्वार, ऋषिकेश, बदरीकाधाम, केदारखण्ड, बिभिन्नघाटहरु, गोकर्ण, उत्तरगया, आर्यघाट, वाराहक्षेत्र, कागवेनीक्षेत्र, देवघाटलगायत आफ्नो शक्ति र क्षमताअनुसार पितृउद्धारहेतु तीर्थश्राद्ध गर्नु पर्ने बताइन्छ। तीर्थश्राद्ध एवं ब्रह्मकपालीबाटै पितृहरु तृप्त हुन्छन्। सन्ततिले दिएको जल पिण्डदानले उनीहरुले आफू तृप्त भएको महसूस गर्छन् र आशीर्वादस्वरुप धन, कीर्ति, सुख, भोग, यश, सम्मानलगायत आत्मउन्नति एवं सन्ततिको आचरण, व्यवहार शुद्धि, मर्यादापालन, नैतिकता एवं आफूप्रति उनीहरुले भविष्यसम्म गर्ने बिधि व्यवहार र मृतपछि उनीहरुले देखाउने श्रद्धाभावको लागि पनि आफूले आफ्ना पितृप्रति श्रद्धा गरिएको भाव आफ्ना सन्ततिलाई देखाउनकै लागि पनि गर्ने गरिन्छ। आफूले छोडेको काम आफ्नो सन्ततिवाट आशा गर्नु निरर्थक हुन्छ। स्वभावैले नयाँ पिंढी परिवर्तनकारी हुन्छन् भने असल परिवर्तन कार्यमा वावु आमाको प्रेरणा आवश्यक हुन्छ। तीर्थमा जौको पिण्ड दिने र श्राद्धको बिधान पनि फरक हुन्छ। गया वा तीर्थश्राद्ध नगरेसम्म पितृ तृप्त नहुने कुरा गरुडपुराणमा एवं पद्मपुराणमा उल्लेख गरिएको छ।

श्राद्धकर्ताको पत्नीको हातवाट तयार गरिएको पिण्डदान गर्नाले एकवर्षसम्म पितृहरु खुशी रहने बताइएको छ। त्यसैले कुलाचार अनुसार विवाह गरेर सोअनुसार सन्तति प्राप्त गर्नु पर्ने बताइएको हो। त्रेतायुगमा स्वयं श्रीरामले वनवासमा आफ्ना पिता दशरथको देहान्तको खवर सुनेर वालुवाकै भए पनि सर सामान सीतावाट तयार पारी श्रीरामले पिण्डदान गर्दा स्वयं दशरथ उपस्थित भई आफूले तृप्ति पाएको बताइएको छ। मूलकुरा बिश्वास र धारणाको कुरा हो। हाम्रो सभ्यता बिश्वासमै अडेको छ र बिश्वास कै कारण सूर्य, चन्द्र, धर्ती, आकाश, आदि सबै अडेका छन्।

(घ) दिवंगत सबै पितृहरुको उद्देश्य राखेर पिण्डदान गर्ने पर्व सोह्रश्राद्ध हो। सूर्य कन्याराशिमा प्रवेश गर्दा यो पर्व हुन्छ भने कन्याराशिमा सूर्य सरेको वखत दिवंगत पितृहरुलाई पिण्डदान नगर्ने पुत्रहरु पापी हुन्, कृतध्न हुन् भनेर बताइएको छ।
सूर्ये कन्यागते श्राद्धं यो न कूर्यात् गृहाश्रमी।
धनपुत्राः कुतस्तस्य पितृनिश्वास पीडनात्।
अर्थात् गृहस्थी भएर आश्विनको पितृपक्षमा श्राद्ध नगर्नेको लागि उसका धन र संपत्ति, बैभव एवं उसका सन्तति निरर्थक हुन्छन्, पितृहरुको श्वासप्रस्वास रोकेर उनीहरुलाई हुने पीडाले परिवारको भरण पोषणमात्र खोज्नु राम्रो हँुदैन। यो १५ दिनको पक्षभित्र जहिले श्राद्ध गरे पनि हुन्छ किन्तु वावुको या नसके वाजेको तिथिमा लिइनु राम्रो मानिन्छ। सूतक, जूठो वा असर्धो समय परे एकादशी या आँैंसीमा गरिनुपर्छ। रोकिएकोले नगर्ने भन्ने होइन, यो १५ दिन नै रोकिएमा लक्ष्मीपूजाको आँैसीमा गर्ने गरेको पनि पाइन्छ। यसमा खासगरी स्वाहा स्वधा दुवैको आवाहन गरिन्छ। देवऋषिहरु, पितृऋषिहरु स्थापना गरी स्वाहा र स्वधा मंत्रले पूजा गरिन्छ। एकातिर जनै सव्य गरेर सांँहिली औंँलाले पूजा गरिन्छ भने अर्कोतिर अपसव्य, चोरी आँैंलाले पूजा गरिन्छ। दिवंगत सबैजसोका लागि पिण्ड दिइन्छ। कसैले १६ वटा पिण्ड पुर्या।उँछन् भने कसैको सोभन्दा बढी हुन्छ भने कसैले ६ वटा मात्र दिने गरेको पनि देखिन्छ, यो चलनको कुरा हो।
बिभक्ति प्रयोग गर्दा आसनको लागि षष्ठी बिभक्ति प्रयोग गरिन्छ भने आवाहनमा द्धितीया बिभक्ति, अन्नदानमा चतुर्थीबिभक्ति प्रयोग गरिन्छ। हेमाद्रीमा उल्लेख भएअनुसार पितृश्राद्धको दिन पिण्डदान नभए सम्म हवनकार्य, योगीलाई अन्नदान देवपूजा, ब्रह्मचारी तपस्वीहरुलाई कुनै दान अर्थात् पितृकार्य बाहेकको अन्यकार्य पिण्डदान अघि निषेध गरिएको छ। स्वलक्ष्यमा हुन्छन् पितृहरु त्यो लक्ष्य पूरा नभएसम्म अन्य क्रिया कर्म निषेध गरिएको कारण अन्यकार्य अन्यदिनहरुमा बिशेष रुपमा हुने गर्छ। पत्नी रजस्वला भए पिण्डदान (पार्वण) गर्न नहुने, पतीत व्यक्तिहरुलाई आमन्त्रण गर्नु नहुने, अन्य गोत्रजहरुलाई पनि खासमा प्रसाद निषेध गरिएको, बन्धुवान्धव, इष्टभित्र, ज्वार्इँ, भान्जा, असल पुरोहित आदि आमन्त्रण गरिएर गरिने यो पर्वमा धूम धाम बाजा गाजा राखी घण्टशंखआवाज र भीड भाड भने गर्नु नहुने बताइएको छ। पार्वणश्राद्ध खासगरी अपरान्ह समयमा गरिन्छ। श्राद्धमा तुलसी, भृंगराज, सयपत्री, अगस्त्यपुष्प आदि ग्राह्य छन् र केतकी, करवीर, वकुल, कुन्दक र रातो अन्य फूलहरु निषेध छ।

श्राद्ध गर्दा अरुको स्वामित्व भएकोघर जमिनमा बसेर गरेमा पितृहरु खुशी नहुने, उनीहरुको शक्ति क्षीण हुने बताइएको छ। यसर्थ शहरीक्षेत्र अरुको स्वामित्वमा डेरागरी बस्नेले श्राद्ध तर्पण गर्दा नजीकको तीर्थक्षेत्र गोकर्ण, आर्यघाट, गौरीघाटमा यस्तै अन्य पवित्रस्थलमा गर्ने गरेको पाइन्छ। श्राद्धमा प्रयोग हुने बस्तुहरु अघिपछि प्रयोग नभएका, चोखो बस्तुहरु तयार गर्नु पर्ने दूध, ध्यू, तिल आदि नभइनहुने, आसनी चोखो चाहिने, खड्गपात्र चाहिने, ऊनवाट बनेका कम्वलहरु बिशेष प्रिय हुने, कुश, चँादीका, तामाका भाडा कुँडा हुनु पर्ने, सके गाई आवश्यक पर्ने, छोरीको छोरा पनि आवश्यक पर्ने आदि नियमहरु छन्, जो यथाशक्य पूरा हुनु पर्ने देखिन्छ।
पार्वणश्राद्ध यसकारण पनि जरुरी छ कि पार्वणश्राद्ध नगरेका घरमा तत्कालै सुरु हुने नवदुर्गापक्षको कर्म, जमरा राख्ने कार्य आश्विनशुक्लपक्ष भरि गरिने कर्म निषेध गरिएको छ। यसर्थ देवता वा शक्तिको उपासना गर्ने क्रमको पूर्वसन्ध्या पनि पितृपूजन जरुरी भएको हो। देवपूजनमा हामी बिश्वास गर्छौ पितृपूजा भनेको अतीतसंग गँांसिएको छ। पूर्खाले धन छोडेर नगएको कारण देखाई यसप्रति कम श्रद्धा हुनु राम्रो हेाइन। आज भोलिको बिग्रदो वातावरणको कारण श्राद्ध गरिएका बस्तुहरु बिसर्जन गरिने ठँाउको अभाव देखिनु आफँैमा दुखलाग्दो कुरा चाहिँ हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *