Best Online News From Nepal

शेयर विश्लेषक अनिश घिमिरेको विश्लेषण : ‘तत्काल बजार घट्दैन’

अहिले नेपाली शेयर बजार लगातार उताचढाव आइरहनुको एउटा कारण भनेको बजारमा सप्लाई कम हुनु हो । सबै कम्पनिहरु मर्जरमा जाने क्रम चलिरहँदा सप्लाईमा घटबढ भइरहेको छ । अर्को कुरा भनेको पुँजी बजारमा सहभागीको संख्यामा पनि कमी आइरहेको छ । बजारको अवस्था उतारचढावमा देखिएपनि घट्दा कम अंकले घट्ने र बढ्दा ह्वात्तै बढ्ने भइरहेको छ । त्यसले गर्दा तत्काल बजार घट्ने सम्भावना कतैबाट पनि देखिँदैन । कम्तीमा ६ महिना बजार घट्ने संकेत देखिँदैन । बजार घट्ने कारण नै नभएपछि स्वतः बजार बढ्छ ।

हाल शेयर बजारमा नयाँ नयाँ कम्पनिहरु थपिने, भएका कम्पनिहरुको शेयर थपिने प्रकृया चलिरहेकाले पनि बजार बढेको देखिन्छ । जति धेरै शेयर थपियो उति नै समग्र नेप्से कारोबार स्वतः बढ्ने हुन्छ । बजारमा जति पुँजी भित्रिँदै गयो उति कारोबार बढ्ने र सोही अनुरुप बजार उकालो लाग्ने हुन्छ । त्यसैले, अलिे लगानी गर्न चाहने नयाँ लगानी कर्ताहरुले राम्ररी सबै कम्पनिहरुको अवस्था बुझेर मात्र लगानी गर्नु जरुरी छ । पूराना लगानीकर्ताहरु पनि बजार घटबढ भइरह्यो भनेर आत्तिहाल्नुपर्ने अवस्था छैन ।

नेपालमा शेयर बजार बुझेका मान्छेहरु न्यून छन् । सर्वसाधारणहरुमा झन् यससम्बन्धि ज्ञान कम छ । जानकारीविना नै कतिपयले शेयरमा लगानी गरिरहेका हुन्छन् । यो गलत प्रचलन हो । शेयर बजारलाई राम्ररी बुझेर, बजारको अवस्थालाई बुझेर लगानी गर्ने हो भने मात्र आफ्नो लगानी सुरक्षित हुन्छ । छोटो समयमा नै धनी बनेर निस्कन्छु भनेर शेयरमा लगानी गर्ने मनशाय पनि गलत हो । मुलुकका हरेक निती तथा राजनितीक एवं आर्थिक अवस्थाले शेयर बजारमा पनि प्रभाव पार्ने भएकाले बजारमा उतार चढाव आउँछन् । त्यसैले, शेयर लगानी गरिसकेपछि लामो समय टिक्छु भन्ने मनशाय राखेर मात्र आउनुपर्छ । लगानी गरेर १÷२ वर्षमै झिक्छु भन्ने सोचेर शेयर लगानी गर्ने प्रवृत्तिलाई परिवर्तन गर्नु जरुरी छ ।

यस साता ३३.२५ प्रतिशत बढि शेयर कारोबार

गत साताको तुलनामा यस साता ३३.२५ प्रतिशतले शेयर कारोबार बढेको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा साताभर १ सय ३६ वटा कम्पनीको ८४ लाख ७० हजार ७ सय ५० कित्ता शेयर १२ हजार ५ सय ३१ पटक किनबेच हुँदा २ अर्ब ५३ करोड ५५ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । गत साता १ सय ३० कम्पनीहरुको ३३ लाख १६ हजार ७ सय ६० कित्ता शेयरहरु १० हजार १ सय ७ पटक किनबेच हुँदा कुल १ अर्ब ९० करोड ३९ लाख ४२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १३ दशमलव ९३ अंकले बढेर अन्तिम दिन १ हजार २ सय ७३ दशमलव २८ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ३ दशमलव १४ अंकले बढेर २ सय ७४ दशमलव ८५ अंकमा आईपुगेको छ । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से ७ दशमलव २० अंकले बढेर बन्द भएको थियो भने क वर्गका कम्पनीहरु मापन गर्ने सेन्सिटिव इन्डेक्समा १ दशमलव ६८ अंकले बढेको थियो । साताको सुरुका दिनहरुमासामान्य घटेपनि साताको अन्तिममा बजार बजारले आजसम्मकै नयाँ विन्दु पार गरेको छ ।

यस साता सबैभन्दा धेरै नेपाल बैंकको १७ करोड ८५ लाख १० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै नेपाल इन्भेस्टमेन्ट बैंकको १६ करोड १३ लाख ६० हजार रुपैँया, एनएमबि बैंकको १२ करोड ५८ लाख ७० हजार रुपैया र नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयरको १२ करोड ५७ लाख ८० हजार रुपैँया बराबरको कारोबार भएको छ । कारोबार भएको शेयर संख्याका आधारमा भने सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीम अग्रस्थानमा रहेको छ जसको ३५ लाख ८१ हजार कित्ता शेयर खरिद बिक्रि भएका छन् । त्यसैगरी कारोबार संख्याको आधारमा ६ सय ९९ वटा कारोबार हुदै नेपाल बैंक अग्रस्थानमा रहेको छ ।

यस साता ५ वटा कम्पनीका बोनस, हकप्रद र साधारण शेयर नेप्सेमा कारोबारका लागि सुचिकृत भए । नबिल बैंकको १ करोड ९ लाख ८९ हजार १ सय ५६ कित्ता बोनस शेयर, नारायणी नेसनल फाइनान्सको १२ लाख २३ हजार ७ सय ४६ कित्ता बोनस शेयर, सिन्धु बिकाश बैंकको १ लाख ३४ हजार ३ सय ७५ कित्ता बोनस शेयर, माछापुछ्रे बैंकको ५५ लाख ५२ हजार ५ सय कित्ता र साझा बिकाश बैंकको १० लाख कित्ता साधारण शेयर खरिद बिक्रिका लागि नेप्सेमा सुचिकृत भएका हुन् ।

 

Source: BusinessSansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *