Best Online News From Nepal

व्यक्तिको तहमा अहिंसा परम् धर्म हो , समाजको तहमा पनि अहिंसा परम् धर्म हो

                                                                                                                                                            ·FRIDAY, OCTOBER 5, 2018
व्यक्तिको तहमा अहिंसा परम् धर्म हो ।
समाजको तहमा पनि अहिंसा परम् धर्म हो ।
राज्यको परिप्रेक्ष्यमा हिंसा र अहिंसाको जटिल सन्तुलन आवश्यक पर्छ ।
कुनै पनि राज्यले हिंसालाई त्यागेर अहिंसा मात्र अवलम्बन गर्न सक्दैन किनभने (१) राज्यको उद्भव र विकास नै हिंसाको निराकरणका लागि काँडाले काँडा झिक्न सक्ने (आवश्यक परेको अवस्थामा हिंसाले हिंसालाई दबाएर मत्स्यन्यायको अवस्था हुन नदिने) शक्तिशाली निकायको रुपमा भएको हो,
(२) राज्यले हिंसाको आवश्यक उपयोग गर्न सकेन भने समाजमा रहेका हिंस्रक, अपराधी, अन्यायी, आततायीहरुलाई दण्ड दिन सक्दैन, र
(३) आवश्यक परेको बेलामा हिंसा गर्न नसक्ने राज्यलाई हिंसा गर्न सक्ने अर्को राज्य वा सामान्य लुटेरा समूहले समेत सजिलै कब्जा गर्न सक्छ । आफ्नो अस्तित्व जोगाउन पनि राज्यले हिंसालाई अनिवार्य सामथ्र्यका रुपमा लिइराख्नै पर्ने हुन्छ ।
बुद्ध र महावीर (जैन) को धर्म व्यक्तिको तहका लागि बढी केन्द्रित हुनाले अहिंसामा जोड दिनु स्वाभाविक थियो ।
गान्धीको अभियान समाजको तहका लागि बढी केन्द्रित हुनाले अहिंसामा जोड दिनु स्वाभाविक थियो ।
व्यक्ति र समाजका लागि भनिएका कुराहरुले राज्यको परिप्रेक्ष्यमा अतिक्रमण गर्ने परिस्थिति जब आयो, तब के भयो भन्ने इतिहास साक्षी छ । भारतवर्षको ठूलो भूभाग विदेशी विधर्मीले सजिलै जित्ने स्थिति किन आयो र फिरंगीहरुले छोड्ने बेलामा पनि टुक्रा टुक्रा पारेर, शत्रु देशहरु बनाएर जान सक्ने अवस्था किन आयो भन्ने कुरा बुझौँ ।
हिंसा र अहिंसालाई समुचित सन्तुलन कसरी गर्ने भन्ने बुझ्न, वैदिक ग्रन्थ पढ्न सकिएन भने पनि, आजभन्दा २३ शताब्दी अगाडिको ग्रन्थ अर्थशास्त्र मात्रै पढे त जान्न सकिहालिन्छ । औषधी बनाउन बिख् पनि चाहिन्छ, समाजमा अहिंसा कायम गर्न राज्यले हिंसा प्रयोग गर्नै पर्ने हुन्छ ।
राज्यले हिंसाको प्रयोग पनि आफ्नै नागरिक मार्फत् गर्ने हो, तसर्थ आफ्ना नागरिकमध्ये केहीलाई हिंसा गर्न सक्षम बनाएर राखिराख्नु पनि राज्यको बाध्यता हुन जान्छ । राज्यले यो कार्य समाजसँगको सहकार्यमा गर्छ । तसर्थ, राज्यको वैधानिक अधिकारको दायरामा रहेर हिंसालाई अवलम्बन गर्न तत्पर व्यक्तिहरु समाजमा जहिल्यै राखिराख्नु राज्यको र समाजको अनिवार्य आवश्यकता हुन्छ ।
उक्त व्यक्तिहरुलाई हिंसाको प्रयोग व्यक्तिगत स्वार्थको लागि दुरुपयोग गर्ने अधिकार हुँदैन, जहिल्यै समाजको नैतिक मान्यता र राज्यको वैधानिक अधिकारको दायरामा रहेर हिंसाको प्रयोग हुनु नै आदर्श स्थिति मानिन्छ । जे होस्, राज्यको परिप्रेक्ष्यमा हिंसा पनि अहिंसा जस्तै अनिवार्य, अपरिहार्य, आवश्यक हो ।
व्यक्तिको तहमा अहिंसा साधारण धर्म हो र हिंसा अपवाद हो ।
समाजका तहमा पनि अहिंसा नै साधारण धर्म हो र हिंसा अपवाद हो ।
राज्यको परिप्रेक्ष्यमा अहिंसा र हिंसा दुवै विशेष धर्म हुन् (साधारण धर्म होइनन्) ।
निर्मलमणि अधिकारी
काठमाडौँ, २०७५ असोज १९ गते, शुक्रवार