Best Online News From Nepal

वैदिक हिन्दू दर्शन र सहृदयता

आयोदधौम्य’ निर्मलमणि अधिकारी——1917706_1152193377489_6054639_n
‘सहृदयता’ को अवधारणाबारे संस्कृत काव्यशास्त्रमा विशद् चिन्तन गरिएको छ । मूलतः काव्यिक रसास्वादनको सन्दर्भमा प्रतिपादन गरिएको यो अवधारणालाई समस्त मानवीय सन्देश सम्प्रेषण प्रकि्रयालाई प्रतिनिधित्व गर्ने गरी सामान्यीकरण गरिसकिएको छ र यसका आधारमा एक संचारढाँचाविशेषसमेत निर्माण गरी उक्त ढाँचाको नामाकरण ‘संचारको साधारणीकरण ढाँचा’ भनेर गरिएको छ । चिन्तनको त्यस शृङ्खलालाई अझै अगाडि बढाउँदा सहृदयताको अवधारणालाई अझै विस्तृतिकरण एवं सामान्यीकरण गर्न सकिन्छ । “वसुधैव कुटुम्बकम्” को जुन मान्यता हिन्दू-जीवनदर्शनमा परिपूर्ण देखिन्छ त्यसलाई ख्याल गर्दा ‘सहृदयता’ लाई हिन्दू जीवनदर्शनको आधारभूत तत्वका रुपमा लिनु उपयुक्त हुने देखिन्छ ।
मानवीय व्यवहारमा सहृदयताको अनुपम रुपलाई जीवनका अनेक आयाममा देख्न सकिन्छ । उदाहरणका लागि ईश्वरीय भक्तिको सन्दर्भमा चर्चा गरौँ । “भारतीय विचारधारामा जहाँ हामी मानव र ईश्वरबीचमा निष्कपट संगति पाउँछौं उता अर्कोतिर पश्चिममा दुवैमा परस्पर-विरोध स्पष्ट रुपमा लक्षित हुन्छ । पश्चिमी देशका पौराणिक आख्यानहरु पनि यस्तै निर्देश गर्दछन् । … पश्चिमी संस्कृतिको मुख्य प्रवृत्ति मनुष्य र ईश्वरको बीचमा विरोधतर्फ अधिक् छ । त्यस संस्कृतिमा मनुष्य ईश्वरको शक्तिको मुकाबिला गर्दछ मनुष्यजातिको हितकोलागि ईश्वरको पासबाट आगो चोर्दछ । भारतमा मनुष्य ईश्वरद्वारा निर्मित वस्तु हो ।”१ एक हिन्दूका निमित्त ईश्वर माता पिता बन्धु एवम् सखा हो र ईश्वरनै उसको सर्वधन हो । “त्वमेव माता च पिता त्वमेव …” त्यसै भनिएको छैन । त्यसैले ऊ ईश्वरसँग डराउँदैन; प्रेम गर्छ र भक्तिरसमा चुर्लुम्म डुब्छ ।

यसरी ईश्वरलाई अतिशय प्रेम गर्ने हुनाले एक आदर्श हिन्दू सारा जगत्लाई प्रेम गर्दछ ।२ भक्तिनी मीरालाई विष खुवाइँदा पनि त्यसको असर परेन किनकि उनकालागि विष पनि ईश्वरकै प्रसाद थियो । एक आदर्श हिन्दूलाई विश्वास हुन्छकि “समस्त जगत्मा ईश्वर भित्र र बाहिर व्याप्त छ । समस्त जगत् उनको अभिव्यक्ति हो । यस्तो अवस्थामा एक वस्तुलाई मन पराउने र अर्कोलाई मन नपराउने हुनै सक्दैन ।”३ सबैप्रतिको प्रेमभाव४ले ऊ यस्तो विश्व-दृष्टिकोणवाला हुन्छ जसका कारण गीता ५।१८ मा भनिएझैं “समदर्शिनः” बन्ने सफलता पाउँछ । गीताकै छैटौं अध्यायमा भनिएको छ- “सम्पूर्ण प्राणीहरु आत्मामा र आत्मा त्यसरी नै सबै प्राणीमा छन् भनेर योगयुक्त समदर्शी योगीहरु समभावले देख्दछन् ।”५ समदर्शी बन्न सकेकैले त राजपाठ गुमाएर वनमा भौंतारिइरहेका रन्तिदेव भोक-प्यासले आफू मुर्छित हुनुअघि बचेको केही थोपा पानी मरणासन्न कुकुरलाई पियाउँछन् । सहृदयताको यो भन्दा उच्च दृष्टान्त कुन संस्कृतिमा हुनसक्छ ! परन्तु त्यस्तो प्रेम ुमोहु वा ुवासनाुको रुपमा हुँदैन ।
हिन्दू जीवनमा मोक्षप्रतिको अत्यधिक आग्रहको अर्थ भौतिक जगत्प्रतिको निरपेक्षता होइन । इन्द्रियजन्य मोह वा भ्रमप्रति अनिच्छा भएतापनि मानव चेतनाप्रति वैदिक मतमा अगाध श्रद्धा रहेको छ । “यथा पिण्डे तथा ब्रह्माण्डे” यस प्रसिद्ध भनाइझैं वैदिक ऋषिहरुले मस्तिष्कलाई संपूर्ण ब्रह्माण्डको लघु-प्रतिकृति सम्झिए । यसरी जब मानव शरीरभित्रै देव-तत्वको बास छभने मोक्षकालागि बाहिर भट्कनु पर्ने कुनै कारण हिन्दू जीवनमा रहँदैन । मोक्षकालागि आत्माले बाहिर हेरेर पक्कै हुँदैन; प्रत्युत उसले आभ्यन्तरलाई हेर्नु पर्दछ । यसको अर्थ केमात्र पनि होइन भने मोक्षका निमित्त मात्र हिन्दू जीवनमा आभ्यन्तरको महत्व रहेको हो; अपितु आभ्यन्तरलाई हेर्ने यो प्रवृत्ति आदर्श हिन्दूमा जुनसुकै बेला रहेको हुन्छ ।
उता मानव शरीरलाई मूलतः पापमय मान्ने पाश्चात्य अवधारणा रहेको छ । हिन्दू अवधारणामा पाचतत्वबाट बनेको शरीर त मोक्षको साधन हो; जुन साधन त्यति महान् लक्ष्यकालागि सहायक बन्नेवाला छ त्यस्लाई पापमय कसरी मान्न सकिन्छ र !६ क्षणभंगुर भएतापनि यसले मोक्षको प्राप्तिमा पुर् याएको सहयोगप्रति कृतज्ञता भाव रहेकै हुन्छ एक आदर्श हिन्दूमा । त्यसैले त मोक्षको प्राप्तिनेरै पुगिसक्दा पनि भतृ्रहरि भन्छन्- “हे माता पृथ्वी पिता वायु मित्र अग्नि सुबन्धु जल भ्राता आकाश ! तिमीहरुलाई मेरो यो अन्तिमपल्ट हात जोडी नमस्कार छ तिमीहरु सबैको साथबाट उत्पन्न पुण्यका आधिक्यले स्फुरित भएको निर्मल ज्ञानले मोहको सारा महिमालाई पार गरी म परब्रह्ममा लीन भइरहेको छु ।”७
यस्तो कृतज्ञता भाव रहन्छ हिन्दू जीवन पद्धतिमा । पुरुषार्थ-चतुष्टयका रुपमा मोक्ष चरम् प्राप्ति अवश्यै हो किन्तु त्यस शृंखलामा अर्थ काम र धर्म पनि छन् भन्ने हामीले भुल्नु हुँदैन । अर्थ र काम भौतिक उन्नतिको कसीका रुपमा रहेका छन् भने धर्म भौतिक र आध्यात्मिक उन्नतिको सेतुका रुपमा रहेको छ ।
संस्कृतका आदिकवि वाल्मीकिको कवि जीवनको प्रारम्भ पक्षीका भावनाको साधारणीकरणबाट भयो । सम्भोगरत क्रौाच पक्षीहरुलाई शिकारीले वाण हान्दा उनको हृदय द्रवित भएर नै सहसा शिकारीलाई धिक्कार्न पुगे उनी । पक्षीका पीडाको सह-अनुभूति उनको आभ्यन्तरले नगरेको भए उनीभित्रको करुणभाव कसरी बिउँझदो हो ! यसरी वनस्पति वृक्ष र लताहरु अनि मृगशावक र क्रौाच पक्षी सम्मलाई पनि तादात्म्य गराउन सक्नु भावको साधारणीकरणको अति उच्चस्तरको उदाहरण हो ।
प्रा.डा. दुर्गाप्रसाद भण्डारीका शब्दमा : “पश्चिमले शुरुदेखि नै विजय र पराजयको भाषामा प्रकृतिलाई हेर्न थाल्यो । पूर्वले शुरुदेखि नै प्रकृतिलाई प्रेम र तादात्म्यको भावले हेर्न थाल्यो । पूर्वीय दर्शन धेरै बढी रहस्यपूर्ण र गहिरो हुनुको कारण पनि अंशतः यहाँको प्रकृतिलाई हेर्ने दृष्टिकोणले गर्दा हो । आफ्नो तार्किक पूर्वाधार लिएर पश्चिम प्रकृतिमाथि विजय गर्न िहंड्यो आफ्नो सहज ज्ञान ुइन्ट्यूशनुको पूर्वाधार लिएर पूर्वले वनस्पति लगायत सम्पूर्ण प्रकृतिसित दातात्म्य र प्रेमसम्बन्ध जोड्न थाल्यो । विजय गर्न खोज्ने इच्छामा िहंसा अन्तर्निहित हुन्छ तादात्म्य राख्ने इच्छा एवं भावमा प्रेम र करुणा हुन्छ । पश्चिमी तर्कपद्धतिको विकास र पश्चिमी प्रकृति-विजयाकाङ्क्षाको कारण त्यहाँ विज्ञानले धेरै ठूलो उचाइ लियो । पूर्वीय सहजज्ञान ुइन्ट्यूशनु र यहाँको अन्तरमुखताको कारण पूर्वले आध्यात्मिक चेतनाको अन्तिम शिखर भेट्टायो । दुइवटा विपरीत दिशातिर लागे ः एउटाले प्रकृतिमाथि विजय पाउने प्रयास गर् यो; अर्कोले आफैंमाथि विजय पाउने प्रयास गर् यो । पूर्व आत्म-विजयलाई असली विजय भन्न थाल्यो । पश्चिम परविजय र प्रकृति-विजयलाई असली विजय भन्न थाल्यो । वनस्पतिसित पश्चिमले तादात्म्यता राख्न सकेन त्यसैले करुणापूर्ण नेत्रले हेर्न सकेन । भय र आक्रमणको भावले मात्र हेर्न सक्यो । सम्पूर्ण पश्चिमी साहित्य र कलामा कालिदासको अभिज्ञान शाकुन्तलम् मा पाइने वनस्पतिप्रेम र वनस्पति-तादात्म्य भेट्टाउनु असम्भव छ । प्रकृति-सौन्दर्य-सम्पन्न कण्व ऋषिको आश्रमबाट पतिगृहकोलागि प्रस्थान गर्नुभन्दा अघि पितृगृह-वियोग कल्पनामा विह्वल भएकी शकुन्तलाको हात समातेर कण्व ऋषि वनस्पतिलाई सम्बोधन गर्दै भन्छन् ुहे वनस्पति वृक्ष र लताहरु ! जो तिमीहरुलाई पानी नदिईकन तिमीहरुको स्याहार सुसार नगरीकन आफू भोजन गर्दैनथिइन् पानी पिउदैनथिइन्; तिनै शकुन्तला आज पतिगृह जाँदैछिन् तिमीहरु उसलाई आशिर्वाद देऊ । यहाँनिर शकुन्तलाले प्रकृतिसित तादात्म्य र प्रेमसम्बन्ध गाँसेको र बिदाइ हुने बेलामा आशिर्वाद र आज्ञा मागेको दृश्यबाट कुन सहृदय पाठक अश्रुपूर्ण नहोला त्यो भन्दा पनि बढी करुणारस पाइन्छ शकुन्तलाले आश्रम छोड्ने बेला उनले हुर्काएको मृगशावकले उनको वस्त्रको कुनालाई अत्यन्त भावुक मुद्रामा दाँतले समातेको दृश्यमा ।”
वैदिक हिन्दू-जीवनपद्धतिमा सम्पूर्ण प्रकृतिप्रति जुन प्रेमपूर्ण दृष्टिकोण छ त्यो अनुपम छ । आदर्श हिन्दू जनमानसले मानव मात्र होइन सम्पूर्ण चराचर जगत्प्रति नै ‘सहृदयता’पूर्ण व्यवहार गर्नु पर्ने मान्यता राख्दछ । त्यसैले सहृदयताको अवधारणालाई समस्त हिन्दू जीवनदर्शनको आधारभूत तत्वका रुपमा मान्नु समीचीन हुन्छ ।

पाठान्त टिप्पणी :
१ राधाकृष्णन्, सर्वपल्ली; भारतीय दर्शन; अनु. नन्दकिशोर गोभिल प्रथम खण्ड; राजपाल एण्ड सन्ज दिल्ली; सन् १९९८; पृ. ३३
२ तुलनीय : “भक्तिमा त भक्त तद्रूप हुन्छ -स्वराड् हुन्छ । आत्मा र परमात्माको ऐक्यता हो भक्तिको प्राप्ति । भक्तिरसमा भक्तले सम्पूर्ण जगत्लाई ईश्वररुप देख्दछ । तसर्थ सच्चा भक्तको हृदयमा सारा जगत्प्रति प्रेमभाव हुन्छ । यही कारण होकि भक्त सबैको सुहृद् हुन्छ सबैको मित्र हुन्छ । आध्यात्मिकताको उज्यालोले हृदय प्रकाशित भएका भक्तहरु मानवताका प्रतिमूर्ति हुन् ।”
अधिकारी, पण्डित निर्मलमणि; निर्मल-भक्ति-मार्ग (प्रकरण-तीन); घटना र विचार साप्ताहिक; वि.सं. २०५९ माघ १; पृ. ५
३ सम्पूर्णानन्द, बाबु; उपनिषद् और कर्तव्याकर्तव्य विवेक; कल्याण उपनिषद् अङ्क; गीताप्रेस गोरखपुर; सन् १९४९; पृ. ३२-३३
४ तुलनीय : “यस्तु सर्वाणि भूतान्यात्मन्येवानुपश्यति । सर्वभूतेष्ा चात्मानां ततो न विजुगुप्सते ॥ यस्मिन् सर्वाणि भूतान्यात्मैवाभूद्विजानतः । तत्र को मोहः कः शोक एकत्वमनुपश्यतः ॥” ईशावास्य। ६-७
५ सर्वभूतस्थमात्मानं सर्वभूतानि चात्मनि । ईक्षते योगयुक्तात्मा सर्वत्रः समदर्शनः ॥ (श्रीमद्भगवद्गीता ६।२९)
६ यद्यपि नर-देहलाई ‘झुट्टो’ तथा ‘कच्चा’ भने भनिएको पाइन्छ । दृष्टान्तकालागि हेर्नू – प्रपन्नाचार्य, स्वामी (सम्पा.); महाप्रभु नारायणदास राई विरचित मन्मतिलहरी; डा. बलराम जोशी ज्ञान विज्ञान राष्ट्रिय पुरस्कार समिति काठमाण्डौं; वि.सं. २०५३; पृ. २७
७ संस्कृत श्लोक यस्तो छ : “मातर्मेदिनि तात मारुत सखे ज्योति सुबन्धो जल- भ्रातव्र्योम निबद्ध एव भवतामन्त्यः प्रणामााजलिः । युष्मत्सङ्गवशोपजातसुकृतोद्रेकस्फुटन्निर्मल- ज्ञानापास्तसमस्तमोहमहिमा लीये परे ब्रह्मणि ॥”
कीथ, ए.बी.; संस्कृत साहित्यका इतिहास; अनु. मङ्गलदेव शास्त्री; मोतीलाल बनारसीदास दिल्ली; सन् १९७८; पृ. २२६ मा उद्धृत
८ दीक्षित, मदनमणि; अमृतत्व र कारुणिकता; ज्ञानगुन साहित्य प्रतिष्ठान र एम्स एकेडेमी काठमाण्डौं; वि.सं. २०५३ को आमुखमा अभिव्यक्त विचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *