Best Online News From Nepal

वैकल्पिक राजनितिक बहस

नुम नाथ प्याकुरेल

 

 

राष्ट्रमा किसिम किसिमले द्वन्दवात्मक राजनीतिको प्रयोग गरिदै छन्।

मूलधारका हुन् या पहिचानवादी, जनजाति हुन् या मधेसवादी, प्रत्येकको राजनीतिक उपस्थितिको आधार घृणा तथा हिंसा नै थियो र विद्ममान छ। द्वन्दवको अभ्यास एकांकी रुपमा प्रयोग गरिएको छ। नेपाली राजनीतिमा अधिकारको लडाइ जनताको नैसर्गिक स्वतन्त्रता हो र त्यसको प्राप्तिको सरल र स्वीकार्य आधार द्वन्द्व नै हो भनि प्रचार गरिएको छ। कर्तव्य र अधिकारको सन्तुलन गर्न नसक्दा र सामाजिक तथा सांस्कृतिक जटिलताको मर्म नबुझ्दा आज एउटा खुर्सानि विना भागै नवस्ने, अर्को खुर्सानी भए भान्सै नपस्ने स्थीति सृजना भएको छ। जस्तोसुकै द्वन्द्वात्मक स्थिति भएपनि आजसम्मको प्रतिमान भागवण्डा मिले जायज-नाजायाज, राष्ट्रवादी-राष्ट्रघाती निर्णय स्वीकार गरिएका छन्। अब घृणा र हिंसा रहित प्रेम, सद्भाव, सहिष्णुता र सहृदयता वाट पनि परिवर्तन, दिगो विकास, सम्वृधि सम्भव छ भन्ने प्रतिमान, बहस र अभियान नेपाली समाजमा स्थापित हुन अनिवार्य छ।

द्वन्द्ववादले थुप्रै राजनीति विकेका छन् नेपाली समाजमा तर सहृदयतावादले टिकिने र जस्तासुकै जटिलातको निर्विघ्न निकास पनि दिन्छ। तथाकथित पहिचानको राजनीतिको नाममा, सत्ता प्राप्तिका लागि नाक, आँखा र रंगको कित्ता कटाई सर्बथा गलत छ। नाकचुच्चेको शासक चुच्चे, नाकथेप्चेको शासक थेप्चे, कालेको शासक काले र अलिकम कालेको शासक अलिकम काले नै हुनु पर्दैन। वैचारिक रूपमा सङ्कीर्णता त्याग्ने पारदर्शी नेत्रित्वको शासन अनिवार्य छ। अबको राजनीति विधर्मी विरुद्ध सहृदयताको, वाह्य जरो र किलो भएको राजनीति विरुद्ध नेपालमै जरो र किलो भएको राजनीतिन प्रतिमान स्थापन हुन अनिवार्य छ।

 

प्रत्यक राजनीतिक पार्टीहरू सिद्धान्त तह कम्युनिष्ट-पूँजिवादको सृजनात्म अभ्यास (कपूँ) मै छन्।  नेपाली उखान उहि मूलाको सिन्की, उहि मूलाको अचार भने जस्तै साईनवोर्ड मात्रै अलग हुन्। पात्र उही, नाटक उही, रंगमञ्च उही, निर्देशक उही, निर्देशन उही, प्रारम्भ उही, गन्तव्य उही, अनि कसरी अपेक्षा गर्न सकिन्छ विकास, परिवर्तन, रुपान्तरण तथा अग्रगामी छलाङ। विद्रोही तथा तथाकथित क्रान्तिका पक्षधरहरुले अघिसार्ने तर्क करिव यौटै छ; त्यो हो परिवर्तन। संस्थागत विकास गर्न नसक्ने परिवर्तन फगत राज्य संयन्त्र कमजोड तुल्याउने रणनीति मात्रै हो। नेपाली राजनैतीक नेत्रित्व युगान्तकारी परिवर्तन गर्न सक्ने तर परिवर्तन संस्थागत गर्न नसक्ने, कागजमा विश्वकै उत्कृष्ट कानून निर्माण गर्न सक्ने तर कार्यान्वयन र पालना गर्न नसक्ने, सहि र गलत राम्रो ज्ञान भएको तर सत्य प्रति आवृत्ति नभएको र गलत प्रति निवृत्ति नभएको विचित्रको विरोधाभाषको विश्व नमुना हो भन्दा अतिउक्ति हुँदैन।

प्रजातन्त्र स्थापना, विकास र संबृद्धिका लागि गरिएका, गर्दै गरिएका र निकट भविष्यमा गर्न सकिने काम, क्रियाकलाप तथा हर्कतहरू संयमित, विधि र कानून सम्वत तथा लोकतान्त्रिक मूल्य मान्यताहरूको दायराभित्र हुन्छन् कि हुँदैनन्? जटिलता व्यवस्थापनका नाममा फेरि कुनै अप्रिय, अशोभनीय, अलोकतान्त्रिक तथा कानूनी र संवैधानिक पद्धतिको उलंघन नगरी, सके रूपन्तरित, नसके यथास्थिति मै देशको बागडोर दोश्रो पुस्तामा हस्तान्तरण हुन्छ कि हुन्न? दोश्रो पुस्तालाई लोकतान्त्रिक विधि-विधान, प्रजातन्त्रका विश्वव्यापि मान्यता, नेपाली समाजको विशिष्ट संरचना, विभिदतामा एकता र हरेक नागरिकको आत्मसम्मानको रक्षा गर्न सक्ने गरि योग्य तुल्याईन्छ कि अझ भ्रष्ट, सङकीर्ण नश्लवादी, परनिर्भर, भागवण्डावादी तुल्याइन्छ? नेपालका वर्तमान समास्याहरु समाधान गरी, नेपाललाई नयाँ विश्व संरचनाको अग्रणी केन्द्र बनाउन सामाजिक, सांस्कृतिक, राजनीतिक तथा आर्थिक प्रतिमान रुपान्तरण गर्न सक्ने गरि अबको राजनीति केन्द्रित हुनुपर्दछ नकि यसका विरुद्ध ऊ उसका विरुद्ध यो।

लोकतन्त्रको विश्वव्यापी मान्यता विधिको शासन नै हो। शताव्दी लामो सहयात्रा गरेर; भागवण्डा नमिलेकै आधारमा नाक थेप्चेले नाक चुच्चेलाई शोषक देख्नु, काला वर्णकाले अलि कमकाला वर्णकालाई शोषक देख्नु। आधिकार प्राप्तिका नाममा घृणा र हिंसाको संगीन खेल खेल्नु, सर्वसाधारण जनतालाको मन मस्तिष्कमा एकअर्को समुदाय विरुद्ध घृणाको विष भरिदिनु अधिकारको लडाइँ हुनै सक्दैन। प्रजातन्त्र भन्दै भागवण्डा, कमिसनको खेल, साँसद खरिद बिक्री, बहुमत देखाई सत्ता हत्याउन; एक सभासद एक मन्त्री, सरकार अदलबदल, प्रशासन र शेवामा लाभका पदहरुमा आफ्ना र पराई भन्दै काखा र पाखा गर्ने विधि समाजमा स्थापित गरियो। न विधिको शासन स्थापित भयो न विधि स्थापनार्थ प्रयत्नहरु भए न गरिदै छन्। कुनै अज्ञात ग्रहवाट एलियनहरु आएर विधिको शासन पक्कै स्थापना गरिदिन्नन्। अरु त अरु दैनिक जीवनमा सरोकार राख्ने स्वतन्त्र सरकारी निकायहरुमा राजनीतिक हस्तक्षेप ले ती संस्थाहरुको प्रतिष्ठा धुलोमा पुग्छ भन्ने सामान्य ज्ञान वर्तमान राजनीतिक नेतृत्व लाई नहोलार? लोकतन्त्र संस्थागत गर्ने वहानामा राजनीतिलाई सवै किसिमका पाप मोचन गर्ने, भ्रष्टचारको सफाई दिने, अपराधको कलंक सफागरिदिने यस्तो पवित्र गंगा बनाईयो कि त्यस्तो सुवर्ण अवसर सबै संस्था र व्यक्तित्वलाई कहाँ मिल्छ र!

प्रजातन्त्रको संस्थागत विकास गर्न आफ्नो नातेदार, आफूले चिनेको मान्छे, आफ्नो जिल्लावासी, आफ्नो नगरवासी, आफ्नो जस्तै वैचारिक पृष्ठभुमि भएको, आफ्नो छेमेकी, आफ्नो जस्तै नाक, आँखा, छालाको रंग भएको, आफ्नो बालसखा, आफ्नो दलको नेतृत्व हुनुपर्दैन, अपितु सहि सिद्धान्त लिएको, स्वदेशमै जरोकिलो भएको, मौलिक रैथाने परम्परा जानेको, त्याग र समर्पणको भावना भएको, सकारात्मक विचार, व्यवहार, प्रेम, सद्भाव, सहृदयता, सहिष्णुता तथा अर्थपूर्ण वैचारिक तार्किक व्यक्तित्व उल्लेखित बिवरण बाहिरकै भएपनी स्वागत गर्ने संस्कार स्थापित हुन अनिवार्य छ।

 

कसैकसैले दाबी गर्नेगरेको गौरवशाली क्रान्ति होस अथवा कसैकसैले ढोल पिटेको शान्तिपूर्ण जनआन्दोलन जसजसले जे भनेपनि २०’औँ हजार होनहार जनताको बलिदान बाट लोकतन्त्र त गजबकै स्थापित गरिएकोछ नि! एकातिर समावेशीता भन्दै जातिय, जनजातिय तथा लैङगिक आधारमा न्यायको मापदण्ड स्थापित गर्न भगिरथ प्रयत्न हुँदै छ र अर्कातिर राष्ट्रका निर्णायक तहमा जातिय, जनजातिय तथा साम्प्रदायिक समूहगत प्रवेश गराई राष्ट्रको आधारस्तम्भहरु माथि मन्दगतिमा प्रहार गरिँदै छ। पूँजिवादमा वर्गीय आधार संस्थागत हुनु पर्दथ्यो, मानवता सम्वृद्ध र उच्च प्राथमिकतामा राखिनु पर्दथ्यो तर छैन। त्यसो नहुनु संयोग हैन, योजनावद्ध र लक्षित हो। आफ्नो जस्तै नाकको आकार, आँखाको स्वरूप तथा छालाको रंग भएका मानिस अगाडि बढे सबैजना खुशी। नाक, आँखा र छालाको रंगले व्यक्तित्व निर्धारण हुँदैन भन्ने सत्य स्थापित गर्न नसकिएको वर्तमान नेपाली समाजको प्रतिमान हो। लोकतन्त्रको आधार मानवता र वर्गीय वनाउन सकिएन भने प्रेम, सद्भाव, सहृदयता तथा सम्वृद्धि स्थापित गर्न सकिन्न। विधि, नियम, पद्धति र प्रक्रियाका आधारमा न्याय, सुशासन, कानूनी शासन खोज्ने र दूरदराजदेखि केन्द्रिय प्रशासनसम्म न्यायको संस्कार स्थापित गर्न संस्कार र संस्कृतिको आधारमा समाजलाई उठाउन सकिएन भने हाम्रा हरेक प्रयत्नहरु व्यर्थ हुनेछन् र आउँदो पुस्ताका नजरमा हामीलाई लम्पसार, परनिर्भर, भ्रष्ट, नालायक, अकर्मण्यको कालो दाग लाग्नेछ।

दशवर्षे माओवादीको तथाकथित जनयुद्ध होस अथवा श्रृङ्खलावद्ध मधेस आन्दोलन; राज्यको तर्फबाट ज्याजति मात्रै भयो की, बिद्रोही तथा आन्दोलनकारीहरुबाट जघन्य अपराध पनि भए, महत्वपूर्ण अनुसन्धानको विषय हो। आन्दोलनका क्रममा अपराध गर्ने, राज्य विप्लव गर्ने, स्वतन्त्र मधेसको नारालगाएर सर्वसाधारण भड्काउने, कमजोर राज्यसत्ता तथा तरल राजनितिको फाइदा उठाउँदै, गैर संवैधानिक, गैर कानूनी, अलोकतान्त्रिक आन्दोलन र आन्दोलनका कतिपय मागहरु नाजायज छन्। आन्दोलनका क्रममा शताव्दियौँ लामो प्रेम, सद्भाव, सहृदयता पूर्णतः उलंघन गरेर प्राप्त उपलब्धि आन्दोलनकारीकै लागि पनि प्रतिउत्पादक हुनेछ। भीड र शक्तिका पछि लाग्ने संस्कार ले जरा गाडेको छ।  छल/बल ले हैन, तर्क/सिद्धान्तमा विश्वास गर्ने संस्कार स्थापित गर्न ढीला भैसकेको छ समाजमा। कोहि अधिकार कागजका खोष्टामा लेखाएर, सर्वसाधारणका आँखामा छारो हालेर, आफ्नो सत्ता आरोहण निश्चित गर्न तल्लिन छन्। चेतना नै स्वीकार गर्न सकिने परिवर्तनको पूर्वाधार हो र त्यो हरेक व्यक्तिको दिमागवाट सुरु हुन्छ। कर्मठ युवालाई आन्दोलनको अग्र पङ्क्तिमा उभिन उक्साउने नेताहरुका छोराछोरी विदेशका उच्च स्तरका विश्वविद्यालयमा भर्ना गराएर आफ्नो सत्ता आरोहण निश्चित गर्ने स्वार्थी नेतृत्व र तिनका क्षद्मभेष कर्तुत सडकमा छताछुल्ल पार्ने कि नपार्ने? थोरै विवेक लगाऊँ, सर्वसाधारणलाई भड्काएर, निमुखा जनतालाई अधिकार सम्पन्न तुल्याउने नाममा, आफ्नो सत्ता आरोहण निश्चित गर्न बलिको बोको बनाइएको यथार्थ हो।

देश विकासका खास अवरोधहरु गरिबी, पछौटेपन, अशिक्षा, बेरोजगारी,  अकर्मण्य राजनीतिक नेतृत्व हो तर यहाँ कथित रुपमा मधेसीको शत्रु पहाडी, दलितको शत्रु वाह्मण, जनजातिको शत्रु हिन्दु हुन् भनि बिधर्मीहरु हामीलाई फुटाई शासन गर्न अनेक थरि बखेडा सृजना गरिरहेका छन् र हामी आफ्नो जरो तथा किलो भुलेर गलत सिद्धान्त र प्रतिमान स्थापनाका लागि लम्पसार छौँ।

दिनभरी चर्न गएका चरा, साँझमा फर्कदा गुँड बिर्सदैनन् तर हामीले पटक पटक बाटो बिरायौँ। एकले अर्कालाई आँखा नतरी, न घुरी, कड्के आँखाले न हेरी हाम्रो दिनचर्या चल्दैन। निहुँ खोज्न त तेरो मुख गनाउँछ, त फोहोरी छस्, त कालो छस्, तेरो नाक चुच्चो छ, तेरो आँखा चिम्सो छैन भने पनि हुन्छ। यदि नागरिकहरू राष्ट्रिय पहिचानको सट्टा क्षेत्रीय, जातीय तथा जनजातिगत पहिचानमा रमाउँछन्, घृणा/हिंसाको प्रयोगबाट सापेक्ष अधिकार प्राप्त पनि गर्छन् भने स्वतन्त्र र सार्वभौम राष्ट्रका लागि शुभ संकेत हैन र त्यस्तो कार्य राष्ट्रिय एकता, अखण्डता र प्रगतिको बाधक हुन्।

विधि र प्रक्रिया राज्य र मूलधारका राजनीतिक दलहरुलाई लतारेर मधेशी मोर्चाले केहि पाऊँदैन, यो त राज्यलाई कमजोर तुल्याउने श्रृङ्खला के अर्को पहेलु मात्रै हो। यस्ता दर्जनौँ सृङ्खला नेपाली काँग्रेस तथा एमाले ले लोकतान्त्रिक इतिहासमा दोहोरिएका छन्।  मधेसी जनता, मोर्चा र मोर्चाका नेतृत्व महोदयहरु विधि र प्रक्रियामा अडिग रहनुहोस्, लोकतन्त्र, लोकतान्त्रिक मूल्य र मान्यतामा अडिग रहनुहोस, देश सबैको हो। लालमोहर लगाएर कसैले कसैलाई प्रत्यायोजित गरिएको हैन। लोकतान्त्रिक विधि र प्रक्रियाको मार्ग छोड्दाको परिणति भोग्दैछौँ। सरकारको नेत्रृत्व गर्ने, प्रमुख प्रतिपक्षी तथा आन्दोलनरत मधेशी मोर्चाका नेत्रृत्व महोदयहरु, टाठो, बाठो र कुटिल हुनुहुँदो होला, बठ्याईँ सही ठाउँमा प्रयोग गर्नुहोस। चर्चित हिन्दी सिनेमाको पटकथा जस्तो हैन राजनीति, घृणा र हिंसाको बलमा बिक्नु होला तर टिक्ने राजनीति गर्नुहोस। तत्त्कालिन नेकपा(माले), मधेसी जनअधिकार फोरम तथा नेकपा माओबादीको बिगत र बर्तमान बाट सबैले नैतिक शिक्षा सिक्नु पर्दछ।

समाजिक साँस्कृतिक सन्तुलन पूर्णतः विथोलिएको अवस्था हो यो। राजनीति दीर्घकालिन रणनीति हैन, सामाजिक उत्तरदायित्व हो। घृणा र हिंसाको आवृत्ति त्यागौँ। घृणाको जवाफ घृणैबाट दिन्छु भन्ने गुट/दल ले वुझ्नु पर्दछ हिंसाको कुनै जात, जनजात, संप्रदाय र नश्ल हुदैन, घृणाको डढेलोले हिंसावादी र अहिंसावादी चिन्दैन, दुवैलाई डढाएर राख बनाइदिन्छ। आरोप प्रत्यारोपण हैन, हिंसा रहित, प्रेम, सद्भाव र सहृदयपूर्ण विचार र अभिव्यक्ति सार्वजनिक गरौं। सत्य र असत्य दुवैको ज्ञान छ, हामी सबैमा। असत्य प्रति निवृत्ति र सत्य प्रति आवृत्ति बढाऊँ।

कसैलाई आनन्द र बाँकीलाई रणनीति लागेको देखियो पटकपटक गरिएका र गर्दै गरिएका हिंसात्मक अन्दोलन र आन्दोलनको हस्तक्षेप। मैले त हैन, उसले, मेरो दलले हैन, उसको दलले, म हैन, ऊ। कसैले एमाले लाई दोष दिने, कसैले नेपाली कांग्रेसलाई दोष दिने, कसैले मधेशी मोर्चालाई दोष दिने, कसैले माओवादी केन्द्रलाई दोष दिने, कोहि नेपाली काँग्रेसलाई दोष दिने, गजवको चक्रीय खेल देखियो। सारमा सवै दोषी हुन् किनकी सवै घ्रिणावादी, नश्ल वादी, हिँसावादी, सवै पुँजीवादी, सवै मार्क्सवादी, सिद्धान्त, विचार, व्यवहार र लक्ष्य एउटै। घृणा र हिंसाका श्रृङ्खला हुन् सप्तरी घटना, गौर घटना, टीकापुर घटना, रौतहट घटना, रंगेली घटना। ती र त्यस्ता घटनावाट पाठ सिक्ने कि नसिक्ने? घटना र पत्र जो सुकै हुन्, प्रवृतिलाई दोष दिने की नदिने?
विचार र अभिव्यक्ति नापेर, तौलेर, अड्कलेर व्यक्त गरौँ। आफूले बोलेको, लेखेको कुरामा केहिक्षण पछि पछुतो नलागोस्। कसको दोष कति नाप्न नमिल्ला तर दोषारोपण पूर्णरूपले गलत छ।

निष्कर्ष: बिगतका घटना/दुर्घटनाबाट शिक्षा लिएर घृणा तथा हिंसाको राजनीति त्याग्नै पर्दछ र विकल्प राज्य राष्ट्र र सहृदयतावाद हो। प्रेम, सद्भाव र सहृदयता नरहे सबैका विरुद्ध सवैको युद्ध निश्चित छ। सामाजिक सञ्जालमा घृणा र हिंसालाई प्रोत्साहन गर्ने तथा नाकको आकार, आँखाको बनोट तथा छालाको रंग हेरेर तेरो र मेरो भनि कित्ताकाट गर्नेहरू देशद्रोही हुन्। यही जमिन र माटो सर्वस्व सम्झेर राष्ट्रिय अखण्डता, प्रेम, सद्भाव र सहृदयता राख्ने न जाति हुन्, न जनजाति हुन्, न प्रादेशिक हुन् मात्र नेपाली हुन्।

वास्तविक/अवास्तविक राष्ट्रवादीहरुले पनि बुझ्नुपर्यो: संविधान र संविधानसभालाई ओझेलमा पारेर राजनीतिक निर्णय भन्दै तारे होटल र रिसोर्टमा भागवण्डा मिलाएर अप्रजातान्त्रिक अभ्यास संस्थागत गरेपछि, लाठी/मुङ्ग्रा/भाला/तरवार प्रदर्शन तथा सर्वसाधारणलाई जातीय, जनजातीय तथा प्रादेशिक घृणाको विषपान गराइ बलिको बोको बनाएर नेतृत्वले रणनीतिक राजनीति संस्थागत गरेका दृश्य अब नेपाली समाजमा नौलो भएनन्। वर्तमान परिप्रेक्षमा खास नेतृत्वका क्रियाकलाप र अभिव्यक्तिको सामान्यीकरणका आधारमा नेपाली लोकतन्त्रमा “राष्ट्रवाद भित्र राष्ट्रघात गर्ने स्वतन्त्रता पनि छ” भन्द अत्युक्ति भए, क्षमा पाऊँ।

तथाकथित शान्तिपूर्ण आन्दोलनले थोरै नेतृत्वलाई सत्तामा पुर्याउला तर बाँकी सर्वसाधारणलाई ज्यादै महंगो पर्छ लोकतन्त्र। घृणा र हिंसाको बीज नरोपी जनता सडकमा नआउने स्थिति छ। ढाँट, छल, भ्रष्टाचार तथा बेइमान नगरी तत्कालिन राजनीति नचल्ने परिस्थिति छ। त्यही भएर अब चलनचल्तिका सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक, वैचारिक तथा राजनीतिक प्रतिमानहरु बदलिनु पर्दछ। मौलिक परम्परा र रैथाने उत्पादकत्वको संस्थागत विकास गरि, राष्ट्रिय पूँजी निर्माण गरी आफ्नै हातले राष्ट्र सिँगार्ने अवसर पनि हो यो संक्रमणकाल।
आलोचना गरेर न कोहि सुध्रिन्छ, न मनमा लिन्छ, उल्टै शत्रुता मोलेर समय र शक्ति खेरफाल्नु भन्दा, गरेर उदाहरण प्रस्तुत गरौं।  देशभन्दा माथि कोही हुँदैन, अधिकार व्यक्तिको हुन्छ, समुदायको हुँदैन। पूँजीवाद एकको शोषण गरेर अर्को समृद्ध हुने सिद्धान्त हो। प्रविधि र संगठन मजबुत भएका देश ले श्रोत र जनसंख्या भएका देशलाई शोषण गर्न सक्छन्। स्वाधिनता र समृद्धि आफ्नो मौलिक संस्कृति तथा रैथाने अर्थतन्त्रको संस्थागत सुधारबाट मात्रै सम्भव छ।

यो दल होस या त्यो दल संसारको केन्द्र यस भूमीलाई मान्ने, केन्द्रको विकास गरि संसारकै अग्रणी वनाउन चाहने हिन्दु, बुद्ध, किराँत, बोन लगायतका धार्मिक जाती/जनजातिको एकता पहिलो प्राथमिकता बनाइनु पार्दछ। कृष्चियन तथा मुस्लिम धार्मिक समूहको स्वतन्त्रता दोश्रो प्राथमिकता बनाइनु पर्दछ। ऐतिहासिक तथा प्राचीन सांस्कृतिक मूल्य, मान्यता र परम्पराको पुनर्जागरण गरी ज्ञानको केन्द्र नेपाल बनाउन, विश्वका अशल र उपयोगी सिद्धान्त, प्रविधि आफ्नो आवश्यकता अनुसार स्वीकार्ने पद्धति तेस्रो प्राथमिकता दिनु पर्दछ। सामाजिक सद्भाव, सहिष्णुता र सहृदयतपूर्ण व्यवहारर पद्धति स्थापित गर्नसके समृद्ध, सबल र विकसित राष्ट्र हाम्रै पालामा देख्न पाइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *