Best Online News From Nepal

वैकल्पिक भन्यहरुको प्रोपागाण्डा र गठबन्धन भनाउँदाहरुले नबुझेको यथार्त सत्य?

डा. निर्मल मणि अधिकारी….
वैकल्पिक वैकल्पिक भनेर प्रोपागाण्डा मच्चाउनेहरुले पटक्कै अत्तोपत्तो नपाएको, लोकतान्त्रिक गठबन्धन भनाउँदाहरुले नबुझेको, वाम गठबन्धनवालाको लागि अहिले तत्काललाई फाइदाको अवस्था रहेको र हामीले राम्ररी बुझेर अर्को चुनावसम्ममा पर्याप्त तयारी हुने गरी अगाडि बढिरहेको कुरोको चुरो —
संसारभरि नै राजनीति अहिले जुन दिशामा अभिमुख भएको छ, त्यो हो वाद (ism) एवं मताग्रह (ideology) को राजनीतिमा पुनरागमन । छिमेकमै हेरौँ त — चीनमा सत्तारुढ कम्युनिस्ट पार्टीद्वारा सि जिनपिङ विचारधाराको उद्घोषण गरिनु एवं इण्डियामा सत्तारुढ भाजपाले उसको पूर्वरूप जन संघको समयमा अभिनिर्माण गरिएको र भाजपा बन्ने बेलामा छोडिएको एकात्म मानववादको मूलप्रवाहीकरणमा लाग्नु — राजनीतिमा वाद एवं मताग्रहको पुनरागमनकै द्योतक हुन् ।
यो चुनाव कपूतन्त्र भित्रैका विभिन्न गुटहरुको आपसी प्रतिस्पर्धा थियो । कपूहरुमध्ये कम्युनिस्ट भनाउँदाहरुले जिते, अनि लोकतान्त्रिक र वैकल्पिक भनाउँदाहरुले हारे । यो चुनावी परिणामको सुस्पष्ट कारण छ । नेपालमा वैकल्पिक वैकल्पिक भनेर प्रोपागाण्डा मच्चाउनेहरुसँग कुनै वाद एवं मताग्रह नै छैन र नेपाली कांग्रेस र कथित लोकतान्त्रिक मोर्चाका पार्टीहरुसँग विगतमा निश्चित वाद एवं मताग्रहको आधार रहेतापनि अहिले त्यो मूलधारमा छैन । तर, वाम मोर्चाका पार्टीहरु (एमाले र माओवादी) ले चाहिँ व्यवहारमा घोर अवसरवादी सत्तालम्पट भएतापनि गफमा आफ्नो वाद एवं मताग्रहको संकथन कायमै राखेका छन् । संसारभरिकै पवृत्ति हेर्दा जोसँग वाद एवं मताग्रह छ, त्यो मात्र विजयी बन्न थालेको अवस्थामा हामो देशमा भर्खरै सम्पन्न चुनावमा कथित वैकल्पिक र कथित लोकतान्त्रिक पार्टीहरु स्वतः हार्ने गरी भाग लिँदै थिए । वाद एवं मताग्रह सहित चुनावमा खडा भएको पक्षले जित्यो । यो स्वाभाविक परिणाम हो ।
हामीलाई यो तथ्य राम्ररी ज्ञान भएकाले हामीले पहिले सिद्धान्त, वाद, मताग्रह, विश्वदृष्टिकोणको अभिनिर्माण एवं विकासमा जोड दिएका हौँ । अब नेपालमा वाद एवं मताग्रहको संकथनले समृद्ध भएका को को छन् त ? कि हामी छौँ, कि त वाम गठबन्धन / मोर्चा छ । कथित वैकल्पिक र लोकतान्त्रिक भनिनेहरु त स्वतः कमजोर छन् । वाद एवं मताग्रहको हिसाबले बलिया रहेका वाम पक्ष र हामी अग्रणी पक्षमध्ये परिस्थिति हाम्रो पक्षमा किन छ ? किन भने उनीहरुसँग जुन वाद एवं मताग्रह छ, त्यो गतार्थ र असान्दर्भिक भने हामीसँग अद्यावधिक, नेपालमै जरो किलो भएको एवं अग्रणी सिद्धान्त, वाद, मताग्रह, विश्वदृष्टिकोण छ । सम्पर्क विस्तार एवं संगठन निर्माणमा राम्ररी कार्य गर्न सकियो भने आउँदो चुनावमा कपूतन्त्र र हाम्रो आमुन्ने सामुन्नेको प्रतिस्पर्धा हुनेछ ।
कपूतन्त्रेहरुले उनीहरु उनीहरु प्रतिस्पर्धा गर्दा वामपन्थी, लोकतान्त्रिक, वैकल्पिक वा अरु जे जे संज्ञा प्रयोग गरुन् न, हाम्रो दृष्टिकोण अनुसार उनीहरु कपू नै हुन् । कपूतन्त्रे पार्टीहरु सबै नेपालका लागि अहितकारी हुन् । असान्दर्भिक, गतार्थ र पराइ प्रतिमानमा आधारित कपूतन्त्रबाट नेपाल देश एवं नेपालीजनको कदापि हित भएको छैन र हुनेवाला पनि छैन र अन्ततोगत्वा देशको सेवाका लागि हामीले नेतृत्व नगरी सुखै छैन । अघि बढौँ यो युग हाम्रो हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *