Best Online News From Nepal

ईतिहास काभ्रेपलाञ्चोक को

के.वि.मसाल।
काभ्रेपलाञ्चोक वागमती अञ्चलमा पर्दछ । विसं २०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा प्रशासनिक विभाजन गर्नु पूर्व यो पूर्व १ नम्बर क्षेत्र अन्तर्गत पर्दथ्यो । पूर्व १ नं. क्षेत्रका २८ मौजा मध्ये काभ्रे र पलाञ्चोक नामका दुई ठूला मौजा भित्र रहेका विभिन्न गाउँ क्षेत्रलाई मिलाएर काभ्रेपलाञ्चोक जिल्लाको स्थापना गरिएको थियो । जिल्लाको नामाकरण हुनुभन्दा पहिले ५४ वटासम्म गाउहरु को मौजाहरु मध्ये वर्तमान प्रशिद्ध पलाञ्चोक भगवतीबाट पलाञ्चोक र काभ्रे नित्यचण्डेश्वरीबाट काभ्रे मौजालाई मिलाएर जिल्लाको नाम काभ्रेपलाञ्चोक रहन गएको पाइन्छ ।

राजधानी काठमाडौबाट काभ्रेपलाञ्चोक जिल्ला प्रवेशद्धार सागा २१ किलोमिटर पूर्वमा पर्दछ भने जिल्लाको सदरमुकाम धुलिखेल ३१ किलोमिटरको दुरिमारहेको छ । यस जिल्लाको पूर्वमा रामेछाप र दोलखा पश्चिममा काठमाडौ, ललितपुर र भक्तपुर जिल्ला पर्दछ । उत्तरमा सिन्धुपाल्चोक जिल्ला, दक्षिणमा सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्ला पर्दछन । काभ्रेपलाञ्चोक जिल्लाको कोशीपारी क्षेत्रमा १७ वटा गाविसहरु पर्दछन ।

कभ्रेपलाञ्चोक जिल्लामा ८७ गाविस प्रस्थापित नगरपालिका समेत ४ नगरपालिका रहेको छ । धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिक पुरानो हो भने पाचखाल नगरपालिका प्रस्थापितमा परेको छ । सुन्दर पहाडी श्रृखंला, उपत्यका र तरेली परेका डाडाकाडाहरु मिलेर बनेको काभ्रेपलाञ्चोकको भूगोल समुद्र सतह देखि होचो स्थान १,००७ मीटर रु सबै भन्दा अग्लो स्थान ३,०१८ मिटरको उचाई मा फैलिएको छ । पाचखाल उपत्यका काभ्रेपलाञ्चोक जिल्लामाको मुख्य उर्वर भूमी हो । त्यसैगरी बनेपा उपत्यकाको उत्तमा पर्ने पाचखाल उपत्यका अत्यन्त उब्जाउ माटोले बनेको छ । नेपालमा कमै मात्र दुई खेती धानहुने ठाउ मध्ये यो उपत्यका नेपालकै एक प्रमुख उपत्यका मानिन्छ । अरनिको राजमार्ग यस उपत्यकाको लामीडाडा हुदै दोलालघाट भएर, सिन्धुपलाञ्चोक जिल्लातर्फ गएको छ । प्राकृतीक रुपले थुप्रै संभावना पाचखाल उपत्यकामा रहेको छ । यस उपत्यकाको मध्य भाग भएर बग्ने झीगु खोलाले पाचखाल उपत्यकाको जमीनलाई सिंचाई गराएको छ ।

इन्द्रावती र भोटेकोशीको दोभाननै दोलालघाट हो । दोलालघाट  काठमाडौं देखि ५६ कि.मि अरनिको राजमार्गमा पर्दछ ।  दोलालघाटको ब्यापारिक महत्व ऐतिहासिक हो । अरनिको राजमार्गको निर्माणले उत्तरी क्षेत्रका बासिन्दा लगायत सिन्धुपाल्चोक, दोलखा, रामेछाप जिल्ला सम्मका मानिसहरु का लागी दोलाघाट व्यापारिक केन्द्र मानिन्छ । दोलालघाट–धनकुटा राजमार्ग एवं दोलालघाट–चौतारा सडकको पनि संगमस्थल भएकाले दोलालघाटको   बढी महत्व मानिन्छ ।  दोलालघाट नजिक काभ्रे जिल्लाको उत्तरी भेगमा रहेको चण्डेनीमण्डनमा ऐतिहासिक कोटथुम्को रहेको छ ।   जिल्ला सदरमुकाम धुलिखेलबाट २५ किलोमिटरको दुरीमा  रहेको कोटथुम्का विशेष गरि पर्यटकहरुको मुख्य गन्तव्य स्थान मानिन्छ ।   यहाबाट सर्वोच्च शिखर सगरमाथा लगायत गणेश, जुगल, गौरीशंकर, लाङटाङग तथा अन्य हिमश्रृंखलाहरुको दृश्यावलोकन गर्न सकिन्छ । थुम्का वरिपरि ऐतिहासिक उमादेवी मन्दिर, कश्यपेश्वर महादेव मन्दिर, गुप्तेश्वर महादेव गुफा, खर्कको पोखरीले पनि आन्तरिक एवं वाह्य पर्यटकहरु लाई आकर्षण गराएको छ । मेलम्ची उपत्यका पर्यटकहरुका लागि मन लोभ्याउने स्थानमा पर्छन् ।

भकुन्डेबेसी काभ्रेपलाञ्चोक जिल्लाकै अर्को सानो उपत्यका हो । वरिपरि दाप्चा, मेथिनकोट र बेलागाउ लगायतका डाडाले घेरिएको यो उपत्यका खाद्यान्न उत्पादनका लागि उर्वर मानिन्छ । यस जिल्लाका महत्वपूर्ण व्यापारिक स्थलहरुमा बनेपा, धुलिखेल, पनौती, दोलालघाट, भकुण्डे वेंसी, पाचखाल, ढांडखोला सिपाघाट,लामीडाडा, कुन्तावेसी, दाप्चा, मंगलटार, खोपासी, कात्तिके देउराली र नगरकोट जस्ता बजार अरनिको राजमार्ग र ग्रामीण बस्तीमा रहेका छन ।

प्राकृतिक सौन्दर्य, होचा–होचा हरिया डाडाकाडाले सजायको प्राकृतिक मनोहर स्थल स्वस्थ्यकर जलवायु भएको धुलिखेल प्राचीनकालमा बाघ लाग्ने घना जंगल थियो । त्यसै जंगलका बाघहरु खेल्ने डुल्ने ठाउ भएकोले “धुंखेल“ भनिन्थयो । धुंखेलको अर्थ नेवारी भाषामा “धु“को अर्थ बाघ र “खेल“को अर्थ डुल्ने खेल्ने भन्ने बुझिन्छ । यस्तो प्राकृतिक सम्पदा पछि मानव बस्तीले भरिए पछि उजाडिएका डाडाकाडामा हुरी बतासले गर्दा धुलैधुलो उड्ने भएकोले यसको नाम धुलिखेल रहन गएको हो भन्ने भनाइ रहेको छ ।
धुलिखेल काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम हो । काठमाडौं–तातोपानी चिनको सिमाना पुग्ने अरनिको राजमार्गको ३० कि.मि.को दुरीमा धुलिखेल पर्दछ । धुलिखेल यातायातको दृिष्टले सुविधायुक्त मानिन्छ । यहाबाट गगनचुम्बी हिमालहरमध्ये मनास्लू,गणेश,लामटाङ, रोल्वालिङ, महालंगूर र कुम्भकर्ण हिमालयहरु देखिन्छन् । यसका अतिरिक्त अग्ला चुचुरा हिमनदी धुलिखेलको देवीस्थान डाडाबाट सजिलै देख्न पाउने भएकोले पनि यो ठाउ आकर्षकको केन्द्रबिन्दू बन्दै गएको छ । उपत्यकाको पूर्वमा रहेको नेवार बस्ती भएता पनि काठमाडौं र पाटनका नेवारहरुको भन्दा यहाका नेवारहरुको संस्कृति र रीतिरिवाज धेरै अर्थमा बेग्लै र आफ्नै  किसिमकोे छ ।

वनेपा बजार काठमाडौंबाट २६ कि.मी. पूर्व दिशामा पर्दछ । बनेपाको मुख्य आकर्षण चण्डेश्वरीको मन्दिर हो । धनेश्वर मन्दिर  बजार क्षेत्र बाट १ कि.मी. दक्षिणमा रहेको छ ।  यसैगरी, बनेपा यसको भगवान गणेश, नारायणथान, भगवान नारायण, भिमसेनस्थान, भगवान भिमसेनको आठ विभिन्न मन्दिर बाट  परिचित छ । बनेपामा धेरै चाडपर्व मनाइन्छ, यसमा चण्डेश्वरी जात्रा, कन्या–पूजा (साना केटीहरुको पूजा), नवदुर्गा जात्रा (माछा समात्ने जात्रा ) गणेश जात्रा, र भिमसेन जात्रा प्रमुख मानिन्छ । वनेपा प्राचीन एवं ऐतिहासिक वजार हो जसले नेपालको इतिहासमा बेग्लै अस्तित्व रहेको छ । वनेपा बजार क्षेत्र सानो भएता पनि जनघनत्व बाक्लो र सडक यातायातको सुबिधाले रमणिय स्थल मानिन्छ ।

पनौती वजार वनेपा नजिक पर्दछ । मल्पी, खोपासी, सुन्थान शारदा, टौखाल देवीस्थान, सुब्बागाउ र पनौती गाविसको सबै क्षेत्रलाई समावेश गरी २०५३ सालमा पनौती नगरपालिका भएको हो । पनौती आनन्द मल्लको शासन काल (इ.सं.१२७४–१३०१) मा प्राचीन देशको रुपमा छुट्टै अस्तित्व थियो । नेपालको इतिहास अनुसार वि.सं. १८२० पछि नेपाल एकिकरणको क्रममा पनौती नेपालमा विलय भएको पाइन्छ । काठमाण्डौबाट ३२ कि.मि. दक्षिण पूर्वमा पनौती वजार रहेको छ । कूल ३३.७८ बर्ग किलोमिटर क्षेत्रमा फैलिएको नगर समुन्द्री सतहबाट १३०० मी. देखि १६०० मी. को उचाईमा रहेको छ । पूर्वमा शारदा वतासेरशंखु पाटीचौर गाविस र धुलिखेल नगरपालिका, पश्चिममा कुशादेवी, महेन्द्रज्योती र कलाती भुमेडाड गविस, उत्तरमा उग्रतारा जनागाल गाविस र बनेपा नगरपालिका पर्दछ भने दक्षिणमा कलाती भुमेडाडा, चलाल गणेशस्थान र बल्थली गाविस पनौती नगरको सीमा हुन ।  ग्रामिण क्षेत्रको बाहुल्यता भएको यो नगरका अधिकांश नागरिकको प्रमुख आम्दानीको श्रोत कृषि उत्पादन नै हो । आलु, धान, सुन्तला र दुग्ध पदार्थ यहाका प्रमुख उत्पादन हुन् ।

पनौती नगरपालिका ऐतिहासिक पुरातात्विक प्राचिन एवं धार्मिक संस्कृति र परम्पराको धनी मानिन्छ । पनौतीमा विभिन्न जात्रा, पर्व पूजा नियमित जसो चलिरहन्छन् । प्रत्येक बाह्र बर्षको माघ महिनामा त्रिवेणी घाटमा लाग्ने मकर मेला, १२ बर्षमा हुने हलसिद्धि देवताको जात्रा, प्रत्येक बर्ष हुने ज्यापूिन्ह (पनौती जात्रा) देवीनाच भद्रकाली नाच, विस्केट जात्रा, रंगनाथ (मन्दिर) जात्रा, माधवनारायण मेला लगायत अनगिन्ति मेला पर्वले पनौतीको सांस्कृतिक सब्यतालाई संरक्षण गरेको छ ।

पलाञ्चोक भगवतीको मन्दिर काभ्रे जिल्लाको साठीघर भगवती गाविसमा अवस्थित छ । काभ्रेको पाचखालबाट ७ किलोमिटर पूर्विस्थत यो मन्दिर लिच्छवीकालिन राजा मानदेवले आफ्नी आमाको सम्झनामा निर्माण गर्न लगाएका हुन् । शिल्पकलाको दृिष्टले पलाञ्चोक भगवतिको मूर्ति आकर्षक मानिन्छ । काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेलबाट पाचखाल बजारबाट उकालो लाग्दै पलाञ्चोक भगवती मन्दिर पुग्न सकिन्छ । काठमाडौंबाट ५२ कि.मि. दुरीमा रहेको पलाञ्चोक भगवती मन्दिर पुग्न सडक सुविधा समेत रहेको छ । बैशाख पूर्णिमा र कार्तिक पूर्णिमा भव्य मेला लाग्ने पलाञ्चोक भगवती मन्दिरमा विभिन्न जिल्ला बाट भक्तजनहरु द्यर्शनको लागी पुग्ने गर्दछन् ।

पलाञ्चोक भगवतीका बारेमा ऐतिहासिक किंवदन्ती रहेको छ । धार्मीक विस्वास अनुसार पलाञ्चोक भगवतीलाई काभ्रेजिल्ला कै बुचाकोट भन्ने ठाउबाट ल्याइएको भनाई पाइन्छ । बुचाकोट भगवती, पलाञ्चोक भगवती, नाला भगवती र नक्साल भगवती दिदी बहिनी हुन भन्ने धार्मीक विश्वास छ । यी चारै देवीका मूर्ति एउटै कालीगढले अलगअलग हात र खुट्टाले बनाएका हुन् भन्ने किंवदन्ती रहेको छ । एक भगवतीको मूर्ति बनाईसकेपछि अर्काे त्यस्तै नबनोस् भनेर तत्कालीन समयमा कालीगढको हात काटिदिने प्रचलन थियो ।  कालिगढले हात नभए पनि नाला र नक्साल भगवती मुर्ति खुट्टाले बनाएको मान्यता रहेको छ । बनाएका मूर्ति मध्ये बुचाकोटबाट पलाञ्चोक भगवतीको मूर्ति अन्य ठाउमा ल्याउदै थिए । त्यस ठाउमा राती बास बसेपछि मूर्ति पनि त्यहि राखेछन् । भोलिपल्ट बोकेर हिड्न लाग्दा मूर्ति उठाउन नसकेर भगवतीले यहि ठाउमा बस्ने इच्छा गरेकाले अहिले मन्दिर भएको स्थान मा भगवतीको प्राण प्रतिस्थापन गरिएको धार्मीक विस्वास गरिएको पाइन्छ । त्यसपछि पलाञ्चोक भगवतीलाई मन्दिर बनाएर पूजा गर्न थालिएको विस्वास गरिन्छ ।  अचम्म त के छ भने उक्त मूर्ति एउटै ढुङगाबाट बनेको छ । यसमा कुनै रसायन प्रयोग गरिएको छैन ।

काभ्रेपलाञ्चोक बाट बीपी राजमार्गको सुरुवात गरिएको छ । राजधानी काठमाडौंलाई पूर्वी तराईसग जोड्ने छोटो राजमार्ग हो । धुलिखेल चोक बाट दक्षिणतर्फ भकुन्डबेसी, रोशिखोला हुदै १५८ किमि बीपी राजमार्ग पार गरे पछि सिन्धुली हुदै बर्दिवास पुगिन्छ । यो सडक लाई बनेपा–सिन्धुली–बर्दिवास सडक भनेर पनि चिनिन्छ । यो सडकले काभ्रेपलाञ्चोक जिल्लाको धेरै ग्रामिण क्षेत्रमा यातायातको सुविधा दिएको छ ।

काभ्रेको दाप्चा ऐतिहासिक स्थल मानिन्छ । फूलबारी, श्यामपाटी, छत्रेबाझ, पुरानागाउ, डराउनेपोखरी र खनालथोक लगायत ६ गाविसलाई दाप्चा क्षेत्रको रुपमा चिनिन्छ । दाप्चालाई पहिले पुर्वको व्यापारीक ढोका पनि भनिन्थ्यो । पुर्वका जिल्लाहरु भोजपुर, ओखलढुंगा, सिन्धुली, रामेछाप लगायतका जिल्लाका बासिन्दाको मुख्य व्यापारिक केन्द्रनै दाप्चा बजार थियो ।  अहिले दाप्चामा पुरानो कुनै चहलपहल छैन । भकुण्डै हुदै वीपी राजमार्ग खुलेपछि यहाको चहलपहल विस्तारै हराउदै गएको छ । ऐतिहासिक मठमन्दिर, घर, कलाकौशल, पर्यटकीय क्षेत्र रहेको दाप्चा प्रचार प्रसारको अभावमा ओझेलमा पनि परेको छ । व्यापार, वसोवास, रोजगारी,सुविधाको खोजिमा धेरैले दाप्चालाई छोडेका छन् । यहाका धेरै बासिन्दा व्यवसायको खोजिमा विस्थापित भएका छन । दाप्चा बाट विस्थापित भएर बनेपा, धुलिखेल, काठमाण्डौ, वीपी राजमार्ग आसपासमा पुगेका छन् । अहिले पनि दाप्चा क्षेत्र ऐतिहासिक, धार्मिक पर्यटकीय रुपमा धनी छ । यहाको गौतमवुद्धको पहिलो जन्मस्थलको रुपमा लिइने नमोवुद्ध, कोटकालिका मन्दिरदेखि पुराना कलाकृतिले सजाएर बनाइएका पुराना घरहरु, सबैलाई लोभ्याउने सांस्कृतिक महत्व बोकेका जात्रा र चाडपर्व दाप्चामा बाकी छन् । यहाबाट विश्वको सर्वोच्च शिखर सगरमाथादेखि गणेश, अन्नपुर्ण, जुगल, गौरीशंखर लगायतका सुन्दर हिमाली श्रृखंलाहरु देख्न पनि सकिन्छ ।

दाप्चामा चार सय बर्ष पुरानो इतिहास बोकेको ऐतिहासिक श्रीकृष्ण्ाँ जन्माष्टमीको विशेष जात्रा  लाग्ने गर्दछ । दाप्चाको तल्लो हटिया र माथिल्लो हटियामा छुट्टा छुट्टै उेतिहासिक श्रीकृष्ण जन्माष्टमीको जात्रा लाग्ने गर्दछ । तल्लो हटियामा वि.स.१६६४ सालदेखि र माथिल्लो हटियामा वि.स.१९६० देखि जात्रा शुरु हुदै आएको ऐतिहासिक शीलालेखहरुमा उल्ल्खेख छ । सुम्ब निसुम्ब, महिषासुर, चुण्डमुण्ड लगायतका राक्षसले देवताहरुलाई दुःख दिएपछि देवीको शरणमा परेपछि देवीले उनीहरुको बध गरेको खुसीयालीमा यो जात्रा देखाउने गरिएको छ । नवदुर्गासहित गणेश महादेव, पार्वती, महादेव, विष्णु लक्ष्मी, वाराही, देवी, भैरव, महाकालीका साथै राजारानी नाच, कुकुर नाच, हंशभारत नाच, लाखे नाच नाच्ने गरिएको छ । जात्रा गर्दा घरपरिवार र शरीरमा भएको कुनै पनि समस्या भए नाश हुने धार्मिक मान्यता छ ।

काभ्रेका धुलीखेल, बनेपा र पनौती नगरपालिकाका दुरीको हिसावले नजिकै मानिन्छ । काभ्रे जिल्लामा पछिल्लो समयमा तिनै नगरपालिकाको लागि एकीकृत खानेपानी आयोजना सुरु भएको छ । यो योजना पूरा भएपछि तीन नगरपालिकाका ७१ हजार बासिन्दाले सहज रुपमा खानेपानी उपभोग गर्न पाउनेछन् । खानेपानी मुहानबाट मुख्य ट्यांकीसम्म आइपुग्न ४६ किलोमिटर दूरी रहेको छ । मुख्य ट्यांकीबाट तीन नगरका सबै क्षेत्रमा पाइप बिछयाउन दुई सय किलोमिटरको दुरी रहेको छ । यो वृहत खानेपानी काभ्रे जिल्लाको कुशादेवी र भूमिडाडा गाविसका बैरमहादेव, गुडगुडे, रोसी र सिसाखानीको मुल र खोलाको स्रोेतबाट पानी ल्याउन लागिए हो ।

मितिः – २०७० चैत्र २३ गते दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *