Best Online News From Nepal

विश्वको एक मात्र हिन्दुअधिराज्य-नेपाल चाहीं धर्मनिरपेक्ष हुनुपर्ने ? क्रिश्चियन्, यहुदी र मुसलमानहरु चाहीं आ–आफ्नो धर्मका अडानमा ?

Dirgha Raj Prasai
Dirgha Raj Prasai

नेपाललाई धर्मनिरपेक्ष र गणतन्त्र लाध्न खोजिएकाले विश्वभरमा हिन्दुहरु अत्यन्त दुःखी तथा आक्रोशित छन् । यसको लागि हामी नेपालीहरु ज्यानको बाजी लगाएर मैदानमा उत्रिनुपर्ने अवस्था छ । विश्वको एकमात्र हिन्दुअधिराज्यको रुपमा आफ्नो पहिचान दिएर उभिएको देश हो–नेपाल । नेपालको राष्ट्रिय झण्डा, हिन्दु अधिराज्य नेपालको पहिचान हो । नेपाल हिन्दु र बौद्धको आधिकारिक थलो हो । नेपाल बुद्धको जन्मभूमि हो । विश्वमा रहेका एक अर्ब हिन्दु तथा २ अर्ब बुद्धिष्ट भएकाले नेपाललाई हिन्दु र बौद्धहरुको आस्थाको केन्द्रस्थल बनाउन सकिन्छ । विश्वका धर्महरुमा हिन्दु धर्म अत्यन्त उदार धर्मको रुपमा मानिन्छ । नेपाललाई हिन्दुअधिराज्य घोषित गर्ने कुरा धर्मको हिसाबले मात्र हेर्ने होइन यो त नेपालको राष्ट्रियताको स्रोतको अभिन्न अङ्ग मानिन्छ ।

विश्वव्यापी रुपमा छरिएर रहेका नेपालीहरुको लागि ‘हिन्दु अधिराज्य’ ठूलो प्रतिष्ठा हो । धर्ममा हिन्दुवादीहरुको कुनै पूर्वाग्रह हुँदैन । नेपालको राष्ट्रियतालाई सांस्कृतिक रुपले पनि प्रवल हुन सकोस् भन्ने अभिप्रायले मात्र विश्वको एक मात्र हिन्दुअधिराज्यको अस्तित्वको लागि हामी संघर्षरत छौं । नेपाली जनताबीच अभिभावकको रुपमा रहेर अनेकतामा एकता कायम गर्ने, दुई ठूला देशबीच सन्तुलित सम्बन्ध कायम गर्ने, हिन्दु तथा बौद्धको अस्मिता जोगाउन संरक्षकको रुपमा अटल रहने, यस्तो राजसंस्था र विश्वको एक मात्र हिन्दुअधिराज्यको विस्थापित गर्नेहरु देशका शत्रु हुन् । राजाबाट पद नपाएको रिसमा राष्ट्रियताका पहिचानहरुको विरुद्ध विदेशीहरुसँग लाग्नु यो कति ठूलो अपराध हो ।

भारतमा मुसलमान र अंग्रेजको अत्याचार र हिन्दुत्वमाथिको बलात्कारले बिटुलो बनिरहेको अवस्थामा यो क्षेत्रका ५४ भन्दा बढी स–साना हिन्दु राज्यका जनतालाई मिलाएर पृथ्वीनारायण शाहले विशाल नेपालको एकीकरण गरेर बनेको उसबेलादेखिको नेपाल हिन्दुअधिराज्य हो । हिन्दुत्व राजासँग मात्र सम्बन्धित नभएर हिमवतखण्ड नेपाल र भारतखण्डको पहिचान हो ।

बेलायतकी महारानीले राज्यरोहणमा आङ्गुलिकन चर्चमा गएर प्रार्थना गर्छिन् र उहीँ सपथ खान्छिन् । अमेरिकी राष्ट्रपति र प्रधानन्यायधीशले संविधानको सपथ नलिएर बाइबल समातेर सपथग्रहण गर्छन् । उनीहरु नेपाल जस्तो देशमा धर्मनिरपेक्षताको लागि खर्च गर्छन् । २०६८ सालको जनगणनामा हिन्दुलाई अल्पमत बनाउन देशी विदेशी षडयन्त्रहरु अगाडि सारेर जवरजस्त हिन्दुधर्म नलेखाउन अनेकौं षडयन्त्र र कोसिस भए तापनि लगभग ८३ प्रतिशत हिन्दुहरुको संख्या देखियो । ओंकार परिवारभित्रका बौद्ध, किराती, जैन, शिखधर्म समेत हिसाब गर्दा ९६ प्रतिशतभन्दा बढी हामी ओंमकार परिवार रहेको मुलुक पनि धर्मनिरपेक्ष रहने ? यो कस्तो अत्याचार हो ?

हिन्दुत्व कति पुरानो रहेछ भन्ने कुराको प्रमाण २५०० वर्षअगाडि इरानको फारसीपोलिसनगरमा ईशाभन्दा ४८६ वर्ष पुरानो दारा हस्तास्पको स्मारकको शिलालेखमा ‘हिन्दु’ र हिन्दुस दुबै उल्लेख छ भन्ने कुरा ‘इनसाइक्लोपिडिया अफ रिलिजन्स एण्ड एथिक्स’ मा उल्लेख छ । इरान देशको फार्सी सम्प्रदायको प्राचीन ग्रन्थ ‘शातीर’ मा ब्यास ऋषिको वाक्यलाई उद्धृत गरेको– “म हिन्दु देशमा जन्मिएको सच्चा हिन्दु हँु” भन्ने कुरा उल्लेख छ । मनुले विध्य र हिमालको बीचको भागलाई आर्यवर्त मान्नुको साथै प्रयागदेखि सिधा उत्तर हिमालयसम्मको भागलाई ब्रम्हर्षि देशमा गणना गरेका छन् । जर्मनका विद्वान भोल्टेयरले भनेका थिए–‘हिन्दुशास्त्र पश्चिमी जगतको लागि पूर्वीय जगतको सबैभन्दा उपहार हो ।’ बेलायतका विद्वान जर्ज वर्नाड साले भनेका थिए– ‘हिन्दुधर्म संसारको सर्वाधिक र उदार धर्म बन्न गएको छ ।’

हिन्दु धर्मभन्दा धेरै पछि जन्मिएका धर्महरु मुस्लिम, क्रिस्चियन्हरुले विश्वका अनेकौं राष्ट्रलाई धर्मसापेक्ष राष्ट्र घोषित गर्ने अनि नेपालले चाहीं धर्मनिरपेक्ष हुनुपर्ने ? यो कस्तो न्याय हो ? क्रिश्चियनहरुले– ‘क्रस’, यहुदीहरुले– ‘षडकोण’, मुसलमानहरुले–‘काबा’ को अस्तित्व त्याग्न तयार हुनसक्नु पर्दछ । साउदी अरबमा शिवजी वा अन्य हिन्दु देवता–देवीको फोटो लान बर्जित छ । पाकिस्तानमा हिन्दुले मुसलमानलाई भोट हाल्न पाउँदैन । घोडाको टापको औंठी लगाउनु मुसलमान राष्ट्रमा खतरा मोल्नु हो । त, भन्नुहोस्– क्रिश्चियन्, यहुदी र मुसलमानहरु आ–आफ्नो धर्मका अडानहरुलाई कुनै तलमाथि हुन नदिने अनि हामी नेपालीहरुले चाहीं आफ्नो अस्तित्व समाप्त पार्न विदेशीले उचालेका पार्टीका दलाल नेताहरुले भने अनुसार धर्मनिरपेक्ष र गणतन्त्रको समर्थन गरेर बस्नुपर्ने ?

गणतन्त्र, धर्मनिरपेक्ष र जातीय आधारको संघीय राज्य कांगे्रस, एमाले, माओवादीको एजेण्डा होइन । नेपाललाई अस्तव्यस्त बनाएर कब्जा गर्ने यी विदेशीहरुकाका बुँदा हुन् । नेपालमा राजसंस्था विस्थापित गर्न खोजिएको बेलादेखि नेपालमा चौतर्फी संकटले सीमा नाघेको छ, देशभित्र आगो लागेको छ । आगो बढदै गएपछि निभाउन सजिलो हुँदैन । अतः मेरो सुझाव छ– नेपालको सार्वभौमसत्ता, एकता र यसका पहिचानहरुलाई जीवन्त राख्न हिन्दुअधिराज्य र संसदको नियमवद्धतामा रहने संवैधानिक राजसंस्थालाई निरन्तरता दिइयोस् ।
–दीर्घराज प्रसाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *