Kanakdhara Swami Swadeshanand—

कुनै जमानामा बर्माबाट हामीहरू पनि खेदिएका हौं। भूटानबाट खेदिएको घटना त आलै छ। भूटानबाट खेदिएका नेपालीहरू भूटान जान खोज्दा बाटो नदिने को हो? त्यो पनि थाहै छ। मेघालय, मणिपुर आदि क्षेत्रमा आज पनि उच्छेदको क्रम यथावत् जारी छ। NRC गठनले पनि असम क्षेत्रका थुप्रै नेपालीहरूलाई अस्थिर गरेको छ। भारतीय जनता पार्टीले बंगलादेशी हिन्दुहरूलाई असममा NRC दिनुपर्छ भनी असममा दबाउ दिइरहेको छ भने नेपालीहरूको बारेमा मौन रहेको छ। विगत केही महिनादेखि चलेको गोर्खालैंड़ आन्दोलनमा दर्जनको संख्यामा भारतीय नेपालीहरू मारिएका छन् भने सयौंमाथि विभिन्न प्रकारका मुद्दा लगाएर सताउने कार्य भैरहेको छ। भारतमा हिन्दुत्वको नाउँमा अखड़ा खड़ा गर्नेहरू बसीरहाटमा मारिएको बारेमा बोल्छन् तर दार्जीलिङमा गोर्खा मारिएकोमा बोल्दैनन्। भारतमा नेपालीभाषी जातिमाथि अन्याय र अत्याचार छ। भारतका राजनैतिक दल र संगठनहरू नेपाली जातिको पक्षमा कहिल्यै पनि देखिँदैनन्। यसको कारण हो कि नेपालीलाई हेर्ने भारतीय दृष्टिकोण ठीक छैन। नेपालीहरू राष्ट्रिय स्वयं सेवक संघ सहित भारतका तमाम नेपाली विरोधी शाखामा जान्छन्, ती विभिन्न हिन्दुवादी संगठनहरू नेपालीका गुप्त शत्रु हुन्। भूटानका नेपालीलाई यी भारतका विभिन्न हिन्दू संगठनले साथ दिएको भए उनीहरू आज तेस्रो मुलुकमा नभएर आफ्नै देश भूटानमा हुन्थे। भारतमा नेपालीले न्याय पाउँदैन।
०८ सितम्बर २०१७का दिन दार्जीलिङको एउटा भेलालाई सम्बोधन गरिरहेको बेला बंगाल पुलिसले नेपालीहरूमाथि अन्धा धुन्ध गोली चलायो,भारतका तमाम हिन्दुवादी संगठन र राजनैतिक दलहरूले केही निन्दा गरेका छैनन् अहिले सम्म। नेपाल नै विश्वका नेपालीहरूको पैतृक मूल थलो हो। नेपालले विश्वका नेपालीहरूको पक्षमा बोल्नुपर्छ। नेपाली हिन्दू, मुसलमान र ईसाई यी तीनवटै धर्मदेखि पृथक् मात्र नेपाली हो भन्ने कुरा भारतीय पक्षको व्यवहारबाट सिद्ध भैसकेको छ। भारतले सोझै नेपालमा अनुप्रवेशकारी बिहारीहरूको पक्ष लिएर नेपालमाथि हस्तक्षेप गर्न मिल्छ भने नेपालले दार्जीलिङको बारेमा किन बोल्न मिल्दैन? मिल्छ अनि भारतमा मात्र हैन, विश्वभरिकै नेपालीहरूको बारेमा नेपालले बोल्नैपर्छ। नेपालसित बोल्ने ताकत छैन भने ताकतको विकास गर्नुपर्छ तर नेपाल बोल्नैपर्छ। विश्वकै नेपालीहरूले कुनै पनि देशको मृगतृष्णालाई छोडेर नेपालप्रति आकृष्ट हुनुपर्छ अनि नेपालले पनि नेपाली जातिको मूल थलो हो भनेर विभिन्न किसिमका नेपाली मूल रैथानेहरूको अहित हुने खाले सन्धि सम्झौतामा हस्ताक्षर गर्नुहुँदैन। विश्वकै नेपालीहरू एक हौं। नेपाललाई दह्रो बनाऔं, स्वाभिमान सहित सुरक्षित रहौं।
विनीतः कनकधारा स्वामी स्वदेशानन्द
गान्तोक, सिक्किम।
मितिः ०९ सितम्बर २०१७