Best Online News From Nepal

विवेकशील नेपाली दल, कथित साझा पार्टी र कथित नयाँ शक्ति बारे ;

Dr. Nirmala Mani Adhikary

17759939_10211225836954210_292748200868092501_n

प्रसंग सुरु गरौँ २०७२ पौष ६ गते, सोमवारबाट । काठमाडौं विश्वविद्यालय, स्कूल अफ् आर्ट्स्, हात्तीवन, ललितपुरस्थित आफ्नै कार्यकक्षमा थिएँ, जतिबेला विवेकशील नेपाली दलका अध्यक्ष उज्वल थापा Ujwal Thapa उज्वल थापा ले मलाई फोन गर्नु भएको थियो । थापाजी र मेरो कुनै प्रत्यक्ष परिचय थिएन, तसर्थ सुरुमा उहाँले परिचय दिएर वार्तालाप आरम्भ गर्नु भयो । वास्तवमा मदन खडायत Madan Khadayat जी को कारणले उक्त वार्तालाप भएको थियो । खडायतजीको सकारात्मक पहल के थियो भने उहाँले नेपालमा असल कार्य गर्न चाहनेहरु एकै ठाउँमा रहेर सहकार्य होस् भन्ने उद्देश्यले मलाई र उहाँ संलग्न दलका अध्यक्षबीच वार्तालाप गराउन चाहनु हुन्थ्यो । संवाद हुनु वास्तवमा सकारात्मक कुरा हो नै ।
मदन खडायतजी जस्तै उहाँको पार्टीका अध्यक्ष पनि सकारात्मक दृष्टिकोणवाला व्यक्ति हुनुहुँदो रहेछ भन्ने तथ्य उक्त वार्तालाप आरम्भ भएको केही क्षणमै स्पष्ट भयो । थापाजीको भनाइको सार मैले बुझेअनुसार निम्नानुसार थियो :-
पुराना दल (पार्टी) हरु पूरै असफल भइसकेको वर्तमान अवस्थामा नेपालको राजनीतिमा विकल्पको रुपमा नयाँ राजनीतिक शक्ति अत्यावश्यक छ भन्नेमा थापाजीको जोड रह्यो । नयाँ राजनीतिक शक्ति बनाउनका लागि सकेसम्म बृहत्तर एकता गर्ने नीति उहाँको दलको रहेको थापाजीले बताउनु भयो । डेमोक्रेटिक पद्धतिबाटै देशमा परिवर्तन र समृद्धि ल्याउन सकिन्छ भन्नेमा उहाँ विश्वस्त रहेको देखियो । उदारवादी लोकतान्त्रिक पद्धति, पारदर्शिता, युवा नेतृत्व, व्यवस्थापन, सुशासन, सदाचारको समर्थन (भ्रष्टाचारको विरोध) आदि पक्षमा विवेकशील नेपाली दलको विशेष जोड रहेको पनि थापाजीले प्रष्ट्याउनु भयो ।
उक्त वार्तालापको क्रममा मेरो भनाइको सार निम्नानुसार थियो :-
उज्वल थापाको नेतृत्वमा रहेको विवेकशील नेपाली दलले आफ्नो सीमित साधन स्रोत र जनशक्तिको परिचालन एवं व्यवस्थापन मार्फत् गरिरहेका कार्यहरु प्रशंसनीय छन् । यदि पश्चिमा प्रतिमान अनुसारको लोकतन्त्र भनिने व्यवस्थामा नै नेपाल रहने हो भने कांग्रेस, एमाले, माओवादी, राप्रपा, मधेशवादी, जनजातिवादी आदि इत्यादि साइनबोर्ड भएका पुराना पार्टीहरुको तुलनामा विवेकशील नेपाली दल नै उत्तम देखिन्छ । तसर्थ, कांग्रेस, एमाले, माओवादी, राप्रपा, मधेशवादी, जनजातिवादी, कथित नयाँ शक्ति आदि इत्यादिलाई विस्थापित गरेर विवेकशील नेपाली दलको उत्थान हुनु केही हदसम्म देशको लागि सकारात्मक हुने सम्भावना देखिन्छ । तर, पश्चिमा प्रतिमान अनुसारको लोकतन्त्र भनिने पूँजीवादी व्यवस्था, समाजवादी वा कम्युनिस्ट व्यवस्था, तिनीहरुको ठिमाहा सोसल डेमोक्रेसी, मेकियाबेलीयन तानाशाही व्यवस्था वा अरु पनि नेपालमा जरो र किलो नभएका व्यवस्था, प्रणाली, पद्धतिमा मेरो विश्वास नभएको हुनाले मचाहिँ वर्तमान व्यवस्थाभित्रको थप एउटा विकल्प खडा गर्ने नभई पूरै प्रतिमान परिवर्तन एवं मौलिक प्रतिमान स्थापनाको उद्देश्यले अगाडि बढेको हुनाले हाम्रो बाटो फरक फरक छ । तसर्थ, तपाइँहरुलाई शुभकामना दिँदै हाम्रो आफ्नो महाअभियानलाई नै अगाडि बढाउँदै जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति खडा गर्ने कार्यमै हामी केन्द्रित रहन्छौँ । संघर्षका क्रममा आवश्यक पर्यो भने प्रत्यक्ष भेट, विचार विमर्श, संवाद गरौँला ।
यसरी विवेकशील नेपाली दलको सकारात्मक पक्षको सह्रनी गर्नुको साथसाथै अर्कोतिर उक्त दल पनि वर्तमान व्यवस्था, प्रणाली, पद्धतिकै थप एउटा खेलाडी मात्र भएकोले नेपालका लागि आवश्यक प्रतिमान परिवर्तनको संवाहक बन्नचाहिँ नसक्ने यथार्थलाई पनि उल्लेख गर्दै शुभकामना दिएर त्यो संवादलाई बिट मारेको थिएँ मैले ।
आसन्न स्थानीय निर्वाचनको क्रममा काठमाडौं महानगरपालिकाको प्रमुखका लागि रन्जु दर्शना Ranju Darshana रन्जु दर्शना लाई अगाडि सारेर विवेकशील नेपाली दलले अन्य पार्टी (दल) को तुलनामा अग्रगामी कार्य गरेको छ । हामीले अहिलेको स्थानीय निर्वाचनमा कुनै भूमिका निर्वाह नगर्ने भएकाले कसैलाई भोट दिने वा नदिने प्रसंगै आएन, तर राम्रो कामलाई राम्रो भन्न हिच्किचाउनु पर्दैन । रन्जु दर्शनाले चुनाव जित्नु अहिलेको कुहिएको, सडेगलेको, दुर्गन्धित व्यवस्था (जस्लाई लोकतन्त्र भन्ने गरिएको छ) को सीमाभित्रबाट उपलब्ध विकल्पहरुमध्येको राम्रो विकल्प हो । यद्यपि, सर्वोत्तम कार्यचाहिँ वर्तमान कुहिएको, सडेगलेको, दुर्गन्धित व्यवस्थाका कुनै पनि विकल्पहरुमा नअल्मलिने र प्रतिमान परिवर्तन एवं नयाँ प्रतिमान स्थापनाको लागि जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति खडा गर्ने कार्यमा अग्रणी बन्नु नै हो ।
अब चर्चा गरौँ हालसालै एकजना भू.पू. पत्रकारको नेतृत्वमा जन्माइएको र प्रोपागाण्डाका लागि मात्र एक अरब रु. खर्च गरिँदै गरेको कथित साझा पार्टीको । कथित साझा पार्टीमा मुख्यतः भू.पू. पत्रकार, भू.पू. कर्मचारी, भू.पू. माओवादी तथा अन्य पुराना पार्टीहरुबाट परित्यक्त व्यक्तिहरु, विदेशी संस्थामा कार्यरत व्यक्तिहरु आदि सामेल रहेको देखिएको छ । क्रिस्चियन (इसाइ) समूहको प्रत्यक्ष नेतृत्व रहेका पार्टीहरु (परिवार दल र जनजागरण पार्टी) लाई बृहत्तर भोटबैंक तयार पार्दिने गेमप्लान वा तीबाट पूरा हुन नसकेको अभीष्ट पूरा गर्नको लागि कथित साझा पार्टी खुलाइएको हो भन्ने सूचना विशेष स्रोतहरुबाट आइरहेको छ । कथित साझा पार्टीको चालढाल हेर्दा इल्लुमिनाटी षडयन्त्र (Illuminati conspiracy) को गोटी हुन सक्ने सम्भावना देखिन्छ । “इल्लुमिनाटी षडयन्त्र” बारे केही समयपहिले लेखेको थिएँ; पढ्नुभएको थियो होला ।
अर्को उल्लेख्य प्रसंग :- नयाँ शक्ति नयाँ शक्ति भनेर प्रोपागाण्डा मच्चाउँदा मच्चाउँदा थच्चिएर संघीय समाजवादी फोरममा विलीन हुने दिशामा अग्रसर डा. बाबुराम भट्राईको अर्को प्रयास के हुँदैछ भन्नेबारे पनि सूचना मिलेको छ । भनिएको छ कि उनी डा. सी.के. राउतलाई तत्कालको लागि विखण्डन/अलगाव को नारा छोडेर स्वायत्तताको रणनीति लिएर आफ्नो पार्टीमा भित्र्याउने प्रयासमा लागिसकेका छन् । हेर्दै जाऔँ ।
अरु के गर्दैछन्, निगरानी गर्दै हाम्रो उर्जाचाहिँ प्रतिमान परिवर्तन एवं नयाँ प्रतिमान स्थापनाको लागि जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति खडा गर्ने कार्यमा लगाइरहौँ लगाइरहौँ ।

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *